पोखरामा भारतीय ‘कन्ट्याक्ट किलर’

आइतबार, १२ साउन २०७६, ११ : ५० प्रजु पन्त
पोखरामा भारतीय ‘कन्ट्याक्ट किलर’

अग्नि साक्षी राखेर सिन्दुर हाल्दा होस् वा मन्दिरमा पुगेर गरिएको कबुल। वैवाहिक सम्बन्धमा बाँधिइरहँदाको क्षण कुनै पनि जोडी समयको अन्तरालसँगै छुट्टिनुपर्ला भन्ने सोच्दैनन्। छुट्टिनेसम्म कल्पना नगर्ने नेपाली समाजमा आफ्नै श्रीमानले भाडा हत्यारा प्रयोग गरेर हत्या गर्ला भन्ने त कल्पना बाहिरको विषय भयो।

तर, पोखराको लक्ष्मी परियार हत्याकाण्डले यही कल्पना बाहिरझैँ देखिने घटनालाई सत्य देखाइदिएको छ। प्रारम्भिक अनुसन्धानमा लक्ष्मीको हत्या भारतीय कन्ट्याक्ट किलर प्रयोग गरी उनकै श्रीमानको योजनामा भएको देखिएको छ।

लक्ष्मीका ३५ वर्षीय श्रीमान् रमेश परियार पोखरा महानगरपालिका–१५ कान्तिपुरचोकमा मोबाइल पसल चलाउँथे। ८ वर्षीया छोरी र ४ वर्षीय छोरासँग २७ वर्षीया लक्ष्मी घरमै बस्थिन्। श्रीमान्लाई हरेक बिहान पसलमै खाना पु-याउँथिन्। उनलाई छालाको एलर्जी थियो। अनेक उपचार गर्दा पनि निको भएन।

असार १ मा उनी कान्तिपुरचोकबाट एकाएक हराइन्। भोलिपल्टै रमेशले वडा प्रहरी कार्यालय रामबजार र जिल्ला प्रहरी कार्यालय कास्कीमा श्रीमतीको खोजतलास गरिदिन जाहेरी दरखास्त दिए। श्रीमती लक्ष्मीले १ लाख ५० हजार लिएर घरबाट हिँडेको दाबी गर्दै श्रीमती नहुँदा छोराछोरी र परिवार बिचल्लीमा परेको भन्दै खोजिदिनुपर्ने उनको जाहेरी दरखास्तमा माग थियो।

रमेशले श्रीमती खोजिदिन प्रहरीलाई पटक–पटक आग्रह मात्रै गरेरनन् दबाबसमेत दिइरहे। विभिन्न सञ्चारमाध्यममा लक्ष्मी हराएको सूचना बजाउन लगाए। युट्युबमा अन्तर्वार्ता दिए। श्रीमती हराएकोले साना छोरीछोरी अनि आफ्नो बिचल्ली भएको भन्दै रोइकराइ गरिरहे।

‘घटनास्थलमा प्रहरी पुग्दा लक्ष्मीको शरीरको कंकाल मात्रै थियो। उनका लुगा र कपालको क्लिपका आधारमा माइतीले शव पहिचान गरेका हुन्।’ रमेशले नै हत्याको योजना बनाएको खुलेपछि प्रहरीलाई अनुसन्धान गर्न सजिलो भयो।

छोरी हराएकोमा चिन्तित लक्ष्मीकी आमा पिठुमाया परियारले पनि खोजतलास गरिदिन असार ११ मा प्रहरीलाई निवेदन दिइन्। लक्ष्मीको माइती, श्रीमान् र प्रहरी मिलेर खोज्नुसम्म खोजे। तर, लक्ष्मीको कुनै सुइँको लागेन। यति सम्म कि लक्ष्मीलाई खोज्न दबाब दिन प्रहरी कार्यालयमा दैनिक भीडभाड हुन थाल्यो।

हैरान भएको प्रहरीको अनुसन्धानको अन्तिम अस्त्र रमेशतिरै सोझियो। रमेशको नाटक धेरै दिन टिक्न सकेन। अन्ततः श्रीमतीको हत्याको योजना आफैँले बनाएको रमेशले साविती दिए प्रहरीसमक्ष। श्रीमतीको हत्या गर्नु रमेशको मुख्य उद्देश्य थियो आफ्नै सालीसँगको प्रेमसम्बन्धलाई विवाहमा परिणत गर्नु।

जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार रमेशको हिमचिम लक्ष्मीको मामाकी छोरी अनु परियारसँग रहेको पत्ता लाग्यो। अनुसँगको सम्बन्धबारे वर्ष दिनअघि लक्ष्मीले थाहा पाएपछि घरझगडा भएको माइतीले प्रहरीलाई जानकारी गराए। त्यतिबेला लक्ष्मीले बहिनीलाई बेस्मारी झपारेकी थिइन्।

‘लक्ष्मीको हत्या योजना त्यति बेलैदेखि बनेको देखियो। किन भने अविवाहित अनुले दिदी लक्ष्मीले आफ्नो बदनाम गरेको ठानिन्,’ कास्की प्रहरी कार्कीले भने, ‘अनुले दिदीलाई साइड लगाइदिनुस् भनेर रमेशलाई भनेपछि हत्याको योजना बनेको देखिन्छ।’

गोरखाको गण्डकी–७, घ्याल्चोककी १९ वर्षीया अनु र रमेशबीच अन्तरंग सम्बन्ध रहेको र रमेशले पटकपटक पैसा पठाएको अनुसन्धानक्रममा खुलेको थियो।

प्रहरीका अनुसार एक वर्षदेखि अनुसँग रमेशको प्रेम झागिँदै गएको थियो। आफ्नो प्रेम सफल बनाउन श्रीमती तगारो बनेको रमेशले महसुस गरे। त्यतिबेलै आगोमा घ्यू थपिन् अनुले। आफूसँग बिहे गर्ने भए लक्ष्मीलाई साइड लगाइदिन भनेपछि श्रीमतीको हत्या योजना बनाएको प्रहरीको भनाइ छ। रमेशले मोबाइल पसल सञ्चालन गर्ने आफू नजिकका साथीहरुको सहयोगमा हत्याको योजना बनाएका थिए।

साहले १० लाख रुपैयाँमा भारतबाट मान्छे झिकाउने उपाय सिकाए। उनैले भारतस्थित आफ्नो मावलीतिरबाट ३ पेसेवर भारतीय हत्यारालाई नेपाल झिकाए।

रमेशको क्रियाकलापलाई लिएर सशंकित बनेको प्रहरीले घरमा खोजतालस गर्दा लक्ष्मीले प्रयोग गरेको मोबाइल, सिक्रीलगायत सामग्री घरमै भेट्यो। मोबाइल, गरगहना रमेशका क्रियाकलाप नियालेको प्रहरीले उनीमाथि नै अनुसन्धान बढाएपछि रमेशले घटनाको सबै बेलीविस्तार लगाए।

‘केरकारपछि रमेशले आफ्नै योजनामा श्रीमतीको हत्या गरेको स्विकार्नुका साथ हत्याको  सबै कुराकोे जानकारी दिए। उनैले हत्या गरेको ठाउँ पोखरा–२२ कर्कले जंगल देखाए’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसी भन्छन्, ‘घटनास्थलमा प्रहरी पुग्दा लक्ष्मीको शरीरको कंकाल मात्रै थियो। उनका लुगा र कपालको क्लिपका आधारमा माइतीले शव पहिचान गरेका हुन्।’ रमेशले नै हत्याको योजना बनाएको खुलेपछि प्रहरीलाई अनुसन्धान गर्न सजिलो भयो। ‘१० लाख रुपैयाँ दिने सर्तमा मान्छे लगाएर श्रीमतीको हत्या गरेको हुँ’ उनले प्रहरीसँगको बयानमा भनेका छन्।’

पोखरामा भारतीय ‘कन्ट्याक्ट किलर’
प्रहरीका अनुसार रमेशले भोजपुर नगरपालिका–५, बैंकरोड घर भई पोखराको महेन्द्रपुलमा मोबाइल पसल चलाउने ३२ वर्षीय सञ्जय शर्मालाई ‘एकजना महिलाको हत्या गर्नुपर्ने र त्यसबापत राम्रो रकम आउने’ बताए। अर्का साथी सर्लाही ईश्वरपुर–३, तीनघरिया घर भई पोखरा पृथ्वीचोकमा मोबाइल पसल गर्ने २६ वर्षीय चितरञ्जनकुमार साहसँग पनि उनले सल्लाह गरे।

साहले १० लाख रुपैयाँमा भारतबाट मान्छे झिकाउने उपाय सिकाए। उनैले भारतस्थित आफ्नो मावलीतिरबाट ३ पेसेवर भारतीय हत्यारालाई नेपाल झिकाए। जेठ ३० मा ती ३ भारतीय ‘कन्ट्याक्ट किलर’ पोखराको पृथ्वीचोकस्थित कोसी होटलमा बसे। होटलले उनीहरूको विवरण राखेन। त्यहाँ बस्ने व्यवस्था सञ्जय र चित्तरञ्जनले मिलाए। जेठ ३१ मा रमेशले सञ्जयलाई एक लाख रुपैयाँ बैनास्वरुप दिए। उक्त दिन हत्या गर्ने ठाउँ रोज्न पोखरा–२२ पुम्दीभुम्दीको कर्कले जंगलमा रमेश, सञ्जय, चित्तरञ्जन र ३ भारतीय पुगे। सिद्धार्थ राजमार्गछेउको उक्त जंगलमा हत्या गर्ने योजना बनाएर फर्किए।

हत्याको केही समयपछि रमेशले नै आफ्नो घर र लक्ष्मीको माइतीतिर फोन गरेर श्रीमती हराएको जानकारी गराका थिए।

योजनअनुसार असार १ गते बिहानै रमेश र सञ्जयले लेकसाइडबाट ग११प ८००३ नम्बरको स्कुटर भाडामा लिए। रमेश स्कुटर लिएर पसल पुगे। सञ्जयले नयाँबजारबाट ग१च २३६३ नम्बरको कार भाडामा लिए। चित्तरञ्जन र ३ भारतीयलाई गाडीमा राखेर कर्कलेतिर हुइँकिए। रमेशले पसलमा गएर श्रीमतीलाई खुट्टामा भएको एलर्जी निको पार्ने जडिबुटी खोज्न जंगलतिर जाने भन्दै फकाए। कर्कले पुगेर केहीबेर दुवैले जडिबुटी पनि खोजे। ‘जंगलमा जडिबुटी खोजेकोजस्तो गरेपछि रमेशले आफूलाई पिसाब लागेको बताएर आफू माथीतिर उक्लिए। लक्ष्मीलाई अलि तलतिर गएर जडीबुटी खोज्न भनेछन्’ प्रहरीलाई दिएको साविती बयान उद्धृत गर्दै डिएसपी केसी भन्छन्, ‘योजनाअनुसार पहिले नै जंगलमा पुगेका भारतीयले लक्ष्मीको मुख र आँखामा सल बाँधेर धारिलो हतियार प्रयोग गरी घाँटी रेटी हत्या गरेका हुन् ।’

उनीहरुले लासलाई जंगलमै छोडेर रमेशसहित सिद्धार्थ राजमार्गमा निस्किए। रमेशले सञ्जयलाई ५ लाख रुपैयाँ दिए। बाँकी ४ लाख केही दिनपछि दिने कवुल गरे। हत्या गर्ने ३ भारतीय त्यही दिन भारत फर्किए। बाँकी रकम चित्तरञ्जनमार्फत पठाउने सहमति भएको अनुसन्धानमा खुलेको डिएसपी केसीले बताए।

हत्याको केही समयपछि रमेशले नै आफ्नो घर र लक्ष्मीको माइतीतिर फोन गरेर श्रीमती हराएको जानकारी गराका थिए। हत्याको मुख्य योजनाकार रमेश, गाडी, स्कुटर र हत्या गर्ने व्यक्तिको व्यवस्था गर्ने सञ्जय शर्मा, चितरञ्जन कुमार साह र अनु परियार हाल प्रहरी हिरासतामा छन्। उनीहरुका विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ। ३ भारतीय भने फरार छन्।

‘पोखरामा भारतीय कन्ट्याक्ट किलर प्रयोग गरी हत्या गरिएको यो पहिलो घटना हो’ डिएसपी केसी भन्छन्, ‘यसलाई संगठित अपराधकै रुपमा थप अनुसन्धान गर्ने योजनाका साथ काम गरिरहेका छौं। त्यसबाट अझ थप केही खुल्न सक्छ।’

Leave A Comment