...त्यसपछि म रोएँ

आइतबार, ०५ भदौ २०७३, १० : ०५ डिबी खड्का , Kathmandu
...त्यसपछि म रोएँ

सीताराम कट्टेल ‘धुर्मुस’ हँसाउँछन् । यो अवगत गराइरहनुपर्ने कुरा होइन । केही समयअघिसम्म हास्यव्यंग्य प्रस्तुतिले हँसाउँथे, ओठे हाँसो । तर, अचेल भूकम्पले घरबास उजाडेर रुवाएकाहरूको मन हँसाउन सक्रिय छन् । काभ्रेमा नमुना बस्ती बनाएर अहिले सिन्धुपाल्चोकको गिरान्चौरमा छन् । सरकारको पुनर्निर्माण प्रक्रिया सुस्तभन्दा सुस्त हुँदै जाँदा उनको काम उदाहरणीय भएको छ । उनीसँग सहकार्य गर्नेको लाइन पनि बढ्दै छ ।
अरूलाई हँसाउने करिअरमा रहेका उनी आफू भने धेरैपल्ट रोएका छन् । भन्छन्, ‘आँशु लुकाउनै सक्दिनँ । रुँदा डाँको छाडेरै रुन्छु ।’ हास्यकलाकार कट्टेलले यो गाईजात्राका अवसरमा आफूले सुखदुःखमा आँशु बगाएका जीवनका केही घटना सम्झिएका छन्ः

गाउन नसकेपछि
सोलुखुम्बुबाट मेरो परिवार भर्खर झापाको गौरादह बसाइँ सरेको थियो । त्यहीँ चार कक्षामा भर्ना भएको म पाँच कक्षा जाँदा सेकेन्ड भएँ । कक्षाको दोस्रो विद्यार्थी भएकाले मलाई ‘यलो हाउस’को क्याप्टन बनाइयो । एक दिन हाउसबीच गायन प्रतियोगिता भयो । मैले आफ्नो हाउसको अर्कै मान्छे गायन प्रतियोगिताका लागि नाम दिएको थिएँ । मैले नाम पठाएका मान्छे त अर्कै ठाउँ कार्यक्रम हेर्न स्कुलबाट भागिसकेछन् । जब पालो आयो, मेरो हाउसको मान्छे भेटिएन । सरले टोली क्याप्टेनलाई नै गाउन लगाउने कुरा गरे । म लाजले पछाडि बसिरहेको थिएँ, स्टेजमा जानैपर्ने भएपछि गएँ । लाजले सम्बोधन गर्न सकिनँ । एउटा गीत गाउन सुरु मात्रै के गरेको थिएँ, भित्रैदेखि रुन आयो । रुँदै गाउन थालेँ, सरले स्टेजबाट लखेटे । त्यसपछि रुँदैरुँदै घर पुगेँ, त्यो पनि डाँको छाडेर ।
राति घरको रेलिङ चढ्दा
मलाई कलाकारितामा रुचि जाग्न थालिसकेको थियो । घरमा भने छोरो पढिदिए हुन्थ्यो भन्ने चाहना हुने नै भयो । गाउँमा हुने सांस्कृतिक कार्यक्रमका लागि राति रिहर्सल हुन्थ्यो । घरमा भनेर रिहर्सलमा जान  पाइने अवस्था थिएन । त्यसैले सुतिसकेपछि लुसुक्क भाग्थेँ र फर्किदा रेलिङ चढेर आफ्नो कोठामा जान्थेँ । यही क्रममा एक दिन रेलिङ नै भाँचिएर म सँगैको आँगनमा खसेँ । चोट लागेर थोरै रोएँ,  भोलिपल्ट बुबाले गाली गर्छन् भनेर झन् धेरै रोएँ ।


रुँदै आएँ काठमाडौँ
 

कलाकारितामा केही गर्ने रहर जागिसकेको थियो । त्यसैले काठमाडौँ आउने विचार गरेँ । तर, काठमाडौँ पठाएर खर्च धान्ने घरको अवस्था थिएन । बाले रिनधन गरे । जम्मा १७ सय रुपैयाँ भएछ । पैसा थमाइदिँदै योभन्दा बढी जुटाउन सकिनँ भनेर बुबा भावुक हुनुभयो । म पनि रोएँ । आउँदा घरबाट थाहै नदिई तन्ना पनि लिएर हिँडे । आफ्नो परिवारको अवस्था हेरेर बाटाभरि मन भक्कानिरह्यो । काठमाडौँ पुगेकै दिन दुःखद घटना सुनियो । राजा वीरेन्द्रको वंशनाश भएको रहेछ । त्यो उमेरमा राजाप्रति सबैले अर्कै खालको श्रद्धा उब्जाएका थिए । देशकै अभिभावक भनेर हामीलाई भनिएको थियो । मलाई देशकै अभिभावक रहेनन् भनेर काठमाडौँ आएपछि रुन आयो, रोइरहेँ ।
भाँडा बेच्दा कुटाइ खाएपछि
कलाकार हुन काठमाडौँमा अनेक प्रयत्न गर्नुप¥यो । सुरुमै आफूले सोचेको जस्तो कहाँ हुनु ? घरबाट ल्याएको पैसा पनि सकियो । खानेबस्ने जुक्ति कसरी निकाल्ने ? भन्ने कुराले पिरोल्यो । केही समय अर्कैको घरमा बसेर काम गरियो । त्यसपछि काठमाडौँका गल्लीगल्लीमा भाँडा लिएर बेच्न थालियो । भाँडाको भारी बोकेर कराउँदै बेचियो । मैले कराही, मैनबत्ती स्ट्यान्ड, ग्यास सकिन लागेको–नलागेको जाँच्ने यन्त्र बेच्थेँ । एक दिन मैतीदेवीमा भाँडा बेचिरहेको थिएँ । मैले बेचेको भाँडा नक्कली भनेर एकजनाले निहुँ खोज्यो । मैले होइन भनेँ । तर, उसले ‘नक्कली भाँडा बेच्ने ?’ मलाई भक्कुमार कुट्यो । त्यो कुटाइबाट रातभरि ज्वरो आयो । भोलिपल्टदेखि भाँडा बेच्ने काम पनि छाडिदिएँ ।

पसलेको उधारो तिर्न नसकेपछि
कलाकार बन्नका लागि दिनभर संघर्ष ग¥यो । राति कोठामा आएर सुत्यो । खानाका लागि पैसा हुन्थेन । तरकारी किन्दा तेल किन्ने पैसा हुँदैनथ्यो । बन्दासमेत धेरैपल्ट तेल नहाली पकाएर खाइयो । एकपल्ट त अगाडिको पसलको उधारो धेरै नै भइसकेछ । तिर्ने पैसा थिएन । उसले कोठामै आएर किचकिच गर्न थाल्यो । त्यसपछि साथीभाइलाई बोलाएर कोठाको बाहिरबाट ताला लगाइयो । भित्र यसै गरी दुई दिनसम्म बसेँ । त्यो समय कति रोएँ कति ।
नाचघरमा नाम ननिस्किँदा
राष्ट्रिय नाचघरमा अभिनयको प्रशिक्षण फारम भरेको थिएँ । अडिसन लिइयो । मेरो अभिनय अडिसन लिइरहनुभएका अशेष मल्ल, भुवन चन्दलाई साह्रै राम्रो लागेछ बधाई दिनुभयो । मसँगै अडिसन दिन आएका सबैले ‘निकै राम्रो ग¥यौ पक्का छानिन्छौ’ भन्दै बधाई दिए । यसै गरी अडिसन लिइरहनुभएका मदनदास श्रेष्ठले रेडियो नेपालमा जागिर लगाइदिने बाचा गर्नुभयो । म खुशी भएँ । पछि नाचघरले प्रशिक्षण लिन पाउनेहरूको नाम सार्वजनिक ग¥यो, मेरो नाम थिएन । रेडियो नेपालमा जागिरको कुरा पनि त्यसै सकियो । त्यसपछि म धेरै नै रोएँ । एक खालको डिप्रेसनमै गएँ, क्षमता भएर मात्रै केही हुने रहेनछ भनेर जोशजाँगरै हरायो ।
नाटक खेलेको पारिश्रमिक पाउँदा
म एकदमै फ्रस्टेसनमा गइसकेको थिएँ । यही समयमा मोहन निरौला दाइले परिवर्तन नेपालमा बोलाउनुभयो । सडकनाटक खेल्न अफर गर्नुभयो । नाटक खेलियो । नाटक खेलेपछि उहाँले पारिश्रमिक दिनुभयो । त्यो पारिश्रमिक पाउँदा म धेरै रोएको थिएँ । अभिनय देखाएर पहिलोपल्ट पारिश्रमिक पाइएको थियो । त्यसपछि कलाकार खेम शर्मा ‘चतुरे’ले हरेस खानु हुँदन भनेर ढाडस मात्रै दिनुभएन, अनामनगरको अँध्यारो कोठाबाट उद्धार गरेर बबरमहलमा राम्रो कोठा खोजिदिनुभएको दिन रोएँ । जितु नेपाल दाइले आरआर क्याम्पसमा भेट हुँदा गीताञ्जली नामक सिरियलका लागि स्क्रिप्ट लेख्न दिँदा र अभिनय गर्न पाउँदा रोएँ ।

विवाहको दिन श्रीमतीसँगै रोएँ
आफ्नै क्षेत्रको र आफूलाई बुझ्ने कुञ्जना घिमिरे ‘सुन्तली’सँग विवाह गर्दा धेरै नै खुशी थिएँ । हामीले विवाहमा त्यस्तै १५ सयजना जति बोलाएका थियौँ । तर, दर्शक धुर्मुस र सुन्तलीको विवाह भन्दै ओइरिए । हाम्रो विवाहमा मान्छे त आठ हजारभन्दा बढी भए । दर्शकको त्यो मायाममता र विवाहमा देखिएको रौनकले भावुक बनायो । सम्झायो काठमाडौँमा संघर्षका क्रममा खेपेका अनेक दुःख दर्द । त्यसपछि बुढी र म रातभरि रोयौँ । त्यसपछि आफैँले घर बनाएर घरपुर्जा गर्दा र छोरी जन्मेको दिन खुशीले धेरै रोएँ । किनभने, १७ सय रुपैयाँ र तन्ना चोरेर काठमाडौँ पसेको मान्छेलाई काठमाडौँले माया गर्ने श्रीमती, बस्ने घर र छोरी दियो । म पूर्ण भएँ भन्ने लागेर म रोएँ ।
काभ्रेमा ‘बोल्ने भगवान’को संज्ञा दिँदा
भूकम्प आउँदा हामी अमेरिकामा कार्यक्रम गरिरहेका थियौँ । नेपालमा भूकम्प आएपछि सञ्चार माध्यममा ध्वस्त भएका दृश्य मात्रै देख्यौँ । हाम्रो देश त केही रहेन भनेर कुञ्जना र म निकै रोयौँ । नेपाल फर्किएपछि राहतमा जुट्यौँ । तत्कालीन राहतले मात्रै मन बुझेन । हामीले नमुना बस्ती बनाउने अभियान थाल्यौँ । यसअन्तर्गत सुरुमा काभ्रेमा बनायौँ । हामीले बस्ती हस्तान्तरण गर्ने समयमा एकजना बुढी आमैले भन्नुभयो, ‘हामीले नबोल्ने पलाञ्चोक भगवतीलाई कति फूल चढायौँ कति । तर, पनि यस्तो भयो । आज बोल्ने भगवानले घर बनाइदिए ।’ त्यसपछि मैले आँशु थाम्नै सकिनँ । निकै भावुक भएँ लामो समयसम्मै ।

नचिन्नेले जयजयकार गरेपछि
नेपाल सरकारले हाम्रो जोडीलाई सरसफाइ दूत घोषणा गरेपछि हामी  राजमार्ग सरसफाइको अभियानमा जुट्यौँ । यही क्रममा बर्दिबासको मुसहर बस्तीको अवस्थाले हामीलाई निकै छोयो । उनीहरूसँग खानेबस्ने राम्रो अवस्था थिएन । तराई आन्दोलित थियो । हामीले राहत जुटाएर त्यो बस्तीमा पु¥यायौँ । टीभीको पहुँच नभएका उनीहरूले हामीलाई कलाकार ‘धुर्मुस–सुन्तली’ भनेर चिनेकै थिएनन् । हामी बस्ती जाने दिन उनीहरूले जसरी स्वागत गरे । त्यसले हामीलाई निकै भावुक बनायो र हामी रोयौँ ।

Leave A Comment