पोखरेली ब्याण्डको पुनरागमन

शुक्रबार, २९ चैत २०७५, ०६ : ४७ मनोज घर्तीमगर
पोखरेली ब्याण्डको पुनरागमन

कानमा कुण्डल, हातमा गितार । स्टिरिङमा खेलिरहेका औंला । गीत गाउनु, ब्याण्ड खोल्नु र चर्चित बन्ने ध्याउन्नमा रातभर गितार घोट्नु ५० को दशकमा पोखरेली युवाको परिचय थियो । नेपथ्य ब्याण्डले बजार पिटेको बेला थियो त्यो समय । ‘छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले, जोमसोमै बजार’ जस्ता गीत गुनगुनाउन नजान्नेहरु साथीभाइको खिसीका पात्र बन्थे । पोखराका ब्याण्डले लोक पपलाई आधार बनाएर नेपाली गीत संगीतमा क्रान्ति नै गरेको बेला थियो त्यो । यति धेरै पोखरेली ब्याण्ड जन्मिए कि नाम सम्झन मुस्किल हुन्थ्यो । 

यहाँ एकताका ब्याण्डहरु खुल्ने क्रम आँधिहुरी नै बन्यो । ५० को दशकको पोखरेली तुजुक भने लामो समयसम्म टिक्न सकेन । पोखरेली ब्याण्ड जसरी आँधिहुरीझैं आए, त्यसरी नै हराए । पोखरेली ब्याण्ड एकाएक भताभुङ्ग भए । भताभुङ्ग तीनै पोखरेली ब्याण्डहरु एकपछिअर्को पुनरामगन भएका छन् । ब्याण्डहरु फेरि पुरानै लयमा फर्किएर संगीत कर्म गर्न सुरु गरेका छन् । पोखरामा भत्किएका ब्याण्डलाई जोड्न उक्साउने ‘लेकाली’ ब्याण्ड हो ।

श्रोतामाझ चारवटा एल्बम ल्याएपछि लामो समय निस्क्रिय बनेको ‘लेकाली’ फेरि संगीत कर्ममा फर्किएको हो । २०५२ सालमा जन्मेको ‘लेकाली’ ब्याण्डका संस्थापकहरुमध्ये मेन भोकलिष्ट नविन गुरुङ, प्रकाश गुरुङ, युवराज गुरुङ, गुमान सिंह पुन र सचिन पुन विदेशिएपछि २०६० देखि ब्याण्ड निस्क्रिय थियो । ब्याण्डका गिटारिष्ट कुन्दन गुरुङ र भीष्म गुरुङ पोखरामै रहेकाले उनीहरुको प्रयासले ब्याण्डको पुनरामगन भएको हो । 

ब्याण्डहरु भताभुङ्ग भएपछि ब्याण्डमा संलग्न केही युवाको मन त्यतिबेलै कुडिएको थियो । उनीहरु ब्याण्डलाई व्यूझाउन निरन्तर प्रयासरत भए पनि साइत जुरेन । ब्याण्डमा रहेका कलाकारहरु कोही विदेश पलायन भए । कोही आफ्नै व्यवसाय गर्ने त कोही सोलो एल्बम निकाल्ने क्रम भएपछि निस्क्रिय बनेका पोखरेली ब्याण्डहरु फेरि जुर्मुराएका छन् ।

देउराली ब्याण्डले ‘पुनरागमन’ नामक एल्बम निकालेरै फेरि संगीत कर्ममा फर्किएको छ । ब्याण्डका भोकलिस्ट शान्त बज्राचार्यका अनुसार पुनरामगन भएपछि देउराली ब्याण्डले पोखराको प्रदर्शनी केन्द्रमा लाइभ कन्सर्ट गरेको थियो । ‘विभिन्न ठाउँमा फाटफुट कार्यक्रममा देउरालीले सहभागीता जनाइरहेको छ’ शान्त भन्छन् । 

समय चक्रले घुमाउँदै डि–मर्चा ब्याण्डलाई पनि संगीत कर्ममा नफर्कि धरै भएन । अनेकन ठक्कर खाँदै आठ वर्षपछि ‘डि–मर्चा’ ले नयाँ एल्बम ‘कोही छ किन्ने ?’ बजारमा ल्याएर संगीत कर्ममा पुनरामगमन गरेको छ । ब्याण्डहरु झुल्कँदै र अस्ताउँदै गइरहेको बेला पोखरामा फेरि पप ब्याण्डको पुनरामगन सुरु भएपछि भताभुङ्ग भएका अन्य ब्याण्ड पनि ब्युँझने तरखरमा छन् ।

डि–मर्चामा ब्याण्डमा अहिले बुद्धि थापा बेस्ट गिटारिष्ट, अनिल गुरुङ, दिनेश बिक गिटारिष्ट, जोनी तामाङ ड्रमर र पुराना सदस्य भाष्करध्वज श्रेष्ठ मुख्य भोकलिष्ट हुन् । ‘सबै संगीत बुझ्नेहरु छौं, अबदेखि हामी निरन्तर संगीत कर्ममै रहन्छौं’ डि–मर्चा ब्याण्डका संस्थापक भोकलिष्ट भास्करध्वज श्रेष्ठ भन्छन्, ‘अब ब्याण्ड भताभुङ्ग हुँदैन । ब्याण्डलाई फेरि दर्शकसामु लैजान विभिन्न कार्यक्रम गर्दैर्छौ ।’ झ्याम्म–झ्याम्म, तारा खस्यौली, हुन्देरे, रिग रिग रिग्छ, मलाई तिमी नै ठीक छ, लगायत देउडा, लोक पप प्यार्टनमा गीत गाएर चर्चा पाएको डि–मर्चा फेरि ब्युझिएपछि पोखरेली पप पारखी खुसी छन् । 

लेकाली, देउराली, डि–मर्चालगायत ब्याण्डको पुनरागमन भएपछि कन्दरा ब्याण्ड पनि संगीत कर्ममै फर्किएको छ । ब्याण्डका मुख्य भोकलिस्ट विवेक श्रेष्ठसहित १८ वर्षपछि पोखरा सभागृहमा कार्यक्रम गरेर यो ब्याण्ड सक्रिय भयो । यसै वर्ष ब्याण्डले अस्ट्रेलिया,  हङकङ र युरोपसमेत टुर गरिसकेको छ । ब्याण्डले पोखराका थुप्रै कार्यक्रममा आफ्नो प्रस्तुति दिइसकेको छ ।

कुनै समय चर्चामा रहेर सेलाएको कन्दरा ब्याण्ड फेरि संगीत कर्ममा फर्किएपछि पोखरेली संगीत पारखी खुसी भएका छन् । ‘हिउँ त हैन फाप्रेको डंगुर, माया भयो अमिलो अंगुर...हंङकङ पोखरा, निर्मोही आफ्नो को छर ?’ कन्दरा ब्याण्डले निकालेको यो गीतले एकताका बजार पिटेको थियो । झन्डै १८ वर्षपछि बजार पिट्ने यही गीत पोखरामा गाएर कन्दरा जुर्मुराएको हो । 

ब्याण्डका सम्पूर्ण सदस्यसहित एकल लाइभ शो गरेर कन्दरा ब्याण्ड कमब्याक भएको हो । यस अघि पटक–पटक ब्याण्डलाई कम ब्याक गराउन प्रयास भए पनि यो ब्याण्ड जोडिन सकेको थिएन । कन्दराले २०६२ सालमा ‘वर्षौंपछि’ एल्बम निकालेरै कमब्याक हुन प्रयास गरे पनि सफल भएन ।

ब्याण्डका मेन भोकलिष्ट विवेक श्रेष्ठ बेलायत छाडेर सधैंका लागि नेपाल फर्किएपछि कन्दरा फेरि ब्युँझिएको हो । ‘म परिबन्दमा परेर विदेश गएको हुँ । वर्षांैपछि संगीत कर्ममै रहने गरि फर्किएको छु । जसले कन्दरालाई कमब्याक गराउन सघायो’ ब्याण्डका मुख्य भोकलिष्ट विवेक श्रेष्ठ भन्छन्, ‘हामी पुरानो लयलाई समात्न लागि परेका छौं । श्रोता दर्शकको माग पति उत्तिकै बढेको छ ।’

जोडिएको ब्याण्ड कन्दराले ‘के पहाड, के तराई’ बोलको गीतमा म्युजिक भिडियो बनाइसकेको छ । ‘भेठी गोठैमा...’, ‘चन्द्रकोटकी नानी...’, लगायत गीत युट्यूबमा सार्वजनिक गरेर सांगीतक क्षेत्रमा कन्दराको उपस्थिति जनाइसकेको छ । ब्याण्डले ‘कन्दरा फिट’ नामक नयाँ एल्बमसमेत ल्याएर आफ्ना दर्शक श्रोतालाई कन्दरा संगीत कर्ममै रहेको जानकारी गराइसकेको छ ।  

ब्याण्डलाई नयाँ तरिकाले लैजान पुरानै सदस्य विवेक श्रेष्ठ, सुनिल थापा, बुद्धराज बज्राचार्यसँग सहकार्य गर्न काठमाडौंका सुन्दर महर्जन मादल र बेस्ट गीटारिष्ट मानिक सिंह जोडिन आएका छन् । सुन्दरले मादल बजाउँछन् भने मानिक बेस्ट गीटारिष्ट हुन् । यस्तै पोखराका अमित गुरुङ र अशिम शेरचन कन्दरामा जोडिन आइपुगेका छन् । यी दुवै लिड गितार र रिदम गिटारिष्ट हुन् ।

पोखरामा भताभुङ्ग भएका ब्याण्डहरु जोडिन थालेपछि मध्याह्न, ब्रोसिस, नमस्ते, परिवेश, रियाज, भ्यागबोन, सिजन, दएज, त्रिवेणी, सृष्टि, द निजर, योङटाइगर, पिस ह्याङ्की, हाई वे गाइज, जिरोसिक्स वान, माइलस्टोन, भाइबेक्स, अन्नपूर्णलगायतका ब्याण्डलाई समेत फेरि कमब्याक हुने बाटो खुलेको छ । 


 

Leave A Comment