मोडल टन्न, मोडलिङ शून्य

मङ्गलबार, १३ फागुन २०७६, ०१ : १८ मनोज घर्तीमगर
मोडल टन्न, मोडलिङ शून्य

पर्दामा हिरोसँग हिरोइन छमछमी नाचेको देख्ने अनु गुरुङलाई थुप्रै फिल्मका दृश्यले लोभ्याउँथ्यो। फिल्म हेर्दाहेर्दै उनलाई पर्दाकी हिरोइनझैँ फिल्ममा छाउने हुटहुटि जाग्थ्यो। कहिलेकाहीँ काम विशेषले स्याङ्जाबाट पोखरा हुँदै काठमाडौं छिर्दा अग्लाअग्ला भवन र सडक छेउछाउमा सुन्दरीले विभिन्न पोजमा मोडलिङ गरेको देख्थिन्। यी दृश्यले उनलाई पनि त्यस्तै तरिकाले मोडलिङ गर्ने रहर पलाउँथ्यो। हिरोइन र मोडल बन्ने रहर जागेपछि यो क्षेत्रमा छिर्न उनले बाटो खोज्न थालिन्। पोखरामा भएको ‘मिस तमु नेपाल–२०११’ मा भाग लिएपछि मोडलिङमा छिर्ने उनको ढोका उघारियो। ‘मोडलिङ र फिल्म क्षेत्रलाई नै करिअर ठानेर यसमै लागिरहेकी छु,’ स्याङ्जा कोल्माकी अनु भन्छिन्, ‘मजस्तै स्याङ्जाको पछिल्लो पुस्ता त्यो पनि १६–२० का भाइबहिनीहरु मोडलिङ लाइनमा आउन इच्छुक छन्।’

निसानी फिल्मको नायिका अनु पछिल्लो समय स्याङ्जामा मोडलिङलाई नै करिअर बनाउन खोज्नेको जमात ह्वात्तै बढे पनि त्यसको रहर पूरा गर्न पोखरा वा काठमाडौं झर्नुपर्ने बाध्यता रहेको सुनाउँछिन्। स्याङ्जामा मोडलिङ र सौन्दर्य प्रतियोगितालाई बिस्तारै सकारात्मक रुपमा लिनेहरु बढिरहेका छन्। तैपति त्यस्ता कुनै गतिविधि हुन सकेका छैनन्। फिल्ममा खेल्नु पनि एक प्रकारको मोडलिङ हो। त्यसैले मोडलिङलाई गलत रुपमा मात्रै हेर्नु राम्रो नभएको अनुको धारणा छ। त्यसैले त केही वर्षयता यहाँका युवतीहरु मोडलिङ र सौन्दर्य प्रतियोगितामा तछाडमछाड गरेर भए पनि भाग लिइरहेका छन्।

मोडलिङलाई त्यति धेरै महत्व नदिएको स्याङ्जाबाट हरेक वर्ष मोडलहरु जन्मिरहेका छन्। पोखरा नजिकैको स्याङ्जामा हप्तैपिच्छे मोडलिङका गतिविधि भइरहने पोखराको प्रभाव पर्न थालेको छ। विभिन्न सुन्दरी प्रतियोगिताका लागि आयोजक स्याङ्जामै आएर अडिसन लिनाले यहाँका युवायुवतीमा मोडलिङको पारो चढेको पुतलीबजार–४ बाडखोला स्याङ्जाकी स्वर्णिम थापामगरको भनाइ छ। ‘मोडलहरु टन्न भए पनि मोडलिङ गतिविधि शून्य छ’ मिस मगर २०१२ मा मस्ट ट्यालेन्ट टाइटल विजेता स्वर्णिम भन्छिन्, ‘रहर पूरा गर्न पोखरासम्म पुग्नेहरु बढेका छन्। म पनि त्यसकै उदाहरण हुँ।’

विभिन्न ब्यूटी प्याजेन्टमा भाग लिने युवतीको चाप देख्दा स्याङ्जाका युवती पनि बिस्तारै मोडलिङलाई पछ्याउन खोजिरहेका छन्। मोडलिङसम्बन्धी गतिविधि नभएपछि यहाँका युवती पोखरामा हुने विभिन्न कार्यक्रममा भाग लिनुपर्ने बाध्यता रहेको धेरैको गुनासो छ। स्याङ्जामा धेरै मोडल भए पनि सञ्चार माध्यमले समेत यहाँको मोडलिङलाई खासै चासो नदिएको उनीहरु गुनासो गर्छन्। त्यसो त परम्परागत मानसिकतामा तुरुन्तै परिवर्तन आउनै सक्दैन। स्याङ्जामा ग्ल्यामर र मोडलिङ फिल्डलाई नकारात्मक दृष्टिले हेर्नहरु पनि प्रशस्तै छन्। तर, त्यस्तो मानसिकतामा बिस्तारै परिवर्तनका संकेतहरु भने देखिएका छन्। मोडलिङलाई सकारात्मक रुपमा हेर्ने, मोडलिङ गर्न चाहने युवायुवतीको संख्या बढ्दै जानु, ब्यूटी प्याजेन्टमा भाग लिनेहरु वर्षेनी बढ्नु स्याङ्जाको मोडलिङमाथि उठेको संकेत भएको बताउँछिन् पुतलीबजार–७ नाकडाँडा स्याङ्जाकी अर्की मोडल रोशनी छिनाल। ‘स्याङ्जाका युवायुवती पनि बिस्तारै मोडलिङतिर छिर्ने प्रयास गरिरहेका छन्’ मिस दलित २०१३ मा मिस डिसिपिलिन टाइटल जितेकी २४ वर्षीया रोशनी भन्छिन्, ‘यहाँ मोडलिङ सम्बन्धी गतिविधि नभएकाले पोखरामा हुने विभिन्न सौन्दर्य प्रतियोगितामा भाग लिएर आफ्नो इच्छा पूरा गर्छन्।’

यहाँको मोडलिङ उकालो लाग्दैछ र मोडल पनि थुप्रै छन् भन्ने कुरालाई बल पु-याएकी छिन् अर्की मोडल सञ्जु गुरुङले। मोडलिङ क्षेत्रमा काम गर्न सञ्जुलाई घरबाट पनि सपोर्ट छ। मोडलिङमै लाग्न उनलाई उचाइले समेत साथ दिएको छ। सञ्जुले यसअघि महिला र मोडलिङ प्रधान पत्रिका नवयता म्याग्जिनमा समेत फोटो सुट गराइसकेकी छिन्। त्यसले गर्दा पनि उनलाई मोडलिङमै लाग्ने रहर लागेको हो। ‘स्याङ्जामा मोडल भए पनि मोडलिङ गतिविधि हुँदैन,’ उनी भन्छिन्, ‘यहाँका कुनै कार्यक्रम नभए पनि म मोडलिङलाई नै करिअर बनाउने योजनामा छु। हेरौं कत्तिको सफल हुन्छु।’ उनका अनुसार मोडलिङका लागि सौखिनहरु धेरै छन् यहाँ। पोखरा, काठामाडौं र धरानको जस्तो परिवारबाट पूरा सपोर्ट नभए पनि मोडलिङ क्षेत्रमा आउन खोज्नु सकारात्मक भएको उनी बताउँछिन्। स्याङ्जामा विष्णु गुरुङ, मेनका पल्लिमगर, दिपिका गुरुङ, एन्टिना थापा, इन्सिरी गुरुङ, भुमा थापामगर लगायत अन्य थुप्रै मोडल पनि छन्। जसले पोखरा झरेर आफ्नो मोडलिङ तिर्खा मेटाएका छन्।

Leave A Comment