म्युजिक भिडियोको सिर्जना थलो

सोमबार, ३१ साउन २०७३, १० : १२ मनोज घर्तीमगर , Kathmandu
म्युजिक भिडियोको सिर्जना थलो

गीत रेकर्ड गर्न होस् वा मोडलिङ गर्न । संगीत भराउन होस् वा म्युजिक भिडियो निर्माण गर्न । पोखरालाई बेस बनाएर गीतसंगीत क्षेत्रमा लागेका कलारकारको पहिलो रोजाइ हो, काठमाडौँ । गायक प्रसाद खप्तरीले भने उल्टो गरे । तीज गीतलगायत अन्य गीतका म्युजिक भिडियो बनाउन पोखरेली कलाकार काठमाडौँ धाइरहेका बेला उनी दलबलसहित पोखरा आए म्युजिक भिडियो बनाउन । ‘पोखराबाटै कलाकारितामा प्रवेश गरेकाले कर्मथलो काठमाडौँ भए पनि पोखरालाई सम्झिए,’ प्रसादले भने ।
प्रसादकै लय, शब्द र स्वर रहेको गीत ‘अरू बेला लगाउने माया’ सञ्जु थापाको प्रस्तुतिमा म्युजिक भिडियो बनेको हो । राहुल थापामगर र राखी थापामगर मोडल रहेको भिडियो पोखराका विभिन्न ठाउँमा छायांकन भयो ।
गायक जीवन दाहाल म्युजिक भिडियो बनाउनुप¥यो कि पोकोपन्तुरो र केही रकम सरजाम गरेर काठमाडौँ हानिन्थे । जीवन पनि यस पटक पोखरामै रोकिए । पछिल्लो समय पोखरामै धमाधम म्युजिक भिडियो बन्न थालेपछि जीवनलाई पनि यतै बस्ने मन लाग्यो । ‘थाहा छ पक्कै’ बोलको गीतको म्युजिक भिडियो उनले भर्खरै सकाएका छन् । वसन्त थकाली र कृष्ण परियारले गाएको गीतमा लय र शब्द जीवन दाहाल र तारापति सुवेदीको छ । ‘पोखरामा बन्ने भिडियोको क्वालिटी पनि राम्रो भएकाले यस पटक यतै म्युजिक भिडियो बनाएको हुँ,’ जीवन भन्छन् ।
पहिले पोखरामा मात्रै होइन पश्चिम क्षेत्रका अधिकांश कलाकार म्युजिक भिडियो बनाउन काठमाडौँ धाउँथे । समय र पैसा ढुटो बनाएर फर्कन्थे । मोडलिङ गर्न रहर गर्ने कलाकार पनि काठमाडौँ ताक्थे । तर, अहिले काठमाडौँमा नाम चलेका कलाकार पनि भिडियोका लागि पोखरा आउन थालेका छन् । केही हप्ताहघि अभिनेत्री केकी अधिकारीले पोखरामा तीनवटा म्युजिक भिडियोमा काम गरेर फर्किन् ।
‘अहिले पोखरामा म्युजिक भिडियो बन्ने क्रम असाध्यै बढेको छ,’ श्याम शुक्ला फिल्म प्रोडक्सन हाउसका निर्देशक घनश्याम लामिछाने भन्छन्, ‘निर्देशकदेखि प्राविधिकसम्म पोखरामा जमेर लागेका छन् । काठमाडौँ जाने क्रम लगभग रोकिएको छ ।’
आठवटा गीत सुटिङ पोखरामै गरेका गायक सुरेन्द्र गुरुङको पहिलो रोजाइ नै पोखरा हो । पोखराकै स्रोत र साधन प्रयोग हुने मात्रै होइन स्थानीय कलाकार पनि परिचालन हुने भएकाले सुरेन्द्र पोखरामै म्युजिक भिडियो बनाउँछन् । ‘खर्च त काठमाडौँभन्दा धेरै हुन्छ यहाँ । तर, पोखरामै गर्दा सन्तुष्टि हुन्छ,’ सुरेन्द्र भन्छन्, ‘गीत भनेको सधैँ गर्ने भन्ने हुँदैन । पोखरामै भिडियो गरेपछि यहीका कलाकार र परिवेश अटाउँछ ।’
संगीत कर्ममै चार दशक बिताइसकेकी हरिदेवी कोइराला पनि काठमाडौँमै जान्थिन् गीत निकाल्न । म्युजिक भिडियोको लागि त नगई सुखै थिएन । यसपालि उनी काठमाडाँै गइनन् । पोखरामै युवा पुस्ताले सुरु गरेको फलानो क्रिएसनमा उनले म्युजिक भिडियो बनाइन् । ‘तन्नेरीले सुरु गरेको काम राम्रो रैछ,’ उनी भन्छिन्, ‘उनीहरूको कामबाट सन्तुष्ट छु । कम्तिमा यसले काठमाडौँ जानुपरेन ।’
पश्चिमेली थुप्रै संगीतकर्मीले अहिले सजिलो महसुस गरिरहेका छन् । पहिले काठमाडौँमा भिडियो बनाउँदै आएका गायक शंकरविहरी गुरुङ, पदम थापामगर, घनश्याम रिजाल, कृष्ण देवकोटा, राजन कार्की, गण्डकी आइडल मनोज गुरुङ, चोलेन्द्र पौडेल, तुलसा जिसी, मनसुधन थापा, राजी पौडेल, इन्द्रा गुरुङलगायत गायकगायिकाले पोखराकै प्राविधक प्रयोग गरेर म्युजिक भिडियो बनाउन थालेका छन् । पशुपति शर्मा, शर्मिला गुरुङ, पुरुषोत्तम न्यौपानेलगायत चलेका गायकगायिकाले पनि आफ्ना गीतका भिडियो पोखराकै टिमसँँग मिलेर गर्न थालेका छन् ।
अहिले गीत सुन्ने मात्र होइन दर्शकले हेर्ने खालका पनि बनाउने लहर चलेको छ । यसले गर्दा पनि पोखरामा भटाभट म्युजिक भिडियो निर्माण हुन थालेका छन् । पोखरामा राम्रो क्वालिटीका प्राविधिक, प्रविधि, क्यामेरा लगायतको जनशक्ति बढेकाले पोखरामै म्युजिक भिडियो बनाउने क्रम बढेको गायक तथा संगीतकार जयकुमार परियारको बुझाइ छ । ‘पोखराका नयाँ पुस्ताले म्युजिक भिडियोमा राम्रै गरिहेका छन्,’ उनी भन्छन्, ‘यसले धेरैलाई सजिलो बनाएको छ ।’

 

Leave A Comment