‘पहाडी रुटमा बस चलाउन साह्रै टेन्सन’

सोमबार, ३१ साउन २०७३, ०९ : ५९ गोपाल दाहाल , Kathmandu
‘पहाडी रुटमा बस चलाउन साह्रै टेन्सन’

राजकुमार श्रेष्ठ, चालक
को १ ख ४१९६

कुन रुटमा बस चलाउनुहुन्छ गुरुजी ?
अहिले धरानबाट खाँदबारी, चैनपुर, भोजपुर कुदाउँछु । कहिलेकाहीँ विराटनगरतिर पनि पालो पर्छ ।
पहाडी रुटमा बस चलाउन कत्तिको गाह्रो छ ?
धेरै समस्या छ नि । धरानबाट तेह्रथुमको वसन्तपुरसम्म त बाटो ठीकै छ । त्यहाँबाट माथि बाटो खत्तमै छ । तान्दै र ठेल्दै चलाउनुपर्छ । पानी परेपछि त झन् बिजोग हुन्छ । धरानबाट चैनपुर पुग्न ११ घण्टासम्म लाग्छ । पहाडी रुटमा बस चलाउन साह्रै टेन्सन हुन्छ ।

पहाडी रुटमा के कारणले दुर्घटना भइरहन्छन् ?
मुख्य त बाटो नै खराब हो । त्यस्तो बाटोमा अनुभवी चालक चाहिन्छ । त्यसमाथि ट्राफिक प्रहरीको गैरजिम्मेवारीले पनि दुर्घटना हुन्छ । अस्ति भर्खर धनकुटाको सिधुवामा बस दुर्घटना भयो । त्यो बस कहिलेकाहीँ मैले पनि कुदाएको थिएँ । त्यसबेला मलाई पनि कुदाउन गाडी मालिकले बोलाएका थिए, म नभ्याएर गइनँ । त्यो बसको एक वर्षदेखि ब्लुबुक थिएन, इन्सुरेन्स पनि थिएन । ट्राफिकले जरिवाना मात्र काट्दै कुदाउन दिइरह्यो । त्यसैले दुर्घटनापछि अहिले घाइतेको उपचार संघले गर्दैछ । ट्राफिकले पहिले नै जरिवानाको साटो ब्लुबुक र इन्सुरेन्समा ध्यान दिएको भए अहिले समस्या आउँदैनथ्यो । यातायातका संघहरूले पनि गाडी, बाटो, यात्रु सबैको अवस्था ख्याल गर्नुपर्ने हो ।
गाडी लाइनमा आउनुभएको कति भयो ?
मैले २०३८ सालदेखि गाडी कुदाउन थालेको हुँ । अहिलेसम्म पहाडी रुटदेखि उपमहानगरपालिकाको दमकलसम्म कुदाएँ । ट्रक पनि चलाएँ ।
कसरी आउनुभयो यो लाइनमा ?
म त धनकुटा घोर्लिखर्कको मान्छे । पहाडमा दुःख थियो । २ कक्षासम्म पढेँ । पछि धनकुटे सडक बन्न थालेपछि पाँच रुपैयाँ ज्यालामा लेबर काम गरेँ । त्यही बेला ट्रकमा लेबर, खलासी गर्दै गाडी सिकेँ । त्यसपछि विराटनगर चल्ने बसमा खलासी गरेँ । अनि, २०३७ सालमा लाइसेन्स निकालेर ट्रक चलाउन थालेँ । त्यसपछि धेरै वर्ष बस कुदाएँ ।

बस आफ्नै हो ?
हो ।
आफ्नै बस भएपछि आम्दानी त राम्रै होला ?
राम्रै छ । म सामान्य परिवारको मान्छे । यही गाडी लाइनबाट घर बनाएँ, बस किनेँ । अहिले दुईचार पैसा खर्च गर्न समस्या छैन । खर्च कटाएर मासिक ५०÷६० हजार रुपैयाँ बच्छ ।
बसमा कस्ता गीत बजाउनुहुन्छ ?
बसमा खालखालका यात्रु हुन्छन् । कोही लोकगीत बजा भन्छन्, कोही पपगीत त कोही हिन्दी भन्छन् । त्यसैले पेनड्राइभमा सबै प्रकारका गीत राखेको छु । पालैपालो बजाइदिन्छु ।
यात्रुहरू कस्ताकस्ता भेटिन्छन् ?
कोही छिटो कुदा भन्छन्, कोही ढिलो कुदा भन्छन् । म लिमिटमा कुदाउँछु । मेरो त मन्त्र नै छ– बिस्तारी गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न । कति यात्रु त मेरो हँकाइबाट खुशी भएर ‘पछि पनि यही गाडीमा चढ्छु’ भनेर नम्बर टिपेर लान्छन् ।
अप्रिय घटनामा पर्नुभएको छ ?
भगवानको कानमा नपरोस्, अहिलेसम्म दुर्घटनामा परेको छैन ।
 

 

Leave A Comment