रेड लाइट एरिया र गाँजा खुल्ला हुने गरी पोखरामा ‘इञ्जोय जोन’ बनाउने प्रदेश सरकारको योजना सार्वजनिक भएसँगै पक्ष–विपक्षमा बहस सुरु गरायो । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले इन्जोय जोनको डिपिआर अगाडि बढाएकोबारे शुक्रबार साप्ताहिकले अघिल्लो साता विस्तृत सामाचार प्रकाशित गरेको थियो ।
सो योजना सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा पक्ष–विपक्षमा खुलेर बहस सुरु भयो । केही खुलेरै पक्षमा उभिए भने केही विपक्षमा । पक्षमा देखिएकाहरुको तर्क छ ‘गुपचुप गराउनुभन्दा कानुनी दायरामा ल्याउनु राम्रो ।’ विपक्षमा मत राख्नेहरुको तर्क छ ‘यो सामाजिक मूल्य र मान्यताविपरीत हो’ ।
पोखरामा विरोधको स्वर बाक्लो सुनियो । पोखरा बाहिर समर्थनको स्वर । नागरिक समाज, लेखक, बुद्धिजीवी, प्राध्यापक, पर्यटन व्यवसायी, पत्रकारलगायतका क्षेत्रका पोखरेली विपक्षमा देखिए । समर्थन गर्ने पोखरेली नभएका हैनन् तर उनीहरुको स्वर अली सुस्त देखियो ।
पर्यटनमन्त्री विकास लम्सालको भनाइमा ‘इन्जोय जोन’मा खाने, बस्ने, सुत्नेसहित यौनजन्य क्रियाकलाप र लागूऔषधको सेवन खुल्ला हुनेछ । उनले पर्यटक र मनोरञ्जनका लागि आवश्यक सबै सुविधा एकै ठाउँमा उपलब्ध गराउने गरी ‘इन्जोय जोन’ खोलिने जहाँ यौन र लागूऔषधसमेत खुल्ला हुनसक्ने बताएका थिए । तर बहस पूरै रेड लाइट क्षेत्रमा मात्र केन्द्रित भयो । सर्वसाधारणदेखि बौद्धिक वर्गसमेत पोखरामा रेड लाइट एरिया बन्ने भो भनेर त्रसित अवस्थामा देखिए । यौन ममिलामा खुलेर कलम चलाउनेहरुसमेत यसको विपक्षमा देखिए ।
गण्डकी प्रदेशका मुख्यमन्त्रीले नै यस अगाडि ‘रेड लाइट एरिया’ खोल्ने धारणा सार्वजनिक गरेकाले अधिकांशले ‘इन्जोय जोन’ रेडलाइट एरियाको परिस्कृत नाम मात्र भएको विश्लेषण गरेका छन् ।
इञ्जियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस, लामाचौर पोखराका प्राध्यापक डा. वसन्त गौतम प्रदेश सरकारको इन्जोय जोनको अवधारणामा सहमत देखिएनन् । केही शब्दजालले छोपेर भए पनि ‘रेड लाइट एरिया’ खोल्न कस्सिएर लागे पोखरेलीले प्रतिवाद गनुपर्ने उनको मत छ ।
‘कुनै पनि देश रेडलाइट एरियाकै भरमा समृद्ध भएको छैन,’ उनले भने, ‘थाइल्यान्डको उदाहरण खुब दिन्छन् तर थाइल्यान्ड आफ्ना छोरीहरुको देह बेचेर मात्र धनी भएको हैन । शिक्षा र प्रविधिमा गरेको लगानीको प्रतिफल हो ।’
टानका वरिष्ठ उपाध्यक्ष सुशील पौडेल भाषागत रुपमा मात्रै फरक राखेर पोखरामा रेडलाइट एरिया नै संचालन गर्न खोजिएको हो भने स्वीकार्य नहुने बताउँछन् । नेपाली समाज यति अगाडि जान सक्छ कि सक्दैन भन्नेबारे छलफल चलाउनुपर्ने उनको मत छ ।
पौडेल भन्छन्, ‘इन्जोय जोन भनेको के हो ? त्यसमा के–के समावेश हुन्छन् भन्ने प्रस्ट पार्नुपर्छ । नीतिमा स्पष्ट खुलाउनुपर्यो ।’
यौनबारे खुलेर लेख्ने लेखक गनेस पौडेल पनि खुल्ला सेक्स र खुल्ला ड्रग्सको अवधारणासहितको ‘इञ्जोय जोन’ को विपक्षमा देखिए । उनको मत पोखरामा रेड लाइट क्षेत्र हुनुपर्छ भन्नेको विपक्षमा देखियो ।
‘पोखरामा रेडलाइट एरिया खोल्नु उपययुक्त हुँदैन’ उनले अस्वीकार गर्नुको कारण समाजले वेश्यावृत्तिलाई स्वीकार नगर्नु रहेछ । यौन व्यवसायमा लागेका युवतीलाई समाजले नस्विकार्ने, विवाह नगर्ने समस्या आउने र रेडलाइट एरिया खुले पनि त्यहाँ महिलाहरु जान नसक्ने उनले दाबी गरे ।
इन्जोय भनेर महिलाको शरीरसँग मात्र जोडेर हेरिन नहुने स्तम्भकार सावित्री गौतमको मत छ । उनले यसलाई सेक्स, गाँजा र चरेससँग मात्रै जोड्नु गलत हुने भन्दै राजनीतिकवादसँग जोडेर टिप्पणी गरिन्, ‘कम्युनिस्ट, त्यसमा पनि माक्र्सवादीहरुले महिलालाई वस्तुवादी बनाउनुपर्छ भन्ने कुराको सधैँ विरोध गर्दै आए । उनीहरुकै दुई तिहाईको सरकार हुँदा यसको प्रयोग गर्न खोज्नु गलत हो ।’
कवि सञ्जिव पौेडेल प्रदेश सरकारको अवधारणाको व्याख्यामा समाजवादतिर ढल्किए । आम नागरिक रोग, भोक, गरिबी र बेरोजगारीले निरन्तर आक्रान्त भइरहेको बेला प्रदेश सरकारको सरोकार ‘इन्जोय जोनतिर हुनु उनका लागि स्विकार्य देखिएन ।
‘प्रदेश सरकारले जतातिर ध्यान दिनुपर्ने हो त्यता दिएको छैन । यत्तिकै तिलमिलाएको छ । पर्यटन वासना र शरीर सुखबाहेक अन्य कुनै पनि पक्षतर्फ लालायित हुँदैन भन्ने सोचाइ प्रदेश सरकारमा छ । ‘इन्जोय जोन’ आफैँमा बदनियतपूर्ण छ,’ कवि पौडेलले भने । आफूलाई प्रगतिवादी पक्षमा उभ्याउँदै आएकी कवियित्री तथा उपन्यासकार सरस्वती प्रतिक्षाले पनि पोखराको मूल्य मान्यतासँगै जोड्दै इन्जोय जोनको विरोध गरिन् सामाजिक सञ्जालमा ।
इन्जोय जोनबारे विरोध मात्रै आएका छैनन्, यसको समर्थन पनि छ । पोखरेली समाजसेवी अशोक पालिखे प्रदेश सरकारले ल्याएको इञ्जोय जोनको प्रस्तावलाई पूरै नकारात्मक रुपमा लिन नहुने सुनाउँछन् ।
‘अहिले पनि अघोषित रुपमा त रेडलाइट एरिया छँदैछ छ नि । त्यसलाई सरकारले व्यवस्थित बनाउँछौं भन्दा त्यसलाई नकारात्मक तरिकाले हेर्नु हुँदैन । रेडलाइट एरिया कहाँ छैन । संसारको गरिब देश कम्बोडियामा पनि छ । धनी देश अमेरिका बेलायतमा पनि छ’ पालिखे भन्छन् ।
इञ्जोय जोन भनेको खालि रेडलाइट यरिया मात्रै बुझ्नु गलत हुने उनको मत छ । सामाजिक सञ्जालमा बहसमा उत्रिएकाहरुले समेत घोषित नभए पनि यौन व्यवसाय र गाँजाको कारोवार जारी नै रहेकाले यसलाई थप व्यस्थित गर्दा उत्तम हुने मत राखिरहेका छन् ।
पक्ष–विपक्षमा बहस भएसँगै प्रदेश सरकारले भने अध्ययन, अनुसन्धान र डिपिआर तयार गर्न ९ करोड बजेट छुट्याइसकेको छ । यो आर्थिक वर्षको अन्त्यसम्ममा डिपीआर तयार गरिसक्ने लक्ष्य प्रदेश सरकारको छ ।
Leave A Comment