सुगमको जीवनमा लिजाको बहार

बिहिबार, ०६ जेठ २०७३, ०३ : ४०
सुगमको जीवनमा लिजाको बहार

आइतवार बिहान काठमाडौँ, मध्य–बानेश्वरस्थित आफ्नै निवासमा मस्त रमाइरहेको थियो गायक सुगम पोखरेलको जोडी । सुगम घरको काममा निकै सहयोगी देखिए । घर छेउकै पसलबाट भान्सालाई आवश्यक सामग्री किनेर फर्किएका थिए उनी । ‘यसो भ्याएको बेला किचनमा पनि हेल्प गरेको नि,’ सुगमले भने, ‘घरमा श्रीमतीलाई सघाउनुको मज्जै बेग्लै । उनी पनि खुशी हुने, आफूलाई पनि रमाइलो लाग्ने ।’
०००
‘मेरो संसार तिमी नै हौँ
बाँच्ने आधार तिमी नै हौँ’
सुगमको पहिलो हिट गीत हो यो । यही गीतबाट हजारौँ दर्शक÷स्रोतामाझ उनी चिनिए । तर, धेरैलाई थाहा नहुन सक्छ उनलाई चिनाएको यो गीतले उनले आफ्नी प्रेमिकालाई सम्झेर गाएका थिएँ । प्रेमिका थिइन् लिजा शर्मा जो अहिले उनकी श्रीमती छिन् । ‘त्योभन्दा अघि पनि गीत त गाएको थिएँ । तर, उनलाई सम्झेर गाएको यही गीतले मलाई हिट बनायो,’ श्रीमतीलाई हेर्दै सुगमले भने । सुगमले यही कुरा लिजालाई सुनाएका थिए । तर, त्यतिखेर उनले पत्याएकी रहेनछिन् । ‘रेडियोमा तिम्रा लागि गाएको गीत बज्दै छ । सुन्नु है भन्यो । सुुरुमा त विश्वासै लागेन,’ लिजाले सम्झिइन्, ‘पछि मेरो घरमा गिटार बजाउँदै गाएर सुनायो । अनि, मात्र पत्याएँ ।’

लिजाको आगमनले आफ्नो जीवनमा बहार ल्याएको सुगमको भनाइ छ । ‘म ‘सुगम पोखरेल’ बन्नुको पछाडि श्रीमतीको ठूलो हात छ,’ सुगम भन्छन्, ‘मेरो जीवनमा उनी आउनुअघि म सामान्य रेडियोकर्मीमात्र थिएँ । उनी आएपछि म रातारात हिट भए । साधारण आरजेबाट चर्चित गायक बने ।’

लिजालाई सुगम सेलिब्रिटी भएकोमा त्यति खुशी लागेन । उनी त सुगमलाई सधैँ सामान्य अवस्थामा देख्न चाहन्थिन् । ‘‘तिमी यस्तो गायक हुन्छौ भन्ने थाहा भएको भए तिमीसँग बिहे गर्दिनँ थिएँ’ उनी अहिले पनि भन्छिन्,’ सुगमले भने, ‘उनलाई यस्तो रंगिन जीवन मनै पर्दैन । सामान्य र सुखी जीवनमा उनी विश्वास राख्छिन् ।’ छेउमै रहेकी श्रीमतीले पनि उनको कुरामा सहमति जनाइन् । भनिन्, ‘हो, मैले उनलाई सेलिब्रिटी सम्झेर बिहे गरेको थिइनँ । अहिले पनि म उनलाई पहिलेकै सुगम देख्न चाहन्छु र देख्छु पनि ।’

बिहे गरेपछि सुरुताका सुगमका खाल–खालका फ्यान झेल्नु लिजाको दैनिकीजस्तै बन्यो । ‘घरमै आइपुग्थे फ्यानहरू । सुगमलाई लेखेको लभलेटर मेरो हातमा थमाएर जान्थे । कतिपय त सुगमसँग किन बिहे ग¥या ? भन्दै झगडासम्म गर्न खोज्थे,’ लिजाले सम्झिइन् । सुगम पनि ‘किन छिटो बिहे ग¥या ?’ भन्ने प्रश्न आफूले निकै झेलेको बताउँछन् । ‘तर, हामी दुवैले फ्यानलाई लिएर झगडा चाहिँ कहिल्यै गरेनौँ,’ दुवैले एकै स्वरमा भने ।

चार वर्षको प्रेम सम्बन्धपछि सुगमले लिजालाई बिहे गरेका हुन् । ‘बिहेपछि प्रेम घट्छ भन्थे हाम्रो त झन्–झन् बढिरा’छ,’ सुगमले भने, ‘अब त उनीविना जीवन नै अधुरो हुन्छ । मेरो सफलतामा पनि कतै न कतै उनी नै हुन्छिन् ।’ सुगम रत्नराज्य कलेज पढ्दा लिजा पद्मकन्या कलेजमा पढ्थिन् । उनीहरूको भेट पद्मकन्यामै पढ्ने सुगमकी एक साथीले गराएकी रहेछिन् । ‘पहिलो भेटमै उनको रूप मन परेको थियो,’ सुगमले सम्झिए, ‘पछि संगत गर्दै जाँदा उनको साधारण शैलीले झन् लोभ्यायो । कसैले बुभ्न नसके पनि मलाई उसले त बुझ्न सक्छ भन्ने लाग्न थाल्यो । यसरी नै प्रेम हुँदै बिहे भयो ।’

सुगमका लागि उनको ‘आवाज’ नै सबथोक हो । ‘मलाई मेरो आवाजले बचाएको छ,’ उनको ठम्याइ छ । यही आवाजबाट उनले दर्शक÷स्रोतामात्र कमाएका होइनन्, श्रीमती पनि पाएका रहेछन् । जसको रहस्य श्रीमतीले आफैँले खोलिन् । ‘मलाई उसको आवाजले नै लोभ्याएको हो,’ लिजाले भनिन्, ‘उसले फोन गर्दो उसको आवाज साह्रै मन पथ्र्यो । बोलिरहँु लाग्ने बनाइदिन्थ्यो । उसको साधारण जीवन शैली पनि मन पथ्र्यो ।’
सुगम आफ्नो जोडीलाई निकै स्मार्ट ठान्छन् । कसरी स्मार्ट ? ‘हामी हरेक काम योजना बनाएर गर्छांै । एक–अर्काको समझदारीमा गर्छांै । टाइम–टेबलमा गर्छांै,’ सुगमको छोटो जवाफ छ ।

त्यसो त सुगमले सन्तान पनि योजना अनुरूप नै जन्माए । ‘बिहे गरेको सात वर्षपछिमात्र हामीले सन्तानको कल्पना ग¥यौँ,’ लिजाले बताइन् । किन ? ‘जन्माएरमात्र हुँदैन्, राम्रोसँग हुर्काउन पनि सक्नुपर्छ भन्ने हामीलाई लाग्यो । त्यसैले पहिले करिअर अनि सन्तान भन्ने निष्कर्षमा पुगेका थियौँ,’ सुगमले कारण खुलाए । छोरी नजन्मिइन्जेल लिजा इन्टेरिअर डिजाइनको काम गर्थिन् । ‘छोरीलाई समय दिनुपर्छ भन्ने लागेर त्यसपछि काम छोडिदिएकी हुँ,’ लिजाले बताइन् ।

सुगमको जोडी अब अर्को सन्तान जन्माउने पक्षमा छैन । घरमा पालेको कुकुरलाई उनी  ‘मैले जन्माएको छोरो’ भन्छन् । घरमा परिवारको संख्या ‘तीन’ छेउमै रहेकी सुगमकी छोरी रिसाइन् । ‘हामी चारजना छौँ । मुक्ति (कुकुर) मेरो भाइ बराबर हो,’ सुगमकी छोरी एन्जिलिजाले भनिन् ।

लिजालाई सुगमको ‘केयरिङ ह्याभिट’ निकै मन पर्छ । ‘जहाँ गए पनि घरको हालखबर बुझिरहने, फोन गरिरहने बानी असाध्यै मन पर्छ,’ उनले भनिन् । सुगमलाई चाहिँ लिजा निकै व्यावहारिक लाग्छ । ‘म त ममी भन्छु उसलाई । आफू त बच्चै छु जस्तो लाग्छ । उनीमाथि पूरै निर्भर भा’को छु । हरेक कुरामा व्यावहारिक देख्छु उनलाई,’ श्रीमतीको मन पर्ने पक्ष सुनाए सुगमले ।

मन नपर्ने पक्ष पनि त होलान्  ? ‘किन नहुनु ?’ लिजाले पोल खोलिहालिन्, ‘उनी समयका पाबन्द छैनन्, त्यही कुरामा कहिलेकाहीँ झगडा पनि गर्छु । ’ सुगमले चाहिँ लिजाको जिद्दी गर्ने बानी मन नपर्ने बताए । समयकै कुरामा कहिलेकाहीँ झगडा पर्दा श्रीमतीले नै फकाउने सुगमले बताए । ‘म त मिस्टेक रियलाइज नै गर्दिनँ । आफैँ मिस्टेक गर्छु अनि सरी चाहिँ उनले भन्छिन् । म त उल्टै रिसाएर बसिदिन्छु,’ सुगमले आफ्नो कमजोरी आफैँ सुनाए ।

सुगम आफ्नो जिन्दगीको दुःखद क्षण मान्छन् ‘ड्रग्स काण्ड’ लाई । लागुऔषध सेवनको क्रममा प्रहरीले उनलाई पक्राउ गर्दाको चर्चा र प्रतिक्रियालाई उनी कहिल्यै बिर्सन नसक्ने बताउँछन् । ‘जति भएको थियो त्योभन्दा बढी हल्ला पिटिएको थियो,’ उनले भने, ‘त्यतिबेला ममाथि गरिएका समीक्षा सुन्दा साह्रै नरमाइलो लागेको थियो । मान्छेले ममाथि हेर्ने नजर नै फरक भएको थियो । आफ्नै पनि पराई भएका थिएँ । दुःख पर्दा मान्छे चिनिन्छ भन्थे । हो रहेछ, जस्तो लागेको थियो ।’  त्यही क्षणले आफूलाई दुःखी बनाएको लिजाले बताइन् । त्यतिबेला श्रीमती र छोरीबाट मिलेको साथ आफूले भुल्न नसक्ने सुगमले बताए ।

Leave A Comment