तीजमा प्रशासनको निगरानी

सोमबार, १६ भदौ २०७६, १२ : ४८ मनोज घर्तीमगर
तीजमा प्रशासनको निगरानी

तीज आउन दुई महिनाअघिदेखि विभिन्न संघसंस्थाको नाममा होटल र पार्टी प्यालेसमा दर खाने र भेटघाट कार्यक्रम राख्ने चलन बसेको अहिले होइन। झन्डै एक दशकदेखि पोखरा, गण्डकी प्रदेश मात्रै होइन देशभर सहरीया महिलाले तीजलाई चमकदमक बनाउने चलन सुरु गरे। तीजको अवसर भन्दै हप्तौंदेखि दिनहुँ होटल तथा पार्टी प्यालेसमा भोज खाने, नाचगान गर्ने र तीजे प्रतियोगिता आयोजना गर्ने चलन हावी भएको छ। पोखरामा पनि एकताका जताततै तीजका नाममा कार्यक्रम गर्ने होडबाजी नै चल्यो। यहाँका पाँच तारे, तीन तारेदेखि तारे अनि सामान्य होटलदेखि पार्टी प्यालेस अनि सभा हलसम्म तीजका कार्यक्रमले ‘बुक’ भइसकेका हुन्थे।

तीजको नाममा यस्तै तडकभडक हुन थालेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले पहिलोपटक निगरानी गर्ने रणनीति अख्तियारी ग-यो। साउन ९ गते जिल्ला प्रशासन कार्यालय कास्कीले तीजमा तडकभडक नगर्न तथा पार्टी प्यालेस र होटलमा तीज नमनाउन सार्वजनिक सूचना नै जारी गरिदियो। तीज पर्व भड्किलो भएको आरोपसहित साउन पहिलो साता नारी जागरण अभियानले मुख्यमन्त्रीसहित कास्कीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएपछि पनि प्रशासनको चेत खुलेको हुन सक्छ। त्यसपछि गण्डकी प्रदेशभरि लहर नै चल्यो, सार्वजनिक सूचना निकाल्ने। नारी जागरण अभियानकी संयोजक अञ्जु क्षेत्री हुन् भने उनी पोखरा महानगरपालिका वडा नं. ५ की निर्वाचित सदस्यसमेत हुन्। क्षेत्रीकै नेतृत्वमा रहेको नारी जागरण अभियानले ज्ञापनपत्रसहित तीजको भड्किलोपना रोक्न जिल्ला प्रशासन र प्रदेश सरकारको ध्यानाकर्षण गराएको थियो। लगत्तै गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई तडकभडक रोक्न आग्रहसहितको परिपत्र ग¥यो। प्रशासनले निगरानी सुरु गरेपछि केही संघसंस्था, महिला अधिकारकर्मी, क्याटरिङ व्यवसायी र सरकारबीच तीजबारे विवाद सुरु भएको छ।

‘पछिल्लो समय सहरी क्षेत्रमा गरेको विगतका केही वर्षमा देखिएको छ। यसवर्ष पनि तीज आउनु एक महिनाअगाडिदेखि नै दर खाने र भेटघाट कार्यक्रमका नाममा प्रचारप्रसार, अग्रिम टिकट बुकिङ र होटल तथा पार्टी प्यालेसहरुको बुकिङ हुन थालेको सूचना जानकारी यस कार्यक्रममा समेत प्राप्त हुन आएको छ,’ प्रशासनले निकालेको पत्रमा भनिएको छ, ‘तीजको मौलिकतामाथि आँच आउने प्रकृतिका फजुल खर्च तडकभडक गरगहना प्रदर्शन र सांगीतिक कार्यक्रमका नाममा हुने ध्वनि प्रदूषण तथा होटल एवं पार्टी प्यालेसमा हुने दरखाने कार्यक्रमलगायत खर्चिला कार्यक्रमले हिन्दू नारीहरुले मनाउने मौलिक चाडको मौलिकता माथि प्रश्न उठाएको भनी तीजको मौलिकता संरक्षणको ध्यानाकर्षण पत्र आएको छ। मौलिकताअनुसार तीज मनाउन अनुरोध छ। यो सूचनाको बर्खिलाप गरे कानुनअनुसार कारबाही हुन्छ।’

कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले पछिल्लो समय तीज करिब डेढ महिना जति मनाउने प्रचलन बढेकाले रोकेको नभई व्यवस्थित गर्न खोजेको जानकारी गराए। ‘तीज भदौ १६ गते छ। साउनबाटै दर खाने कार्यक्रम गर्न थालियो भने डेढ महिना हुने भो महिनौं पहिलेदेखि गर्ने दर खाने कार्यक्रमलाई निरुत्साहित गर्ने सूचना निकालेका हौं। कहीँ कतै नमनाउनुस् भनेका छैनौं’ ‘सबैको भावना बुझेर नै सूचना निकालिएको हो। तीज नमनाउनुस् भनेको हैन। भड्किलो नगर्नुस् भनेको हो। चाडबाड मौलिक बनाउनुपर्छ, विकृति हुनुहुँदैन भनेका हौं। महिनौंदेखि होइन निश्चित समयमा मात्रै तीज मनाउनुस् भनेर अनुरोध गरिएको हो। कतिले बुझेर पनि बुझ पचाएका छन्। कतिले गलत अर्थ लगाएका छन्।’

प्रमुख जिल्ला अधिकारी बुढाका अनुसार तीनवटा कुरालाई ध्यान दिएर तीज भड्किलो गरेर नमाउनुस् भनेर सूचना निकालिएको हो। साउनको पहिलो हप्तादेखि नै दर खाने कार्यक्रम गर्ने भनेर टिकट डिजाइन गरेर २ हजार पाँच सय देखि ३ हजार रुपैयाँ तोकेर बेच्ने प्रवृत्ति बढेकाले त्यसको फाइदा केही निश्चित व्यक्तिले लिने भएकाले त्यसलाई रोक्न, दोस्रो भड्किलो नगर्नुस् र तेस्रो होटल, प्यालेसमा नमनाउनुस् जसले तीजका नाममा विभिन्न प्रकृतिका असामाजिक क्रियाकलाप नहोस् भन्ने हेतुले सूचना जारी गरी पहिल्यै सजग गराएको हो। तीज पर्व मनाउने नाममा विभिन्न होटल तथा पार्टी प्यालेसमा दर खाने तथा भेटघाट कार्यक्रम गर्ने, गरगहना प्रदर्शन गर्ने, फजुल खर्च गर्ने, विभिन्न साङ्गीतिक कार्यक्रमका नाममा ध्वनि प्रदूषण गराउनेजस्ता असामाजिक क्रियाकलाप नगर्न प्रशासनको सूचनामा सचेत गराइएको छ। प्रशासनले होटल र पार्टी प्यालेसमा तीज मनाएको थाहा भए सूचना दिन पनि आग्रह गरेको छ। प्रत्येक वर्ष भदौ शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने हरितालिका तीज यो वर्ष भदौ १५ गते दर खाने र १६ गते तीज पर्व परेको छ।

महिला अधिकारकर्मी कमला गिरीले प्रशासनको पत्रले समाजमा त्रास फैलिएको सुनाइन्। उनले प्रशासनको यो निर्णय कुनै पनि हालतमा नमान्ने र आफ्नो अनुकूलतामा होटलमा, पार्टी प्यालेसमा जहाँ गएर पनि तीज मनाउन पाउनुपर्ने बताइन्। ‘होटल, पार्टी प्यालेस जहाँ गएर पनि आफ्नो गच्छेअनुसार तीज मनाउन पाउनुपर्छ। त्यसो गर्दा प्रशासनले हामीलाई हतकडी लगाउँछ भने हामी तयार छौं’ गिरी भन्छिन्, ‘होटलमा, पार्टी प्यालेसमा गएर तीज मनाउँदा कसरी भड्किलो भयो। के हामीले तीजका नाममा रक्सी खाएका छौं ? कसैसँग लडेका छौं ? प्रशासनले कति महिला पक्राउ ग-यो यस्तो आरोपमा ? त्यो तथ्याङ्क  चाहियो ? नत्र हामी यो निर्णय मान्दैनौं। यो हामीमाथिको प्रहार हो। नितान्त नेपाली दिदी बहिनी समयअनुसार शनिबार, शुक्रबार पार्नुप-यो। उनले २०६८ सालमा तीजमा तडकभडक भयो भनेर आफूलगायत विभिन्न संघसंस्था प्रशासनमा गएर विरोध गरेको समेत स्मरण गरिन्।

प्रशासनले कारबाही हुने सूचनै जारी गरेपछि तीज आउनु दुई महिना अघिदेखि हुने कार्यक्रममा पोखरामा अघिल्लो वर्षजस्तो यसपटक देखिएको छैन। प्रशासनको त्रासले यस्तो भएको धेरैको अनुमान छ। जिल्ला प्रशासन कार्यालय कास्कीले हरितालिका तीजलाई तडकभडकमुक्त बनाउन निर्देशन जारी गरेपछि तय गरिएका कार्यक्रमहरुसमेत धमाधम स्थगित गरिएका छन्। तीज आउनु अगाडि नै होटेल, पार्टी प्यालेसमा गर्ने भनी बुक गरिएका कार्यक्रमसमेत स्थगित भएका छन्। नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघले सरकारले होटेल, पार्टी प्यालेसलगायतमा भड्किलो रुपमा तीज मनाउन गरेको प्रतिबन्धको विज्ञप्तिमार्फत विरोधसमेत गरेको छ। महासंघका प्रवक्ता कृष्णप्रसाद पाण्डे हस्ताक्षरित विज्ञप्तिमा सरकारको यस्तो कदमको विरोध गर्दै नसच्याए आन्दोलन गर्ने चेतावनी दिइएको छ।

विश्व हिन्दू महासंघको विरोध
विश्व हिन्दू महासंघ, जिल्ला समिति कास्कीले प्रशासनले निकालेको सार्वजनिक सूचनाविरुद्ध आवाज उठाउन थालेको छ। महासंघले शनिबार पत्रकार सम्मेलन गरेरै प्रशासनले निकालेको सूचनाले हिन्दू धर्ममाथि प्रहार गरेको आरोप लगाएको छ। धर्म निरपेक्ष मुलुकमा अन्य धर्मलाई प्रश्रय मिल्ने गरी हिन्दू धर्मको बर्खिलापमा प्रशासन उत्रिएको महासंघको आरोप छ।

अध्यक्ष पार्वता पौडेलले प्रशासनको पत्रले महिलाको नैसर्गिक अधिकार हनन भएको भन्दै दिदी बहिनी, आमा समूहलगातयमा त्रास फैलिएको सुनाइन्। ‘पार्टी प्यालेसमा गएर सामान्य नाचगान गरेर रमाइलो गर्नुलाई तडकभडक भन्ने ? प्रशासनले निकालेको सूचना सच्याएर अब पार्टी प्यालेस बन्द गरेका हैनौं भनेर निकाल्नुपर्छ उनी भन्छिन्, ‘डेरा गरेर एउटा कोठामा बस्नेहरु होटल र पार्टी प्यालेसमा तीज नमनाए प्रशासन अगाडि मनाउने ? कि स्पष्ट ठाउँ तोकियोस् नभए छेकबार लगाउने अधिकार प्रशासनलाई छैन।’  प्रशासनले क्षेत्राधिकार मिचेर चाडपर्वमाथि असंवैधानिक कदम चालेको उनको दाबी छ। उनले महिलाविरुद्ध प्रशासनले ज्यादती गरेकाले यो कदम नसच्याए अदालतको शरणमा जाने सुनाइन्।

भड्किलो तीज रहित वडा घोषणा
पोखरा महानगर पालिकाअन्तर्गतको वडा नं २६ पहिलो भड्किलो तीज रहित वडा घोषणा भएको छ। महानगरअन्तर्गत लेखनाथका सबै वडाका महिला भड्किलो तीजको विपक्षमा रहे पनि वडा नं २६ का ३५ भन्दा बढी आमा समूह तथा महिला सञ्जालहरुको संयुक्त प्रयासले वडालाई भड्किलो तीज रहित बनाउने अभियान चलाएको वडा अध्यक्ष नारायण बरालले जानकारी दिए। ‘हामीले तीज मनाउने हो, तर तारे होटल र पार्टी प्यालेसमा संस्कारलाई विकृतितिर लैजाने गरी तीजको दरका नाममा हुने क्रियाकलापलाई पूर्णरुपमा बन्देज गर्न आह्वान गरेका हौं,’ उनी भन्छन्, ‘हामीले अन्य वडामा पनि भड्किलो तीजका विपक्षमा महिला नै अगाडि आऊन् भनेर एक दुई दिनमा सार्वजनिक घोषणा गर्ने तयारी पनि गरेका छौं।’

सोही आह्वानका आधारमा वडा महिला सञ्जालसहित सबै आमा समूहहरुको सामूहिक प्रयासपछि ५ सयभन्दा बढी महिला सोमबार सडकमा निस्केर सामूहिक प्रतिबद्धतासमेत जनाए। महिला सञ्जालकी अध्यक्ष मुरली थापाले तीजका नाममा धेरै नै विकृति भित्रिएकाले त्यसो नगराैँ भनेर अभियान चलाएको बताइन्। ‘म पनि तीज मनाउँछु तर तीज कहाँ र कसरी मनाउने हो भन्ने बारेमा हामीलाई थाहा हुनुपर्छ’ उनी भन्छिन्, ‘तीज भनेर ऋण खोजेरै भए पनि होटलमै मनाउने परिपाटी बन्द गरौँ भन्ने प्रमुख उद्देश्य हो।’

Leave A Comment