हिरो बन्न अग्लो जिउडाल। ज्याङ्गो शरीर। उत्तिकै चौडा छाति। पुरानो फिल्मका यस्ता मानक परिवर्तनको संकेत नदेखिएपछि निर्देशक कृष्णकुमार गुरुङलाई फिल्म निर्देशनमा छिर्ने रहर पलाएको हो। कला र गलामा अब्बल कृष्णकुमारले थुप्रै फिल्म निर्देशन गरिसकेका छन्। ‘अलिकति फरकपन दिऊँ भन्ने लागेर फिल्म निर्देशनमा लागेँ, अहिले लत बसिसकेको छ’ तमु ह्युला, यम्फावती, सवन्मुजस्ता ऐतिहासिक फिल्म निर्देशन गरिसकेका कृष्णकुमार भन्छन्, ‘फिल्म भनेको विशुद्ध मनोरञ्जन मात्रै होइन, ऐतिहासिक कुरालाई पर्दामा उतारेर संरक्षण गर्नु पनि हो।’
च्यारिटी सो, विदेशमा गरिने प्रदर्शनले लगानी पनि सुरक्षित हुने भएकाले गण्डकी प्रदेशमा एकपछि अर्को फिल्म धमाधम बनिरहेका छन्। फिल्म धमाधम बन्न थालेपछि धेरैमा निर्देशकीय मोह बढेको हो। यसलाई बजारमा भित्रिएका नयाँ प्रविधिले पनि उत्तिकै साथ दिएको छ। डिएसएलआर क्यामेराबाट फिल्म खिच्ने चलन बढेपछि निर्देशकको लतलाई झन् बल पुगेको छ। ‘फिल्म बनाउन काठमाडौं नै जानुपर्ने बाध्यता छैन। आफू बसेको ठाउँमै सानो लगानीले फिल्म बन्न थालेपछि धेरैले निर्देशक बन्ने रहर पूरा गरेका छन्’ अर्का निर्देशक सन्तोष पिठाकोटेमगर भन्छन्, ‘साना र छोटा फिल्मले विभिन्न अवार्ड पाउनुले पनि धेरैलाई हौस्याएको छ। यो राम्रो अवसर पनि हो।’
नेपाली फिल्मको कुरा गर्ने हो भने बजार हल्ला गरेजस्तो छैन। आक्कलझुक्कल बाहेक धेरै फिल्मले लगानी उठाउन सक्दैैनन्। तैपनि वर्षमा सरदर सय फिल्म बन्छन्। ठिक यतिबेला साना लगानीका फिल्म भने सुरक्षित छन्। च्यारिटी सो गरेरै भए पनि लगानी उठ्ने भएकाले लगालग फिल्म बनिरहन्छन्। धमाधम फिल्म बनेपछि निर्देशक कलाकारलाई फाइदै छ। कति जना कलाकारिता गर्दागर्दै निर्देशनमा छिरे। अहिले उनीहरुलाई निर्देशनको लत लागिसकेको छ। माओत्से गुरुङलाई हेरौं न उनी बाह्रै महिना व्यस्त हुन्छन्। अभिनयमा अब्बल उनी त्योभन्दा बढी निर्देशनमा व्यस्त हुन्छन्। उनलाई एकपछि अर्को फिल्म निर्देशन गर्ने अवसर आइरहन्छ। ‘सुरुमा मेरा दृष्टिकोण र भनाइहरु राख्नलाई निर्देशनमा पसेको हुँ, अहिले नुनतेल खाने उपाय पनि यही हो’ निर्देशक माओत्से गुरुङ भन्छन्, ‘म पनि निर्देशकभन्दा बढी कलाकार हुँ। रहरैले निर्देशक बनियो।’ माओत्से यतिबेला ‘शिरसुबा’ फिल्मको निर्देशनमा व्यस्त छन्। कास्कीको सुन्दर गुरुङ बस्ती घान्द्रुकमा फिल्म छायाङ्कन भइरहेको छ।
निर्देशन लतमा फसेपछि एकपछि अर्को फिल्म बनाउनेहरु गण्डकी प्रदेशमा प्रशस्तै छन्। फिल्मबारे नपढी, गहिरो ज्ञान नलिएरै निर्देशनमा हाम फाल्ने जमात पनि उत्तिकै बाक्लिँदैछ। यसले उनीहरुको निर्देशन मोह पूरा त भयो होला। फिल्म बजारमा भने केही न केही असर परेको छ। आक्कलझुक्कल फिल्म पढेर यतातिर आउने नभएका पनि होइनन्। निर्देशक प्रितम गुरुङको विचारलाई मान्ने हो भने फिल्ममा लाग्नुको अन्तिम गन्तव्य भनेकै निर्देशक बन्नु हो। २०५२ सालमा बनेको पाते फिल्ममा नायकको भूमिकाबाट फिल्म क्षेत्रमा हाम फालेका उनी ख्यालख्यालमै कलाकार बने। केही समय फिल्म क्षेत्रमै जमेपछि रोजे ‘एक्सन’ र ‘कट’ को बाटो। ‘धेरै फिल्म खेलेँ, हेरेँ, बुझेँ अब निर्देशन गर्छु भनेर यता हाम फालेँ’ ४० फिल्म निर्देशन गरिसकेका प्रितम गुरुङले निर्देशक बन्नुको कारण खुलाए, ‘अहिले अभिनयभन्दा निर्देशनमै लत बसेको छ। आफूलाई मन लागेको कुरा निर्देशकले भन्न पाउने स्वतन्त्रता पनि हुन्छ।’
पुराना तथा नया“ दुवै कलाकारले नेपाली फिल्म क्षेत्रमा नया“ शैली भित्र्याउने दाबी गर्दै निर्देशनमा हाम फाल्छन्। कोही खुट्टा उचालेर मौका खोजिरहेका छन्। लामो समय नेपाली रजतपटमा बिताएदेखि भर्खर करिअर थालेका कलाकारले पनि निर्देशनको क्षमता देखाउने बताउ“दै आएका छन्। अहिले देखिएको यो ‘ट्रेन्ड’ले नेपाली फिल्ममा बजार हिस्सा बढाएको बताउने पनि छन्। ‘फिल्म कला मात्रै होइन सौखिन व्यापार हो। अहिले धेरै राम्रा युवा, पढेर बुझेर निर्देशनमा आएका पनि छन्। हावामा निर्देशक बन्नेहरु पनि छन्’ निर्देशक मेजन पुन भन्छन्, ‘बुझेर निर्देशनमा हात हाल्दा फिल्म उद्योगका लागि राम्रो हो। एउटा फिल्ममा दुईचार जना लगानीकर्तालाई मुर्गा बनायो अनि हराउने गर्दा फिल्म उद्योगलाई नै असर गर्छ।’
विशेष गरी फिल्मकै कलाकार, प्राविधिक, गीतसंगीतमा लाग्नेहरु र केही नयाँ व्यक्ति निर्देशकको रुपमा उदाएका छन्। खारिएका कलाकार निर्देशक बन्ने राम्रै हो। उनीहरुको लामो अनुभवले दर्शकलाई केही न केही नयाँपन दिन सक्छन्। नयाँ भए पनि फिल्मबारे पढेरै आएकाहरु फिल्म निर्देशनमा छिर्नु नौलो होइन। तर, नयाँ पुस्ताका युवा भने एउटा भिडियोमा देखिएकै भरमा रहरकै बलले निर्देशनको बि“डो समाउन लागिपरेका छन्। ‘फिल्म निर्देशकको सशक्त अभिव्यक्ति हो भन्ने नबुझेर आत्मसन्तुष्टिका लागि व्यक्तिगत रहर पूरा गर्न निर्देशक बन्ने लहर पनि छ। यो दीर्घकालीन हुँदैन’ निर्देशक जसु गुरुङ भन्छिन्, ‘तर, यो क्षेत्र यस्तो रहेछ कि एकपटक निर्देशनमा लागेपछि लतै बन्दोरहेछ। जस्तो अवस्थामा पनि फिल्म निर्देशन गर्ने रहर लागिरहन्छ।’
Leave A Comment