संकटमा पोखरेली पर्यटन

सोमबार, ०३ चैत २०७६, ११ : १२ मनोज घर्तीमगर
संकटमा पोखरेली पर्यटन

विपत्तिलाई मान्छेले पन्छाउन सक्दैन। कोरोना भाइरसको सन्त्रासले संसार आक्रान्त छ। नेपाल अछुतो रहने कुरै भएन। कोरोना सन्त्रासले आर्थिक रुपमा प्रत्यक्ष योगदान दिने पोखरेली पर्यटन व्यवसाय महासंकटमा छ। पोखराको पर्यटन व्यवसाय त झन् शून्यमा झरेको छ। राति अबेरम्म जगमगाउने पर्यटकीय क्षेत्र पोखराको लेकसाइड साँझ नपर्दै सुनसान देखिन्छ । छिमेकी मुलुक चीनबाट फैलिएर विश्वका धेरै देशमा पुगेपछि नेपालमा पनि कोरोनाको त्रास फैलिएको छ। हवाई र सडक मार्ग हुँदै विभिन्न देशका पर्यटक आउने पोखरा यतिबेला सुनसान देखिएको छ। सधैँ गुल्जार रहने लेकसाइड शान्त छ। दोस्रो राम्रो सिजन सुरु हुने बेला पोखरामा पर्यटक नै छैनन्। पर्यटक बीउझैँ आक्कलझुक्कल देखिन्छन्। ‘सुरुवातमा विदेशी पर्यटकका कारण असर देखिए पनि पछिल्ला दिनमा आन्तरिक पर्यटकसमेत देखिन छाडेका छन्,’ रेष्टुरेन्ट बार एसोसिएसन रेवानका महासचिव एवं होटल स्नोल्यान्डका सञ्चालक गणेशबहादुर थापा भन्छन्, ‘अहिले लेकसाइड सुनसानजस्तै छ। समग्र व्यवसाय नै ८० प्रतिशत तल झरेको  छ।’

कोरोना सन्त्रासपछि पोखरा र यस आसपासका होटल, रेष्टुरेन्ट, टुर्स ट्राभल्स, ट्रेकिङलगायत पर्यटनसँग सबन्धित सबै व्यवसायको कारोबार ठप्प छ। यसअघि लेकसाइडमा जता गए पनि पर्यटक ठोकिन्थे। हरेक व्यवसायमा मान्छेको चाप हुन्थ्यो। फेवा थकाली भान्सा घरमा पनि त्यस्तै हुन्थ्यो। थकाली खाना खानलाई लाइन पर्खनुपथ्र्यो। भान्साघरमा घुर्चामारी चल्थ्यो। वेटरको दौडधुप बेसी हुन्थ्यो। कुकले हात बिसाउन पाउँथेनन्। राति ११/१२ बजेपछि जानेलाई सञ्चालक हात जोडेर माफ माग्दै सेवा दिन नसक्ने बताउँथे। अहिले समय बदलिएको छ। ‘ग्राहक पातलिएका छन्। व्यापारमा केही कमी आएको पक्का हो। तर हाम्रो कारोबारमा खासै असर छैन’ फेवा थकाली भान्सा घरका सञ्चालक वीरेन्द्र शेरचन भन्छन्।

नेपालमा कोरोनाको बिरामी नभेटिए पनि त्रासले पर्यटक आउन सकेका छैनन्। दसवर्Èे जनयुद्धले धराशयी बनाएको पर्यटन व्यवसाय तगिँदै गइरहेको बेला २०७२ सालमा गएको महाभूकम्पले उठ्न मुस्किल हुने गरी थिचा¥यो। अहिले पनि कोरोना सन्त्रासले पर्यटन व्यवसाय चौपट भएको छ। लेकसाइडको बुम¥याङ रेष्टुरेन्ट अछुतो रहेन कुरै भएन। तीन हप्ताअघि रेष्टुरेन्टका क्याप्टेन सरोज लामाको धपेडी पनि कम्ता हुन्थेन। मध्याह्न १२–२ र साँझ ७–९ बजेसम्म त उनले पानी पिउने फुर्सद निकाल्न मुस्किल हुन्थ्यो। अहिले ग्राहक आउने बाटो हेर्दैै आँखा पँहेलिन्छन्। ‘७५ प्रतिशतभन्दा बढी व्यापार घटेको छ’’ क्याप्टेन सरोज लामा भन्छन्, ‘पोखरामा मात्र होइन नेपालमा कोही पनि कोरोना संक्रमित नभए पनि स्वदेशी विदेशीको चहलपहल छैन।’

विभिन्न मुलुकले आफ्ना नागरिकलाई देश नछाड्न आह्वान गरिसकेका छन् भने नेपालले समेत केही निश्चित मुलुकका नागरिकलाई भिसामा प्रतिबन्ध लगाइसकेको छ। कोरोनाको यो हल्ला नरोकिएसम्म र यसको नियन्त्रणमा सफलता नलागेसम्म नेपालमा पर्यटकको संख्या बढ्ने सम्भावना छैन। यसले पोखरेली पर्यटनलाई झन्झन् कमजोर बनाउने निश्चित छ। ‘कोरोना दिनदिनै फैलिएको खबर आउन थालेपछि असुरक्षित ठानेका विदेशी जति सक्दो छिटो बाहिरिए। नेपाल आउन ठिक्क परेकाले धमाधम बुकिङ रद्द गरे’ पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सोमबहादुर थापा भन्छन्, ‘यसले पर्यटनसँग सम्बन्धित सबै क्षेत्रमा असर पुगेको छ। सबै व्यवसायमा शून्यता छाएको छ।’

विदेशी मात्र नभएर आन्तरिक पर्यटक पनि स्वास्थ्यलाई ध्यान दिएर घुम्नका लागि निस्कन छोड्दै छन्। यसले आर्थिक गतिविधि रोकिएको छ। होटल–व्यवसायमा पर्यटक अभाव हुँदा होटल सुचारु राख्न दैनिक चलाउने खर्च धान्न नै चुनौती देखिएको छ। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष हरि भुजेलले अहिले नै ९० प्रतिशत हाराहारीमा व्यवसाय घटिसकेको सुनाउँछन्। ‘धमाधम बुकिङ रद्द हुन थालेका छन्, २०७२ को महाभूकम्पमा भन्दा पनि खराब अवस्था बनेको छ,’ उनी भन्छन्, ‘यो विषम परिस्थितिमा सरकारले बैंकको ब्याज, बिजुलीको महसुलमा छुट गरिदिए राहत हुने थियो। हामीले यही माग गरेका छौं। ‘पर्यटनमा असर पार्नु भनेको देशको अर्थतन्त्रलाई मार पर्नु हो। लाखौंलाई प्रत्यक्ष अप्रत्यक्ष रोजगारी दिइरहेको पर्यटन उद्योगले वैदेशिक मुद्रा आम्दानी मात्र हैन देशको राजश्वमा पनि ठूलो योगदान दिएको थियो। तर, त्यही क्षेत्रलाई कोरोनाले धर्मराइदिएको छ। व्यसायमा कारोबार नभएपछि व्यवसायीलाई कर्मचारी पाल्नसमेत हम्मेहम्मे भएको छ।

Leave A Comment