ज्यानमारा ‘प्रेम’

सोमबार, २० माघ २०७६, ०१ : ४४ मनोज घर्तीमगर
ज्यानमारा ‘प्रेम’

उहिले मायाप्रेम शुद्ध थियो। स्वार्थसँग नजोडिएकाले न प्रेमीले प्रेमिका फसाउँथे। न प्रेमिकाले प्रेमी मार्ने योजना बनाउँथे। त्यति बिघ्न केही नभए पनि उतिबेला प्रेमलाई गालपारा भनिन्थ्यो। जमानामा गालापार प्रेम अहिले ज्यानमारामा परिणत हुँदैछ। आजभोलि प्रेमिकाले प्रेमी, प्रेमीले प्रेमिका हत्या गरेका समाचार सामान्य हुन थालेका छन्। कसैले त प्रेम जालमा परेर आफ्नै पत्नीको हत्यासम्म गराएका उदाहरण छन्। त्यस्तै पछिल्लो एउटा घटना हो–पोखराको लक्ष्मी हत्याकाण्डा। लक्ष्मीका ३५ वर्षीय श्रीमान् रमेश परियारले आफ्नै सालीसँगै घरबार जोड्न श्रीमतीको हत्या गराइदिए त्यो पनि भारतीय कन्ट्याक्ट किलर प्रयोग गरेर।

जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार रमेशको हिमचिम लक्ष्मीको मामाकी छोरी अनु परियारसँग थियो। अनुसँगको सम्बन्धबारे वर्ष दिनअघि लक्ष्मीले थाहा पाएपछि घरझगडा भएको माइतीले प्रहरीलाई जानकारी गराए। त्यतिबेला लक्ष्मीले बहिनीलाई बेस्सरी झपारेकी थिइन्। ‘लक्ष्मीको हत्या योजना त्यति बेलैदेखि बनेको देखियो। किन भने अविवाहिता अनुले दिदी लक्ष्मीले आफ्नो बदनाम गरेको ठानिन्,’ कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले भने, ‘अनुले दिदीलाई साइड लगाइदिनुस् भनेर रमेशलाई भनेपछि हत्या गरेको देखिन्छ।’ गोरखाको गण्डकी–७, घ्याल्चोककी १९ वर्षीया अनु र रमेश अहिले पुर्पक्षका लागि थुनामा छन्।

प्रेमलाई केवल यौनसँग मात्रै जोड्नाले त्यस्तो प्रेम ज्यानमारा हुने गरेको छ। प्रेम गर्ने, त्यसपछि सेक्स अनि त्यसलाई पाखा लगाउन हत्या। यस्ता घटना सामान्यजस्तै लाग्न थालेका छन्। यस्तै घटना हो अमर मगरको हत्या। घरमा पति हुँदाहुँदै अमरसँग पल्केकी पोखराकी कल्पना नकर्मीले आफूले भनेजस्तो नभएपछि २०६९ चैत १२ गते कन्ट्रयाक्ट किलरको सहयोगमा अमरको घाँटी रेटेर हत्या गरिन्। ‘दिनकै दुई–तीनपटक आउने मान्छे, पछिपछि त आउनै छाड्यो। बुझ्दै जाँदा मलाई छक्याएर बिहे गरेछ’ पोखरा–११, रानीपौवाकी कल्पना नकर्मीले कास्की प्रहरीलाई दिएको बयानमा भनेकी छिन्, ‘मेरो अस्मिता लुट्ने अनि मैले भनेको बेला नआएपछि अमरलाई मारेकी हुँ।’

माटेपानी बस्ने अमरसँग उनको लामो समयदेखि प्रेमसम्बन्ध थियो। कल्पनास“ग बिहे गर्ने वाचा गरेका अमरले जब उदयपुरकी अस्मितासँग विवाह गरे, कल्पना छाँगाबाट खसेझैँ भइन्। आफूलाई धोका दिएको भन्दै उनले अमरलाई थर्काइन्। अमरले बिहेले आफूहरुबीचको सम्बन्धमा कुनै असर नपार्ने बताए। कल्पना केही शान्त भइन्। तर, अमरको बोली–व्यवहार बदलियो। कल्पनाको पारो तातियो। त्यसपछि कल्पनाले अमरको इहलीलै सकिदिइन्।

कल्पना मात्रै होइन कलिम शेखको काण्ड पनि यस्तै प्रकृतिको छ। कास्की पुम्दीभुम्दीकी चाँदनी बराल र कलिम शेखको प्रेम खुब चम्केको थियो। ढेड वर्षसम्म प्रेममा चुर्लुम्म डुबेर उनीहरुले देहसुख लुटे।  बिस्तारै कलिमलाई चाँदनीप्रति वितृष्णा जाग्यो। कहिले पैसा माग्ने, कहिले रिचार्ज कार्ड त कहिले लत्ताकपडा किनिदिन भन्ने चाँदनीको बानीदेखि कलिम वाक्क भए। चाँदनीसँगको सम्बन्ध छोराछोरीले थाहा पाउलान् भन्ने पीर पनि थियो उनलाई।  चाँदनीबाट टाढिन चाहन्थे कलिम। तर, चाँदनीले उनको पिछा छोडिनन्। उनले चानँदनीबाट मुक्त हुने एउटै उपाय देखे–हत्या। विसं २०६९ चैत १२ गते, कलिमले चा“दनीलाई अगाध माया दर्शाउँदै आफ्नो काखमा सुताए र केबलको तारले घाँटी कसेर हत्या गरे। ‘पैसा मागेर मानसिक तनाव दिइरहने। बिहे गर भनेर हैरान बनाउने’ कलिमले कास्की प्रहरीलाई दिएको बयानमा भनेका छन्, ‘हरेक दिन उसलाई यौनसम्पर्क गर्नुपर्ने, उल्टै कमाइ पनि दिनुपर्ने यस्तो सहनुभन्दा मारे ठिक होला भनेर हत्या गरेको हुँ।’

फुसर्द हुने बित्तिकै सामाजिक सञ्जाल चलाउने रुपा रानाका लागि प्रेम ज्यानमारा सावित भयो। दुलेगौडा–२ तनहुँकी १९ वर्षीया रुपाले फेसबुक चलाउँदाचलाउँदै स्याङ्जाका त्रिलोचन शर्मालाई साथी बनाइन्। विचारीचौतारा– ५ का २० वर्षीय त्रिलोचन साथी हुँदै प्रेमी बन्न पुगे। च्याट गरेको २० दिनमै त्रिलोचनलाई पोखरा भेट्न आएकी रुपा मृत्युको शिकार भइन्। २०७० साउन ११ गते पोखराको एक गेष्ट हाउसको पंखामा सलको पासो लगाएर झुण्डिएको अवस्थामा रुपा फेला परिन्। आत्महत्या हो वा हत्या शंकास्पद देखिएपछि त्रिलोचन प्रहरी फन्दामा परे।

काठमाडौंकी १८ वर्षिया अन्जु र १९ वर्षीय सरोज फुयाँलको कथा भने अलि फरक छ।  बिहे गरेको तीन हप्तापछि सरोजले ‘हनिमुन मनाउन’ पोखरा जाने योजना सुनाए अन्जुलाई। उनीहरु पोखरा आए। यतिबेलासम्म सरोजले अन्जुको हत्या योजना बनाइसकेका थिए। कोपिलासँग प्रेम सम्बन्ध बनाएका उनले घरको दबाबमा २०६७ असार १० गते अन्जुसँग बिहे गरेका थिए। तर, कोपिलाको प्रेममा डुबेका सरोजले अन्जुलाई जसरी पनि पाखा लगाउन चाहन्थे। पोखरा आएपछि सरोजले कहिल्यै मादक पदार्थ सेवन नगरेकी अन्जुलाई वियर खाँदा रमाइलो हुन्छ भन्दै लोभ्याए। अन्जु वियर खान राजी भइन्। श्रीमतीलाई बाथरुम नुहाउन पठाएर सरोजले वियरमा विष हालिसकेका थिए। उनले अन्जुलाई वियर ख्वाए। निकै माया गरेजस्तो देखाउनु थियो। दुवैजना निर्वस्त्र भए। कपडा, गहना, चुरासमेत सबै फुकाल्न लगाए अन्जुलाई। अन्जुले श्रीमानको दीर्घायुको कामना गर्दै हरिया चुरा लगाएकी थिइन्। त्यसपछि शारीरिक सम्पर्क भयो।

वियर र विषले अन्जुलाई लठ्याउन थाल्यो। अन्जुले बमिट गर्न थालिन्। बाथरुममा बमिट गरिन्। सरोजले बमिट नगर्न भने। थप वियर खाएमा ठिक हुने बताए। त्यतिञ्जेलसम्म अन्जु निकै कमजोर भैसकेकी थिइन्। त्यसैको फाइदा उठाउदै सरोज निर्मम ढंगले प्रस्तुत भए। अन्जुको मुखमा तन्ना कोच्न थाले। विषले अर्धचेतजस्तै भैसकेकी अन्जुले प्रतिवाद गर्न सक्ने कुरै थिएन। उनी छटपटाइन्। छटपटाहटकै क्रममा बिस्तारामै दिसा, पिसाब गरिन्, तर निर्मम श्रीमान्ले श्रीमती अन्जुको मुखमा तन्ना कोचिरहे, कोचिरहे...। अन्ततः अन्जुको प्राण पखेरु उड्यो। प्रेमिकाको दबाबमा बिहे गरेको २० दिनमै पत्नी हत्या गर्ने सरोज अहिले जेलमा छन्। ‘कोपिलालाई पाँच वर्षअघिदेखि प्रेम गर्थे। अञ्जुसँग बिहे गरे पनि कोपिलाकै मायाँले सतायो’ सरोजले कास्की प्रहरीले लिएको बयानमा भनेका छन्, ‘अन्जुसँग बिहे गरे पनि कोपिलासँगै सबन्ध थियो। मैले उनलाई मायाँ गर्ने बताउँदा अञ्जुलाई मार अनि मसँग विवाह गर भनेको हुँदा अञ्जुलाई मारेको हुँ।’

Leave A Comment