ल्वाङ गाउँमा फूलै फुलेको
माथिमाथि हो हिमालको काखैमा मालचरी सँगै डुलेको
ल्वाङ गाउँबारे भिडियो बनाएर गाइएको यो गीत पोखरेलीको मुखमुखमा झुन्डिएको छ। यो गीत बनेपछि नामै नसुनेको ल्वाङ गाउँ एकाएक हिट भयो। हिट भइन् गीत गाउने शान्ति गुरुङ पनि। ल्वाङ गाउँभन्दा पछि बढी चर्चा भयो धम्पुस गाउँको गीतको। ‘सुनाखरी सुनागाभा गुँरास जस्तो यो मन, साट्न आउनु धम्पुसैमा हिमालजस्तो जोवन’ पर्यटकीय गाउँ धम्पुसको सौन्दर्यलाई कैद गरी बनाइएको यो गीत टेलभिजन र रेडियोमा बज्न थालेपछि यो गीतको जति चर्चा भयो, त्योभन्दा बढी धम्पुसको हुन थाल्यो। अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, धौलागिरी र मर्दी हिमालको शिरदेखि फेदसम्म हेर्न धम्पुस पुग्नेको ओइरो लाग्यो। साँच्चिकै गीतमा भनिएजस्तो हिमाल जस्तो जोवन साट्न धम्पुस जानेको ताँती त्यसयता घटेको छैन।
पोखरा आसपासका सुन्दर गाउँको चिनारीलाई समेटेर गीत बन्न थालेपछि गीत त चल्ने नै भए, पर्यटकहरु पनि आउन थाले। त्यसैले पोखरा र यस आसपास मात्रै होइन गण्डकी प्रदेशमा आफ्ना गाउँ चिनाउन म्युजिक भिडियोसहितको गीत बनाउने लहर चलेको छ। गाउँठाउँको वर्णन गरिएका गीत बनाउन चलेको होडबाजीले गण्डकी प्रदेशको आन्तरिक पर्यटन वर्ष २०१९ र पर्यटन वर्ष २०२० लाई सघाएको छ। गाउँको गीत धमाधम बन्न थालेपछि साहित्यकार रिमबाबु रानामगरको मन थामिएन। उनले आफ्नै गाउँ स्याङ्जा चित्रेभञ्ज्याङ्बारे गीत लेखेर भिडियो नै बनाए। ‘आफ्नो गाउँलाई चिनाउन थोरै भए पनि सघाउन पुगोस् भनेर यो गीत र भिडियो तयार पारेको हुुँ’ उनी भन्छन्।
रिमबाबु मात्रै हैन पछिल्लो समय गण्डकी प्रदेशका धेरै गाउँका गीत बनिसकेका छन्। अझै केही गाउँका गीत बन्दैछन्। केही गाउँका गीत बन्नेवाला छन्। गाउँलाई चिनाउन र प्रचारका लागि सजिलो माध्यम गीत भएकोले धेरैले आफ्नो गाउँघरलाई भिडियोमा उतारेका छन्। भर्खरै मात्रै कास्कीको चर्चित छोम्रोङ गाउँको म्युजिक भिडियो तयार भएको छ। अन्नपूर्ण बेस क्याम्पनजिकै रहेको यो गाउँको गीतको भिडियोलाई कृष्णकुमार गुरुङले निर्देशन गरेका छन्। ‘गण्डकी प्रदेशमा गाउँगाउँलाई लक्षित गरी म्युजिक भिडियो बनाउने लहरै चलेको छ। गीत यस्तो चिज हो जसले सबैलाई आकर्षित गर्छ’ थुप्रै गाउँका गीतको म्युजिक भिडियो निर्देशन गरेका फिल्म निर्देशक कृष्णकुमार गुरुङ भन्छन्, ‘आफ्नो गाउँठाउँलाई प्रचार–प्रचार गर्न र गाउँका लागि थोरै भए पनि योगदान दिउँ भन्ने व्यक्तिहरुले लगानी गरेर भिडियो बनाउँछन्।’
चर्चाको हिसाबले मुस्ताङको मार्फा गाउँको बारेमा बनाइएको गीत ‘क्या राम्रो स्याउ बारी मार्फा गावैमा’ बोलको गीत पछि पोखराका आसआसमा गाउँका गीत लेख्ने र बन्ने क्रम बढेको हो। वसन्ती लालचनको शब्द र सुतीला थापाको संगीत रहेको यो गीतले त्यसयताका निकै चर्चा पाएको छ। पृथ्वी गुरुङले यो गीतको म्युजिक भिडियो बनाएपछि झन् चर्चामा आएको हो। ‘आफ्नो गाउँलाई देशविदेश चिनाउन धेरैले गाउँका गीत बनाउने गरेका छन्’ थुप्रै गाउँका गीतको म्युजिक भिडियो निर्देशन एवं कोरियोग्राफी गरेकी जसु गुरुङ भन्छिन्, ‘विशेष गरी आन्तरिक पर्यटकलाई आकर्षण गर्न पनि यस्ता गीत बनाइने गरिएको छ।’ गाउँको धार्मिक, साँस्कृतिक, प्राकृतिक र सामाजिक पक्षलाई उजागर गरी आफ्नो पहिचान देखाउन पनि गाउँका गीत र भिडियो बनाउने गरिएको उनको बुझाइ छ।
पर्यटकीय गाउँ धम्पुसको सौन्दर्यलाई कैद गरी बनाइएको यो गीत टेलभिजन र रेडियोमा बज्न थालेपछि यो गीतको जति चर्चा भयो, त्योभन्दा बढी धम्पुसको हुन थाल्यो। अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, धौलागिरी र मर्दी हिमालको शिरदेखि फेदसम्म हेर्न धम्पुस पुग्नेको ओइरो लाग्यो। साँच्चिकै गीतमा भनिएजस्तो हिमाल जस्तो जोवन साट्न धम्पुस जानेको ताँती त्यसयता घटेको छैन।
‘सिक्लेलसको मेलैमा, सिधै नजर लगाउने को होला भेट भाको बेलैमा’ गुरुङ भाषाको ‘रिमे म्यूमै सै’ फिल्ममा रहेको यो जति चर्चित छ त्यति धेरै प्रचार भयो सिक्लेस गाउँ। विभिन्न रेडियो र टेलिभिजनबाट बज्ने यो गीत अहिले सबैले गुनगुनाउँछन्। धम्पुस, घान्द्रुक, रुपाताल, तप्राङ, आर्थर, भदौरे, भाचोक, लान्द्रुक, ताङतिङ, सिक्लेस, खुँदी, गल्याम, भिचोक, कुइवाङ, कोल्मा, ल्वाङ, सावेद गाउँ, थाकखोला, भुजुङ, याङ्जाकोट, तप्राङलगायतका थुप्रै गाउँका गीत बनेका छन्। यी गीतले एकातिर गाउँ चिनाउने काम गरेका छन् भने अर्कातिर कलाकार। यति मात्रै हैन यस्ता गीतले संगीतमा नयाँ आयामसमेत थपेका छन्। गाउँका गीत बन्न थालेपछि गण्डकी प्रदेशमा अघोषित प्रतिस्पर्धा जस्तै भएको छ। बिम्ब कवि रमेश श्रेष्ठलाई अहिले पनि गाउँगाउँका गीत लेखिदिन अनुरोध आइरहन्छ। ‘गाउँका गीत बन्नु राम्रो कुरा हो’ करिब दुई दर्जन गाउँका गीत लेखिसकेका कवि एवं गीतकार रमेश श्रेष्ठ भन्छन्, ‘गाउँको प्रमोसनका लागि यस्ता गीतले ठूलो सहयोग गरेका छन्। गाउँको भिजुअल गर्दा त राम्रो कुराको मात्रै गरिएको हुन्छ।’
सामान्यतया एउटा गीतको म्युजिक भिडियो बनाउनका लागि एक लाख माथि खर्च हुन्छ। स्तरीय बनाउने हो भने ६–७ लाखसम्म खर्च गरिन्छ। धेरैजसो गाउँका गीतमा नृत्य गर्ने युवतीहरु गाउँकै हुन्छन्। यसले नयाँ कलाकारलाई पनि फाइदा भएको छ। गाउँको चर्चा गरेर बनाइएका प्रायः सबै गीतमा गायिकाले नै स्वर भरेका छन्। पोखरा आसपासका गाउँहरुको कुनै पनि गीत गायकको एक्लो स्वरमा बनेका छैनन्। दोहोरी टाइपका गीतमा केटा र केटीको स्वर भए पनि धेरै गाउँका गीतमा गायिकाको स्वर छ। यसले गायिकालाई राम्रै फाइदा भएको बताउँछिन् शान्ति गुरुङ। ‘मैले पनि धेरै गाउँका बारेमा लेखिएका गीत गाएको छु, मैले गाएको ल्वाङ गाउँको गीत निकै चर्चामा छ’ थुप्रै गाउँका गीतमा स्वर भरेकी शान्ति भन्छिन्, ‘कमाइ पनि हुने, चर्चा पाइने मात्रै हैन गाउँका लागि पनि केही योगदान दिएको महसुस हुन्छ।’
Leave A Comment