प्रेमप्रकाश मल्ल मधुकरले फेवातालमा माछापुच्छ्रेको आकृति देखेपछि गीत लेखे
‘माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रै’छ,
पोखरा त साँच्चिकैको पोखरा नै रै’छ’
कुनै जमानामा माछापुच्छ्रेको छायाँ फेवातालमा छर्लङ्गै देखिन्थ्यो। तर, अहिले इतिहास बन्न लागिसक्यो त्यो दृश्य। यतिबेला फेवाताल माछापुच्छ्रेको छाँयाले हैन जलकुम्भीले ढाकिएको छ।
असार–साउनमा जलकुम्भीले छोपेर फेवाताल बिरुप हुँदै आएको धेरै वर्ष भयो। स्थानीय संघसंस्था र स्थानीय निकायको पहलमा जलकुम्भी हटाइन्थ्यो। यो पालि असोजमा समेत फेलाताल जलकुम्भीमय भइदियो।
पोखरामा अहिले पर्यटकीय सिजन सुरु भइसक्यो। पोखरा आउने आन्तरिक र बाह्य पर्यटक फेवातालमा माछापुच्छ्रेको साटो जलकुम्भी देखेर निरास हुन्छन्। फेवा जलकुम्भीले ढाकिँदा लेकसाइड नै कुरुप देखिन्छ। फेवातालमा ढुंगामा सयर गर्न पुगेकाहरु झारै झार देखेर खिन्न हुँदै फर्किरहेका छन्। डुंगा चलाएर गर्जो टार्नेहरु अँध्यारो मुख बनाएर ताल किनारमा टोलाएर बसिरहेका भेटिन्छन्। जलकुम्भीले भरिएको फेवाताल देखेर पर्यटकसँगै पर्यटन व्यवसायी समेत निराश भइरहेका छन्।
‘हामी यही पानी खाएर हुर्कियौं। अहिले खाने त कुरै नगरौं। लुगा धुन समेत ठिक छैन तालको पानी। त्यही ताललाई जलकुम्भीले सखाप बनाइसक्यो’ फेवाताल डुंगा व्यवसायी संघका अध्यक्ष बुद्धीबहादुर नेपाली भन्छन्।
पहिले बैदाम आसपासका बस्तीमा खानेपानीका धारा थिएनन्। त्यहाँका स्थानीय फेवातालकै पानी खान्थे । अब त्यो समय एकादेशमा भइसक्यो।
एकातिर तालको नजिक बनेका होटल तथा रेष्टुरेन्टले फेवाताललाई प्रदूषित बनाइरहेका छन् नै, जलकुम्भीको महामारीले थप संकट बढाइरहेको छ। सिंचाइका लागि सेती नदीबाट ल्याइएको फोहोर पानीसमेत बगेर फेवातालमै पुग्छ।
‘१०/१५ वर्षअघि सम्म बाहिरकै मान्छेले पनि कसैलाई नसोधी पानी घुटुघुटु पिउँथे। अहिले पिउनु त परै जाओस् हात धुन पनि घिन लाग्दो छ’ बैदामकी गोमा घिमिरे भन्छिन्, ‘अघिल्ला वर्ष साउनमा पानी सफा हुँदा निलो देखिन्थ्यो, तालमा नुहाउँदै पानी खान्थ्यौं अहिले जलकुम्भीले फेवाताल खत्तम बनायो।’
जलकुम्भी झारको अध्ययन गरेका डा.राधेश्याम कायस्थका अनुसार पानीमा खाद्य पदार्थ बढी भएकाले तालमा जलकुम्भी बढ्दै गएको हो। वर्षातमा खोला र नहरले धैरे खाद्य पदार्थ बगाएर ल्याउने र नजिकका खेतबाट रासायनिक मल बगेर आउँदा जलकुम्भी तालभरि फैलिने गरेको छ। उनका अनुसार जलकुम्भी झारको आयु ३५ वर्षसम्म हुन्छ।
‘प्रत्येक वर्ष फेवाताल भित्रैबाट जलकुम्भी झार पलाएर तालै ढाक्ने गरेको छ। यसलाई कसरी नष्ट गर्ने कसैले अध्ययन पनि गरेको छैन,’ डा. कायस्थ भन्छन्, ‘थोरै समयमा धैरे फैलिने भएकाले बेलैमा नियन्त्रण नगरे तालमा पानी नै नदेखिने बनाउन सक्छ।’
जलकुम्भी झार र फोहोर निकाल्न २०७४ मा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ५० लाख र पोखरा महानगरपालिकाको ७५ लाख गरी एक करोड २५ लाखको लागतमा मेसिन ल्याएको थियो। क्यानडाबाट झिकाइएको एक्वाइटिक प्लान्ट हार्भेस्टिङ्ग मेसिन त्यत्तिकै थन्किएको छ।
पोखरा महानगरपालिका मेयरका स्वकीय सचिव लक्ष्मण तिमिल्सिना एकै दिनमा सबै जलकुम्भी फाल्न सम्भव नभए पनि ताल सफा गर्न महानगर लागिपरेको बताए। केही दिनमा फेवा पुरानै स्वरुपमा फर्किने उनले दाबी गरे।
प्रत्येक वर्ष २० सेन्टिमिटर घट्दै
एक अध्ययनअनुसार फेवातालको गहिराइ प्रत्येक वर्ष २० सेन्टिमिटरका दरले घटिरहेको छ। २०३० सालमा गरिएको सर्वेक्षणमा तालको गहिराइ २० मिटर थियो। २१ वर्षपछि २०५१ सालमा गरिएको अध्ययनमा घटेर १५ मिटर आएको थियो। यसरी नै तालको गहिराइ घट्दै जाने हो भने अबको ९० वर्षमा ताल हराउनेछ।
‘जंगलबाट बगेर आउने खहरे नहरले ल्याउने फोहोर र त्यही तालमा बढेका जलकुम्भी झारको कारणले फेवाताल गुमाउन धैरै वर्ष कुर्नु पर्दैन, तैपनि विभिन्न बहानामा सरकारी निकाय पन्छिरहेको छ,’ फेवाताल संरक्षण समितिका अध्यक्ष पदम पहारी भन्छन्।
भएन जग्गाको संरक्षण
तत्कालीन जिल्ला विकास समिति कास्कीले २०६४ सालमा फेवातालको किनारको मापदण्ड ६५ मिटर तोकेको थियो। कर्ण शाक्यको होटल वाटर फ्रन्टबारे मुद्दा परेपछि सर्वोच्च अदालतले समेत फेवातालको मापदण्ड ६५ मिटर कायम गर्नुपर्ने आदेश दिइसकेको छ।
२०६५ मा बाराहिघाटदेखि गैह्राचौतारो खण्डमा २.४ किलोमिटर लम्बाइको फुट ट्रयाक बनेपछि होटल र रेष्टुरेन्टहरु ताल किनारमा सरेका छन्। लेक साइडको ताल किनारमा खुलेका होटल तथा रेष्टुरेन्ट मापदण्डविपरीत रहेकोबारे कास्कीका सरकारी निकाय जानकार छन्। तर हटाउन कसैले पहल सुरु गरेका छैनन्। हलचोकदेखि खहरे नपुगेसम्म बनेका सबै संरचना मापदण्डविपरीतका हुन्। ती संरचना अस्थायी प्रकृतिका छन्। सर्वोच्च अदालतले पोखरा महागनरपालिकाको नाममै आदेश दिएपछि महानगरले यहाँको माटो फालेर काम सुरु गरेजस्तो ग-यो र मौन बस्यो।
तत्कालीन पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेले २०६५ सालमा फेवातालको सिमाङ्कन गरे। नापी विभाग केन्द्रीय महाशाखाबाट खटिएको टोलीले ४५ दिन लगाएर गरेको तालको सिमाङ्कनमा फेवातालको क्षेत्रफल ६ सय ४६ दशमलव ५९ हेक्टर देखिएको थियो।
ताल मिच्दै होटल र व्यक्तिगत घरहरु बनाउने क्रम बढेपछि यो मुद्दा सर्वोच्च अदालतसम्म पुगेको थियो। अदालतले फेवातालको जग्गा अतिक्रमण रोक्न सरकारको नाममा आदेश दिएको थियो। तर आदेश अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन।
‘फेवातालको क्षेत्रफल कति हो भन्ने कुनै पनि कार्यालयसँग तथ्याङ्क नरहेको अवस्थामा फेवातालका सिमाङ्कन गरियो। तर ताल सफा हुन सकेन,’ लामिछाने भन्छन्, ‘केही वर्षयता तालमा अतिक्रमण र प्रदूषण बढेको छ।’
Leave A Comment