धुनमा तारादेवी र अरुणा

आइतबार, २९ असार २०७६, १२ : १७ मनोज घर्तीमगर
धुनमा तारादेवी र अरुणा

नेपाली सांगीतिक जगतमा मुर्धन्य व्यक्ति हुन्, तारादेवी र अरुणा लामा। उनीहरुका सुमधुर स्वर सुनेर मन्त्रमुग्ध नहुने कमै होलान्। यिनै स्वर किन्नरीलाई पोखरेली महिला गायिकाहरुको समूहले सम्झना गरेको छ। पोखरेली सुगम संगीतमा समर्पित गायिकाहरुले तेस्रो संस्करणका रुपमा गरेको ‘रारा टेस्ट अफ हार्मोनी : धुनहरुमा तारादेवी र अरुणा लामा’ कार्यक्रम नाम दिएर उनीहरुलाई सम्झिएको हो।

अरुणा लामाले गाएको ‘नेपाली गौरव गर्छौ आफ्नै पनमा’ गीतलाई १२ पोखरेली गायिकाहरुको सामूहिक स्वरले गुञ्जायमान बनाउँदै सुरु भएको कार्यक्रम करिब तीन घण्टा चल्यो। पोखरा सभागृहमा शनिबार भएको सांस्कृतिक कार्यक्रममा निरन्तर अरुणा लामा र तारादेवीका गीतहरुमा थुप्रै पोखरेली रमाए। दिवंगत गायिका द्वय तारादेवी र अरुणा लामामा समर्पण गरिएको सांगीतिक कार्यक्रममा सहभागिता जनाउनेको संख्या बाक्लो थियो।

कार्यक्रममा उमेरले ८० पुग्न आँटेकी दार्जलिङ्की गायिका दाबा ग्याल्मोले ४० वर्ष अगाडि लाहुरेनी हुँदै हङकङ पुगेको समयमा रेकर्ड गरिएको गीत ‘मेरो यो सानो संसारलाई ठूलो बनाउन चाहन्न ...’ गाएपछि सांगीतिक माहोल तातिन सुरु भयो। त्यसपछि लगातार पोखरेली गायिकाहरुले तारादेवी र अरुणाका गीत गाइरहे। इतु जोजिजु, कौशल्या गुरुङ, शीतल थापा, मितु पाल सिंह, अजुदा थापा, बबी सुनार, इनिशा दुरा, प्राप्ति तुलाचन, रजनी रिदम राई, ममता गुरुङ, लक्ष्मी गिरी, स्नेहा गुरुङ, सबिना सुनाम, रुमा तुप्रिहाङ थापा, एलिना गुरुङलगायतका गायिकाले तारादेवी र अरुणाका रोज्जा दुई दर्जनभन्दा बढी गीत सुनाए। सहयोगी कलाकारहरुको रुपमा रामभक्त जोजिजु, विनोद बानियाँ र ज्ञान थापाको विशेष प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनपूर्ण बनाउन सघायो।

हार्मोनीले सुगम संगीतका क्षेत्रमा रुचि भएका तर अवसर र विभिन्न परिस्थितिबाट आफ्नो कला प्रस्तुत गर्न नपाएका महिला गायिकाहरुलाई पनि प्रोत्साहन र स्टेज प्रदान गर्दै आएको छ। गृहिणी रुमा तुम्रिहाङ्ग राईले पहिलोपटक स्टेजमा गाउन पाउँदा खुसी देखिन्थिन्। ‘विवाह गरेपछि आफ्नो रुचिलाई गुम्साउन बाध्य भए पनि हार्मोनीको प्रेरणाले आज जीवनमै पहिलोपटक यति धेरै मान्छेको अगाडि गाउन पाएँ,’ उनले खुसी पोख्दै भनिन्, ‘घरमा त मैले गीत गाउँछु भन्ने पनि थाहा छैन।’

कार्यक्रममा उमेरले ८० पुग्न आँटेकी दार्जलिङ्की गायिका दाबा ग्याल्मोले ४० वर्ष अगाडि लाहुरेनी हुँदै हङकङ पुगेको समयमा रेकर्ड गरिएको गीत ‘मेरो यो सानो संसारलाई ठूलो बनाउन चाहन्न ...’ गाएपछि सांगीतिक माहोल तातिन सुरु भयो।

आयोजक संस्थाका अध्यक्ष ईतु जोजिजुले महिला सुगम संगीत गायकहरुको उत्थान र प्रवद्र्धनमा समर्पित संस्था भएकाले सबैको सहयोगले गर्दा सहजरुपमा कार्यक्रम गर्न सकेको जानकारी दिइन्। ‘हामीले महिला गायकहरुको संरक्षण र प्रवद्र्धन गर्न यो कार्यक्रम गरेका हौं’ उनले भनिन्, ‘सबैको सकारात्मक सहयोगले गर्दा हामीलाई यस्ता खालका कार्यक्रम गर्न हौसला मिलेको छ।’

कार्यक्रमको अवसर पारी ३ जना कलाकारहरुलाई सम्मान गरिएको थियो। दार्जिलिङ्की गायिका दावा ग्याल्मो,  पोखरेली गायक कर्ण दासकी आमा तथा नृत्याङ्गना रत्न दासलाई हार्मोनी सम्मानबाट र उदियमान गायिका जोनिशा पौडेललाई युवा प्रतिभा सम्मान गरिएको थियो। सम्मानित भएपछि दावा ग्याल्मोले आफ्नो जवानी सम्झाएको भन्दै एक वर्षभित्र एल्बम निकाल्ने सुनाइन्। ‘उमेर सँगसँगै स्वरमा केही उतारचढाव हुन सक्छ। तर, आँट र जोशमा कुनै कमी हुँदैन, यो सम्मानको सम्मान गर्दै एउटा एल्बम निकाल्छु।’ उनले यसो भन्दा सभाहलमा तालिमको पर्रा छुटेको थियो।

संस्थाले यसअघि ‘लेजेन्डरी हार्माेनियस इभिनिङ’ र ‘टेस्ट अफ हार्मोनी’ नाममा कार्यक्रम गरेको थियो। तेस्रो कार्यक्रमलाई सफल बनाउन पोखराकै रारा चाउचाउले प्रायोजन गरेको थियो भने पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड र अन्य विभिन्न संघसंस्थाको सहयोग रहेको थियो। सुगम संगीतका क्षेत्रमा जीवन अर्पन गरेका महिलासँग सहकार्य गर्दै सुगम संगीतको यात्रा र क्षेत्रलाई लामो र फराकिलो बनाउने लक्ष्यका साथ २०७३ सालमा ‘हार्मोनी : द मोर्डन सङ्गस्ट्रेसेस अफ पोखरा’ नामक संस्था स्थापना भएको थियो।


Leave A Comment