नाम मात्रको तीज गीत

आइतबार, १९ साउन २०७६, १२ : १६ मनोज घर्तीमगर
नाम मात्रको तीज गीत

गण्डकी प्रदेशमा अघिल्लो वर्षजस्तै यसपटक साउने बाढी आएन। किसानलाई रोपाइँ गर्न चाहिने प्रशस्त पानी त पर्न नसकेको बेला बाढी आउने कुरै भएन। तर, गण्डकी प्रदेशमा तीजे गीतको भने साउने बाढी आएको छ। यस प्रदेशका कलाकारले एकपछि अर्को गर्दै धमाधम तीज गीत सार्वजनिक गरिरहेका छन्।

त्यसो त नेपाली महिलाले दुःख सुख, वेदना, आकांक्षा र सपना आपसमा साटासाट गर्ने पर्व तीजमा वर्षैपिच्छे अनेकन गीत निस्कनु नौलो होइन। विभिन्न कारुणिक गाथा, कथालाई प्रस्तुत गरिने तीजे गीतमा आजभोलि भने भद्दापन र उच्छृंङ्खलताले वर्चश्व जमाएको छ। अझ रोचक कुरा त के छ भने नितान्त महिलाले मात्रै गाउने तीज गीतमा पुरुष स्वर हावी भइरहेको छ।

तीजमा चेलीहरुलाई छमछमी नचाउन कति गायक÷गायिकाले समयमै गीत बनाएर युट्यूब च्यानलमा हालिसके भने कति हाल्ने तयारीमा छन्। यतिबेला धेरैले तीजे गीत र भिडियो रेकर्ड गराइसकेका छन्। कोही म्युजिकको सम्पादनमा छन्। कोही आफ्नो गीतको प्रचारमा लागेका छन्। कोही भने तीनै गीतमा मोडल बनेर छमछमी नाचिरहेका छन्।

गायक घनश्याम रिजाललाई हेरौं न। दोहोरी फम्र्याटमा गाइएको उनका तीज गीत ‘मेरी मायाँलाई’, ‘माईतीको आँगन’ लगायत ५ गीत  बजारमा आए यसपटक।

‘तीजमा चेलीको गीत गाउने भए पनि यसमा पुरुषको सहभागिता पनि बढ्दो छ। त्यसैलाई आधार मानेर चेलीले गाउने खालका गीत बनाउने गर्छु,’ घनश्यामले कुरा नचपाई बोले, ‘तीजमा कार्यक्रम पर्ने भएकाले आफूले पनि गाउन पाउने अरुले पनि गाउने भएकाले पनि लेख्छु। तर, मेरै गीत पनि केटाहरुले गाएका गीत तीजे होइनन्। रमाइलाका लागि गाइएका हुन्।’

महिलाले मात्रै स्वर भरेर तीजे गीत गाउने चलन भए पनि अहिले त्यस्तो छैन। केटा र केटीको स्वरमा लोकदोहोरी भाकामा गाईएका गीतहरुले यतिबेला सांगीतिक बजार तातिएको छ। तीज आउन ठिक एक महिना बाँकी रहँदा पोखराका केदारेश्वर मन्दिर, विन्ध्यवासिनी मन्दिर, फेवाताल,  गुप्तेश्वर महोदव गुफा, यहाँका चौतारो, बाटोघाटोमा तीजसम्बन्धी थुप्रै म्युजिक भिडियो छायांकन भइरहेको दृश्य देखिन्छ।

हरेक वर्षमा झैं यो सिजनमा पनि तीजे गीतमा महिला स्वरभन्दा पुरुष स्वर हावी हुनुलाई नौलो मान्दैनन् गायक रामजी पौडेल। सबै गीतका आफ्नै लय, शब्द र स्वरमा गीत निकाल्ने उनले यसपटक ‘अभागिनी’, ‘रानी पोते झलल’ र ‘जानी बेलैमा’ बोलको गीत बजारमा ल्याएका छन्।

‘संस्कृतिको संरक्षण गर्नलाई पनि सघाउन पुगोस् भनेर गाउँछु। यसोभन्दा तीज गीत किन केटाले गायो भन्लान्’ रानी ‘पोते झलल’ तीज गीतको म्युजिक भिडियो सुटिङ भइरहेको ठाउँ लामाचौरबाट रामजीले टेलिफोनमा भने,‘ तर, मेरा गीतमा नितान्त चेलीका वेदना छन्। तीजमै गाइने गीत छन्। भद्दापन र उछृङ्खल खालका गीत मैले गाएको छैन।’

पोखरेली गायक तथा सर्जक चोलेन्द्र पौडेलको तीज गीत ‘काँकरी’ भर्खरै सार्वजनिक भएको छ। शिव अखेलीकोे शब्द रहेको गीतमा चोलेन्द्र पौडेल स्वयंको संंगीत छ। गायक केशव घिमिरे पोखरामा रहेर तीज गीत निकालिरहेका छन्। झण्डै एक दशकदेखि तीजका गीत गाउन थालेका उनले यो वर्ष ‘यस्तो हुन्तो तीज’ गीत बजारमा ल्याएका छन्।  उनको शब्द÷लय स्वर रहेको गीतमा महिलातर्फ देवी घर्तीमगरको स्वर छ।

अहिलेका तीजे गीतमा तीजको गन्ध नै हुँदैन। केवल मायाप्रीतिका कुरा मात्रै हुन्छन्। तैपनि तिजे गीत भन्दै बजारमा ल्याइन्छन्। गीतमा मौलिक भाका भेटिँदैनन्। यस्तोमा पुराना कलाकारभन्दा नयाँ धेरै छन्। जसले चलेका कलाकारलाई गीत गाउन लगाएर आफू चर्चामा आउन चाहन्छन्। यसमा सहमत छन् लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश तदर्थ समितिका अध्यक्ष शंकर विरही गुरुङ। ‘तीज गीतको वास्तविक मौलिकता हराउँदै गएको साँचो हो। तर, बिस्तारै पुरानै शैलीमा फर्किन लागेको पाइन्छ,’ उनी भन्छन्, ‘चार÷पाँच वर्षअघि तीज गीतमा जुन प्रकारको छाडापन थियो त्यो हट्दै गएको छ। गलत गीतलाई दर्शक श्रोताले तह लगाउँछन्। तर, तीज गीतमा पुरुष स्वर हावी भएको पक्कै हो।’

तीज गीतमा पुरुषहरु हावी भइरहेकै बेला महिला स्वर मात्रै राखेर मौलिक गीत गाउने प्रयास नभएको भने होइन। प्रमाण हुन् जुना श्रीसमगर र अम्बिका भण्डारी। जुनाले यसपटक ‘नाचौं न आँगनीमा’ बोलको मौलिक गीत बजारमा ल्याएकी छिन्। जुनाले एकल रुपमा गाएको उक्त तीज गीतमा बिलन थापामगरको लय हो भने दुर्गा थापामगरले शब्द लेखका हुन्।

वर्षैपिच्छे नयाँ खालका तीजगीत ल्याउने गायिका अम्बिका भण्डारीले पनि यो पटक ‘आँठा आँठा छेकेर’ बोलको गीत बजारमा ल्याएकी हुन्। ‘मैले हरेक वर्ष तीज गीत गाउने गरेकी छु,’ उनी भन्छिन्, ‘तिजे गीतका नाममा अनेकन विकृति गीत आइरहेका बेला मैले सानो भए पनि प्रयास गरेकी हुँ।’  यही भनाइसँग सहमत छिन् जुना पनि।

‘मैले चार वर्षदेखि लगातार एकल रुपमा तीजका मौलिक गीत गाउँदै आएकी छु। तीजको कार्यक्रमलाई लक्षित गरी यस्ता गीत गाउँछु’ जुना श्रीसमगर भन्छिन्, ‘मौलिक भाका जोगाउन थोरै भए पनि योगदान गर्न सकिन्छ कि भन्ने हेतुले लगानी नउठे पनि तीज गीत निकाल्दै आएकी छु।’

अघिल्लो वर्षको तुलनामा पोखराबाट यो वर्ष धेरै तीज गीत निस्केका छन्। अडियो मात्रै निकाल्दा पनि ३०/४० हजार खर्च हुन्छ भने भिडियो गर्दा एक लाखदेखि डेढ लाखसम्म खर्च हुन्छ औसतमा। खर्चसमेत नउठ्ने भए पनि तुलनात्मक रुपमा रहर अनि करहले तीज गीत बनाउने बढिरहेको डिजिटल स्टार रेकर्डिङ स्टुडियोका सञ्चालक तारानाथ आचार्यको अनुभव छ। ‘तीजका गीत भनेका सिजनल गीत हुन्। वर्षमा एकपटक आउने भएकाले र विभिन्न मेला महोत्सवमा पनि स्टेज पाउने भएकाले गीत निकाल्ने चलन बढी छ,’ उनी भन्छन्, ‘अहिलेसम्म मेरो स्टुडियोमा २८ वटा गीत रेकर्ड भए, केही रेकर्डिङको प्रक्रियामै छन्।’

उनले पनि यो वर्ष ‘बेइमानी माया’ गीतको लय तथा शब्द सृजना गरेका छन्। २०६५ सालबाट तीज गीत गाउँदै आएका उनलाई माया गुरुङले स्वरमा साथ दिएकी छन्। उनकै लय रहेको गीतमा माया गुरुङको शब्द छ। ‘रमाइलो र आफूले मन पराएको मान्छे आफँैले बनाएको गीतमा उल्लेख गरिएको छ,’ उनले भनिन्, ‘यो गीतमा मेरो आफ्नै कथा छ।’



Leave A Comment