अम्बिकालाई अलिमियाँ लोक वाङमय प्रतिभा पुरस्कार

सोमबार, २६ फागुन २०७६, ०१ : ०४ शुक्रवार
अम्बिकालाई अलिमियाँ लोक वाङमय प्रतिभा पुरस्कार

साहित्यकार अम्बिका भण्डारीलाई यस वर्षको ‘अलिमियाँ लोक वाङ्मय प्रतिभा पुरस्कार’ बाट सम्मानित गरिएको छ। लोककवि अलिमियाँको १०२ औं जन्मजयन्तीको अवसरमा बिहीबार पोखरा – १३, मियाँपाटनमा उनलाई सम्मान गरिएको हो। भण्डारीलाई कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद मनबहादुर गुरुङले २० हजार रुपैयाँसहित दोसल्ला र सम्मान पत्रसहित सम्मान गरे। पुरस्कृत कवि/गायिका अम्बिका भण्डारीले आफ्नो भोगाइ, सिकाइ र संघर्ष खुला विश्वविद्यालय भएको सुनाइन्। ‘मैले आमालाई गुमाएको पीडालाई सिर्जना र आफ्नो भावनामार्फत बाहिर ल्याउन थालेँ, यो क्षण आउला भन्ने सोचेकी थिइनँ’ पुरस्कृत भएपछि खुसी हुँदै उनले भनिन्।

प्रतिष्ठानका सचिव पद्यराज ढकाल संयोजकत्वको प्रतिभा छनोट समितिले भण्डारीलाई पुरस्कृत गर्न सिफारिस गरेको थियो। अलिमियाँ लोक वाङ्मय प्रतिष्ठानले स्थापना र सञ्चालन गरेको पुरस्कारको राशि लोकसाहित्य र लोकगीतमा भण्डारीको करिब १ दशकको क्रियाशीलतालाई मूल्यांकन गरी पुरस्कृत गरिएको थियो। २०६७ मा ‘लोक छन्दका फूलहरु’ नामक कविता संग्रह निकालेकी अम्बिकाले २०६८ मा दोस्रो कृति ‘आफ्नो गाउँ आफ्नै हुन्छ’, राष्ट्रप्रेम तथा विभिन्न विकृति विसंगतिमा आधारित रहेर ‘तेस्रो पाइला’ नामक कविता संग्रह निकालिन्। उनको एउटा मुक्तक संग्रह पनि प्रकाशित छ। हालसम्म एक सयभन्दा बढी मुक्तक, २ सयभन्दा बढी कविता, ५० भन्दा बढी गजल, २५ कथा रचना गरिसकेकी छिन्। कास्कीको अन्नपूर्ण गाउँपालिका २ ठूलाचौरमा जन्मिएकी अम्बिका सप्तरंगी साहित्य समाज गण्डकी प्रदेश अध्यक्ष र नारी प्रतिभा वाङ्मय प्रतिष्ठानकी वरिष्ठ उपाध्यक्ष हुन्। उनले केही वर्षदेखि निरन्तर तीजमा मौलिक गीत बजारमा ल्याउने गरेकी छन्।

Leave A Comment