डिजाइनिङ स्कोप

सोमबार, २६ फागुन २०७६, ०१ : १७ मनोज घर्तीमगर
डिजाइनिङ स्कोप

पोखरा बगालेटोलकी शान्ति श्रीसलाई बलिउड नायिका नेहा धुपियाले लगाउने वन पिस ड्रेसले खुब लोभ्याउँथ्यो। नेहा धुपियाले लगाएकै वन पिस बजारभरि खोज्थिन्। धुइँपत्ताल धाउँदा नपाएपछि सँधै निरास हुन्थिन्। ‘नेहाले लगाएको जस्तै ड्रेस डिजाइन गर्न पाए...’ बेलाबेला शान्ति कल्पनाको संसारमा रमाउँथिन्। ड्रेस डिजाइनिङको ह्याङले उनलाई सताइरह्यो। जब समाजशास्त्रमा मास्टर्स ज्वाइन गरिन्। त्यसपछि उनलाई झन्झन् फेसनेबल बन्न मन लाग्यो। उनको यही फेसनेबल शोखले अहिले फेसन डिजाइनर बनाएको छ।

पोखराको एक मात्र कलेज इन्टरनेसनल फेसन डिजाइनिङ कलेज (आइएफसी) कलेजमा १५ महिने फेसन डिजाइनिङको डिप्लोमा कोर्स गरेपछि उनी डिजाइनर बनेकी हुन्। समाजशास्त्रमा मास्टर्स सके पनि उनलाई जागिर खान मन लागेन। फेसन डिजाइनिङमै भविष्य देखेकी उनले एक वर्षअघि ग्लोरी फेसन होम बुटिक खोलिन्। अहिले उनलाई नयाँनयाँ फेसन डिजाइनिङ गर्न भ्याइनभ्याइ छ। ‘पोखरा फेसनको सहर हो, यहाँका युवायुवती छिटोछिटो फेसन परिवर्तन गर्छन्,’ शान्ति भन्छिन्, ‘हप्ता बिराएर हुने फेसन सो, हिन्दी फिल्मको क्रेज, नयाँ–नयाँ विदेशी पहिरनले पनि फेसनप्रतिको आकर्षण बढेकोले डिजाइनिङमा भविष्य बढ्दो छ।’

शान्ति मात्रै हैन आजभोलि पोखरामा छ्याप्छ्याप्ती फेसन डिजाइनर छन्। तैपनि पोखरामा डिजाइनिङमै भविष्य खोज्नेहरु दिनदिनै बढिरहेका छन्। तीमध्ये एक हुन् पूजा उपाध्याय। उनी फेसन डिजाइनिङ पढ्न पूर्वको उर्लाबारी मोरङबाट पोखरा आएकी हुन्। एक वर्षदेखि फेसन डिजाइनिङ सिकिरहेकी उनले यसमै भविष्य देखेरै आकर्षित भएकी हुन्। उर्लाबारीमा पनि फेसनएबल युवायुवती बढ्दैछन्। त्यसले पनि फेसन डिजाइनिङमा उनले राम्रो स्कोप देखेकी छिन्। आजभोलि नयाँ–नयाँ डिजाइनिङ गरेका ड्रेस लगाउनेको जमात पनि बाक्लो छ। पढाइमा अब्बल उनलाई अरुले जस्तै डाक्टर/नर्स बन्नेतर्फ ध्यानै गएन। विज्ञान संकायबाट दस जोड दुई सकेकी उनी भविष्यमा चर्चित फेसन डिजाइनर बन्ने सुनाउँछिन्। ‘नेपालमा मात्रै हैन, विदेशमा पनि फेसन डिजाइनिङको माग बढिरहेको छ,’ उनी भन्छिन्, ‘स्कोप देखेर नै फेसन डिजाइनिङ पढ्न पूर्वबाट यहाँ आएकी हु“। नेपालमा राम्रो गरे विदेश जाने योजना छ।’

फेसन डिजाइनिङमा स्कोप देख्ने युवती शान्ति र पूजा मात्रै हैनन्। तनहुँ दुलेगौडाकी रञ्जना थापामगर पनि पोखरा आएर फेसन डिजाइनिङको अध्ययन गरिन्। चार महिनादेखि पोखरामा अध्ययनरत थापा फेसन डिजाइनमा अत्यन्तै राम्रो भविष्य भएको बताउँछिन्। ‘डिजाइनिङलाई करिअर बनाउन कस्सिएकी छु, राम्रो हुन्छ होला,’ उनी भन्छिन्। उनलाई अरु वर्षयहरुभन्दा यसमै रुचि लाग्यो। स्केचदेखि कार्टुनसमेत बनाउने रञ्जना आफू पनि त्यत्तिकै फेसनेबल छिन्।

फेसनको सहर हो, पोखरा। यहाँका युवायुवती मात्र हैन, प्रौढहरुसमेत फेसनेबल छन्। पोखरामा हरेक महिना नयाँ–नयाँ फेसन भित्रिन्छन्। केही युवाले नयाँ फेसन डिजाइनिङ गरिदिन्छन्। फेसन पारखीहरु धेरै भएपछि यसको माग बढ्ने नै भयो। यहाँका युवा सिजनअनुसार फेसन गर्न खप्पिस छन्। बढ्दो फेसनको मागसँगै फेसन डिजाइनरको भविष्य पनि उज्ज्वल बन्दै गएको छ। बजारमा नयाँ–नयाँ डिजाइनिङका फेसनको माग बढेपछि फेसन डिजाइनिङमा भविष्य बनाउनेहरु पनि बढेका छन्। पोखरामा फेसन डिजाइनर बन्ने चाहना बोक्नेहरु यतिबेला ह्वात्तै बढेका छन्। बढ्दो फेसनको ‘स्कोप’ त्यहीअनुसार आफूलाई ढाल्न उनीहरु फेसन डिजाइनिङतर्फ आकर्षित छन्। पोखरामा बढिरहेको फेसन गतिविधिले युवायुवतीलाई फेसन अध्ययनमा चासो बढेको फेसन डिजाइनरहरुको भनाइ छ।

तन्नेरीहरु आफैँभन्दा पनि अरुले लगाएको स्टायलबाट प्रभावित हुन्छन्। यो पेशामा लाग्नेहरु आफैँ पनि स्टाइलिस्ट छन्। कोही त बुटिक व्यवसायमै छन्। आफ्नो व्यवसायलाई बढावा दिन केही युवायुवतीले फेसन डिजाइनिङ सिकिरहेका छन्। यस्तै युवा हुन् पोखरा नयाँबजारका २८ वर्षीय सोनाम गुरुङ। नोमा फेयर नामक बुटिक सञ्चालन गरिरहेका सोनामले ग्राहकले लगाएको डिजाइन देखेर लोभिएपछि आफूले पनि त्यस्ता डिजाइन तयार पार्ने आँट बोकेर फेसन डिजाइनिङ पढ्न थालेको सुनाउ“छन्। ‘बुटिकमा आफैँ नयाँनयाँ डिजाइनिङ गरे व्यापार राम्रै हुन्छ,’ एक वर्षदेखि फेसन डिजाइनिङमा डिप्लोमा कोर्स अध्ययन गरेका उनी भन्छन्, ‘बिजनेस प्वाइन्ट भ्यूबाट फाइदा देखेर फेसन डिजाइनिङ अध्ययन गरेको हुँ।’

आफू स्टाइलिस्ट देखिने अनि अरुलाई पनि त्यस्दै देखिने फेसन बनाउन डिजाइनिङ पढाइ हुने फेसन सेन्टरमा युवायुवतीहरु झुम्मिन थालेका छन्। उनीहरुको चाहनालाई फेसन अध्ययन हुने यहाँका आइएफसी फेसन कलेज, आइफा फेसन सेन्टर र गुलमोहर फेसन सेन्टरलगायतले पूरा गरिदिएका छन्। आइएफसीमा अहिले ६० जना विद्यार्थीले अध्ययन गरिरहेका छन्। यहाँबाट अहिलेसम्म करिब तीन सय विद्यार्थीले अध्ययन गरिसकेका छन्। पोखरामा बुटिक संचालन गरेका धेरै विद्यार्थीले आइएफसीबाटै फेसन डिजाइनिङ अध्ययन गरेका हुन्। सुरुमा फेसन अध्ययनको बारेमा धेरैले बुझ्न नसक्दा उनीहरुलाई विद्यार्थी तान्न हम्मे परेको थियो। अहिले भने विद्यार्थी धान्न मुस्किल छ। ‘फेसन डिजाइनिङ सिक्नेको चाप यति बढेको छ कि धान्नै मुस्किल छ,’ आइएफसीका प्रबन्ध निर्देशक सरस्वती गुरुङ भन्छिन्, ‘हामीले सबैलाई चाहेर पनि पढाउन सकेका छैनौ।’

जनमानसमा फेसनको चासो बढ्नुको कारण पनि छ। टेलिभिजन च्यानलमा देखाइने फेसन सो, हिन्दी फिल्मको क्रेज, नयाँ–नयाँ विदेशी पहिरनले पनि फेसनप्रतिको आकर्षण बढेको हो। पोखरामा हप्ता बिराएर हुने फेसनसम्बन्धी गतिविधि र सुन्दरी प्रतियोगिताले पनि फेसन डिजाइनिङको आकर्षण बढेको छ। फेसन डिजाइनिङ अध्ययन गर्नेमा ९५ प्रतिशत युवती छन्।  विदेशी बसाइ र आधुनिक जीवनशैलीले पनि पोखरामा फेसनसम्बन्धी ज्ञान लिनेहरुको संख्या बढेको हो। युवायुवतीसँगै गृहिणी, कामकाजी महिला, बुटिक व्यवसायीलाई पनि फेसन अध्ययनले अहिले आएर बिस्तारै तानेको छ। फेसनमा नयाँ कुरा सिक्न अध्ययन गरिरहेको बनाउँछिन् फिल्मकी नायिका झरना गुरुङ। फिल्म लाइनसँग सम्बन्धित भएरै फेसन डिजाइनिङमा उनको रुचि बढेको हो। ‘गुरुङ ड्रेसलाई पनि डिजाइनिङ गरेर परिस्कृत गर्न सकिन्छ कि भनेर सिक्न आएकी हुँ,’ भर्खरै भाग्य फिल्म सकाएकी उनी भन्छिन्, ‘हाम्रा फिल्ममा खाली परम्परागत ड्रेस मात्रै भए। फेसनकै जमाना भएकाले पनि समयअनुसार चल्न अध्यननले केही न केही सिकाउँछ।’ फेसन डिजाइनिङको बढ्दो क्रेजसँगै पोखरामा खुलेका फेसन हाउस र बुटिकहरुले पनि डिजाइनरहरुलाई रोजगारीको अवसर दिएका छन्।

Leave A Comment