अपांगका अभिभावक

शनिबार, २९ साउन २०७३, १० : ३८ गोपाल दाहाल , Kathmandu
अपांगका अभिभावक

धरानको छाताचोक छेउमै झ्याम्म फिँजिएको बरको रूख छ । त्यसैको छेउमा रहेको थोत्रो घर वरिपरि कोही ह्विलचेयरमा गुड्दै, कोही घसिँदै गरेका बालबालिका थिए । ती अपांग बालबालिकाका अभिभावक हुन्, भीम राई ।
‘यो संसार एउटा रंगमञ्च अनि हामी कलाकार’ प्रसिद्ध नाटककार विलियम शेक्सपियरको यो भनाइ एकदम सही लाग्छ भीमलाई । ५६ वर्षीय राईले जीवनमा धेरै किसिमको भूमिका निर्वाह गरेका छन् । कहिले खेलाडी, कहिले प्रशिक्षक, कहिले कर्मचारी त कहिले सेवक ।
कुनै बेला वीरगञ्जमा सितेरियो कराँतेका प्रशिक्षक थिए उनी । १२ वर्षसम्म धेरैलाई प्रशिक्षण दिए । तर, २०३६ सालमा निर्दल र बहुदलको नाममा खेलाडीहरूको दुरुपयोग भयो । आफूलाई पनि खेलाडीहरू लिएर बहुदलविरुद्ध लाग्न निर्देशन आएको राई बताउँछन् । ‘राजनीतिमा बौद्धिक द्वन्द्व ठीक हुन्छ । म खेलाडीलाई लठैतका रूपमा प्रयोग गर्नु ठीक होइन जस्तो लाग्यो । त्यसपछि जागिर छाडेँ,’ उनले भने । बाराको जीतपुरमा राष्ट्रिय उखुबाली कार्यालयमा पनि काम गरेका छन् भीमले । आमा बिरामी भएर धरान आएपछि यतै अपांगता भएकाहरूको सेवामा दिन बिताइरहेका छन् ।
२०६५ सालमा केही साथीसँग गफ गर्ने क्रममा अपांग भएकाहरूको सेवा गर्ने सल्लाह भयो । अपांगता भएकाहरूलाई ल्याएर आजीवन पाल्ने, खान लाउन दिने भनाइ साथीहरूको थियो । तर, यो कुरा भीमलाई चित्त बुझेन । ‘जस्तो अवस्थामा छन् त्यस्तै अवस्थामा राखेर त सेवा गरेको के अर्थ भयो र !’ त्यतिखेर आफूले भनेको कुरा भीमले सम्झिए, ‘बरु, उनीहरूलाई उपचार गर्ने, सीप सिकाउने अनि आत्मनिर्भर बनाएर समाजमा पुनस्र्थापित गर्नु जरुरी छ ।’
उनको विचार साथीहरूलाई मन प¥यो । त्यसपछि उनलाई नै सचिव राखेर सुरु भयो, ‘अपांग सेवा सरोकार समिति’ । अपांग भएकाहरूको समस्या र उपचारबारे आफूलाई विस्तृत जानकारी नभएकाले त्यसबारे बुझ्न उनी विराटनगर र काठमाडौँका अपांग पुनस्र्थापना केन्द्रहरूमा पुगे । ‘त्यहाँ गएपछि थाहा भयो । अपांग मात्र भनेर नहुने रहेछ, त्यसको कारण महŒवपूर्ण हुन्छ,’ उनले भने ।
भीम लगायतको नौजनाको समितिले सातजना अपांगता भएका बालबालिका राखेर उपचार गर्न थाले । उनीहरूलाई सहयोग गर्न एकजना अमेरिकी नागरिक र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गर्ने अस्ट्रेलियन नागरिक ओवेनडी ल्युसले सहयोग गरे । राईको भनाइमा विदेशी सहयोग आउन थालेपछि संस्थामा उथलपुथल सुरु भयो । समितिमा ४० बालबालिका पुगिसकेका थिए । समितिकै मान्छेले सहयोग रकम दुरुपयोग गरेको थाहा पाएपछि उनलाई चित्त बुझेन । त्यति मात्र होइन विदेशी सहयोगदाताले शर्त राख्न थालेको राई बताउँछन् । ‘उनीहरूले वार्षिक रूपमा ३५ लाख बजेट संस्थालाई दिने, समितिका मान्छेलाई भत्ता दिने र मेरो परिवारलाई मासिक ३० हजार दिने प्रस्ताव गरे । तर, त्यसको बदलामा केटाकेटीलाई धर्म परिवर्तन गराउनुपर्ने । मैले मानिनँ,’ उनले भने, ‘सबै धर्मले कसैको अस्तित्व मेट्नु हुँदैन भनेको छ । त्यसैले कसैको अस्तित्व मेट्न मेरो आत्माले मानेन । साथीहरू पैसा लिएर अर्को संस्था खोले, मैले सहयोग खोजेर चलाएँ ।’
२०६० सालमा साथीहरू छुट्टिएर गएपछि भीमले ‘पुनस्र्थापना गृह’ नाम दिएर संस्था अघि बढाए । धर्म परिवर्तनको शर्तमा विदेशीको पैसा नलिएका उनलाई पनि बिस्तारै सहयोग गर्नेहरू बढ्दै गए । छोरा अनन्त राई ब्रिटिस आर्मीमा भर्ना भएपछि भीमलाई अझ राहत भयो । माइला छोरा सुवास साउदी र साइला सुमन दुबईमा छन् । ‘उनीहरूले पनि समस्या परेको बेला पैसा पठाइदिन्छन्,’ भीमले भने । यसरी सहयोग जुट्ने क्रममा २०६५ सालमा समाजसेवी बालकृष्ण हलुवाईको नेतृत्वमा गृहलाई सहयोग गर्न ‘सहारा समूह’ खडा भयो । समूहले अहिलेसम्म गृहमा चाहिने चामलको व्यवस्था गरिदिँदै आएको छ । अहिले दैनिक १२ किलो चामलको भात पाक्छ गृहमा । चामलबाहेक तरकारी, नुनतेल, मसलाको व्यवस्थापन गर्नका लागि गृहमै बस्नेहरूले हस्तकलाका सामान बनाएर बेच्छन् । गृहमा बाँसका फूल, मकैको खोसेलाका गुडिया, बाँसका सजावटका सामान बनाइन्छ । विभिन्न मेला, उत्सवमा बिक्री गरेर आएको पैसाले गृहलाई सहयोग पुगेको छ । भीमकी श्रीमती बजारबाट कपडा ल्याएर आफैँ कुर्तासुरुवाल, नाइटी, सिरानीका खोल सिलाउँछिन् । बजारमा बेचेर आएको पैसा पनि गृहमै खर्च हुन्छ । मासिक ३५ हजार खाना खर्च यसरी नै चलिरहेको भीम बताउँछन् । उनी थप्छन,् ‘यो सब म एक्लैले सम्भव थिएन । सहयोगीहरूकै कारण सम्भव भयो ।’
धरानका स्थानीयहरूले अचेल जन्मदिन र विभिन्न अवसरमा यही गृहमा पुगेर खाना खुवाउने, सहयोग गर्ने गर्छन् । त्यसबाट पनि गृहलाई सजिलो भएको अनुभव छ भीमको । उपचार गर्नुपर्नेहरूका लागि अस्पतालमा गएर अनुरोध गर्ने गरेका छन् । अस्पतालले अप्रेसन, भर्ना निःशुल्क उपलब्ध गराइदिन्छ । औषधि किन्नका लागि सहयोग जुटाउँछन् । उनका अनुसार हालसम्म गृहले २ सय ७६ जनाको विभिन्न किसिमको अप्रेसन गराइदिएको छ । १ सय ५० भन्दा बढी यही बसेर समाजमा फर्किएका छन् । तीमध्ये ५६ जना सिलाइकटाइ, मोबाइल मर्मतलगायत सीप सिकेर आत्मनिर्भर बनेका छन् । आफूले स्याहार गरेका यसरी गरिखाएको देख्दा भीमको खुशीको सीमा रहँदैन । ‘सुरक्षित, शान्त र सुन्दर जीवन बिताउन पाएकोमा खुशी छु,’ उनले भने ।
गृहमा अहिले २३ जना आश्रित छन् । तीमध्ये कोही सुस्तमनस्थितिका, कोही दृष्टिविहीन, कोही शारीरिक अपांग छन् । ‘चारै किसिमका अपांगता भएकालाई स्याहार गर्नु सोचेजत्तिको सजिलो छैन,’ भीमले भने, ‘ अरू कर्मचारी राख्न स्रोत छैन ।’ भीम उनकी श्रीमती र गृहमा आश्रित तर काम गर्न सक्नेहरू आफैँ सरसफाइ, लुगाधुने, पकाउने, खुवाउने गर्छन् । भीमको परिवारै गृहमा उनीहरूसँगै बस्छ । अहिलेसम्म उनले गृहलाई एउटा परिवारका रूपमा सञ्चालन गरिरहेका छन् । धरानको छाताचोकमा रहेको पुरानो हस्पिटल हालको वीपी प्रतिष्ठानमा सरेपछि अलपत्र परेको भवनमा गृह सञ्चालन गरेका थिए उनले । केही वर्षअघि त्यो भवनमा मातृ स्वास्थ्य केन्द्र खुल्ने भएपछि छेउको अर्को भवनमा स¥यो गृह । जुन पहिला माओवादीको कब्जामा थियो । यही गृहलाई अझ धेरै जनालाई सेवा दिन सक्ने क्षमताको बनाउने उनको योजना छ ।
‘मेरो जन्मदिन मंसिर १७ गते अर्थात् डिसेम्बर ३ तारिखमा पर्छ,’ उनले भने, ‘यो दिन विश्व अपांग दिवस पर्छ । सोच्छु, आमाको कोखबाटै अपांगको सेवा गर्ने लेखान्त लिएर आएको रहेछु । जीवनभर उनीहरूकै सेवामा लाग्नेछु ।’

 

 

Leave A Comment