‘राजनीतिबाट ट्याक्सीतिर लागेँ’

सोमबार, १७ साउन २०७३, १० : ०१ अम्मर जिसी , Kathmandu
‘राजनीतिबाट ट्याक्सीतिर लागेँ’


केशव ढुंगाना
घर कहाँ हो ?
तारुका, नुवाकोट ।
कति वर्ष भयो ड्राइभर बनेको ?
११ वर्ष । पहिला त प्राइभेट चलाइयो । यो ट्याक्सी चलाउन थालेको तीन महिना मात्र भएको छ ।
भर्खरै ट्याक्सी चलाउन थाल्नुभएछ । कस्तो अनुभव गर्दै हुनुहुन्छ ?
थरीथरी प्यासेन्जर झेल्नुपर्छ । कोही राम्रा भेटिन्छन् । छुट्ने बेला फेरि चाहिएला भनेर नम्बर माग्छन् । कोही किन भेटिए होलान् जस्ता हुन्छन् ।
नयाँ लटको ट्याक्सी चलाउँदै हुनुहुन्छ । यो अवसर पाउन कत्तिको सजिलो भयो ?
अरूले भन्ने गरेजस्तो धेरै गाह्रो भएन । तर, ट्याक्सी चलाउने निर्णय मेरो जीवनको एउटा झट्का बन्यो ।
कस्तो झट्का ?
राजनीतिमा सक्रिय मान्छे यता लागेपछि धेरैले धेरैथरी कुरा गरे । राजनीति मात्र गरेर जिन्दगी चल्दैन भनेर ट्याक्सी लिइहालियो । ‘तपाईंलाई सुहाएन हाम्लाई चलाउन दिनुस्’ भन्ने पनि भेटेँ ।
राजनीतिमा के जिम्मेवारी थियो ?
तरुण दलको जिल्लास्तरको जिम्मेवारीमा थिएँ ।
राजनीतिमा ‘स्पेस’ नपाएर यता लाग्नु भएको हो कि ?
होइन । कुनै न कुनै काम गरेर जीवन धान्ने अनि साइडमा राजनीति पनि गर्ने सोच हो ।
राजनीतिबाट मन्त्रीसम्मै बन्ने सपना थियो होला ?
नहोला भन्न कहाँ सकिन्छ ! तर, राम्रो काम गरेर माथि पुग्नुपर्छ भन्ने सोच्छु ।
राजनीति र ड्राइभिङमा कुन काम सजिलो ?
ड्राइभिङ नै सजिलो । यो आफैँले चलाउन सकिन्छ । राजनीति त नेताको मात्र हातमा हुँदैन । खै कताकताबाट चल्छ ?
राति पनि चलाउनुहुन्छ ?
सुरुसुरुमा चलाएँ । सकिनँ । रातमा मापसेवालाहरूले हैरान पार्दा रहेछन् ।
कति पढ्नु भएको छ ?
१० कक्षा पढेर लहलहैमा लागेर दिल्ली गइयो । त्यहाँ टोयोटा कम्पनीमा काम गर्दागर्दै गाडी चलाउन सिकेर यता आइयो ।
मनोरञ्जनका लागि के गर्नुहुन्छ ?
गाडीमा लोकगीत सुन्छु । साँझमा कहिलेकसो दोहोरी रेस्टुरेन्ट गएर रमाइलो गरिन्छ ।
गीत गाइन्छ पनि ?
गाउने त होइन । तर, भिडियो भने यसो खेल्ने गरिन्छ । दुइटा गीतको भिडियोमा खेलेको छु ।
यो नयाँ ट्याक्सी ‘लक्जरियस’ छ है ?
हो नि । दिनभर चढ्ने प्यासेन्जरले पनि थाकेको महसुस गर्दैनौँ भन्छन् ।

 

 

Leave A Comment