इजरायलमा ‘सिकाइ र कमाइ’

बुधबार, ०१ भदौ २०७३, १० : १६ रुद्र खड्का , Kathmandu
इजरायलमा ‘सिकाइ र कमाइ’

कञ्चनपुरका विजय बिक केही समययता निकै उत्साही छन् । स्नातक तहसम्म अध्ययन गर्दा गाउँमा कुनै अवसर नपाएका २४ वर्षीय बिकलाई उत्साही बनाउनुको कारण इजरायल जान पाउने मौका प्राप्त हुनु हो । इजरायल जानका लागि उनले सबै तयारी पूरा गरिसकेका छन् ।
कास्कीका सुमन केसीको अवस्था पनि विजयसँगै मिल्दोजुल्दो छ । स्नातक तहको अध्ययन सकेपछि के गरौँ, कसौ गरौँ भइरहेको बेला उनलाई पनि इजरायल जान पाउने अवसर प्राप्त भएको छ । साना किसान विकास बंैकले विपन्न किसान परिवारमा आर्थिक प्रगति होस् भन्नका लागि सुरु गरेको ‘सिकाइ र कमाइ’ कार्यक्रममा छनोट भएपछि केसी निकै उत्साही भएका हुन् । ‘कार्यक्रमबाट एकै चोटि दुईवटा लाभ दिने भएकाले झनै खुशी भएको हुँ,’ उनले भने, ‘एकातिर इजरायली कृषिबारे सिक्न पाइने र अर्कोतर्फ कमाइ पनि हुने भएकाले यतिखेर खोजेजस्तो अवसर प्राप्त भएको ठान्दै छु ।’
नेपालको कृषि क्षेत्रलाई विकास गर्ने उद्देश्यसहित साना किसान विकास बैंकले सन् २०१३ देखि सुरु गरेको ‘सिकाइ र कमाइ’ कार्यक्रममा युवायुवतीको आकर्षण दिनप्रतिदिन बढ्दो छ । उक्त कार्यक्रममा सहभागी हुन निश्चित मापदण्ड तय गरिएकाले सबै युवायुवतीले अवसर नपाउने भए पनि मापदण्डमा पर्नेमध्ये धेरैको चासो देखिँदा निकै प्रतिस्पर्धी बन्दै गएको छ । इजरायली दूतावास र साना किसान विकास बैंकले संयुक्त रूपमा छनोट गर्दै आएको उक्त कार्यक्रममा यो वर्षदेखि काठमाडौँ विश्व विद्यालय पनि जोडिएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत जलनकुमार शर्माका अनुसार खास गरी नेपालबाट छनोट भएर इजरायल जाने विद्यार्थीलाई त्यहाँको उच्च कृषि प्रविधिबारे ज्ञान दिनुअघि कृषिसम्बन्धी नै जानकारी दिनुपर्ने भएकाले यो वर्षदेखि काठमाडौँ विश्व विद्यालयको पनि सहभागिता भएको हो । इजरायल जान सबै तयारी पूरा गरेका युवायुवतीलाई विश्व विद्यालयले जानुअघि तीन साता र फर्केपछि एक साताको तालिम दिएर प्रमाणपत्र जारी गर्ने व्यवस्था मिलाइएको छ । उक्त कार्यक्रममा छनोट भएपछि इजरायलमा करिब १० महिना त्यहाँको कृषि प्रणाली र प्रविधिबारे सिक्ने अवसर पाउने बंैकका नायब महाप्रबन्धक झलेन्द्र भट्टराई बताउँछन् । सातामा एक दिन कृषिसम्बन्धी सैद्धान्तिक ज्ञान दिइने उक्त कार्यक्रममा प्रशिक्षार्थीले सातामा पाँच दिन खेतमा काम गर्नुपर्छ । भट्टराईका अनुसार प्रशिक्षार्थीले खेतमा काम गरेको भने पारिश्रमिक पाइन्छ । ‘कृषि सिक्न इजरायल जाने युवायुवतीले १० महिनामा त्यहाँको कृषि प्रणालीबारे त सिक्छन् नै साथै प्रतिव्यक्ति पाँचदेखि १५ लाख रुपैयाँ पनि कमाउँछन्,’ भट्टराईले भने । इजरायलबाट फर्केर आएका कैयन युवायुवतीले नेपालमा निकै उत्साहपूर्ण काम गरिरहेको उनले बताए ।  
एकातिर कृषि सिक्ने र अर्कोतर्फ राम्रो कमाइ हुने भएकाले बर्सेनि उक्त कार्यक्रमप्रति युवायुवतीको चासो बढ्दै गए पनि कुनै वर्ष इजरायल गएका विद्यार्थी उतै लुक्नाले बेलाबेला समस्या सिर्जना हुने गरेको छ । ‘इजरायलको चाहना त्यहाँ गएका कुनै पनि युवायुवती निश्चित अवधिमा स्वदेश फर्कनुपर्छ भन्ने छ,’ भट्टराईले भने, ‘तर, केही युवायुवती भाग्नाले त्यसको असर अरूलाई पुग्ने हुन्छ ।’ सन् २०१५ मा गएका तीनजना इजरायलमै लुकेको भट्टराईले बताए । उनका अनुसार इजरायलमा लुकेपछि त्यहाँको सरकारले कोटा घटाउने र कार्यक्रमै रोक्ने खतरा हुन्छ । अघिल्लो वर्ष तीनजना नभागेको भए यो वर्ष (सन् २०१६ मा) कोटा बढ्ने अपेक्षा थियो । बैंक कर्मचारीका अनुसार तीनजना प्रशिक्षार्थी भागेका कारण सन् २०१५ को दाँजोमा सन् २०१६ मा कोटा घट्यो । सन् २०१५ मा ५ सय ५ इजरायल गएकोमा सन् २०१६ मा त्यो संख्यालाई घटाएर ४ सय ५० मा झारिएको छ । ‘कमाइ र सिकाइ’ कार्यक्रममा छनोट भएपछि प्रशिक्षार्थीको टिकट र स्वास्थ्य परीक्षण शुल्क तथा यो वर्षदेखि काठमाडौँ विश्व विद्यालयलाई शिक्षण शुल्कबापत ३० हजार रुपैयाँ मात्र खर्च हुन्छ । यो वर्षका लागि छनोट भएका युवायुवती आउँदो सेप्टेम्बरको अन्तिमसम्म इजरायल उडेपछि अर्को वर्षको कार्यक्रम पुनः सुरु हुने बताइएको छ । कोटा संख्या इजरायली सरकारले नै तोक्ने भएकाले अहिले नै अर्को वर्षको कोटो भन्न नसकिने बैंकका कर्मचारी बताउँछन् ।

‘इजरायली प्रविधि भिœयाउने कार्यक्रम’
जलनकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत
साना किसान विकास बैंक
कृषि क्षेत्रको विकास गरेर निकै प्रगति गरेको इजरायलले कृषिको विकासका लागि संसारका विभिन्न देशबाट प्रशिक्षार्थी लैजादो रहेछ । विगतका वर्ष नेपालले पनि त्यो अवसर पाएको रहेछ । तर, विगतमा दुई वर्ष कार्यक्रम चलाएको नेपालले त्यसलाई निरन्तरता दिन नसक्दा कृृषि सिक्न जाने कार्यक्रम त्यतिकै रोकिएको रहेछ । सन् २०११ मा पुनः इजरायली अधिकारी नेपाल आएको बेला उक्त कार्यक्रबारे कुरा चलेपछि साना किसान विकास बैंकले प्रस्ताव गरेपछि सन् २०१३ देखि कृषि सिक्नका लागि इजरायल जाने कार्यक्रम सुरु भएको हो । करिब १० महिना अवधिको उक्त कार्यक्रममा सहभागी हुने प्रशिक्षार्थीले इजरायलको कृषिबारे सातामा एक दिन सैद्धान्तिक र पाँच दिन फिल्डमा गएर व्यवहारिक अध्ययन गर्छन् । फिल्डमा काम गरेबापत पारिश्रमिक पाउने भएकाले अधिकांशले कमाउने पनि गर्छन् । देशका ६८ जिल्लामा रहेका साना किसान विकास बैंकमा आबद्ध सहकारी संस्थाबाट छानेर इजरायल पठाउने गरिन्छ । सन् २०१३ यता १२ सय बढी युवायुवतीले इजरायल पुगी कृषि सिकेर फर्केका छन् । अब यही सेप्टम्बरसम्म थप ४ सय ५० जाँदैछन् । इजरायलबाट फर्केका थुप्रैले कृषिमा निकै राम्रो गरेर देखाएका छन् । कृषिमा विशेष चासो दिनेहरू मात्र यो कार्यक्रमा छनोट हुन्छन् । इजरायलको प्रविधि र तरिका नेपालको कृषिमा पनि भित्रियोस् भनेर कार्यक्रम सुरु गरिएको हो ।

‘गाउँमा केही गर्छु’
सुमन केसी, कास्की
मैले स्नातक तहको अध्ययन सकेको छु । गाउँमा केही गरुँ भन्दा अवसर नै पाउन सकिँदैन । त्यसैले परिवारसँगै त्यत्तिकै बस्दै र खेतीपातीको काममा सघाइरहेको बेला साना किसानका छोराछोरीले इजरायल जान पाउने अवसर आएको सुनँे । अनि, साना किसान विकास बैंकको प्रक्रियाअनुसार सहभागी हुँदा सफल भएँ । अब म चाँडै इजरायल जाने प्रतीक्षामा छु । इजरायल जानुको मुख्य कारण त्यहाँको कृषि प्रणालीबारे सिक्नु हो । त्यसैले अबको १० महिना इजरायली खेती त सिक्ने नै छु । साथै नेपाल फर्केपछि परम्परागत कृषिलाई आधुनिक बनाउने इच्छा छ । आमाबुबा साना किसान सहकारी संस्थामा आबद्ध हुनुहुन्थ्यो । त्यसैले त्यो अवसर मैले पाएको हुँ । थुप्रैको चासो देखिए पनि मेरो अनुभवमा छनोट प्रक्रिया पक्षपातविहीन भयो । अन्तर्वार्तामा दुईजना इजरायली नै सहभागी थिए ।

‘पशुपालन गर्ने इच्छा छ’
विजय बिक, कञ्चनपुर
कृषिसम्बन्धी नयाँ कुरा सिक्न इजरायल जान लागेको हुँ । त्यहाँ सिकेका नयाँ कुरा गाउँमा लागू गर्ने सोच छ । मेरो पूरै परिवार कृषिमै लागेको छ । मैले पनि परिवारका सदस्यलाई खेतीपातीको काममा सहयोग गर्दै आइरहेको छु । कृषि सिक्न र केही गर्ने अवसर पाएकाले इजरायल जान निकै उत्साही छु । इजरायलबाट फर्केपछि पशुपालनमा लाग्ने इच्छा छ ।

‘एकसाथ सीप र कमाइ’
मीना थापा, प्युठान
इजरायल जानुको मुख्य कारण त्यहाँको कृषि सिक्ने र अलिअलि कमाउने नै हो । शिक्षा शास्त्र संकायमा स्नातकोत्तर पढ्दै गरे पनि स्वदेशमा रोजगारीका अवसर छैनन् । घरपरिवार कृषिमा लागेकाले मैले पनि खेतीपातीको काममा सघाउँदै आएकी छु । इजरायलबाट फर्केपछि केही रकम पनि हुने भएकाले कृषिलाई आधुनिकीकरण र उद्योगको रूपमा विकास गर्न प्रयास गर्नेछु ।

‘कृषि मेरो इच्छा’
बबिता सिंह, कैलाली
कृषिप्रति सानैदेखिको इच्छा हो । स्नातक तहको अध्ययनसँगै घरमा खेतीपातीको काममा सहयोग गर्दै आइरहेकी छु । तर, नेपालको विडम्बना के छ भने कृषिमा जति मेहनत गर्दा पनि आम्दानी त्यति राम्रो हुँदैन । यसको कारण, परम्परागत खेती नै हो जस्तो लाग्छ । त्यसैले इजरायलको कृषि सिकेर नेपालको कृषिमा त्यहाँको जस्तो नयाँ प्रविधिको प्रयोग गर्ने इच्छा छ । नयाँ कुरा सिकेर केही गरौँ भन्ने भावना भएकाले इजरायल जान  निकै उत्साही छु ।

‘युवाको मूल पेशा कृषि’
नवीन रसाइली, धादिङ
मेरो परिवार लामो समयदेखि कृषिमा आश्रित छ । त्यसैले म पनि जानेर÷नजानेरै कृषिमै आबद्ध छु । फेरि, नेपालमा रोजगारीको अवसर नभएकाले अधिकांश युवायुवती कुनै न कुनै अवस्थामा कृषि कर्मसँग जोडिनैपर्ने अवस्था छ । तैपनि, परम्परागत खेती प्रणालीका कारण हामीले कृषिबाट जति लाभ लिनुपर्ने हो त्यति लिन सकेका छैनौँ । त्यसैले इजरायल पुगेर त्यहाँको मरुभूमिमा कसरी खेती गरिएको रहेछ त्यसबारे सिकेर नेपालमै केही गरेर देखाउने उद्देश्य छ । इजरायलबाट फर्केर आएपछि कृषिलाई मूल पेशा बनाउने योजना छ । कृषि क्षेत्रमा केही गर्नुपर्छ भन्ने मेरो सोच छ ।
कुन वर्ष कति नेपाली इजरायल गए ?
वर्ष (सन्मा)    संख्या
२०१३             २०५
२०१४            ५१५
२०१५            ५०५
२०१६            ४५० (जान बाँकी)


सिकाइ र कमाइ कार्यक्रमका लागि योग्यता
–१२ कक्षा उत्तीर्ण
–उमेर २०–३० बीचको हुनुपर्ने
–साना किसान विकास बैंकद्वारा गठित सहकारीमा आबद्ध हुनुपर्ने
–इजरायलमा नभाग्ने प्रतिबद्धता जनाउनुपर्ने

 

Leave A Comment