नचाएरै मालामाल

मङ्गलबार, २० फागुन २०७६, १२ : ३२ शुक्रवार
नचाएरै मालामाल

कुनै समय छोरीचेली बाहिर निस्कनै बर्जित थियो। नाच्नु, गाउनु र रमाउनु त टाढाको कुरा। छोरीले नाच्न र गाउन थालेपछि कुरा काट्नेहरु गाउँघरमा त हुने नै भए सहरमा पनि कम थिएनन्। अब त्यस्तो समय रहेन। पछिल्लो समय नाच सिक्नु र सिकाउनु प्रतिष्ठासँग जोडिन्छ। त्यसैले आजभोलि बालबालिका, युवा मात्र नभई प्रौढसमेत नाच्न सिक्छन्। पोखरामा पछिल्लो सयम नाच सिक्ने लहर चलेपछि नृत्य प्रशिक्षकका दिन फिरेका छन्। उनीहरु नचाएरै मालामाल बनेका छन्। नाच सिक्न मरिहत्ते गर्नेहरु बढेपछि पोखराका डान्स प्रशिक्षण केन्द्रहरु फस्टाएका छन्। यहाँका नृत्य प्रशिक्षकलाई अहिले नाच सिकाउन भ्याइनभ्याइ छ।

पोखरा–१२ रानीपौवाकी बबिता गुरुङको दैनिकी व्यस्त छ। गण्डकी बोर्डिङ स्कुलकी प्रशिक्षक बबिता दैनिक स्कुलका विद्यार्थीलाई डान्स सिकाउँछिन्। त्योबाहेक विभिन्न स्टेज कार्यक्रम, संस्थाको कार्यक्रममा देखाइने डान्स सिकाउन जाँदैमा उनलाई फुर्सद हुँदैन। ‘व्यस्त छु, डान्स सिकाउन स्कुल जानैप-यो, त्यसपछि अन्य विभिन्न ठाउँमा बोलाइरहन्छन्’ उनी भन्छिन्, ‘केही समयअघिसम्म छोरीचेलीले नाच्नु हुन्न भन्ने संस्कार छैन अब।’ २०५२ सालमा डान्स सिक्न खोज्दा घरबाट असहयोग मिले पनि बाबुआमालाई कन्भिन्स गरेर आफू यो क्षेत्रमा लागेको उनले बताइन्।

फ्लोक, मोर्डन, साल्सा, होस् वा क्लासिकल मज्जाले नाच्ने प्रीति गुरुङ क्लासिकल डान्सकी प्रशिक्षक हुन्। डान्स सिकाउनकै लागि दार्जिलिङबाट दस वर्षअघि उनी पोखरा आएकी हुन्। शास्त्रीय नाचमा भारतको सुर संगीत महाविद्यालय र गीतिगुञ्ज संगीत महाविद्यालयबाट डिप्लोमा गरेकी उनले डान्स सिकाएर रामो आम्दानी भएको सुनाउँछिन्। ‘डान्स सिकाएरै मैले राम्रो आम्दानी गरेको छु,’ प्रीति भन्छिन्, ‘मासिक ४०/५० हजार कमाइ हुन्छ। मिहिनेत गरे यसबाट जीवन राम्ररी चलाउन सकिन्छ।’ १३ वर्षदेखि डान्स सिकाउँदै आएकी प्रीतिले पोखरामा यतिबेला क्लासिकल डान्स सिक्नेको जमात ठूलो भएको सुनाइन्।

पोखराको डान्स पश्चिम क्षेत्रमा चर्चित छ। डान्स गर्नकै लागि पोखरेली युवा कहिले बुटवल, कहिले काठमाडौं, कहिले चितवन त कहिले नारायणगढ जान्छन्। कुनै समय डान्स गर्नु मनोरञ्जनका लागि मात्रै थियो। अब समयले कोल्टे फेरेको छ। चान्समा डान्स ?  भनेझैँ डान्स केवल मेला चाड–पर्व विवाहलगायत रमाइला कार्यक्रममा मात्र गरिन्थ्यो। कुनै समय रमाइलोका लागि गरिने  ‘डान्स’  लाई पोखराका थुप्रै उत्साही युवाले पेशा बनाएका छन्। आजभोलि पोखरामा युवाले डान्समा चुप्रै चान्स पाएका छन्। ‘पोखरामा डान्स सिक्नेको जमात यति बढेको छ कि

सबैले अनिवार्य डान्स सिक्नुपर्छ भन्ने भावना विकास भएको छ,’ माछापुछ«े डान्स ट्रेनिङ सेन्टरका प्रशिक्षक सुवास राई भन्छन्, ‘कला क्षेत्रको युवाहरुको चासो बढेपछि हामीलाई राम्रो फाइदा भएको छ।’

डान्स सिकाएर ठूलो प्रगति गरेका छन् पोखराका गोरे गुरुङले।  दुई दशकदेखि डान्स सिकाइरहेका उनले पोखरामा अनुशीलन कला पाठशाला चलाइरहेका छन्। कल्चरल, झ्याउरे, सोरठी, चरित्र, धिमाल, च्याबु्रङ, कौरा, फिल्मी डान्स, मोर्डन, कथक लगायतका डान्स सिकाउने गोरेले हप्तामा ३५ सयसम्मलाई डान्स सिकाउने गर्छन्। चारवटा स्कुलमा डान्स सिकाउने गोरेको पाठशामा सय बढी विद्यार्थी छन्। ‘डान्स प्रशिक्षण गरेरै पोखरामा घर र जग्गा किने,’ उनी भन्छन्, ‘निरन्तर लागे यो क्षेत्रमा सोचेभन्दा राम्रो आन्दानी छ।’ त्यसो त उनलाई घरमा विदेश जान र डान्स सिकाउने विदेश गएका बेला साथीभाइले उतै बस्न सल्लाह पनि दिएका थिए। तर, आफ्नै परिवारसँग बसेर नेपालमै महिनामा लाख कमाइ हुने भएपछि विदेश बस्न उनको मनले मानेन। ‘ज्यान खतरामा पारेर विदेशमा जति मिहिनेत गरे पनि बढी भए ५०/६० हजार कमाइ हो’ गोरे भन्छन्, ‘पोखरामै बसेर महिनामा लाख कमाउने भएपछि किन विदेश बस्ने ?’ गोरेका अनुसार पोखरामा अझै पनि डान्स प्रशिक्षकको अभाव भएको र धेरै माग रहेको सुनाए।

पश्चिममै सबभन्दा बढी नृत्य प्रशिक्षण केन्द्र भएको ठाउँ पोखरा हो। यहाँ अनुशीलन कला पाठशाला, माछापुच्छ्रे डान्स ट्रेनिङ सेन्टर, डाँफे कला मन्दिर, सम्झना कला केन्द्र, सुर्योदय कला केन्द्र, स्कुल अफ डान्स, सुस्मिता डान्स ट्रेनिङ सेन्टर, एसियन कला केन्द्र, हिमाली सांस्कृतिक परिवार, गण्डकी बिबोइङ, पोखरा बुल्स, पोखरा कला केन्द्र, नाट्येश्वरी कला केन्द्र, तरेली साँस्कृतिक परिवार, नवज्योति कला केन्द्र, विशाखा डान्स सेन्टर, लम्तरी नृत्य प्रशिक्षण केन्द्रलगायत पोखरामा ३० भन्दा बढी नृत्य प्रशिक्षण केन्द्रहरु छन्। सबै डान्स सेन्टरमा झण्डै सात सयभन्दा बढी विद्यार्थी डान्स सिकिरहेका छन्। त्यसबाहेक अधिकांश बोर्डिङ स्कुलले डान्स टिचर राखेर विद्यार्थीलाई सिकाइरहेका छन्।

पोखराको नृत्य क्षेत्र व्यावसायिक बाटोमा लागेको झण्डै ३० वर्ष भइसकेको छ। अहिले डान्स सेन्टर र बोर्डिङमा मात्र होइन कतिपयले घरमै डान्स टिचर बोलाएर आफ्ना छोराछोरीलाई सिकाउने गरेका छन्। घरमै गएर सिकाउँदा डान्सर तथा प्रशिक्षेकहरुले पारिश्रमिक पनि राम्रै लिने गरेका छन्। त्यसबाहेक विभिन्न संस्थाको वार्षिकोत्सव तथा घरायसी विवाहलगायतका कार्यक्रममा आफ्नो नृत्य देखाउन घरमै टिचर बोलाएर कम्पोज गराउनेहरु पनि धेरै छन्। एउटा डान्स कम्पोज गरेको कम्तीमा पनि एक हजारभन्दा माथि डान्सअनुसारको पारिश्रमिक लिइन्छ।

डान्समा व्यवसायिकता बढेसँगै पोखराका अभिभावकहरु छोराछोरीलाई डान्स सिकाउन चाहन्छन्। पहिला डान्सलाई रमाइलो गर्ने र छोराछोरी बिगार्ने साधनका रुपमा मात्र हेर्नेहरु अहिले आफैँ छोराछोरी लिएर आउँछन्। ‘हाम्रो जमानामा डान्सलाई नराम्रो तरिकाले हेरिन्थ्यो, अहिले बच्चाका लागि डान्स अनिवार्य भइसकेको छ,’ पोखरा शितलादेवीकी हरिमाया केसी भन्छिन्, ‘स्कुलमा पनि सिक्छे अझ राम्रो गरोस् भनेर डान्स सेन्टरमा पनि पठाइरहेको छु।’ स्वास्थ्यलाई पनि फाइदा हुन्छ फिटनेस हुन्छ भनेर डान्स सिक्न डाक्टर, बैंकर्स, व्यापारी, शिक्षक, व्यवसायी र विभिन्न जागिरेहरु पनि आउन थालेको बताउँछन् डान्स सेन्टरका प्रशिक्षकहरु।

सांस्कृतिक बहुलता भएको पोखरामा झ्याउरे, सोरठी, झाम्रे, कौरा, सालैजो, यानिमाया, सुनिमाया, फिल्मी डान्स, धाननाच, साकेला, हुर्रा, तामाङसेलो दसैं तिहार मेला र अन्य चाडपर्वमा बढी चर्चित छ भने डान्स प्रोग्राम, कन्सर्टहरुमा आधुनिक साल्सा, हिपहप, मारुनी, क्लासिकल, हिन्दी, कोरियन, अंग्रेजी डान्सहरु बढी चलनमा छन्।  गोरे गुरुङ, जसु गुरुङ, सुशील कुमार, धनबहादुर गुरुङ, अनिता मगर, गम्भीर बर्देवा, विजय लामा, अमन तामाङ, ईश्वरी राना, केशबहादुर गुरुङ, राहुल थापामगर, टकबहादुर गुरुङ, राजबहादुर गुरुङ, दीपक थापामगर, सनबहादुर गुरुङ, रेशम गुरुङ, खेम गुरुङ, श्याम थापामगर, रबिन गुरुङ, सागर थापालगायत नाच सिकाएरै मालामाल भएका छन्।

Leave A Comment