पर्दामा ङोल्स्योको चमक

आइतबार, १५ असार २०७६, ११ : ३१ मनोज घर्तीमगर
पर्दामा ङोल्स्योको चमक अनुता गुरूङ, जसु गुरूङ र रजनी गुरूङ।

जसु गुरुङ अहिले गुरुङ फिल्म उद्योगमा व्यस्त छिन्। जेठ २६ देखि असार २६ गतेसम्म काठमाडौंमा भएको ‘तेस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०७६’मा जसुले निर्देशन गरेको पहिलो फिल्म म्ले क्यु (बिर्साउने पानी) ले उत्कृष्ट फिल्म निर्देशकको अवार्ड पायो।

मनोहर रानाको ‘पातभन्दा फूल राम्रो’ गीतबाट मोडलिङ दुनियाँमा प्रवेश गरेपछि जसु सेतो पर्दामा सबैभन्दा बढी चम्किएकी गुरुङसेनी हुन्। पोखराको नदिपुरमा रहेको डाँफे कला मन्दिरका संचालक स्व. क्याप्टेन मीनबहादुर गुरुङले ‘टोरा’ (टुहुरो) नामक गुरुङ फिल्ममा खेल्ने अवसर दिएपछि उनले एकपछि अर्को सफलतामा हात पारिन्। रहरमै ग्ल्यामर दुनियाँमा छिरेकी जसु ‘रुपै राम्रो रुपा तालको’ नामक म्युजिक भिडियोको निर्देशन गरेपछि चर्चामा आइन्।

‘अभिनय गर्दागर्दै निर्देशनमा हात हालेको छु, दर्शकबाट राम्रो प्रतिक्रिया पाएकाले हौसिएको छु,’ गुरुङ पहिरनमा सजिएकी उनले जोसिलो पारामा भनिन्, ‘अरुले गुरुङ फिल्ममा निरन्तरता दिन नसके पनि मैले कुनै बेला अभिनय, कुनै बेला निर्देशन कुनै बेला कोरियोग्राफी लगायत एउटा न एउटा माध्यमबाट निरन्तरता दिन सकेकी छु।’

गुरुङहरुको बाक्लो बस्ती रहेको पोखरा र आसपासमा गुरुङ भाषा, संस्कृति, रहनसहनलाई विषयवस्तु बनाएर गुरुङ फिल्महरु धमाधम बनिरहेका छन्। फिल्म निर्माणसँगै थुप्रै ङोल्स्योहरुको सेतो पर्दामा देखिने चमकदमक उम्दा छ। त्यस्तै अर्की उम्दा नायिका हुन् अनुता गुरुङ। कुनै बेला वेभसाइटका लागि मोडलिङ गर्नु, म्युजिक भिडियोको अभिनय गर्ने उनले एकपछि अर्को फिल्ममा अभिनय गर्ने मौका पाइरहेकी छिन्।

२०६५ मा मोडलिङ गर्दै रंगिन दुनियाँमा प्रवेश गरेकी थिइन् अनुता। कृष्ण गुरुङले निर्देशन गरेको ‘माया गर्छु भन्नेले...’ बोलको गीतमा अभिनय गरेपछि उनी ग्ल्यामर दुनियाँमा चिनिन थालेकी हुन्।

‘चोखो माया’ नामक गुरुङ फिल्ममा खेल्ने अवसर दिएपछि उनले एकपछि अर्को म्युजिक भिडियो र फिल्ममा अभिनय गर्ने मौका पाइरहिन्। ‘अचेल फिल्ममा अभिनय गरिदिनका लागि एकपछि अर्को अफर आएका छन्’ उनी भन्छिन्।

वर्षेनी पोखरामा गुरुङ फिल्म बन्ने क्रम बढेको छ। त्यसले गर्दा पनि गुरुङ युवतीहरुको फिल्म अभिनयतिर झुकाव बढेको छ

गुरुङ फिल्ममा नायिकाको भूमिकामा जमेकी रजनी गुरुङले पनि एकपछि अर्को फिल्ममा काम गरिरहेकी छिन्। फिल्म धिँ बाट अभियन यात्रा थोलेकी रजनी गुरुङ अहिले चर्चामा छिन्। एक दर्जनभन्दा बढी गुरुङ फिल्म र थुप्रै म्युजिक भिडियोमा आफ्नो कला देखाइसकेकी उनी यतिमै सीमित भइनन्। गुरुङ फिल्मलाई टेको लगाउँदै उनी ठूलो पर्दाको फिल्ममा उत्तिकै जमेकी छिन्। ‘टलकजंग भर्सेज टुल्के’, ‘सुराक’ जस्ता नेपाली फिल्ममा उम्दा अभिनय गरेकी उनी जापानी निर्देशक हिरायाना हिदेयुकीले हालै नेपालमा छायांकन सकाएको ‘एभरेस्ट समिट अफ गड्स’ समेत आफ्नो कौशल देखाउने मौका पाएकी छिन्।

‘मेरी बास्सै’का निर्देशक सीताराम कट्टेलले रजनीलाई भित्र्याएपछि उनी नाटकमा मंगली बनेकी थिइन्। मंगली क्यारेक्टरबाट रजनीले छोटो समयमै आफ्नो प्रभाव छोड्न सफल भएपछि उनको चर्चा ह्वात्तै चुलिएको हो। ‘मेरो फूपू, बाबा, आमा, भाइ सबै नाचगान गर्ने परिवार नै रंगिलिएकोे थियो। अहिले पनि छ। म पनि राम्रै नाच्थेँ। त्यो सीपले फिल्म लाइनमा डो-यायो’ उनी भन्छिन्, ‘धेरैजना कलाकार बन्छु भनेर यो लाइनमा आउँछन् तर, टिक्न सक्दैनन्। मैले राम्रो प्लेट फर्म पाएँ। राम्रो पाएर राम्रो हुँदै गएँ। सपोटिङ रोल कहिल्यै गर्नु परेन।’ रहरमै फिल्ममा हाम फालेकी रजनीको भूमिका फराकिलो बन्दै गएको छ। रजनीले दर्जन बढी फिल्म, दुई दर्जन बढी म्युजिक भिडियो र टेलिसिरियलमा अभिनय गरेकी छिन्।

वर्षेनी पोखरामा गुरुङ फिल्म बन्ने क्रम बढेको छ। त्यसले गर्दा पनि गुरुङ युवतीहरुको फिल्म अभिनयतिर झुकाव बढेको गुरुङ फिल्म एसोसिएसन जिफानका संस्थापक अध्यक्ष एवं निर्देशक माओत्से गुरुङको ठहर छ। ‘वर्षेनी गुरुङ फिल्म बन्ने क्रम बढेको छ,’ उनी भन्छन्, ‘यसले गर्दा पनि गुरुङ युवती फिल्म खेल्न उत्साहित भएका मात्र छैनन् मौका पनि पाएका छन्।’ उनले निर्देशकहरुले रिस्क उठाएर भए पनि गुरुङसेनी (ङ्योल्सो) नायिकालाई भर्सटाइल रोल दिएमा यिनीहरु अझ चम्किने र उनीहरुको कलाकारिता देखिने बताए।

उसो त गुरुङ फिल्म हिजोआज बिस्तारै आधुनिकतातिर ढल्कँदैछन्। गुरुङ परम्परामै र आफ्नैपन भेषभूषामा फिल्म निर्माण हुने भए पनि पछिल्लो पुस्तालाई मध्यनजर गरी केही आधुनिकीकरण गर्न खोजिएको फिल्म निर्देशक माओत्सेको भनाइ छ। पोखरामा मात्र गुरुङ भाषा र संस्कृतिमा आधारित १०० भन्दा बढी फिल्म निर्माण भइसकेका छन्। ती फिल्ममा अभिनय गर्ने नायिकाहरु २० भन्दा बढी छन्। अधिकांश अहिले पनि फिल्म क्षेत्रमै सक्रिय छन्। वैवाहिक जीवनमा बाँधिए पनि फिल्म क्षेत्रमा अभिनयलाई निरन्तरता दिनु उनीहरुको सबल पक्ष हो। गुरुङ फिल्मको बढ्दो निर्माण क्रमसँगै नयाँ अनुहार पनि त्यत्तिकै मात्रामा थपिँदैछन्। जुना गुरुङ, निशा गुरुङ, छाया गुरुङ, मिरा गुरुङ, प्रतिक्षा गुरुङ, पविना गुरुङ, सबिना गुरुङ, शान्ति गुरुङ कृष्टि गुरुङ, रजनी गुरुङ, रिया गुरुङ, प्रीति गुरुङलगायतका नायिकाहरु अहिले बनिरहेका गुरुङ फिल्ममा सक्रिय रुपमा लागिरहेका छन्।

 

Leave A Comment