गाउँ–गाउँबाट हुलका हुल मान्छे झर्थे। औंसी, पूर्णिमा अनि हाट बजारमा लाग्ने मेला भर्थे। युवायुवती दोहोरी गाउदै रमाउँथे। कोही रोटे पिङमा मच्चिन्थे। युवाहरु छेलो हान्न होडबाजी गर्थे। आ–आफ्ना समूह बनाएर मेलामा रमाइलो गर्नेको ठूलै भीड लाग्थ्यो। मेला भर्न आउने ती हजारौं मानिसलाई न कसैले खबर गथ्र्यो न तिनलाई लोभ्याउन आकर्षक विज्ञापन गरिन्थ्यो। तै पनि मेलामा यति भीड हुन्थ्यो कि, किचिने डरले ज्यान जोगाउनै मुस्किल हुन्थ्यो। विभिन्न ठाउँमा मनोरञ्जन गर्ने एक मात्र साधन तिनै मेला थिए। समयले अहिले पूरै कोल्टे फेरेको छ। त्यस्ता मेला लाग्दैनन् आजभोलि। तिनको ठाउँ लिएका छन् कृत्रिम मेला अनि व्यापारिक महोत्सवले।
हिउँदयाम सुरुवातसँगै मेला/महोत्सवको सिजन सुरु भइसकेको छ। पोखरामा पनि मेला महोत्सवको मौसम सुरु भएको छ। यहाँ एकपछि अर्को लगातार मेला महोत्सव लाग्दैछन्। महोत्सव गर्न हानथापसमेत सुरु भएको छ। नाम चलेका कलाकार र हास्य कलाकार आउने, त्यो बाहेक अन्य मनोरञ्जनात्मक कार्यक्रमसमेत हुने विज्ञापन गर्दै प्रचार–प्रसार सुरु भएको छ। ‘पोखरामा मेला महोत्सवको सिजन सुरु भएको छ। सुन्तला र बदाम खाँदै घाम ताप्न रमाइलै हुन्छ’ दरबारथोक एडभरटाइजिङका प्रबन्धक कृष्ण रानाभाट भन्छन्।
मंसिर २० र २१ गते गण्डकीका धुनहरु नामक लोपोन्मुख लोक बाजाहरुको सम्मेलनले पोखरामा मेला लाग्ने बाटो खोलिदियो। मंसिर २७–३० गतेसम्म फेवाताल किनार बाराहीघाटमा आठौं साहित्य महोत्सव चल्दैछ। जहाँ देशी विदेशी चल्तीका लेखक÷साहित्यकार÷पत्रकार÷अनुसन्धाता सहभागी हुँदैछन्। त्यसपछि यहाँ एक दिन नबिराई लगातार मेला महोत्सव लाग्नेछन्। पुस ३ देखि १५ गतेसम्म १६ औं लेखनाथ महोत्सव हुँदैछ। रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान) पोखराले ‘सकडमै खाऔं, सडकमै रमाऔं, सडकमै नाचौ’ भन्ने नाराका साथ पुस १३ देखि १७ गतेसम्म लेकसाइडमा २१ औं पोखरा सडक महोत्सव गर्दैछ। प्रत्येक अङ्ग्रेजी नयाँ वर्षका अवसरमा महोत्सव गरिँदै आएकाले यो नियमित कार्यक्रमलाई यस वर्ष पनि अझ भव्य रुपमा मनाउने तयारी गरेको रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान) पोखराका अध्यक्ष भिमसेन भुजेल बताउँछन्। ‘महोत्सवबाट पोखरामा स्वदेशी तथा विदेशी पर्यटक भिœयाउन सफल भएका छौं,’ अध्यक्ष भुजेल भन्छन्, ‘यो नेपालकै सबैभन्दा ठूलो सडक महोत्सवका रुपमा विकसित भएको छ।’
पुस १८ देखि २८ गतेसम्म पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखरा प्रदर्शनी केन्द्रमा राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७६ हुँदैछ। संगठित संस्थाको तर्फबाट नेपालमै पहिलोपटक मेला र महोत्सवको आयोजना गर्ने श्रेय पोखरा उद्योग वाणिज्य संघले पाएको छ। २०५२ सालमा संघले पोखरा महोत्सव गरेको थियो। त्यतिबेला पोखरा महोत्सवमा पोखराको साहित्य, तस्बिर, कलाकृति, लोकसंस्कृति झल्कने झाँकी, पोखरेली उत्पादन संलग्न गराइएको थियो। ‘त्यो बेला बुटवल र काठमाडौंबाट महोत्सव हेर्न मान्छे आउनु र नेपालमा कहिल्यै नभएको काम गर्नु आफैँमा गर्वको विषय हो’ नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी भन्छन्, ‘यो विरासत जोगाउन अहिले पनि पोखरा औद्योगिक मेला हुँदै आएको छ।’
यो महोत्सव सकिएको भोलिपल्टै युनाइटेड क्लब पोखराले पुस २९ देखि माघ १२ गतेसम्म अमरसिंह चौरमा ‘पोखरा महोत्सव’ गर्ने भन्दै स्टल बुकिङ सुरु गरिसकेको छ। यो बीचमा पोखरा आसपासमा विभिन्न क्लबले गर्ने मेला महोत्सवको गन्ती नै छैन। कास्कीका रमणीय गाउँ सार्दिखोला, स्याक्लुङकोट, सिक्लेस, ताङतिङ, याङ्जाकोट, ल्वाङ घलेल, भदौरे, पञ्चासे, चापाकोटलगायतका मेला जोड्ने हो भने मेला यति धेरै छन् कि गनेर साध्य छैन। साँस्कृतिक हिसाबले पनि महत्वपूर्ण मानिने मेलाहरु मासिँदै गएका बेला देशमा मेला र महोत्सव भने मौलाउँदै गएका छन्। अनेकन नाम जुराएर पोखरामा एकपछि अर्को मेला/महोत्सव हुन थालेका छन्। सरदर हेर्ने हो भने यहाँ महिनामा तीन/चार मेला महोत्सव हुन्थे। अहिले यो संख्या बढेको छ। कास्कीका आम नागरिकले केही महिनायता नै विभिन्न नाममा थुपै्र मेला महोत्सव देखिसकेका छन्। ‘गाउँघरमा लाग्ने पुराना मेला हराइसकेका छन्। जहाँ रोटेपिङ खेल्ने, दोहोरी गाउने, छेलो फाल्ने, युवायुवतीसँगै बसेर रमाइलो गरिन्थ्यो,’ संस्कृतिका अध्येता तुलसी प्रवास भन्छन्, ‘आजभोलि त्यस्ता मेला कहाँ हुन छाडे। तिनको ठाउँमा बजारमा लगाइने मेला महोत्सवले ठाउँ लिएका छन्। यो आधुनिकताको उपज हो।’ देशैभर मेला र महोत्सव भइरहँदा मेला र महोत्सव आफ्नो उद्देश्यमा सफल नभएको र आयोजना गर्नकै लागि मेला गरिएको आवाज पनि उठ्न थालेको छ। स्थानीयस्तरमा उत्पादित विभिन्न जिल्लामा वस्तुको बजार प्रवद्र्धन, कृषिजन्य लघु, घरेलु तथा साना उद्योगहरु प्रवद्र्धन गर्ने, आवश्यक ज्ञान, उद्यमशीलता र प्रविधि हस्तान्तरण गर्न सहयोग पु-याउने र स्वदेशी तथा विदेशी बजार प्रवद्र्धनमा सहयोग पु¥याउने मेला र महोत्सवको उद्देश्य बताइएको हुन्छ। तर, यसमा ध्यान दिइएको छैन।
Leave A Comment