गण्डकी प्रदेशको मुस्ताङ जिल्लालाई हिमाल पारिको जिल्ला भन्छन्। कालीगण्डकीको शिर र हिन्दूको आस्थाको केन्द्र मुक्तिनाथ भएकोले विदेशी मात्र होइन प्रत्येक वर्ष हजारौंको संख्यामा नेपालीहरु मुस्ताङको यात्रा गर्छन्। अघिल्लो वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ पुगेपछि भारतीय पर्यटकको लर्को थामिनसक्नुको छ। मुस्ताङ जान हवाई उडानको मात्र भर पर्न पर्दैन। पोखरा–बागलुङ हुँदै म्याग्दीको बेनीदेखि मुस्ताङसम्म मोटरबाटो छ। पछिल्लो समय नेपाल चीनको सिमाना कोरला नाकासम्म पुग्ने लहरै चलेको छ।
मुस्ताङको अलौकिक सुन्दरता बयान गरी साध्यै छैन। यति सुन्दर ठाउँ भए पनि एक दशक अघिसम्म जोमसोम आउने पर्यटक मुक्तिनाथ मन्दिरसम्म पुगेर फर्कने गर्थे। उपल्लो मुस्ताङ उक्लन धेरै पर्यटकले हिम्मत गर्दैनथे। तर, कोरला नाकैसम्म गाडी चलेपछि जो कोही व्यक्ति पनि उपल्लो मुस्ताङको भ्रमण गर्न थालेका छन्। सडकको सुविधाले उपल्लो मुस्ताङको लोमान्थाङ र कोरला नाकासम्म पुग्न पर्यटकलाई सजिलो भएको छ।
मुस्ताङ यतिबेला धपक्कै बलेको छ। आकाश खुलेको छ, धौलागिरि र नीलगिरि हिमालको काखमा रहेको मुस्ताङका पाखापखेरा, उजाड देखिने डाँडा अनि कालीगण्डकीका बगर जताततै आन्तरिक र बाह्य पर्यटकको विशेष चहलपहल देख्न सकिन्छ। यतिबेला मुस्ताङ घुम्ने सिजन हो। अबको केही सातापछि चिसो सुरु हुन्छ। कालीगण्डकीको किनार र पहाडको डिलमुनि रहेको साँघुरो बजार जोमसोममा पर्यटकले खचाखच भरिएको छ।
पर्यटकको भीड बढेपछि होटलका कोठा र खानाको दर ह्वात्तै बढेको छ। एक रातको एक हजार रुपैयाँसम्ममा पाइने कोठाको अहिले दुई हजारसम्म पर्छ। जोमसोममा विगतदेखि नै सडकको भीड हेरेर कोठाको मूल्य बढ्दै आएको छ। जोमसोमको पर्यटन बजारलाई सरकारले नियन्त्रणमा लिएर व्यवस्थापन गर्न सक्ने अवस्थै छैन। पछिल्लो समय नेपाली पर्यटकको आगमन मुस्ताङमा ह्वात्तै बढेको छ। तैपनी स्थानीय व्यापारीले पर्यटक हेरेर व्यापार गर्छन्। सकेसम्म अमेरिकन, युरोपियन, त्यसपछि भारतीय अनि बल्ल नेपालीसँग बोल्ने फुर्सद हुन्छ तिनलाई। ‘यहाँको मुखिया प्रथा र बजारको कथा बुझिनसक्नुको रहेछ। हामीले भनेर गर्न सक्ने अवस्थै छैन,’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्याल भन्छन्, ‘व्यवस्थापन गर्ने प्रयास गरिरहेका छौं।’
मुक्तिनाथ मन्दिर, कागबेनी र थोराङलापास घुम्ने पर्यटक सोझै उपल्लो मुस्ताङ पुग्ने गर्छन्। कच्ची र धुलाम्मे सडकका कारण पैदलमार्गबाट आउन रुचाउने पर्यटकलाई केही असहज भए पनि धेरैले यसलाई रोमाञ्चकारी यात्रा ठान्छन्। धुलाम्मे सडक छिचोल्दै लोमान्थाङ अनि कोरला नाका पुग्ने स्वदेशी र विदेशी पर्यटकको लर्को छ यतिबेला। केही वर्षअघिसम्म सुनसान थियो कोरला सिमाना र लोमान्थाङ बजार। पछिल्ला २/३ वर्षदेखि यो क्षेत्रमा पर्यटकको आगमन ह्वात्तै बढेको छ। आन्तरिक पर्यटकको त उपल्लो मुस्ताङ हव नै बन्न थालेको छ। ‘लोमान्थाङ आउने पर्यटक ह्वात्तै बढेका छन्। पहिले विदेशी मात्रै आउँथे। आजभोलि नेपाली पर्यटक धेरै आउँछन्,’ लोमान्थाङका होटल व्यवसायी नोर्जेन बिष्ट भन्छन्, ‘ती पर्यटकले होटेल नपाएर स्थानीयको घरमै बास बस्ने गरेका छन्।’
चीनसँग जोडिएको सिमाना क्षेत्र भएकाले विदेशी पर्यटकका लागि यो इलाका आकर्षकको केन्द्र बन्दै गएको छ। चिसो मौसममा पनि पर्यटकहरू घुमफिर गर्न आएका छन्। हिउँ पर्ने मौसम सुरुवातदेखि नै मुस्ताङ भ्रमण गर्नेहरूको भीड बढेको छ। अहिले हिउँ नपरे पनि पर्यटक आगमन रोकिएको छैन। आन्तरिक पर्यटक चिसो मौसममा खासै आउँदैनन्। पहिले–पहिले लोमान्थाङसम्म आउने पर्यटक लोमान्थाङबाट ३० किलोमिटर उत्तर कोरला नाका नपुगी फर्कँदैनन् तर, विदेशी पर्यटकलाई सिमानासम्मै पुग्न अनुमति छैन। ‘सडकको सुविधाले पर्यटकहरू सजिलै कोराला नाकासम्म पुग्न थालेका छन्,’ स्थानीय विक्रम बिष्ट भन्छन्, ‘एकपटक उपल्लो मुस्ताङ पुग्नैपर्छ भन्नेहरु बढेका छन्। विदेशीभन्दा धेरै नेपालीहरू आएका छन्।’
मुक्तिनाथ मन्दिर घुम्नेहरू कोरला नाका हेर्न उत्सुक बनेपछि भ्रमण लम्ब्याएर उपल्लो मुस्ताङ पुग्ने गरेका छन्। जोमसोमबाट कोरला पुग्न १ सय १२ किलोमिटर कच्ची सडक छिचोल्नुपर्छ। उपल्लो मुस्ताङको जनजीवन, धर्म, संस्कृतिका बारेमा अध्ययन भएन भने मुस्ताङ जिल्ला पुग्नु र नपुग्नुले केही अर्थ हुँदैनभन्दा पनि हुन्छ। प्राचीन कला संस्कृति, मानव बस्तीका गुफा र पर्खालले घेरेको शहर लोमान्थाङको विशेषता हो। उपल्लो मुस्ताङमा गुम्बा र काँचो माटोबाट निर्माण गरिएका घरहरु देख्न सकिन्छ। ‘लोमान्थाङ क्षेत्र मानवबस्तीको ऐतिहासिक स्थल मानिन्छ। अहिलेसम्मको अध्ययनले लोमान्थाङ ३ हजार वर्ष अगाडिदेखि नै तिब्बतसँग व्यापार गर्ने नाकाको रुपमा विकास भएको क्षेत्र हो,’ मुस्ताङबाट गण्डकी प्रदेश सभा सदस्य निर्वाचित इन्द्रधारा बिष्ट भन्छन्, ‘अन्नपूर्ण हिमश्रृंखलाको पछाडि पर्ने हुँदा लोमान्थाङ क्षेत्रमा पानी कम पर्दछ। अहिले पनि मुस्ताङ जिल्लाका लोमान्थाङ क्षेत्रका मानिसहरु घोताङ नाका हुँदै तिब्बतसँग आफ्नो व्यापार गर्दै आएका छन्।’
उपल्लो मुस्ताङ भ्रमणको सहजतालाई ध्यानमा राखेर स्थानीय जिप व्यवसायीहरूले पर्यटक र स्थानीयलाई सुविधा दिएका छन्। जोमसोमदेखि अहिले जिपबाट ८–९ घण्टामा कोरला पुग्न सकिन्छ। यहाँ आउने जो कोहीलाई चीनतर्फ समथर भूभाग अलि वर नेपालको भीरैभीर धरातलले दुई देशको सिमाना कोरिदिएको छ। मुस्ताङ जिल्ला प्रवेश गर्ने सडक ठिकैको छ। पोखरा–जोमसोम सडकको दूरी १५७ किमि छ। मुस्ताङ जिल्लाको तिब्बतसँग सीमामा पर्ने कोरला नाका समुद्र सतहदेखि चार हजार ६ सय ५० मिटरको उचाइमा पर्दछ। यो स्थल तिब्बती मैदानी पठारमा अवस्थित छ। कोरला पासदेखि करिब १२ किलोमिटर वर छोन्हुपको नेचुङमा भन्सार कार्यालय छ। त्योभन्दा करिब २५ किलोमिटर टाढा लोमान्थाङमा सीमा प्रशासन र प्रहरी कार्यालय रहेको छ।
नेपाल चीनको व्यापारिक सम्भावनाको हिसाबले तातोपानी र केरुङ नाकाभन्दा बढी सम्भावना भएको नाकाका रुपमा मुस्ताङको कोरला नाकालाई लिइन्छ। विश्वमा १० उत्कृष्ट स्थलहरुमध्ये नेपालको उपल्लो मुस्ताङ तेस्रो स्थानमा पर्दछ। पल्लो मुस्ताङमा विदेशीहरुलाई सन् १९९२ देखि मात्र भ्रमणका लागि नेपाल सरकारले खुला गरेको हो। अहिले उपल्लो मुस्ताङमा नेपालीहरुभन्दा पनि विदेशी पर्यटकहरु धेरै जाने गर्दछन्। लोमान्थाङमा ऐतिहासिक मुस्ताङ राजाको दरबार छ। राजा अम पालले सम्बत १४४० मा निर्माण गरेको लोमान्थाङ दरबार पाँच तलाको विशाल ऐतिहासिक भवन मानिन्छ। लोमान्थाङको ऐतिहासिक दरबार, गुम्बा, किल्ला र मानवबस्तीका गुफा उपल्लो मुस्ताङको मात्र नभएर नेपालकै साँस्कृतिक सम्पदा हुन्। उपल्लो मुस्ताङमा लोमान्थाङ दरबार, चराङ दरबार र घमी दरबार ऐतिहासिक रुपले महत्वपूर्ण मानिन्छ। लोमान्थाङ दरबार मुस्ताङ्गी राजवंशको प्रथम राजा आमेपालको पालामा पन्ध्रौँ शताब्दीतिर निर्माण भएको हो। यो दरबार १ मिटर चौडाइ ६ मिटर अग्लो एल आकारको ८५६ मिटर लामो पर्खालभित्रको परिसरमा रहेको छ। यो पर्खाल पूरै काँचो माटोबाट निर्माण गरिएको हो। ‘लोमान्थाङ दरबार अचम्मकै रहेछ। यसको बनोटले निकै प्रभावित बनायो,’ काठमाडौंबाट घुम्न लोमान्थाङ पुगेका विशाल कुँवर भन्छन्, ‘यहाँको प्राकृतिक छटाले आनन्दित बनायो। जीवनमा एकपटक पुग्नैपर्ने ठाउँ रहेछ अपर मुस्ताङ।’
मुस्ताङ जिल्लामा सडक यातायात सञ्चालन भएपछि पर्यटकहरुको संख्या बढ्न थालेको छ। आन्तरिक धार्मिक पर्यटकहरुमा विभिन्न जिल्लाका संघ÷संस्थाका समूहहरु, विद्यालयका विद्यार्थी, धार्मिक आस्था राख्ने व्यक्तिहरुले मुस्ताङ जिल्ला भ्रमण गर्ने लहर नै चलेको छ। विदेशीहरुमा भारतीय पर्यटकहरुको संख्या पनि बढ्दै गएको छ। तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या भने झनै वृद्धि हुँदै गएको छ। पोखरादेखि जोमसोमसम्मको हवाईयात्रा र पोखरा, पर्वत, बेनी हुँदै सडक यातायातबाट र कोही विदेशी पर्यटकहरु घोडेपानी, सिख, घार हुँदै पैदल यात्रामा पनि मुस्ताङ जिल्लामा जाने गर्छन्।
Leave A Comment