पोखरामा लाहुरे लगानी

सोमबार, ०९ भदौ २०७६, ११ : २० मनोज घर्तीमगर
पोखरामा लाहुरे लगानी पाेखरा। तस्बिर :उमेश पुन

चिटिक्क घर, सुन्दर बगैंचा, व्यवस्थित ढलसँगै सफा र चौडा पक्की सडक पोखराको पहिचान र गौरव बन्यो। त्यस्ता घर बनाउने लाहुरे थिए। नगरको कुना–कुनामा पक्की सडक बन्यो। पोखरा घुम्नेहरू यसलाई युरोपका सहरसँग तुलना गर्छन्। पोखरालाई समृद्ध, धनी र सभ्य मानिस बस्ने सहर भन्न थालियो। पोखरालाई समृद्ध सहर बनाउने मुख्य सारथी हुन् लाहुरे। भन्नै पर्दैन, पोखरा लाहुरेको सहर हो। पोखरा र लाहुरे पर्यायवाचीजस्तै छन्। अवकाशप्राप्त भूपू गोर्खा सैनिकले पोखरालाई आवासीय सहर मात्रै बनाएनन् आधुनिकीकरणको बाटोमा पनि डो-याए।

पोखरालाई ‘लाहुरेको सहर’  भनिन्छ। यसमा लाहुरेको  लगावको  ठूलो  हात छ। अझ यो  सहर सफा–सुग्घर  हुनुमा पनि लाहुरेकै  हात छ। विदेशको  ज्ञान, सीप, अनुभव उनीहरुले उपयोग गर्दै आएका छन्। ‘लाहुरे टोल अरूभन्दा सफा हुन्छन्। पोखरामा ब्रिटिस गोर्खा,  भारतीय गोर्खा, सिंगापुर गोर्खा, आसाम राइफललगायत गरी करिब ५० हजार पूर्व गोर्खा छन्’ ब्रिटिस आर्मीका अवकाशप्राप्त मेजर लक्ष्मीप्रसाद गुरुङ भन्छन्, ‘तर, पोखराको  समृिद्धमा लाहुरेको पनि हात छ भन्ने जस दिएको पाइँदैन।’
 
नेपाली समाजमा लाहुर परम्पराको इतिहास दुई शताब्दीभन्दा लामो छ। लाहुरे परम्पराको इतिहास र त्यसले नेपाली समाजमा पारेको विविध आयाम भेटिन्छन्। नेपालबाट वैदेशिक रोजगारमा जाने परम्परा नै लाहुरे परम्पराबाट विकसित भएको हो। लाहुर परम्पराले नेपाली समाजको धेरै क्षेत्रमा प्रभाव पारेको छ। ‘लाहुर र लाहुरे यस्तो चिज हो–जो नेपाली समाजबाट चाहेर पछि छुटाउन सकिँदैन। नचाहाँदा नचाहँदै पनि कतै न कतै लाहुरे जोडिन आइपुग्छ’ पिएचडी शोधार्थी विष्णुकुमार सिंजालीमगर भन्छन्, ‘लाहुरेको असाध्यै धेरै प्रभाव परेर नै पोखरालाई लाहुरेको सहर भन्ने उपमा दिइएको हो।’

लाहुरे परम्पराले नेपालमा चारवटा ठूलाठूला शहर बसाउनमा महत्वपूर्ण भूमिका खेल्यो, पोखरा, धरान, नारायणगढ र बुटवल। तीमध्ये सबैभन्दा धेरै फस्टायो पोखरा। तिनै लाहुरेको परखले पर्यटकीय शहर पोखरा झरेपछि धेरैको नजर यहाँको सुन्दरतासँगै आँखा कुनैमा पर्छ भने त्यो हो ढुंगैढुंगाका आकर्क र महङ्गा घर।

हुन पनि अहिलेको पोखरा बनाउनमा लाहुरेको ठूलो योगदान छ। दीपमा ब्रिटिस क्याम्प र रामबजारमा भारतीय पेन्सन पेइङ कार्यालयमा खुलेपछि पोखरामा लाहुरेको आगमन बाक्लिएको हो। सन् १९७५ पछि पोखराको  चिप्ले ढुंगा आसपास ब्रिटिस गोर्खाले जग्गा किने । त्यतिञ्जेल यसको  खासै  सहरी विकास भएको थिएन। भविष्य भने सुनौलो थियो । जब लाहुरेले जग्गा किन्न थाले, व्यापारी पनि तानिँदै गए। आर्थिक सक्रियता सुरु भयो । एउटा लाहुरेले  अर्काे तान्यो । अर्काले अर्को त्यही लहरोमा जेलिएर पोखरा गुल्जार  हुँदै गएको  हो। आसपासका जिल्लाको केन्द्र काठमाडाैंलगायत अन्यत्र जान सजिलो जस्ता कारण पनि लाहुरे यता तानिएको  विगत केलाउँदा देखिन्छ। पोखरामा लाहुरेको  पैसाबाटै  करोडौं  कमाउने  धेरै छन्। पोखराको  बसाइ सजिलो हुनुका पछाडि यहाँबाट अन्त जानआउन, भर्ती जान र  केटाकेटी पढाउन सजिलो  भएर  हो ।  ‘धेरैवटा टोलमा अहिले  लाहुरेहरू नै  बाटो  बनाउने र  सरसफाइमा अघि रहेका छन्। पोखराको  विकास निर्माणमा लाहुरेको  योगदान नभएका संस्था विरलै छन्,’ समाजशास्त्री विश्व सिग्देल भन्छन्।

 

पाेखरामा बनेका आधुनिक घर। तस्बिर :उमेश पुन

लाहुरे परम्पराले नेपालमा चारवटा ठूलाठूला शहर बसाउनमा महत्वपूर्ण भूमिका खेल्यो, पोखरा, धरान, नारायणगढ र बुटवल। तीमध्ये सबैभन्दा धेरै फस्टायो पोखरा। तिनै लाहुरेको परखले पर्यटकीय शहर पोखरा झरेपछि धेरैको नजर यहाँको सुन्दरतासँगै आँखा कुनैमा पर्छ भने त्यो हो ढुंगैढुंगाका आकर्क र महङ्गा घर। यिनै लोभलाग्दा घरले महानगरलाई अर्को सुन्दरता थपिदिएको छ। यहाँ भ्रमण गर्न आउनेलाई आकर्षक घरले लोभ्याउँछ। अनि हरेकको मुखबाट फयाट्टै निस्कन्छ, ‘कति सुन्दर, लाहुरेको घर होला।’

भर्ती भएर कमाएको अधिकांश कमाइ यहाँका लाहुरेले घरमै लगानी गरेका छन्। आकर्षक घर बनाउन लाहुरेले करोडौं रुपैयाँ खर्चिएका छन्। फलामे गेट प्रवेश गरेपछि देखिने बगैंचा र पार्किङ गरेर राखिएको महँगो कारले पनि यहाँका लाहुरे घरको झझल्को दिन्छ। यी घर विदेशमा बनेका बंगलाभन्दा कमी देखिँदैनन्। बेलायत, ब्रुनाई सिंगापुर, हङकङलगायत मुलुकमा यहाँका जनजाति लाहुरे भएर गएका छन्। त्यहाँ कार्यरत रहँदा देखिएका घर र जीवनशैलीले उनीहरुलाई प्रभावित पार्ने गरेको हुन्छ। विदेशकै देखासिकीमा लाहुरे जीवनबाट अवकाशपछि सुविधायुक्त बंगला बनाएर उच्च जीवनयापन गर्ने चाहना यहाँका सौखिन लाहुरेको छ। लाहुरे सहरका रुपमा चिनिएको पोखरालाई यिनै घरले अर्को विशेषता थपेको छ। विदेशमा बन्दुक र बारुदसँग ज्यानको बाजी थापेर कमाएको आम्दानी यहाँका लाहुरेले किन घरमै खर्च गर्छन् त ? भारतीय सेनाका भूपू नायब सुवेदार बिलबहादुर गुरुङ दाबी गर्छन्, ‘व्यापार व्यवसायमा अनुभव कम हुने भएकाले जोखिम मोल्न लाहुरे डराउँछन्।। गरिएका केही व्यापार सफल भए पनि धेरैमा व्यवस्थापकीय ज्ञानको कमीले असफल भएका छन्।’

केही लाहुरे व्यापार व्यवसायमा लागेका छन्। तर त्यस्तो संख्या न्यून छ। लाहुरेहरु सौखिन हुने भएकाले घरमै बढी लगानी गर्छन्। उनले भने, ‘व्यापार व्यवसाय गर्ने लाहुरे निकै कम छन्।’ ब्रिटिस सेनामा ३० वर्ष काम गरेर क्याप्टेनमा रिटायर्ड भएका उमरध्वज गुरुङले पनि आफ्नो कमाइ घरमै लगानी गरे। १९८४ मा रिटायर्ड भएका उनले सन् १९८२ मा पोखराको रानीपौवामा १ रोपनी जग्गा किनेका थिए। बेलायती सेनामा पहिलो पल्टनका रुपमा सन् १८१५ मा गठन भएको शिरमोर पल्टनमा कार्यरत ८ जनाले १/१ रोपनी जग्गा खरिद गरेर उनीहरुले त्यसको नामै राखिदिए–शिरमोर लाइन। ‘व्यापार व्यवसायको अनुभव हुने कुरो भएन, त्यता हात हालेर खतरा मोल्न चाहेनन्’ एक रोपनी जग्गामा आकर्षक घर बनाएका उमरध्वज भन्छन्।

लाहुरेले अमेरिकी, बेलायती सिंगापुर तथा हङकङका घरका शैलीको सिको गरेर बंगलामुखी घर बनाएका छन्। यहाँको रानीपौवा नजिकै सिरमोर लाइन, लालीगुराँस टोल नजिकैको सिंगापुरे टोल, नदिपुरको भिसी मार्ग भनेर लाहुरेकै निशानीको रुपमा टोलका नामै राखेका छन्। केआइसिङ पुल, मिलनटोल, रामबजार, दिप, फुलबारी, भद्रकाली, अमरसिंह, बुद्धचोक आदि नगरका ठाउँमा पुगेपछि जसको पनि आँखा एक टकले लाहुरेका घरतिरै तानिन्छ। ‘वास्तविक लाहुरे बस्तीको झझल्को यी ठाउँमा पुगेपछि अझ बढी अनुभव गर्न सकिन्छ। त्यसैले पोखरालाई लाहुरेको सहर भनिएको हो’ नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति इतिहासविद् डा. जगमान गुरुङ भन्छन्, ‘व्यापार व्यवसाय गरे पनि फस्टाउन नसकेपछि आफ्नो कमाइ सुरक्षित राख्न लाहुरेले घरमै खर्चिन्छन्। लगानी डुब्ने त्रासकै कारण आफ्नो कमाइ सुरक्षित राख्न घरमै खर्चने, विलासी र विदेशी सिको गरेर ठूलाठूला र नयाँ डिजाइनका घर बनाएका हुन्।’

Leave A Comment