महोत्सवको ठेक्कापट्टा

सोमबार, ०६ माघ २०७६, ०१ : ४७ मनोज घर्तीमगर
महोत्सवको ठेक्कापट्टा

सिजन मेला महोत्सवको छ। देशभर विभिन्न नाममा यतिबेला मेला, महोत्सव चलिरहेका छन्। पोखरामा पनि एकपछि अर्को मेला महोत्सव चलिरहेका छन्। जब मेला महोत्सवको सिजन सुरु हुन्छ, तब पोखराका कलाकारबीच एउटा प्रसंग चल्छ ‘मेलाको ठेक्कापट्टा’। यो विषयमा कलाकारलाई आक्रोश पोख्ने ठाउँ बनेको छ, फेसबुक। कलाकारले फेसबुकमा पक्षविपक्षमा विचार, आक्रोश, कुण्ठा पोख्छन्। मेला महोत्सवको सिजन सुरु भएदेखि नै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशको नेतृत्वले ‘ठेक्कापट्टा’ को आरोपलाई झेल्नु परिरहेको छ।

‘जबजब मेला महोत्सव आउँछन्, स्थानीय कलाकार र त्यही ठाउँबाट राष्ट्रियस्तरमा पुगेका कलाकारलाई स्थान दिइँदैन, ठेकेदारले आफ्ना मुठी भरका कलाकारलाई मात्रै बोलाउने गर्छन्। नाङ्गो राजनीति हुन्छ। तब मात्रै विरोध हुन्छ’ पोखरेली गायक केशव घिमिरे भन्छन्, ‘महोत्सवको नारा स्थानीय उत्पादन साथै स्थानीय कलाकारलाई प्रोत्साहन भनिन्छ। तर त्यो व्यवहारमा लागू हुँदैन, मेला महोत्सवको अर्मपर्म गर्न ठेकेदारलाई बोलाइन्छ।’ केशवजस्तै थुप्रै कलाकारले आक्रोश पोखेका छन्। पोखरा र आसपासमा भइरहेका मेला महोत्सवमा सांगीतिक कार्यक्रमको संयोजन गर्ने गण्डकी प्रतिष्ठानलाई ‘ठेक्कादार’ आरोप लगाउँदै सामाजिक सञ्जाल रंगिएका छन्। ‘एउटै बेसुरा स्वर दोहो¥याइ तेहे¥याइ गरी दर्शक श्रोताको कान पकाउनुभन्दा आदिवासीका सबल कलाकारलाई स्थान दिनु राम्रो हुन्थ्यो नि’ कलाकार कृष्ण कुमार गुरुङ भन्छन्, ‘गाह्रो नमान्नु है ठेकेदार महोदय।  आयोजक ज्यु, कि गुरुङ, मगर, नेवार, थकाली, थारू, दुरा, र दरै भाषाको गीत गाउँछन् भनेर हो ? साम्प्रदायिकता भएन र यो त ?’  

एल्बम बिक्री हुन छाडेपछि कलाकारको आम्दानी गर्ने एउटा विकल्प बन्यो, मेला महोत्सव। तर, यस्ता कार्यक्रममा पहुँचवाला कलाकारको हालिमुहाली बढ्दा कला र गला भएका कयौं प्रतिभाले मौका पाउन सकेका छैनन्। एकातिर महोत्सवमा सहभागी हुने अवसर पाएका केही कलाकार उचित पारिश्रमिक नपाइएको र भेदभाव भएको भन्दै असन्तुष्ट छन्। अर्कोतिर महोत्सवमा कलाकारको ठेकेदारी प्रथा चलेको भन्दै केहीले त्यसको विरोध गरिरहेका छन्। स्थानीय उत्पादनलाई महत्व दिने भन्दै गरिएका मेला र महोत्सवमा स्थानीय कलाकारलाई पोखरामा चल्ने महोत्सवमा उपेक्षा गरिएको छ। केही महोत्सवमा आयोजक र कार्यक्रम सञ्चालनको जिम्मा लिनेहरुको मिलेमतोका कारण यस्तो हुने गरेको हो। ‘पोखरामा जसले सक्यो, त्यसले महोत्सवको ठेक्का लिने क्रम चल्यो। अध्यक्ष हुँदै गर्दा ठेक्कापट्टाको अन्त्य गर्छु भनेर आएको अहिलेका अध्यक्षले पनि त्यही गरे। मेलाको ठेक्का लिने अनि ठेक्का हो भन्न पनि नसक्ने’ लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व केन्द्रीय सदस्य घनश्याम रिजाल भन्छन्, ‘कि व्यक्तिगत गर जो सुकैले गर्छ। यही अवस्था रहे ठेक्का प्रथाको अन्त्य तत्काल हुँदैन।’

पोखरा र आसपासमा चल्ने मेला महोत्सवमा चलेको ठेकेदारी प्रथाको अन्त्य गर्ने भन्दै गण्डकी प्रदेशको अध्यक्ष भएका सुरेन्द्र गुरुङले समेत त्यसलाई टार्न सकेनन्। उनी आफँै पोखरामा भएका मेलाहरुमा संस्थाले पाउनुपर्ने भन्दै लबिङ गर्दै हिँडेका छन्। उनीमाथ पनि ठेकेदारी गरेको आरोप लागेको छ। ‘केन्द्रीय कलाकार आफैँ रोज्छन्। हामीले पालो मात्रै मिलाइदिने हो। स्थानीय कलाकार। ३ जना पुरुष ३ जना महिला अनिवार्य उतारेका छौ। हामीले सकेसम्म सबैलाई समेटेका छौं। यति गर्दा पनि भएन भन्ने हो भने समस्या कलाकारमा छ। गरे पनि सुख छैन नगरे पनि सुख छैन।’ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङ भन्छन्, ‘स्थानीयलाई ठाउँ दिने भन्दैमा एकातिर ट्याक हुने एकातिर गायन भएकालाई चढाउनु भएन। यसरी भद्रगोल हुन्छ भनेर आयोजकले भन्छन्। संयोजन राम्रो भएन भने आगामी दिनमा प्रतिष्ठानलाई जिम्मेवारी नदिने भन्ने आउँछ।’

लोकदोहोरी प्रतिष्ठान गण्डकीले जिम्मा लिने कार्यक्रममा कलाकारहरुले पाउने पारिश्रामिक पहिलेको भन्दा घटेको धेरै कलाकारको गुनासो छ। नेतृत्वमा पुगेकाहरुले बाँडेर खाने गर्दा यस्तो भएको आरोप पनि लागेको छ। आयोजकले नाम नै तोकेका कलाकार बाहेक अन्य कलाकार राख्दा स्थानीय कलाकारलाई स्थान दिनुपर्ने हो तर यस्तो छैन। अझ रोचक त के छ भने कुनै महोत्सवमा भने दोहो¥याइ, तेहे¥याइ पालैपालो उनै कलाकारलाई बोलाइन्छ। कोठे बैठक गरेर कलाकारको छनोट गर्दा सामान्य सुर तालको बारेमा जानकारी नभएकाले मौका पाएको तर क्षमता भएका कलाकारले स्थान नपाएको धेरै कलाकारको गुनासो छ। ‘५÷६ जना बाहेक पोखरामा अरू पनि कलाकार छन् र ? एउटै अनुहार मात्र देख्छु विगत १०÷१२ वर्षदेखि’ गायक टेकनारायण चापागार्इं भन्छन्, ‘मेला महोत्सवमा बुज्नै नसकेको कुरो हो यो त। खाली उनै मान्छेलाई मात्रै ठाउँ दिने।’

फेसबुकमार्फत धेरै आलोचना हुन थालेपछि प्रतिष्ठान गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङले सामाजिक सञ्जालमार्फत आक्रोश पोख्नेलाई संस्थाको विधानअनुसार कारबाही गर्ने चेतावनीसमेत दिएका छन्। ‘कुरै नबुझी प्रतिष्ठानको गतिविधि र नेतृत्वप्रति सामाजिक सञ्जालमा अफवाह फैलाउनेलाई कारबाही गर्न सकिन्छ,’ उनी भन्छन्, ‘मेला महोत्सवमा स्थान नपाएको झोँकमा संस्थागत मर्यादालाई भुल्नु हुँदैन। कलाकार हौं कलाकारको इज्जत कलाकारले नै राख्ने हो।’ आजकाल महोत्सवमा दर्शक घट्दै जानुको कारण कलाकारबीच हुने अर्मपर्म पनि एक कारण हो। पोखरामा बोलाइने कलाकार सधँै एउटै हुन्छन्। राष्ट्रियस्तरमा चर्चा कमाएका होनाहार कलाकारलाई पोखरामा चल्ने मेला महोत्सवमा ठाउँ दिइँदैन। यहाँ केवल अर्मपर्म लगाउने कलाकारहरुको वर्चश्व देखिने गरेको छ।

Leave A Comment