‘देशलाई माया गर्ने नेतै देखिनँ’

बुधबार, २६ साउन २०७३, ११ : ५७ गोपाल दाहाल , Kathmandu
‘देशलाई माया गर्ने नेतै देखिनँ’


कृष्ण गिरी, चालक
को १ ज ७३५

ड्राइभिङ गर्न थालेको कति भयो गुरुजी ?
०५२ सालमा लाइसेन्स लिएर कुदाउन थालेको हुँ । त्यसअघि पाँच वर्षजति ट्रकमा खलासी गरेको थिएँ ।
कसरी आइयो त गाडी लाइनमा ?
पाँचछ कक्षाभन्दा बढी पढिएन । साथीहरू यसै लाइनका थिए । उनीहरूसँगै सिकियो । लाइसेन्स लिँदा २० वर्षको थिएँ । ठूला गाडी पनि कुदाउन सक्थेँ तर उमेर पुगेन भनेर ठूलो गाडीको लाइसेन्सनै दिएन । त्यसपछि सानो गाडी चलाउन थालेँ ।
गाडी लिएर कहाँकहाँ पुग्नु भएको छ ?
स्करपियो कुदाउँदा धेरैजसो इन्डियातिर गइयो । इन्डियाका दार्जिलिङ, सिक्किम, सिलिगुडी, कटिहार सबैतिर पुगेँ । नेपालमा मेचीदेखि महाकाली पुगेको छु । तीनचारटा जिल्लाबाहेक सबै जिल्ला पुगेको छु ।
गाडी कुदाउँदा भारत र नेपालको सडकमा के फरक पाउनुभयो ?
उता धेरै व्यवस्थित छ । नेपालमा त नियमै छैन । भएका नियमको पनि पालना भएको देखिँदैन ।
अहिलेसम्म कुनकुन गाडी कुदाउनुभयो त ?

धेरै कुदाइयो । ग्रामीण आवास कम्पनी पुलचोकको सरकारी गाडी पनि कुदाएँ । स्करपियो, बोलेरो अनि भ्यान सबै चलाएको छु ।
गाडीमा कस्ताकस्ता प्यासेन्जर बोक्नुभयो ?
सामान्यदेखि मन्त्रीका सन्तानसम्म बोकियो । यात्री त सबै उस्तै हुन् तर मान्छेअनुसार व्यवहार चाहिँ फरक हुँदो रहेछ ।
भ्यान आफ्नै कि साहूको ?
साहूको हो ।
आम्दानी कस्तो छ ?
सिजनमा २०÷२५ हजार बच्छ । अहिले चाहिँ अफसिजन भएकाले गाह्रो छ ।
फुर्सदमा के गर्नुहुन्छ ?
गाडी चलेको बेला फुर्सदै हुँदैन । बन्द भएको बेला बजार घुम्ने हो ।
फिल्म कत्तिको हेरिन्छ ?
पहिला खूब हेरिन्थ्यो । अहिले हल नपुगेको तीनचार वर्ष भयो । टीभीमै हेरिन्छ फिल्म ।
गाडीमा कस्ता गीत सुन्नुहुन्छ ?
लोकदोहोरीदेखि हिन्दी, डिस्को र रोमान्टिक गीत सुन्छु । प्यासेन्जरले पनि त्यस्तै मन पराउँछन् ।
राजनीतिमा चासो छ कि ?
राजनीति त पहिलादेखि नै मन पर्दैन । पत्रिका र टीभीबाट नेताहरूबारे बुझिन्छ ।
नेताहरू कस्ता लाग्छन् ?
अहिलेसम्म देशलाई माया गर्ने नेतै देखिनँ । जनता झुक्याउने, ढाँट्ने नेता मात्र छन् । ‘गरिब, दुःखीलाई हेर्छु’ भन्छन् कुर्सीमा पुगेपछि आफैँ धनी बन्ने हुन् । गरिबलाई हेर्दैनन् ।
गाडीलाइनमा केके समस्या देख्नुहुन्छ ?
राति गाडी चलाउँदा फटाहाले दुःख दिन्छन् । सडकमा मान्छे, बाख्रा, गाईबस्तु जथाभावी हिँड्छन् ।
गाडी लाइनमा आउन खोज्नेलाई के भन्नुहुन्छ ?
यो लाइन त्यति नराम्रो पनि होइन र त्यति राम्रो पनि छैन । सिस्टम नहुँदा रिस्क बढी छ ।
अबको योजना के छ ?
हुन त अहिले साहूको गाडीमा पनि राम्रै छ तर पछि सकिएछ भने आफ्नै गाडी किन्ने हो । छोराछोरीलाई राम्रोसँग पढाउने हो ।

 

Leave A Comment