पोखराका ट्याक्सीमा मिटर चल्दैन

आइतबार, ०३ चैत २०७५, ०२ : ३५ मनोज घर्तीमगर
पोखराका ट्याक्सीमा मिटर चल्दैन

पोखरामा दैनिक थुप्रै ट्याक्सी सरररर....गुड्छन् । ट्याक्सी व्यवसायी समिति पोखराको तथ्याङ्कअनुसार दैनिक १ हजार ६ सय ट्याक्सी पोखराका सडकमा गुडछन् । कानुनअनुसार ट्याक्सीमा मिटर अनिवार्य हो । तर पोखराका ट्याक्सी मिटरमा चल्दैनन् । त्यस्तै मनकारी ट्याक्सी चालक फेला परे मात्र, नत्र पोखरामा ट्याक्सीमा सयर गर्दा वैध भाडा तिर्ने अवसर पाइँदैन । चालकको मुख नै मिटर हो पोखराका लागि, उनले जति बोले त्यही भाडा । मिटरमा जाउँ न भन्दा फुर्सद छैन भनेर तर्किन्छन् ।

‘पोखराका कुनै पनि ट्याक्सी मिटरमा चल्न मान्दैनन्’ प्रायः ट्याक्सी चढिरहने यात्रु शितल गुरुङ भन्छिन्, ‘बाध्य भएर उनीहरुले तोकेको मूल्यमा चढ्नुपर्छ ।’

देशका अन्य शहरमाझैँ पोखरामा पनि ट्राफिक छन्, कडाइ पनि गरेको देखिन्छ । तर भाडाको विषयमा भने ट्राफिक पनि उदारै देखिए । चालकलाई ट्राफिकलाई भनौंभन्दा फिस्स हाँसिदिन्छन् । यसैले देखाउँछ पोखरामा ट्राफिकको हालत ।

प्रायजसो ट्याक्सी चालकले मिटरमा यात्रु बोक्न नसक्नुको कारण भाडा दर समायोजनलाई कारण देखाउँछन् । नेपालीलाई आक्कलझुक्कल मिटरमा चढाए पनि विदेशी पर्यटकलाई भने बार्गेनिङ गरेर मात्र लैजान्छन् । पोखराको टुरिष्ट बसपार्कबाट चल्ने कुनै पनि ट्याक्सी मिटरमा चल्दैनन् ।

‘मिटरमा ट्याक्सी चलाउने हो भने तेल हाल्नै पुग्दैन । किस्ता केले तिर्ने । घर खर्च केले चलाउने’ ट्याक्सी चालक डिल्लीराम अधिकारी भन्छन्, ‘भाडादर समायोजन भए मिटरमा चलाउन सकिन्छ ।’
चालक शिव पौडेल पनि मिटरमा चलाएर तेलको पैसासमेत नउठ्ने दाबी गर्छन् । ‘आफू घाटामा रहेर यात्रु चढाउन सकिँदैन,’ उनले भने । 

निष्क्रिय नियमन निकाय
ट्याक्सी मिटरमा चलेनचलेको नियमन गर्ने निकाय धेरै छन् । तर, तिनले समन्वयात्मक तरिकाले काम गर्न सकेका छैनन् । यातायात व्यवस्था कार्यालय सवारी कास्की, नाप तौल कार्यालय कास्की, जिल्ला ट्राफिक कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय कास्कीले ट्याक्सी मिटरमा नचले कारबाहीको दायरामा ल्याउन सक्छन् ।  यी कार्यालयले बेला–बेला ट्याक्सी मिटरमा चलेनचलेको अनुगमन गर्ने गरेको दाबी गरे पनि त्यसको प्रभाव भने देखिन्न । 

दोष ट्याक्सी चालकको मात्रै छैन । केही दोष यात्रुहरुको पनि छ । पोखरामा ट्याक्सी चढ्ने  प्रायः यात्रुले आफू मिटरमा जान्छु भनेको सुन्न पाइँदैन । कति यात्रुले मिटरमा जाँदा ट्याक्सी चालकले मिटर बिगार्ने र बढी देखाइदिन्छन् भन्ने डरले पनि मिटरमा जान मान्दैनन् । ट्याक्सी चालक भोजबहादुर गुरुङको अनुभव यस्तै छ । 

‘भाडा कति हो भन्छन् । मैले जति मिटरमा उठ्छ त्यति दिनुहोला भन्दा हैन भाडा कति हो भन हामी त्यतिमै जान्छौं भनेर नतोकेसम्म चढ्दैनन्’ भोजबहादुर भन्छन्, ‘मिटरमा जाँदा हामीलाई घाटा पर्छ, बिगारेको छ होला भनेर यात्रुले शंका गर्छन्  । तर, हाम्रा मिटर नाप तौल कार्यालयले निरीक्षण गरेरै राखिएको हुन्छ ।’

ट्याक्सी चालकले मिटरमा नचढाएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा कहिले काँही उजुरी आउने गरेका छन् । छिटपुट रुपमा आएका उजुरीको आधारमा सम्बन्धित चालकलाई कारबाही गर्ने गरेको प्रहरी बताउँछ । यो बाहेक जिल्ला प्रहरी कार्यालय कास्कीमा समेत उजुरी आउँछ । केही समय अघि मिटरमा नचल्ने करिब एक सय ट्याक्सी नियन्त्रणमा लिएपछि चालकले कास्की प्रहरीसँग मिटरमै यात्रु बोक्ने बताएका थिए । तर, उनीहरुले अहिलेसम्म पनि मिटरमा ट्याक्सी चलाउन मानेका छैनन् । 

‘मिटरमा जान नमान्ने ट्याक्सी को नम्बरसहित हामीलाई उजुरी गर्नुस्, हामी कारबाही गर्छौँ’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी ओमबहादुर राना भन्छन्, ‘उजुरी गरेका धेरैलाई कारबाहीको दायरामा ल्याएका छौं । यात्रु आफैँ पनि सजग हुने बेला आएको छ । मिटरमा नजाने ट्याक्सीमा नचढेपछि बिस्तारै चालकहरु बानी पर्छन् ।’

यातायात व्यवस्था कार्यालय सवारी, कास्कीका सूचना अधिकारी सुन्दर शर्मा ट्याक्सी मिटरमा चले नचलेकोबारे बेलाबेला अनुगमन गर्दै आएको र थुप्रै चालकलाई कारबाहीको दायरामा ल्याएको दाबी गर्छन् । 
‘मिटरमा ट्याक्सी नचलाए १ हजारदेखि ५ हजारसम्म जरिवाना हुन्छ । हामीले बेलाबेला अनुगमन गरेर कारबाही गरेका छौं,’ सूचना अधिकारी शर्मा भन्छन्, ‘पोखराका ट्याक्सी मिटरमा चल्दैनन् भन्ने हामीलाई खासै उजुरी आएको छैन । ट्राफिक कार्यालयले दफा लगाएर पठाएकोलाई कारबाही गरिरहेकै छौं ।’

चलाए ड्राइभर सिद्धियो, नचलाए यात्रु सिद्धियो 
ट्याक्सी व्यवसायी समिति पोखराका अध्यक्ष प्रकाश तिवारी वैज्ञानिक भाडादर समायोजन नभएसम्म ट्याक्सी बाध्यकारी अवस्थाबाहेक मिटरमा चल्न नसक्ने बताउँछन् । ‘सुरुको अंक १४ रुपैयाँ छ, यो २०६९ को दर हो । अहिले महँगी बढेको छ ।  माइक्रोमा तीन सिटमा बसे तीनवटै सिटको भाडा तिर्नुपर्छ,’ उनले भने, ‘ट्याक्सी मा त एउटा बसे पनि चार जना बसे पनि उही भाडा हो । त्यसैले सुरु अंक कम्तीमा माइक्रोको ३ वटा सिट बराबर हुनुपर्छ ।’

अध्यक्ष तिवारी मिटर चलाए ड्राइभर सिद्धियो, नचलाए यात्रु सिद्धियो भन्ने अवस्था रहेको र यसको अन्त्यका लागि ट्याक्सीको स्टार्टिङ नम्बर रुपैयाँ आधा लिटर पेट्रोल बराबर हुनुपर्ने बताउँछन् ।
तस्बिर ः उमेश पुन 
 

Leave A Comment