रंगिन रङ्गको जोखिम

सोमबार, १६ असार २०७६, ०१ : ४७ उपेन्द्र खड्का
रंगिन रङ्गको जोखिम

कपाल सुन्दर तथा आकर्षक बनाउन रंग्याउने प्रचलन बढ्दो छ। तर चिकित्सकका अनुसार कपाल रंग्याउँदा स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउन त सक्छ नै ज्यानै जाने जोखिम समेत हुन्छ। 

कपाल रंग्याउने रंगमा हुने ‘प्यारा–फेनिलिनडाइमिन’ नामक रासायनिक तत्वले एलर्जी गराउनसक्छ। ‘एचटुओ’ (हाइड्रोजन पेरो अक्साइड) जस्तो रासायनिक तत्व भएका रंग कपालमा लगाउँदा कपालको रंग नै बदलिदिने चिकित्सक बताउँछन्। यस्ता तत्वले कपाललाई ड्राइ बनाउँदा छाला रातो हुने जस्ता समस्या आउने स्वस्ति लेजर एण्ड स्किन केयरकी छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. प्रकृति ज्ञवालीले बताइन्।

सामान्यतः कपाल रंग्याएको २/३ दिनपछि देखिने एलर्जीलाई मेडिकल भाषामा कन्ट्याक्ट डर्माटाईटिस भनिन्छ। यो अवस्थामा चिलाउने, छालामा फोका तथा बिमिरा देखिने, छाला रातो हुने, सुन्निने लक्षण देखिन्छ। यसबाट लामो समय छालामा असर गर्न सक्छ।

कपालमा कडा किसिमका रासायनिक तत्व भएका रंग लगाउँदा कपालको जरै नस्ट भएर कपाल पुनः नआउने जोखिम हुने वीर अस्पतालकी वरिष्ठ कन्सल्टेन्ट डर्माटोलोजिस्ट (चर्म तथा छालारोग विशेषज्ञ) डा. अनुपमा कार्की (कुँवर) ले बताइन्।

कपालमा रंग लगाएको केही घण्टादेखि केही दिन सम्ममा रंगको असर देखिन सक्ने चिकित्सक बताउँछन्। कपाल टुक्रिने, पातलो बनाउने, कपालमा हाँगा पलाउने, कपालको चमक हराउने जस्ता समस्या हुन्छन्।

रंगको असरले स्वास्थ्यमा जटिल समस्या ल्याउन सक्ने चिकित्सकको तर्क छ। कपालको रंगको असरले कतिपय व्यक्तिमा टाउको, कान, घाँटी, आँखा, अनुहार चिलाउने, सुन्निने, पोल्ने शरीर सुन्निनेजस्ता समस्या हुने सिभिल अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ (डर्माटोलोजिष्ट) डा. रबिन्द्र शर्माले बताए।

कपालमा लगाउने रंगको असरले चिप्लो तरल पदार्थ छाला बाहिर निस्किएर पाप्रा निस्कने, छालामा फोका आउने, शरीरभरि डाबर आउने जोखिम हुन्छ। कपालमा लगाइने रंगका कारण आउने डाबरलाई मेडिकल भाषामा टाइप वान (१) रियाक्सन भनिन्छ। टाइप वान (१) रियाक्सनले कडा रुप लिए ‘एनाफाइल्याक्सिस’ हुन सक्छ। कतिपय व्यक्तिमा कपाल रंग्याउने रंग परेको भागमा मात्रै असर गर्छ भने कतिपयमा शरीरभरि फैलिने जोखिम हुन्छ।

कपाल रंग्याउने मेहन्दीलगायतका रंगले व्यक्तिमा एलर्जी हुने जोखिम हुन्छ। कपालमा मुख्यतः कन्ट्याक्ट (छोएर हुने) किसिमको एलर्जी हुन्छ। जसलाई मेडिकल भाषामा टाइप फोर हाइपर सेन्सिटिभिटी भनिन्छ। टाइप फोर हाइपर सेन्सिटिभिटीमा कपाल रंग्याउने रंग (मेहन्दी) मा ‘पिपिडी’ तत्वको प्रमुख कारणले एलर्जी हुन सक्छ।

‘जुन ठाउँमा रंग लाग्यो त्यही ठाउँमा मात्रै हुने एलर्जी कन्ट्याक डर्माटाइटिस हो,’ डा. ज्ञवाली भन्छिन्, ‘शरीरभरि फैलिएर श्वास फेर्न गाह्रो हुने अवस्था एनाफाइल्याक्सिस हो।’ एलर्जी फैलिएर जटिल रुप लिएको अवस्थामा विशेषगरी मुख, आँखा, श्वासनली सुन्निन्छ। श्वासनली सुन्निएपछि श्वास फेर्न कठिन हुन्छ। डा. शर्माले भने, ‘एनाफाइल्याक्सिस’ भएको खण्डमा तुरुन्त उपचार नगरे व्यक्तिको ज्यानै जान सक्छ। 

तर्क उस्तै
कपालमा रंग गर्नाले क्यान्सरको जोखिम समेत त्यत्तिकै हुन्छ। वीर अस्पताल क्लिनिकल अंकोलोजी विभागका विभागीय प्रमुख एशो.प्रो.डा. विवेक आचार्य पनि कपालमा लगाउने रंगले क्यान्सर भएको ठोस प्रमाणको जानकारी नभए पनि क्यान्सरको सम्भावना भने हुने उनले बताए। ‘कपालमा लगाउने रासायनिक तत्वले अनुहार तथा ब्लड क्यान्सरको सम्भावना हुन्छ,’ डा. आचार्यले भने।

त्यसैगरी गर्भवती महिलाले कपाल रंग्याउन नहुने प्रसूति गृहका रेजिडेन्ट डा. नविन दर्नालले सुझाए। गर्भवती भएको अवस्थामा कपालमा आमाले रंग लगाउँदा बच्चामा प्रत्यक्ष नभए पनि अप्रत्यक्ष रुपमा असर गर्न सक्छ। ‘आमालाई एलर्जी भएको अवस्थामा गर्भमा रहेको बच्चामा असर गर्ने जोखिम हुन्छ,’ डा. दर्नालले भने, ‘एलर्जीले ठूलो रुप लिँदा फोक्सोमा असर भएर ज्यान जान सक्छ।’ डा. आचार्य र डा. दर्नालको तर्कलाई आधार मान्दा पनि कपाल रंग्याउने शौख घातक हुन सक्ने देखियो।

थरी–थरीका रंग
लामो समयसम्म नजाने किसिमका कपाल रंग्याउने रंगमा हुने रासायनिक तत्वको तुलनामा छोटो समयमा जाने किसिमका रंगको जोखिम कम हुने डा. कार्कीको तर्क छ।

इन्डोलामाइन, इन्डोफेमलस्, मेटालिक डेरिभेटिभ्स, एजाइनजस्ता रासायनिक तत्व भएका हेयर कलर तुलनात्मक रुपमा कम घातक हुन्छन्। ‘पिपिडी, एचटुओ जस्ता रासायनिक तत्व परमानेन्ट हेयर कलरमा पाइन्छ,’ डा. कार्की भन्छिन्, ‘यी तत्व तुलनात्मक रुपमा घातक हुन्छन्।’

कपालमा लगाउने रंगको असरले एलर्जी नभई इन्टोलरेन्स पनि हुनसक्छ। इन्टोलरेन्स भन्नाले सामान्य चिलाउने, रातो हुने समस्या हो। चिकित्सकका अनुसार यस्तो समस्या ४८ घण्टा भित्र हुन्छ।

कतिपय व्यक्तिमा सुरुमा असर नदेखिए पनि निरन्तर एकदेखि पाँच वर्ष रंग लगाउँदा असर देखिन सक्छ। उमेर बढ्दै जाँदा छाला कमजोर हुनाले पनि यस्तो समस्या हुन सक्नेतर्फ चिकित्सक सजग गराउँछन्। 

उपचार सम्भव
रंगले असर गरेर उपचार नभएको हैन। उपचारबारे थाहा नपाउँदा ज्यान जान सक्छ। कपाल रंग्याउँदा एलर्जीलगायतको नकारात्मक असर भए तुरुन्तै उपचार गर्दा बच्न सकिन्छ। एलर्जी भएको खण्डमा तुरुन्तै साबुन पानीले धुन सकिने डा. शर्माको सुझाव छ। रासायनिक तत्व नभएको स्याम्पुले मनतातो पानीमा नुहाउन सकिन्छ। स्याम्पुमा भएको रासायनिक तत्वले पनि असर गर्न सक्ने भएकाले सकेसम्म सोप फ्रि स्याम्पुले नुहाउन डा. ज्ञवालीको सुझाव छ। एलर्जी कम गर्न स्वास्थ्य संस्था टाढा भएको खण्डमा मेडिकल पसलबाट मेडिकल पसलेको सल्लाहमा ट्याब्लेट औषधि खान सकिने डा. ज्ञवालीको सुझाव छ।

‘एलर्जी कम गर्ने मल्हम लगाएर पनि एलर्जी नियन्त्रणमा लिन सकिन्छ,’ डा. शर्माले भने। विशेषगरी कन्ट्याक्ट डर्माटाइटिस एलर्जीमा मल्हम लगाउन सकिने चिकित्सक बताउँछन्। यस्ता मल्हम तथा औषधि भने चिकित्सकको सल्लाहमा प्रयोग गर्नु राम्रो हुन्छ। ‘एनाफाइल्याक्सिस’ एलर्जीको जटिल रुप भएका व्यक्तिले यस्तो अवस्थामा चिकित्सकको सल्लाहमा उपचार गर्नुपर्छ। ‘एनाफाइल्याक्सिस’ भएको अवस्थामा व्यक्तिले मुखबाट औषधि निल्नसमेत नसक्ने भएकाले यस्तो अवस्थामा एलर्जी कम गर्न इन्जेक्सनमार्फन औषधि दिइने डा. ज्ञवालीले बताइन्।

सावधानी आवश्यक
कपाल रंग्याउने रंगको एलर्जीबाट बच्न सावधानी त अपनाउनै प-यो। एक किसिमको रंग (मेहेन्दी) ले एलर्जी भएको खण्डमा अर्को रंग प्रयोग नगर्न चिकित्सकको सुझाव छ। एलर्जीको समस्या हुने व्यक्तिले घामबाट त बच्नै पर्छ। कपाल रंग्याएकै कारण एलर्जी आएर त्यसको उपचार गरेपछि भने पुनः एलर्जी फर्किने सम्भावना नहुने डा. ज्ञवाली बताउँछिन्। कपालमा रंग लगाउँदा निर्धारित समयभन्दा बढी राख्न हुन्न।

कपालमा रंग लगाउनुपूर्व हात र कानको पछाडिको भागमा रंग (मेहेन्दी) लगाएर परीक्षण गर्नु उपयुक्त हुन्छ। यसरी परीक्षण गर्दा रंगको नकारात्मक असर नदेखिए मात्रै कपालमा रंग लगाउन सकिन्छ। बालबालिकाले भने कपालमा रंग लगाउन नहुने चिकित्सकको सुझाव छ। युवा–युवतीदेखि पाको उमेरसम्मका व्यक्तिले कपालमा कलर लगाउने भएकाले सकेसमम्म कसैले पनि कपालमा कलर गर्न नहुने चिकित्सकको सुझाव छ।

Leave A Comment