पोषणविद् जया

आइतबार, १६ साउन २०७३, ११ : ५० शुक्रवार , Kathmandu
पोषणविद् जया

‘पोषणबारे यो समाजको चेत खुल्ने कहिले होला ?’
पोषणविद् डा. जया प्रधानको चिन्ता हो यो । आफूलाई जान्नेबुझ्ने ठान्ने मान्छेहरू नै आफ्नो आहारबिहार सन्तुलित राख्नतिर ध्यान नदिने प्रवृत्ति देखेर उनलाई नमज्जा लाग्छ ।
आठ कक्षाबाट होम साइन्स पढ्न थालेकी उनलाई यसैसँग सम्बन्धित विषयमा पीएचडी गरेर २५ वर्ष प्राध्यापन गरिसक्दा पनि समाजको सोच त्यति बदलिएको जस्तो लाग्दैन । आईए, बीए र एमए पद्मकन्या क्याम्पसमा पढेकी उनी यही क्याम्पसको सहायक प्रमुखका रूपमा कार्यरत छिन् । उनका अनुसार पोषणबारे समाजमा विद्यमान केही सोच अझै बदलिएका छैनन् ।
पोषण हुनेखानेले मात्र सोच्ने कुरा हो । खर्च बढ्छ । हुँदा टन्न खाने, नहुँदा खाली पेट बस्ने । मोटो हुनु स्वस्थ हुनु हो । शारीरिक परिश्रम गर्नु नपर्ने अवस्था सुख हो । यस्तैयस्तै सोच हाम्रो समाजमा विद्यमान रहेको डा. जया बताउँछिन् । पोषणबारे अध्ययन अर्थात् फुड एन्ड न्युट्रिसन विषय नेपालमा होम साइन्सअन्तर्गत पर्छ । ‘यो केटीले मात्र पढ्ने विषय हो । यो भात पकाउने विषय हो जस्ता साँघुरा सोच असन्तुलित जीवनयापनका जिम्मेवार छन्,’ जया भन्छिन्, ‘दीर्घ रोगको मूल कारण हो, असन्तुलित आहारबिहार । चलिरहेकै दिनचर्यामा सामान्य हेरफेर मात्र गर्दा जीवनशैलीमै सन्तुलन आउने कुरातर्फ ध्यान दिन सकेकै छैनौँ ।’
धेरै शहरवासीमा देखिने मधुमेह रोगलाई उनी उदाहरणका रूपमा प्रस्तुत गर्छिन् । उनका अनुसार जिउनेशैली नजानेर लाग्ने रोग हो, मधुमेह । शारीरिक रूपमा निष्कृय हुने, क्यालोरीको ख्याल नगरी भेटेजति खाइदिने, खानाको रुटिन ख्याल नगर्नेलगायत कारण मुख्य छन् । ‘मधुमेह भएको थाहा पाएपछि भातलाई ठ्पाप्पै रोक्ने, रोटी वा च्याख्ला आवश्यकताभन्दा धेरै वा कम खाने, फलफूलमा चिनी हुने भन्दै नखाने गर्दा पनि झन् समस्या बढ्छ,’ उनी भन्छिन् ।
जयाका अनुसार फलफूलको साटो जुस मात्र खाँदा मधुमेहका बिरामीलाई झन् खतरा हुन्छ । उनी भन्छिन्, ‘सिजनल फ्रेस फलफूलको बोक्रामा हुने फाइबरले शरीरमा ग्लुकोजको मात्रा कम गर्न सघाउँछ । त्यसैले सकभर फ्रेस फलफूल बोक्रासहित खाँदा फाइदा पुग्छ । भटमास र बदामको भित्री बोक्रा नछुटाउँदा शरीरमा खानाको सन्तुलन मिल्छ ।’
केमिकल हालिएका फलफूल, तरकारीबाट जोगिन मुश्किल छ । तैपनि, जोगिन सामान्य उपाय अपनाउन सकिने उनको भनाइ छ । ‘स्याउमा मैन लगाएर चिल्लो देखाइएको हुन्छ । त्यसबाट जोगिन सोडा पानीमा डुबाउँदा त्यो मैन हट्छ । फ्रिजमा राखिएको फलफूल, तरकारीको साइज बढ्यो भने प्रयोग गर्नु हुँदैन,’ उनी सल्लाह दिन्छिन्, ‘यहाँ उमेरअनुसार ‘स्पेसल डाइट’को अभाव छ । यसकारण अभिभावक आफैँले बच्चाका लागि क्यालोरी आँकलन गरेर खाना, खाजा तयार पारिदिनुपर्छ । सकभर रेडिमेड खानेकुराबाट बच्नुपर्छ । मासु पकाउनुअघि सफा पानीमा पखाल्ने कुरामा सचेत हुनुपर्छ । मासु र तरकारी काट्ने चपिङ बोर्ड फरक र सफा हुनुपर्छ ।’
‘नेसनल डाइटरी गाइडलाइन’को आवश्यकता देख्छिन्, जया । अहिलेसम्म भारतकै गाइडलाइन पछ्याउने गरिएको उनी बताउँछिन् । आफूले तयार पारेको गाइडलाइन अब राष्ट्रिय बहसको विषय बन्नेमा उनी विश्वस्त छिन् । उनले बनाएको गाइडलाइन अडियो–भिजुअलमा समेत उपलब्ध हुँदै छ । जसबाट निरक्षर व्यक्तिले समेत ज्ञान लिन पाउनेछन् । उनी सदस्य रहेको त्रिविको सेन्ट्रल डिपार्टमेन्ट अफ होम साइन्सले नयाँ डिजाइन गरेको फुड एन्ड न्युट्रिसन कोर्स अभ्यासमा आइसकेको छ । यो कोर्स प्रयोगात्मक केन्द्रित रहेको बताउँदै जया यो विषय पढ्नेको भविष्य पनि उज्ज्वल देख्छिन् ।
अहिलेको जमानामा पनि ‘होम साइन्स केटीले मात्र पढ्ने हो’ भन्ने सोच कायम रहनु दुःखद भएको उनको बुझाइ छ । ‘यो ज्ञान पढ्नका लागि मात्र हो भन्ने सोच्नेहरू पनि छन् यहाँ,’ उनी भन्छिन्, ‘विकसित देशतिर विभिन्न रोगका चिकित्सक र पोषणविद्को समन्वयमा उपचार हुन्छ । तर, यहाँ पोषणविद्को आवश्यकता महसुस हुनै बाँकी छ । औषधि खाएर मात्र हुँदैन । मुख नबार्ने वा मिलाएर खाना नखाने हो भने त्यसले कामै गर्दैन ।’
पोषणसम्बन्धी जनचेतना नभएर नै धेरै समस्या भइरहेको ठान्ने उनी पोषणलाई जीवनको अपरिहार्य ज्ञान ठान्ने हो भने मात्र स्वस्थ जीवनयापन सम्भव रहेको बताउँछिन् । ‘पोषण जिउने कला हो,’ उनी भन्छिन्, ‘यो कलाले मान्छेलाई स्वस्थ र सन्तुलित जीवनयापन गर्न सघाउँछ ।’ समाजमा पोषणबारे अपेक्षित नभए पनि सामान्य चेतना भने बढ्दै गएको उनको अनुभव छ ।
सानैदेखि होम साइन्समा रुचि राख्ने गर्थिन् जया । यसको एउटै कारण थियो, होम साइन्स छोरीले मात्रै पढ्नुपर्छ वा यो पढेको छोरीले घरव्यवहार चलाउन सिपालु हुन्छे भन्ने सोच । ‘आफूले पाएको ज्ञानबाट परिवारलाई खुशी र स्वस्थ राख्न सफल छु,’ भन्छिन् जया, ‘स्वस्थ आहारबिहार छ घरमा । कुकिङ मेथड अलि फरक छ । तेलमा तार्ने काम कम हुन्छ । भान्सामा मासुको मात्रा कम हुने नै भयो । त्यसमा पनि बोसोदार मासु लगभग निषेधित नै छ । स–साना व्यवहारमा ख्याल ग¥यौँ भने आफैँलाई फाइदा हुन्छ भन्नेमा सबै कन्सस छन् । नेवार परिवार भएर पनि मासु र चिल्लोचाप्लो सक्दो कम गर्न खोज्छौँ ।’

 

Leave A Comment