पोखराबाट उज्यालो भएदेखि अँध्यारो नभएसम्म देखिन्थे हिमाल। जुनसुकै ठाउँबाट उत्तर फर्कँदा हिमालसँग नजर जुधिहाल्थ्यो। बाह्रैमास हिमाल देखिने भएपछि पोखरा र हिमाल पर्यायवाची शब्द जस्तै हुने नै भए। सायद, यही भएर होला पोखरा नाम लिने बित्तिकै धेरैको मनमा एउटा आकृति बन्छ—फेवातालमा माछापुच्छ्रे हिमालको छायाँ खेलिरहेको। आजभोलि ठ्याक्कै त्यस्तो आकृति त हेर्न पाइँदैन तर, ट्रेडमार्क नैै बनेको छ हिमाल पोखराको। पहिलेजस्तो जतिबेला चाह्यो त्यतिबेला हिमाल देखिँदैन आजभोलि। वातावरण प्रदूषण भएकाले उहिलेजस्तो जुनसुकै मौसममा छ्याङ्ग खुल्दैन हिमाल। पोखराको हिमाल छर्लङ्ग हेर्न अब साइत कुर्नुपर्ने भएको छ।
पोखराको मौसममा निकै बदलाव आएको छ। कहिल्यै हुस्सु नदेखिने यहाँ बिहान ७/८ बजेसम्म हुस्सु डम्मै देखिन्छ। जो पोखराको पहिचान होइन। त्यही भएर हिमाल खुल्ने समय झन्झन् धकेलिँदैछ। हिमाल छोटो समय मात्रै खुल्न थालेको छ। २०७४ भदौको दोस्रो हप्ता छ्याङ्ग देखिएको हिमाल अघिल्लो वर्ष पहिलोपटक कात्तिकको दोस्रो साता खुल्यो। भदौको अन्तिम सातादेखि नै छ्याङ्ग देखिने हिमाल यो वर्ष भने पहिलोपटक माघ ६ गते सोमबार मात्रै खुल्यो। माघ सुरु हुनेबित्तिकै मौसम बदली भएर वर्षा भइरहेका बेला सोमबार भने पोखराबाट देखिने हिमाल हेर्नलायक गरी छर्लङ्गै देखियो। अनि पोखराले निख्खर हिमाल हे-यो र हिमालले पोखरा। सम्भवतः अब दिनदिनै हिमालले बादलको पर्दा हटाएर पोखरालाई हेर्नेछ। ‘यो वर्ष निकै ढिला हिमाल खुल्यो। हिमाल खुल्ने समय झन्झन् पछि सर्दैछ,’ साहित्यकार तीर्थ श्रेष्ठ भन्छन्, ‘हिमाल छर्लङ्ग खुलेपछि पोखरामा पर्यटक आउने समय सुरु भो भन्ने हुन्थ्यो अब त्यस्तो अवस्था रहेन। जुनबेला पनि हिमाल खुल्न छाड्यो।’
हिमाल नेपालका अरु धेरै डाँडाबाट समेत देखिन्छ। तर, पोखराबाट जसरी हिमालसँग आँखा जुधाउन अन्त कहीँबाट पाइन्न। घुमन्तेहरु ‘प्याराडाइज पोखरा’ आउँदा हिमाल खुलेन वा देख्न पाइएन भने त्यो यात्रा सार्थक हुँदैन। माघको पहिलो साता भने माछापुच्छ्रेले जादु देखायो। उहिले वातावरण खासै प्रदूषण थिएन, जतिबेला पनि हिमाल देख्न पाइन्थ्यो। आजभोलि भने दिन जुर्नुपर्छ। त्यसो त हरिया डाँडापाखा नेपालका जुनसुकै ठाउँमा पनि छन् तर, पोखराबाट देखिने र अन्तबाट देखिनेको हिमाली सौन्दर्यको तुलना हुनै सक्दैन। ‘पोखरामा पर्यटक भित्रिन कुनै सिजन कुर्नपर्थेन। जुनसुकै बेला देखिने हिमाली सौन्दर्य हेर्ने पारखीहरुको लर्को हुन्थ्यो,’ पोखरा पर्यटक परिषद्का पूर्व अध्यक्ष सोम थापा भन्छन्, ‘आजभोलि पर्यटकले चाहेको बेला पोखराबाट हिमाल हेर्न पाउँदैनन्। जुन दुःखद् कुरा हो।’
हिमाली शृङ्खला, हिमाल र पोखरासँग धेरै थरी विशेषता जोडिएका छन्। त्यसैले हिमाल खुल्न सुरु हुनुको खास अर्थ हुन्छ पोखरामा। पोखराबाट माछापुच्छे« हिमालसम्मको हवाई दुरी ३३ किलोमिटर मात्रै हो। यति अग्लो हिमाल र यति नजिकको सहर विश्वमा विरलै भेटिन्छ भन्छन् पर्यटनकर्मी। ‘संसारका सबैभन्दा अग्ला १४ हिमालमध्ये ३ यहीँबाट देखिन्छ धौलागिरि, अन्नपूर्ण र मनास्लु’ पर्यटनविद् झलक थापा भन्छन्,‘ ८ हजार मिटरभन्दा अग्ला चुचुरा यति संख्यामा विश्वको अन्य कुनै सहरबाट देखिन्न। यो पोखराको महत्वको विषय हो। तर, पछिल्लो समय वातावरण प्रदूषण भएकोले हुनसक्छ हिमाल हेर्न साइत जुर्नुपर्छ।’
पोखरा खाल्डोबाटै देखिने हिमालको सूची माछापुच्छ्रे र अन्नपूर्ण अनि धौलागिरि र मनास्लुमा टुंगिदैन। यो सूचीको लस्कर निकै लामो छ। पश्चिमबाट सुरु गर्ने हो भने धेरैका आँखा धौलागिरी प्रथम हिमालमा पर्छ। त्योभन्दा अझै उता देखिने पनि छ—पुठ्ठा हिउँचुली। धौलागिरिपछि पूर्वतिर आँखा मोड्दै ल्याउँदा देखिन्छ मोदित्से हिमाल। अन्नपूर्ण साउथ नामले चिनिने हिमाल चौथो नम्बरमा देखिन आइपुग्छ। घान्द्रुक हिउँचुली अन्नपूर्ण प्रथम क्रमशः देखिँदै आउँछन्। हर्क पिक बुद्ध हिमाल पनि सामुन्ने देखिन्छन्। अन्नपूर्ण प्रथम (८०९१ मिटर) त्यही हिमाल हो जसले पोखरालाई मात्रै होइन नेपाललाई नै विश्वमा चिनायो। ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ हिमालमध्ये सबैभन्दा पहिला मानव पाइला परेको हिमाल यही हो। आरोहणका मामलामा सगरमाथा भन्दा ३ वर्ष जेठो छ अन्नपूर्ण प्रथम। फ्रान्सका नागरिक मौरिस हर्जाेग नेतृत्व टोलीले २००७ साल जेठ १९ गते अर्थात् सन् १९५० को जुन ३ तारिखमा यो हिमाल चढेको थियो। त्यो खुसीलाई फ्रान्सले राष्ट्रिय महोत्सवकै रुपमा आयोजना गरेर मनायो। त्यसपछि फ्रान्समा पोखरा मात्रै होइन विश्वैभरि नेपाल प्रचारित भयो।
गंगापूर्ण अर्काे महत्वपूर्ण इतिहास जोडिएको हिमाल हो। माछापुच्छ्रेबाट छेलिएको यो हिमाल महिलाले आरोहण गरेको पहिलो नेपाली हिमाल हो। सगरमाथा चढ्नुअघि जुनको ताबेइका पाइलाले यही हिमालको टाकुरा चुमेकी थिइन्। तार्केकाङ, खाङसारकाङ भन्ने २ हिमाल गंगापूर्णभन्दा पश्चितिरै पर्छन्। पूर्वतिर भने मर्दी हिमाल छ। अनि लहरै आउँछन् अन्नपूर्ण तेस्रो, चौथो, दोस्रो, लमजुङ र सिकलेस हिमाल। काठमाडौंबाट आउँदा कास्की नटेक्दै तनहुँको दुलेगौंडातिरैबाट देखिन थाल्छ हिमाल। ‘पोखरामा हिमाल हेर्दिन भनेर पनि सुख पाइन्न, आउँदा–आउँदै देखिन्छ। तर, यसपटक भने बल्ल हिमाल खुल्यो,’ पर्यटन व्यवसायी सुशील पौडेल भन्छन्।
पोखरामा हिमाल हेर्ने कुनै निश्चित प्वाइन्ट छैन। यहाँबाट उत्तर फर्किए जहाँकहीँबाट पनि देखिन्छ हिमाल। कहीँकहीँ भने केही घरले छेक्लान् नत्र बाटोघाटो, पुल, मन्दिर र चौताराहरु सबैलाई हिमाल हेर्ने प्वाइन्ट भन्दिए हुन्छ। पोखराबाट देखिने एउटा हिमालको नाम पनि छ मस्र्याङ्दी। सिकलेस हिमालपछि मनास्लुभन्दा अघि छ मस्र्याङ्दी। मनास्लु आफैंमा हिमशृङ्खला हो। यो श्रृङ्खलामा मुख्य मनास्लु र मनास्लु नर्थसहितका हिमाल पर्छन्। नेपालमा जति हिमाल छन् ती सबैको नाम छैन। क्रमशः नामकरण हुँदैछ। पोखराबाटै देखिने एउटा हिमालले पछिल्लो समय नयाँ नाम पाएको छ हर्कचुली। भूगोलविद् डा. हर्क गुरुङको सम्मानमा राखिएको त्यो हिमाललाई पहिला पिक ट्वान्टी नाइन भनिन्थ्यो भन्छन् थापा। हर्क चुलीमा गएर पनि टुंगिँदैन पोखराबाट हेर्न पाइने हिमाली सूची। त्यसपछि पनि बाँकी नै हुन्छ बौद्ध हिमाल। त्यही हो यो सहरबाट आँखा नचाउँदा पूर्वको अन्तिम सीमास्तम्भझैं खडा हुने हिमाल। ‘पोखराले बेच्ने भनेकै यिनै हिमाल हुन्। ती पनि अब भनेको समयमा देखिन छाडे’ नेपालमा महिला गाइड उत्पादन गर्ने थ्री सिस्टर्स एडभेञ्चर्सकी निर्देशक लक्की कार्की भन्छिन्, ‘हिमाल जोगाउन हामीले केही न केही अभियान थाल्नुपर्छ। नत्र अब हिमाल देखिए पनि त्यहाँ हिउँ हुनेछैन। केबल कालापत्थर हुनेछन्। तिनलाई हेर्न को आउँछ पोखरा।’
Leave A Comment