‘हनिमुन’ सिजन

आइतबार, १५ बैशाख २०७६, ०५ : ४८ मनोज घर्तीमगर
‘हनिमुन’ सिजन

प्राकृतिक सुन्दरता, स्वच्छ हावापानी, शान्त र खुला वातावरणका कारण पोखरामा जुनसुकै समय स्वदेशी तथा विदेशी हनिमुन जोडी घुमिरहेका भेटिन्छन् । 

यहाँ सिजनअनुसार जाडो र गर्मी छल्न आउनेको संख्या उत्तिकै छ । विवाहपछिको सुमधुर साँझहरु बिताउन विवाहलगत्तै हनिमुन मनाउन आउने जोडीको संख्या बढ्दो छ । मंसिर, माघ, फागुनमा नव दम्पती देखिन्छन् पोखरामा । प्रायः विवाहको सिजनमा भर्खर विवाह गरेका लजालु जोडीहरु खुब देखिन्छन् यहाँ । स्वदेशी मात्रै हैन विदेशी नव विवाहिताको संख्या पनि बाक्लै देखिन्छ ।

‘हनिमुन मनाउने जोडीका लागि पोखरा उत्कृष्ट ठाउँ हो, यहाँ जे खोज्यो त्यही भेटिन्छ’ पश्चिमाञ्चल होटल व्यवसायी संघ (हान) का अध्यक्ष विकल तुलाचन भन्छन्, ‘हरेक वर्ष हनिमुन जोडीका लागि १५ प्रतिशतसम्म छुट दिएका छौं । यो यस वर्ष पनि कायम छ ।’

हनिमुनका लागि पोखरा आउँदा कम्तीमा दुई दिनको समय भने छुट्याउनुपर्छ । पोखराका रमणीयस्थलहरु घुम्दाघुम्दै दुई दिनको समय बितेको पत्तै हुँदैन । कतिपयले यहाँ आएपछि आफ्नो बसाइ लम्ब्याउने गरेका छन् । 

‘डुंगामा सयर गर्दागर्दै बोर लागेमा ढुंगाछेउ लगाएर पारिपट्टिको रानीवनमा गए पनि भयो’ पोखरालाई नै हनिमुन मनाउने थलोको रुपमा रोजेका अमर सुवेदी भन्छन्, ‘पोखरा हनिमुनका लागि यति मिलेको ठाउँ छ, भनी साध्य छैन, त्यसमा फेवाताल त सबैको रोजाइ हुने नै भयो ।’  

बेगनास र रुपा ताल घुम्न लेखनाथ जाने र शान्ति स्तुप पनि घुम्ने हो भने थप एकदिन बस्नै पर्ने हुन्छ । 
‘हामीलाई पोखराको बसाइ साह्रै रमाइलो लाग्यो’ फागुनमा वैवाहिक जीवनमा प्रवेश गरेर हनिमुन मनाउन पोखरा आएका चितवनका अनिश श्रेष्ठ भन्छन्, ‘यहाँको प्राकृतिक सुन्दरताले जति घुमे पनि नअघाउने रहेछ ।’
मंसिरको अन्तिम साता वैवाहिक बन्धनमा बाँधिएको अनिता पुजाको जोडीलाई कार्यव्यस्तताले हनिमुन ट्रिपमा निस्कन छ महिना कुर्नुपर्यो । नयाँ वर्ष अनि हनिमुन ट्रिप एकै पटक मनाउन पोखरा आएको यो जोडी सुरुमा दुई दिनका लागि भनेर आए पनि पछि थप दुई दिन बसेर फर्किएको छ ।

‘दुई दिन बितेको पत्तै भएन’ शान्ति स्तूपमा भेटिएकी अनिता भन्छिन्, ‘ पोखरा घुम्न त कम्तीमा एक साताको समय लिएर आउनुपर्ने रहेछ ।’ आफ्ना जीवनसाथीसँग फेवातालमा बोटिङ गरेको, सराङकोटबाट सूर्याेदय र मनोरम हिमाल हेरेको, यहाँका गुफाभित्र घुमेको अनि अल्ट्रालाइटमा उडेका क्षण सँधै अविस्मरणीय भएर बस्ने उनले सुनाइन् । ‘हाम्रो हनिमुन ट्रिप साँच्चैको स्मरणीय भयो,’ उनी भन्छिन्, ‘मैले फागुनमा विवाह गरेको मेरो साथीलाई हनिमुन मनाउन पोखरा सिफारिस गर्छु ।’ 

विदेशीको रोजाइ 
काठमाडौं, चितवन, विराटनगर, बुटवल, नेपालगञ्ज, धरान, ईलाम, धनगढी, दाङ, भरतपुर, झापालगायतका ठाउँबाट नवविवाहिता जोडी हनिमुन मनाउन पोखरा आउने गरेको व्यवसायीहरु बताउँछन् । उनीहरुको बसाइ दुईदेखि चार रातसम्म हुने गर्छ । 

‘व्यवसाय गर्नेदेखि सबैखाले पेशाका जोडी यहाँ आउँछन्’ लक्ष्मण रेष्टुरेन्ट बारका संचालक हरि भुजेल भन्छन्, ‘सिजनमा त एक÷दुई जोडी नभएको दिन नै हुँदैन ।’ 

नेपालीहरुमा पनि हनिमुन कल्चर बढ्दै गएकाले पोखरामा जोडीहरुको घुमघाम सधैँ देखिन्छ । यही कुरा बुझेका यहाँका व्यवसायीले १५ देखि २० प्रतिशतसम्म छुट दिएर प्रायः सबै क्षेत्रमा हनिमुन प्याकेज बेचिरहेका छन् । 

हान, टान, रेवान लगायतका संस्थाले भारत, चीन, बंगलादेश, थाइल्याण्ड, सिंगापुरमा समेत पुगेर पर्यटकलाई नेपालमा बोलाउन थालेका छन् । 

‘जाउँ है पोखरा अभियान चलाएपछि हनिमुन जोडीको आगमन राम्रो भएको हामीले पाएका छौं,’ रेवानका पूर्व अध्यक्ष चौबहादुर गुरुङ भन्छन् । 

हनिमुनका लागि पोखरामा आन्तरिक मात्र नभई भारत र चीनबाट समेत प्रशस्त जोडी पोखरा आउने गरेको व्यवसायीको भनाइ छ । 

‘पहिलापहिला भारतीय जोडी बढी हुन्थे’ पश्चिमाञ्चल ट्रेकिङ एजेन्सिज एसोसिएसन (टान) का वरिष्ठ उपाध्यक्ष सुशील पौडेल भन्छन्, ‘आजकल चिनियाँ जोडीहरुको हनिमुन स्पट पोखरा बन्न थालेको छ ।’

कति खर्च लाग्छ ?
हनिमुन आउँदा निर्विकल्प रुपमा लेकसाइडकै होटल पुग्छन् । लेकसाइड स्वदेशी तथा विदेशी पर्यटकको केन्द्र हो । यहाँका प्रायः होटलबाट फेवाताल र हिमालको मनोरम दृश्य देखिन्छ । आफ्नो खल्ती हेरेर यहाँ महँगोदेखि सामान्य दररेटका होटलमा बस्न सकिन्छ । सामान्य सुविधादेखि डिलक्स रुम भएका होटलहरु यहाँ प्रशस्त छन् । लेकसाइडका होटलले सुविधाअनुसार फरक–फरक शुल्क निर्धारण गरेका छन् । बाहिरीमुलुकका भन्दा आन्तरिक पर्यटकलाई शुल्कमा केही सहुलियत दिएका छन् । त्यसमा पनि प्याकेजअनुसार शुल्क निर्धारण गरेर विशेष सुविधासमेत दिँदै आएका छन् । 

एट्याच् बाथरुम, टेलिभिजन, तातोचिसो पानी भएको कोठामा बस्न चार हजारदेखि पाँच हजार पाँच सय रुपैयाँसम्म तिरे पुग्छ । वाथ टप, एसीलगायत अन्य सुविधा भएका कोठाका लागि भने ७ हजार रुपैयाँसम्म पर्छ । यो हिसाबले दुई रातको बसाइका लागि होटल खर्च १० हजारदेखि २० हजार रुपैयाँसम्म छुट्याए पुग्छ । हनिमुन मनाउन आउने जोडी घुम्नमै व्यस्त हुने भएकाले अधिकाँशले बाहिरका होटल तथा रेष्टुरेन्टमा खाना–खाजा खाने गर्छन् । यसो गर्दा एक छाक सामान्य खानाको दुई सयदेखि चार सय ५० रुपैयाँसम्म पर्छ । यहाँको प्रख्यात थकाली खाना खाने हो भने एक छाकको चार सयदेखि ५ सय रुपैयाँसम्म लाग्छ । 

यस्तै डुंगा चढेर ताल बाराही मन्दिर जान प्रति व्यक्ति ८० रुपैयाँ तिरे पुग्छ । डुंगा भाडामा लिएर एकघण्टा ताल घुम्ने हो भने दुई हजार रुपैयाँसम्म लाग्छ । रमण्ीायस्थल घुम्न लेकसाइडमा भाडाका ट्याक्सी तथा मोटरसाइकल पनि उपलब्ध हुन्छन् । डेभिज फल्स र गुप्तेश्वर गुफा सँगै रहेकाले एउटै ट्याक्सी खर्चमा दुवै ठाउँ घुम्न सकिन्छ । ट्याक्सीका लागि आपसी सहमतिमा भाडा तिर्नुपर्छ । दिनभर सबै भ्रमणस्थलको घुम्ने एउटै ट्याक्सी भाडामा लिने हो भने करिब तीनदेखि चार हजार रुपैयाँ पर्छ । 
 

Leave A Comment