दुस्साहसी महिला

सोमबार, १४ पुष २०७६, ०१ : ४३ मनोज घर्तीमगर
दुस्साहसी महिला

प्रायः गम्भीर अपराधमा महिलाको संलग्नता कमै देखिन्छ। केही सामाजिक अपराधमा उनीहरुको संलग्नता देखिँदै आएको थियो। तर पोखरामा भएका केही अपराधले महिलाहरु पनि क्रुर देखिन थालेका छन्। यस्ता केही दुस्साहसी महिला देखिएका छन् पोखरामा। तिनले ठगी धन्दा चलाएर थुप्रैलाई फसाएका छन्।
करिब आधा अर्ब रुपैयाँ ठगी आरोपमा देवकुमारी भुजेल (थापा) अहिले कास्की कारागारमा थुनामा छिन्। स्याङ्जा फेदीखोला गाउँपालिका घर भई पोखरा–१४ चाउथे बस्दै आएकी देवीकुमारीको नाम भगवान्को जस्तो भए पनि व्यवहार भने ठिक उल्टो देखाइन्। ३९ वर्षकी उनी खुङ्खार ठग भएर निस्किइन्।  देवीले पत्याउनै नसकिने गरी रकम ठगेकी छिन्।

देवीको ठग्ने काइदा गजबै थियो। कहिले घडेरी पास गर्न, कहिले गाडी तथा घर खरिद गर्न, कहिले कसैलाई विदेश पठाउन र जग्गा प्लटिङ गर्ने यस्तै अनेकन बहाना बनाएर विभिन्न व्यक्तिसँग रकम उठाउँछिन्। आधा अर्ब रकम ठगेर भागेकी उनी अन्ततः प्रहरी फन्दामा परिन्।

पीडितमध्ये ४० लाख रुपैयाँ ठगिएका देवबहादुर राना अहिले तनावमा छन्। ‘यति ठूलो रकम एक महिलाले यसरी विश्वासमा पारी जालझेल गर्छिन् भन्ने कहिल्यै सोचेको थिएन,’ उनी भन्छन्, ‘आपत परेको बेला सहयोग गर्नुप-यो भनी पैसा दिएको उनको नियत गलत रहेछ।’ उसो त देवी भारतीय सेनामा कार्यरत लक्ष्यबहादुर थापाकी पत्नी हुन्। एक छोरा र दुई छोरी आमा उनलाई नपुग्दो खासै थिएन। तर, धेरै धन कमाउने लोभले उनले सुरु गरिन् जग्गा दलालको काम। जग्गा दलालको काम गर्ने देवी टोल छिमेकीमा निकै सहयोगी देखिन्थिन्। आवश्यक परेको बेला रकम सापटी दिई सहयोगीको रुप देखाउँथिन्। बोली व्यवहार असाध्यै मिजासिलो थियो। देवी जो कसैलाई पनि सहजैरुपमा विश्वास लिन सक्ने क्षमताकी थिइन्।

फरार भएकी देवीले नठगिएकाहरुको नाम उतार गर्दा एक सय दुईजना पुग्यो। २०७५ भदौ १५ गते वडा प्रहरी कार्यालय रामबजारमार्फत जिल्ला प्रहरी कार्यालय कास्कीमा पहिलो २६ र उजुरीबारे आवश्यक प्रक्रिया अघि नबढेपछि ५२ जनाले निजलाई तत्काल पक्राउ गरी आवश्यक कारबाही गरी आफूले दिएको रकम फिर्ता पाउनुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिए। त्यसपछि कास्की प्रहरीले उनको खोजी सुुरु गरी काठमाडौंको जैसीदेवलमा २०७५ असोज १९ गते साँझ ४ बजे देवी र उनका पति लक्ष्मणलाई पक्राउ गरेको थियो।

देवी मात्रै हैन, सरीता कुमारी रानाको कथा पनि गज्जबकै छ। नयाँ मोडलको क्रेटा गाडी। चालक त हुने नै भए। अरुको घरमा डेरा लिएर बसे पनि उनको चमकदमक हेर्न लायक थियो। महँगामहँगा सामानले सजिएका उनका कोठा। काम गर्न सहयोगी नियुक्त। बागलुङ किटेनीकी सरीताकुमारी राना यस्तै रवाफका साथ पोखरा लेखनाथको अर्घौ चोकमा बस्थिन्। उनको हाउभाउ देखेर छिमेकी प्रभावमा पर्न बेर लागेन। कुनै व्यवसाय नगर्ने सरीताले अर्घौ चोक आसपासकै व्यक्तिलाई प्रभावमा पारेर लाखौं रकम कुम्ल्याइन्।  

२०७५ माघ १ गते उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी प-यो। ७ गते उनलाई प्रहरीले काठमाडौंबाट पक्रेर पोखरा ल्यायो। अनुसन्धान सकेर प्रहरीले सरकारी वकिलमार्फत फागुन १० मा उच्च अदालत पोखरामा बैंकिङ कसुरमा मुद्दा दायर गरेपछि सरीता अदालतको आदेशपछि अहिले कास्की कारागारमा छिन्। उच्च अदालत पोखराका अनुसार २ फरक मुद्दामा अदालतले ५ करोड धरौटी मागेकोमा बुझाउन नसकेपछि सरीतालाई जेल चलान गरिएको हो। रेशमलाल कँडेलसमेतको जाहेरीमा परेको मुद्दामा २ करोड ३८ लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ता भएको थियो। उक्त मुद्दामा थुनछेक बहसपछि तत्कालीन मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश जीवनहरि अधिकारीको इजलासले बिगोको दोब्बर रकम अर्थात् ५ करोड रुपैयाँ धरौटीको आदेश गरेको थियो। धरौटी रकम बुझाउन नसकेपछि उनी थुनामा छिन्।  जनकलाल लोहनीले एनआइसी एसियाको १२ लाखको चेक फिर्ता पाए पनि साट्न नसकेपछि प्रहरीमा उजुरी दिएका हुन्। यसैगरी, रेशमलाल कँडेल, देवी जैसी, नरमाया थापामगर, तारा फगामी पुन, चन्द्रबहादुर सुनार, जितबहादुर पुन र धनबहादुर पुनलगायतले २ करोड ३८ लाख रुपैयाँको बिगोसहित उजुरी दिएका हुन्। उनीहरु सबैको चेक साटिएको छैन। बैंकिङ कसुरमा ३ महिनासम्म कैद, बिगोबमोजिम जरिवाना र पीडितलाई बिगो भराइदिने व्यवस्था छ। यही प्रावधानअन्तर्गत बिगोको दोब्बर धरौटी माग गरिएको अदालतले जनाएको छ। आरोपित सरीताले आफूले रकम लिएको र रकम नभएको खाताको चेक दिएको प्रहरीसमक्ष स्वीकार गरेकी छन्। ‘कीर्तिपुरका दीपेन्द्र जोशी, पाँचथरका आरके लिम्बू नेम्बाङ, रोल्पाका राजकुमार पुन र खोटाङका नेत्र राईको उक्साहटमा लाग्दा म फसेकी हुँ’ सरीताले प्रहरीलाई दिएको बयानमा भनेकी छिन्, ‘तपाईंलाई यो ठाउँमा पत्याउँछन्, रकम उठाएर धनकुटातिर गएर सुन्तला खेती गर्नुपर्छ भन्दै उक्साएपछि यो अवस्था भयो।’ हालसम्म ५० भन्दा बढीले आफूहरु ठगिएको भन्दै प्रहरीसँग नाम टिपाएका छन्। घर, घडेरी चाहिएकालाई मिलाइदिने भन्दै सरीताले रकम लिने गरेको पीडितको गुनासो छ।

Leave A Comment