जुम्बामा झुम्माझुम्मा

बिहिबार, १६ फागुन २०७५, ०८ : ३० मनोज घर्तीमगर
जुम्बामा झुम्माझुम्मा

नमिता गुरुङ आजभोलि एकाबिहानै पोखरा न्यूरोडको सेपअप जुम्बा पुग्छिन् । म्युजिकको धुनमा शरीर हल्लाउँदै पसिना निकाल्छिन् । अनेकन व्यायाम गर्छिन् । शरीर हल्का मोटो देखिएपछि त्यसलाई मेन्टेन गर्न दिनहुँ बिहानै जुम्बा धाउनु उनको पहिलो काम हो । आफ्नो तौल ५५ केजी पुग्दा जति चिन्तित थिइन्, अहिले त्योभन्दा कयौं गुणा खुुसी छिन् उनी । चार महिनादेखि जुम्बा धाउन थालेकी २१ वर्षीया नमिताकोे तौल अहिले ४९ केजीमा झरेको छ । ‘तौल घट्नुका साथै जुम्बाले शरीरमा स्फूर्ति दिन्छ’ उनी मुस्कुराउँदै भन्छिन्, ‘आफूलाई चुस्त राख्न पनि फाइदा गरेको छ ।’ 

नमिता जस्तै २३ वर्षीया मनिषा गौचनले जुम्बा व्यायामबाट चार महिनामा ७ केजी तौल घटाउन सफल भइन् ।  पोखरा नदिपुरकी मनिषा पनि जुम्बा व्यायाम गर्नुअघि ५७ केजी थिइन् । मोटोपनकै कारण तनावमा रहेकी उनलाई साथीहरुले जुम्बा गर्न सुझाएपछि तौल घटाउन जुम्बा धाउन थालेकी हुन् । म्युजिकको धुनसँगै बोसो घटाउन थालेपछि उनी ५० केजीमा झरेकी छिन् । तौल घटेपछि उनले अरुलाई पनि जुम्बातिरै छिर्न सुझाउन थालेकी छिन् ।  ‘जुम्बा गरेपछि मैले कल्पना नगरेको नजिता पाएँ । साथीहरु खाली मोटी भनेर जिस्काउँथे,’ उनी भन्छिन्, ‘जुम्बा व्यायामबाट ज्यान स्लिम भएको छ ।’

पोखरा रानीपौवाकी सुमना प्रधान पनि दिनहुँ जुम्बा धाइरेकी छिन् । चढ्दो बैंशसँगै बढ्दो मोटोपनका कारण निकै चिन्तामा थिइन् । उनले तौल घटाउन बिहान हिँड्नेदेखि पोखराका विभिन्न ठाउँको उकालो पनि चढिन् । तर, तौल घटाउन उनी असफल भइन् । केही सीप नचलेपछि तौल घटाउन उनले जुम्बा व्यायामको सहारा लिइरहेकी छिन् । दुई वर्षदेखि लगातार जुम्बा धाइरहेकी उनले तौल स्थिर राख्न सकेकी छिन् । भन्छिन्, ‘स्वस्थ रहन र तौललाई मेन्टेन गर्न लगाउन लगातार जुम्बा आइरहेकी छु ।’ 

पोखरामा अहिले जुम्बाको फेसन नै चलेको छ । गल्लीगल्लीमा जुम्बा खुलेका छन् । पछिल्लो समय युवायुवतीमा पनि छरितो हुने रहर बढ्दो छ । आठ महिनादेखि जुम्बा धाइरहेकी २० वर्षीया सन्ध्या कार्की जुम्बाबाट आफूले थुप्रै लाभ पाएको र यसलाई लामो समयसम्म निरन्तरता दिने बताइन् । जुम्बा गर्नु अघि तौल घटाउनका लागि डाइटिङ को सहारा लिएकी थिइन् उनले । ‘तौल त घट्यो । तर, खान मन लागेको कुरा खान नपाइने’ जुम्बा गर्नुको कारण स्पष्ट पार्दै उनी भन्छिन्, ‘जुम्बा आउँदा खानपिनमा रोकतोक छैन ।’

जुम्बा धाउने १२ देखि ६० वर्षसम्मका छन् । तर, सबैभन्दा बढी युवायुवती छन् । त्यसमा पनि जुम्बा गर्नेमा युवाभन्दा युवती नै धेरै छैन । किन कि युवा जिम जान्छन् । तर, पाका उमेरका पुरुषले भने जुम्बाको सहारा लिइरहेका छन् । युवायुवतीको पातलो हुने रहरलाई जुम्बाले पूरा गरेको मात्र छैन, मोटोपनका कारण शरीरमा देखिएका विभिन्न रोगहरुबाट उन्मुक्ति दिलाएको छ । ‘संगीतको धुनमा जुम्बा व्यायाम गरिने हुँदा मुख्यतया युवायुवती यसप्रति आकर्षित छन्’ सेपअप जुम्बा सञ्चालक खुसी थापा भन्छिन्, ‘स्वास्थ्यका लागि पनि जुम्बा लाभदायक छ ।’ 

पोखरामा जुम्बा लहर आए पनि यसको जति हुनुपर्ने थियो त्यति प्रचार भने हुन सकेको छैन । जुम्बालाई शहरीया तथा उच्च वर्गका व्यक्तिको व्यायामका रुपमा पनि प्रस्तुत गर्ने गरिन्थ्यो । त्यसले पनि पोखरामा जुम्बाको सोचे जति विकास हुन नसकेको प्रशिक्षकहरुको दाबी छ । जुम्बाका थुपै्र फाइदा छन् । त्यसैले पनि यसप्रति आकर्षण बढ्दो छ । यसले मोटोपन घटाउनुका साथै व्यक्तित्वलाई अझ सशक्त बनाउँछ । विभिन्न रोगबाट टाढा राख्छ । प्रशिक्षक खुसी जुम्बा धेरै फाइदा हुँदाहुँदै निरन्तरता दिनेभन्दा फेसनको रुपमा लिने धेरै भएको बताउँछिन् ।  

‘सबैले नियमित व्यायाम गर्न जरुरी छ, तर प्रायः छोटो समय सिकेर बीचमै छोड्ने गर्छन्’ प्रशिक्षक खुसी भन्छिन्, ‘तौल घटाएपछि निरन्तरता दिँदैनन् । उनीहरु मर्निङवाकपट्टी लाग्छन् ।’ 

तस्बिर सौजन्यः सेप अप जुम्बा एण्ड फिटनेस सेन्टर
 

Leave A Comment