भ्यालेन्टाइन्स डेकाे मस्ती

शुक्रबार, ०२ फागुन २०७६, ०१ : ०७ शुक्रवार
भ्यालेन्टाइन्स डेकाे मस्ती

प्रेम र यसका विभिन्न आयामबारे अनेकन कथा लेखिएका छन्, थुप्रै गीत बनेका छन्। प्रेमको महत्व कति छ भनी साध्य छैन। गाँस, बास, कपासजस्तै प्रेम पनि अनिवार्य आवश्यकता दरिएको छ। त्यसैले त, प्रेमका मामलामा कठोर नेपाली समाज बिस्तारै खुल्दैछ। प्रेमको परिभाषा बदलिएको छ। अनेकन पश्चिमा सँस्कृतिलाई अपनत्व ग्रहण गर्दै रमाउन बानी परेका नेपाली युवायुवतीमा नयाँ अवसर बन्दै गएको छ– भ्यालेन्टाइन्स डे। गाउँका युवायुवतीलाई त्यति चासो नभए पनि शहरिया युवायुवती यतिबेला ‘भ्यालेन्टाइन्स–मुड’ मा छन्। फेब्रअरी ७ को रोज डे (गुलाफ दिवस) देखि उनीहरुलाई भ्यालेन्टाइन्सको रन्को लागेको छ।

लेखनाथकी प्रतिमा गुरुङको मन यतिबेला फुरुङ्ग छ। एकहप्ता अघि नै प्रेमीसँग ‘भ्यालेन्टाइन्स डे’ योजना बनाएपछि उनी फुरुङ्ग भएकी हुन्। ‘ब्वाइफ्रेण्डसँग मस्तसँग घुमिन्छ, खाइन्छ, रमाइन्छ। दिनकै ब्वाइफ्रेण्डसँग कसरी मनाउने भन्नेबारे छलफल भइराछ’ उनी भन्छिन्, ‘दुई चार दिन भो उसँग यही विषयमा डिस्कस पनि  भइरा’छ।’ तन्नेरीले ठूलै पर्वसरह मान्ने भ्यालेन्टाइन्स डे पश्चिमा संस्कृतिले छपक्कै छोपेको पोखराका युवा कसरी अछुतो रहन सक्थे ? त्यसैले त उनीहरु ‘भ्यालेन्टाइन्स डे’ लाई अविस्मिरणीय बनाउन अनेक उपाय अपनाउँछन्। सयौं पोखरेली युवा जोडीले ‘भ्यालेन्टाइन्स डे’ कसरी मनाउने भन्ने योजना हप्ता अघि नै बुनिसकेका छन्।

भ्यालेन्टाइन्स डे मा पोखरेली युवाका योजना थरिथरिका छन्। कोही प्रेमी–प्रेमिकासँगै घुम्न जाने। कोही डिनर गएर रमाउने। कोही युवा जोडी बनाएर एकान्तमा घुमघाम गर्ने। कोही होटल रेस्टुरेन्ट पुगेर जीवनको कल्पना गर्दै अँगालोमा बाँधिएर बस्ने। कोही सँगै सिनेमा हेरेर प्रेम दिवसको उपयोग गर्ने योजनामा छन्। कोही भने अल्ट्रालाइट चढेर आकाशमै भ्यालेन्टाइन्स डे सेलिब्रेट गर्ने योजनामा छन्। त्यस्तै युवा हुन् सन्दीप देवकोटा। ‘भ्यालेन्टाइन्स डे का दिन गर्लफ्रेण्डसँगै पोखराको आकाशमा उड्ने रहर छ,’ उनी भन्छन्, ‘यसबारे उसँग छलफल पनि भइसकेको छ। त्यसपछि फेवालेक छेउछाउ बसेर रमाउने हो। मलाई लाग्छ हाम्रो प्लान अविस्मिरणीय हुन्छ।’

पोखराका धेरै युवायुवतीले एक हप्ताअघि नै विभिन्न गिफ्ट पसलमा पुगेर उपहार खरिद गरिसकेका छन्। भ्यालेन्टाइन्स डेमा विशेष गरेर स्कुलदेखि कलेज पढ्ने टिनएजरको फूर्ती धेरै हुने गर्छ। हजारौं खर्च गरेर फेसनेवल यहाँका तन्नेरी भ्यालेन्टाइन्स डे मा आफ्नो स्पेसल मान्छेलाई उपहार दिन मरिहत्ते गर्छन्। प्लस टु अध्ययनरत जुना मगर आफ्नो प्रेमीलाई झण्डै १० हजार रुपैया“बराबरको उपहार यसपटकको भ्यालेन्टाइन्स डेमा दिँदैछिन्। ‘आफ्नै लाइफ पार्टनरलाई उपहार त दिनै प-यो नि। के दिने भनेर नसोध्नुस्’ फिस्स हाँस्दै उनले भनिन्, ‘वर्षमा एकपटक आउने भ्यालेन्टाइन्स डे सँधै सम्झनयोग्य बनाउने योजना छ।’ उनले उपहारले प्रेमी र आफ्नो सम्बन्ध थप सुमधुर बनाउन थप मद्दत गर्ने सुनाइन्।

भ्यालेन्टाइन्स डेमा रातो गुलाफको फूलले ठूलो महत्व राखे पनि आजभोलि कार्ड मिठाई र कोठा सजाउने सामानलगायत जिन्सी उपहार दिने चलन बढेको छ। यसैले पनि तन्नेरी लामो समयसम्म रहने भ्यालेन्टाइन्स डे मा गिफ्ट नै आफ्ना प्रेम जोडीलाई उपहार दिने गरेका छन्। ‘गिफ्ट किनेर रेडी पारेको छु। घुम्न गएको बेला सरपराइज तरिकाले दिन्छु,’ रामचन्द्र पाण्डे भन्छन्, ‘यसले हाम्रो सम्बन्ध अझ प्रगाढ बनाउनेछ।’

भ्यालेन्टाइन्स डे मा प्रेमीप्रेमिकाबीच उपहार आदान–प्रदान गरिने भए पनि पोखरेली युवाहरु भने यही मौका छोपेर डेटिङ जाने गर्छन्। भ्यालेन्टाइन्स डे आउनु अगावै तन्नेरीहरु डेटिङ–स्पटमा झुमिएको देख्न सकिन्छ। मोटरसाइकल र स्कुटीमा प्रेम जोडी पोखरा आसपासका रमणीय स्थलमा पुगेर प्रेम आदान–प्रदान गरिरहेको देख्न सकिन्छ। भ्यालेन्टाइन्स डे को दिनमा त जोडीहरु डेटिङका लागि दौडादौड गरेको दृश्य जताततै देखिन्छ। ‘हाम्रा लागि भ्यालेन्टाइन्स डे स्पेसल हुनेवाला छ,’ प्रज्वल गुरुङ भन्छन्, ‘पोखराभन्दा अलि टाढै कुनै एक ठाउँमा डेटिङ जाने प्लान छ। यो दिन घुम्न जानुको बेग्लै मज्जा छ।’

भ्यालेन्टाइन्सको मौका छोपी पोखरामा भ्यालेन्टाइन्स स्पेसल डान्स पार्टीसमेत हुने गरेका छन्। यसैले पनि भ्यालेन्टाइन्स डे मा पोखरा रंगिन बन्ने गरेको छ। डान्समा जोडी बनेर पुग्ने तन्नेरी रातभर झुमेर भ्यालेन्टाइन्स स्पेसल डे मनाउँछन्। पोखराको माहोल नै यतिबेला प्रेममय बनेको छ। झन्डै भ्यालेन्टाइन्स आउनु १५ दिनअघि नै यहाँका तन्नेरी माझ भ्यालेन्टाइन्सको चर्चा हुने गरेको छ। भर्खर वैवाहिक जीवनमा बाँधिएका युगल भ्यालेटाइन्स डेकै अवसर पारेर हनिमुनका लागि त्यत्तिकै पोखरामा ओइरिएका छन्। फेवाताल, बेगनासतालमा भ्यालेन्टाइन्स डे का अवसरमा डुंगामा रम्ने जोडीको भीड उस्तै हुन्छ। यी बाहेक, पामे, डेभिड फल्स, सराङकोट, काँडे, नाउँडाँडा, धम्पुस, मट्टिखान, माछापुच्छ्रे भ्यू टावरलगायतका ठाउँमा भ्यालेन्टाइन्स डे मनाउनेहरुको हुल देखिन्छ।

Leave A Comment