नाटकघरमा ‘योनिका कथाहरु’

सोमबार, २३ असार २०७६, १२ : ५८ शुक्रवार
नाटकघरमा ‘योनिका कथाहरु’

पोखराको गैह्रापाटनमा रहेको पोखरा थिएटरको गन्धर्व नाटकघरमा ‘योनिका कथाहरु’ मञ्चन भएको छ। कथा घेरा प्रोडक्सनको प्रस्तुतिको नाटक शुक्रबारदेखि आइतबार तीन दिनसम्म चलेको थियो। नाटकको सम्पूर्ण युनिट पोखरा आइपुगेका छन्। आकांक्षा कार्कीले निर्देशन गरेको नाटक उनकै अवधारणा, परिकल्पनामा मञ्चन भएको हो।

बाल्यकालदेखि घर, स्कुल, कलेज, विश्वविद्यालय अनि काम गर्ने स्थानमा हुने यौन दुव्र्यवहार, निर्मलाहरुको कथा, शक्तिको दुरुपयोग, अलग–अलग समुदायका महिलाहरुको भोगाइहरुमार्फत पितृसत्तात्मक सोचलाई चित्रण गरिएको नाटक ‘योनिका कथाहरु’ लाई पोखरेली दर्शकले रुचाएको निर्देशक कार्कीले बताइन्।

काठमाडौंमा मञ्चन गरेपछि दर्शकले दिएको प्रतिक्रियाबाट हौसिएर पोखरामा आएको उनले सुनाइन्। पोखरापश्चात् नेपालका अन्य मुख्य शहरमा समेत नाटक मञ्चन गर्ने तयारी गरेको कौशी थिएटरको सह–संस्थापक समेत रहेकी कार्कीले बताइन्।

नाटकमा लूनिभा तुलाधर, सुदाम सिके, केनिपा सिंह, अनुजा अधिकारी, बिनिता गुरुङ, रोशनी स्याङ्बो, अर्चना पन्थी, सचिन मल्ल, आयुश्मान प्याकुरेलको अभिनयले दर्शकको मन जितेको थियो। नाटकको आलेख सौरभ कार्कीले तयार पारेका हुन् भने सुरज सुवेदी, सुदाम सिकेले सौरभलाई सहयोग गरेका छन्। १ घण्टा ३० मिनेट अवधिको नाटक हरेक दिन दुई सो नाटक मञ्चन भएको थियो।


Leave A Comment