‘रियालिटी सोमा सबैभन्दा धेरै काण्ड पुरस्कारमा हुने रहेछ’

बिहिबार, ०१ साउन २०७७, १२ : २८ शुक्रवार
‘रियालिटी सोमा सबैभन्दा धेरै काण्ड पुरस्कारमा हुने रहेछ’

सुशील नेपाल विगत २० वर्षदेखि सक्रिय रुपमा टेलिभिजन मिडियामा छन्। फ्रेन्चाइज रियालिटी सो ‘नेपाल आइडल’ र ‘द भ्वाइस’लाई लोकप्रिय बनाएका कारण पछिल्लो समय उनी चर्चामा छन्। अब ‘डान्सिङ विद द स्टार्स’ पनि शुरु हुन लागेको छ। हालै उनी पुरस्कार रकम विवादमा तानिएका छन्। उनै सुशील नेपालसँग शुक्रवारकर्मी पुष्पा थपलियाले गरेको अन्तरंगः

तपाईं त नाइट लाइफमा निकै भिज्नु भएको मान्छे तर कुनै पनि महिलासँगको लफडामा नाम मुछिएको देखिदैन नि ?
मुछिनलाई म बलात्कारीजस्तो देखिन्छु र ? हा हा... तर एक पटक निक्की कार्कीका कारण म निकै तनावमा थिएँ। कतारमा नेपाल आइडलको फिनाले तयारी हुँदै थियो। पहिलोपल्ट नेपालको फ्रेन्चाइज रियालिटी सो कतारमा हुने भएपछि तयारी पनि त्यसै तरिकाले गर्नै प-यो। रातभर एकछिन फुर्सद नलिई काम गरिरहेका थियौं। बिहानीपख मोबाइल हेरेको त पूरा इन्बक्स भरिएको रहेछ। कतिले स्क्रिनसट पठाएका थिए। लेखिएको थियो– सुशील नेपालद्वारा गायिकामाथि दुव्र्यवहार। एकछिन त मेरो दिमाग नै झनन्न भयो। यो खबर आगोझैँ फैलिएपछि त मेरी बूढी रिसाएर बम ! पछि भिडियो हेर्दा त म होइन, अर्कै सुशील नेपाल रहेछ। 

बिना कारण गाली खानुपर्छ है, सेलिब्रिटी भएपछि ?
गालीको त कुरै नगरौँ ! अरुले केही गल्ती गरे भने पनि करोडौं कुम्ल्यायो सुशील नेपालले, रिप लेख्न भ्याइहाल्छन्। म ढोंग पाल्न सक्तिनँ। हु आई एम, द्याट आइ एम (म जो हो, म त्यही हो) लागेपछि ८० प्रतिशत मानिसले मलाई अहिले त्यही रुपमा स्वीकार गर्नुभयो। साले गधा, तँ धर्तीको बोझ होस् भन्नेहरु त अहिले पनि छन्। एकचोटी कोही मन नपरेपछि त्यो मान्छेले राम्रो ग-यो भनेर कहिल्यै नभन्ने रहेछन्। दुःख पाएको मान्छेलाई सहयोग गरेँ भने पनि नक्कल र ढोंगको टिप्पणी गरिहाल्छन्। अब ‘भ्वाइस अफ नेपाल’कै कुरा गर्ने हो भने पनि भिडियो अपलोड गरेको एक सेकेन्ड भएको हुँदैन, सुरुमै डिस्लाइक आइहाल्छ। मान्छेको बानी नै हुनेरहेछ, पहिले डिस्लाइक हान्ने अनि मात्रै हेर्न बस्ने। मान्छेले मरेर एउटा सो बनाएको हुन्छ, कति सजिलै गाली गर्दिन्छन्, डिस्लाइक मार्दिन्छन्। त्यस्ताहरुलाई भेला पारेर, ल एक वर्षमा यत्तिको सो बनाएर देखा भन्न मन लाग्छ कहिलेकाहीँ त।

‘भ्वाइस अफ नेपाल’ले बेलाबेला विभिन्न काण्डहरु पनि मच्चाइरहन्छ नि, कारण के होला ?
रियालिटी सोमा सबैभन्दा धेरै कन्ट्रोभर्सी या काण्ड पुरस्कार रकममा हुने रहेछ। त्यसमा हाम्रो गल्ती नहुँदा पनि मिसअन्डरस्ट्याण्डिङ क्रिएट भएर गाली जति हामीले नै पाउने रहेछौं। चिठ्ठा वा पुरस्कार जे भए पनि नेपाल सरकारले तोकिएको पुरस्कारमा कर तिर्नैपर्ने हुन्छ। नेपालको कानुनअनुसार हरेक पुरस्कारमा २५ प्रतिशतका दरले कर तिर्नुपर्ने हुन्छ। विजेताले जित्ने रकममा २५ प्रतिशत र गाडीमा अर्को २५ प्रतिशत कर तिर्नुपर्छ। यही कुरा बुझाउन नसक्दा विवादहरु आउने रहेछन्। अब गाली त्यसैले खाँदोरहेछ, जो टिभीमा देखिन्छन्।

यस्तै खालको समस्या त ‘नेपाल आइडल’मा पनि देखिएको थियो, अहिले ‘भ्वाइस अफ नेपाल’सम्म पनि जारी छ है ?
अँ, हामीले सम्झौतापत्रमा स्पष्टसँग लेखेका हुन्छौं तर खै कहाँ मिस खान्छ थाहै भएन। ‘नेपाल आइडल’को पालामा बुद्ध लामाले गाडी पाएन भनेर मैले टन्नै गाली खाएको थिएँ। अरु त अरु, म कताकता डुलेर, कहाँ पुगिसकेँ, गाली खाने मान्छे भने म नै छु अहिलेसम्म। त्यहाँ पनि यही पुरस्कारको कर र गाडीको करको कुरा बुझाउन नसक्दा समस्या आएको हो।

भ्वाइसको सेकेन्ड सिजनका उत्कृष्ट चारमा पर्न सफल विकास लिम्बुको काण्ड चाहिँ के हो नि ?
हामीले पहिलो चरणको टुर सक्काएपछि दोस्रो चरणको टुरको तयारी हुँदै थियो। दोस्रो टुरमा हामी ४ जना केटा, ४ जना केटीलाई वल्र्ड टुरमा लैजाने तयारीमा थियौं। त्यसैको तयारीका क्रममा धेरैको म्यासेज आएकाले हाम्रो च्याट गु्रपबाट विकास हटेछन्, एक–दुई चोटी फोन गर्दा व्यस्त भएर मैले उठाउन पाइनँ। यता मिडियामा भ्वाइसले विकासलाई निकाल्यो भन्ने समाचार व्यापक भइसकेछ। कमेन्टमा युके त आइज, युएस त आइज तेरो टाउको फुटाउँछु, सुशील नेपाल चोर, डाँका, फटाहा, बोतलको झटारो खान्छ त्यसले भनेर अनेक गाली आइसकेछ। अर्को कुरा, वल्र्ड टुर हामीले गराउने हैन विदेशस्थित आयोजकले गराउने हुन्। हाम्रो काम भनेको, जसमा ट्यालेन्ट छ उसलाई प्लेटफर्म दिने र पब्लिकमा चिनाइदिने हो। विजेताका लागि केही समयसम्म गाइड गर्ने हो। कार्यक्रममा बोलाउने भनेको पब्लिकले नै हो। विकासको केसमा पनि युके, युएसएतिर उसलाई पब्लिकले बोलाएन, टप १२ मा पनि नपरेकी केटीलाई बोलाइदियो भनेपछि हामीले उहाँलाई कसरी लैजाने ? 

अनि श्रीजय थपलिया र सप्तक दुतराजको कुरा नि ?
रियालिटी सोको कति धेरै प्रक्रिया हुन्छ। उनीहरु त चार महिनामा स्टार बनेका हुन्छन्। जो फेददेखि सुरु गरेर स्टार बन्छ, उसलाई पब्लिकसँग कसरी डिल गर्ने भन्ने थाहा हुन्छ तर जो रातारात स्टार बन्छन्, उनीहरुलाई पाइलैपिच्छे सम्हाल्न जरुरी हुन्छ। त्यही भएर उनीहरुसँग हामीले एक वर्ष काम गर्ने हो। अनि जो कहिल्यै नेपाल छाडेर गएका छैनन्, उनीहरुलाई एम्बेसीले सजिलै भिजा पनि दिँदैन। त्यसैले हामीले भिजाको सजिलोका लागि हाम्रो स्टाफ मानेर सम्झौतापत्रमा साइन गराएका हुन्छौं। उनीहरुको तलब तोकेका हुन्छौं ताकि उनीहरु देश छाडेर नभागून्, फेरि नेपाल फर्किऊन् भन्ने प्रमाण पुगोस् भनेर। कर्मचारी नभए पनि कर्मचारी भन्नुपर्ने, तलब लेख्नुपर्ने जस्ता केही फेक डकुमेन्ट बनाउनुपर्ने हाम्रो बाध्यता हो। यो कुरा उनीहरुलाई सुरुमा भन्दा त हुन्छ दाइ, जसरी पनि विदेश जाने वातावरण बनाइदिनु प-यो भन्छन् तर जब काम सकिन्छ अनि यस्तै कुरा बाहिर आउँछ।

भ्वाइसका पहिलो विजेता सिडी विजय अधिकारीले पनि लामो स्टाटस लेखेका थिए नि ?
त्यसमा चैं हाम्रो पनि अलि कमजोरी छ। सुरुमा उसले, दाइ गाडी पछि दिए पनि हुन्छ भनेको थियो, पछिपछि हुँदाहुँदै ऋणमा परियो तर २५ लाखको पुरस्कार भने दिइसकेको हो।

उहाँले त त्यसको पुरा रकम दिएको छैन, झुटो नबोल्नू भन्दै हुनुहुन्थ्यो त ?
त्यही हो। उहाँलाई मैले पुरै पैसा दिएको हो तर २५ प्रतिशत ट्याक्स काटेर पायो अनि यस्तो कुरा आयो। मैले फोनमा कुरा गरिसकेँ र उनलाई गाडीको पैसा चुक्ता गर्छु पनि भनेको छु। अझै पनि भन्छु– केही समय दिनुस्, सुशील नेपाल कसैको पैसा खाएर भाग्दैन।

अनि भ्वाइसको सिजन एकमा काम गर्ने आइटी हेड तथा सहायक निर्देशक फिरोज तिमल्सिनाको चित्त पनि बुझाउन सक्नुभएन नि ?
हो, उहाँको पनि भ्वाइसलाई नेपाल ल्याउनमा ठूलो हात छ तर आफू पनि राम्रो काम नगर्ने अनि पैसाको डिमाण्ड पनि धेरै राख्ने भएपछि त म कम पैसामा राम्रो काम गर्ने मान्छे खोज्छु नि ! पहिलो सिजनबाट तीन करोड घाटा भइरहेका बेला, उहाँले हामीसँग सेयर मागिदिनुभयो अनि सहमतिमै हामी छुट्टिएको हो तर उहाँ मैले गर्दा भ्वाइस नेपाल आयो, अहिले मलाई नै निकाल्यो भन्दै हिँड्नुहुन्छ। 

राम्रा प्रतियोगी शुरुमै निकालिँदा रियालिटी सोले प्रतिभा चिनेन भनेर पनि आलोचना गरे नि ?
त्यै त ! हेर्नुस्, सबै रियालिटी सोको फरक नियम हुन्छ। अब हामीले नेपाल आइडललाई नै हेर्ने हो भने, कति धेरै ब्लाइन्ड प्रतियोगीहरु आइरहेका थिए र छन्। हामीले हेर्ने भनेको कमसेकम सबैलाई पब्लिकले माया गर्न नसके पनि एउटालाई त गरोस् भन्ने हो। यसमा गेम खेलेको जस्तो हुन्छ। जस्तो झुप्री भण्डारीको कुरा गरौं। झुप्रीलाई हामीले यहीँ राखेका थियौं। उनलाई केही थाहा थिएन। गाडी पहिलोपल्ट चढेको मान्छेलाई रियालिटी सो भनेको के हो, थाहा पाउने कुरा पनि भएन। हामीले पब्लिकको अगाडि ल्याइदियौं। झुप्री यहाँ आउँदा, जतिखेरै मर्न पाए हुन्थ्यो भन्नेजस्तो कुरा गर्थिन् तर हामीले उनलाई कहिल्यै एक्लो हुन दिएनौं। सबै मिलेर सस्तो फोन किनेर झुप्रीलाई दियौं र फेसबुक पेजमार्फत उनलाई सहयोग गर्छु भन्नेहरुका लागि नम्बर उपलब्ध गराइदियौं। त्यसपछि झुप्रीको त २४ सै घण्टा फोन व्यस्त। अनि मात्रै उनलाई रियलाइज भयो कि, भ्वाइस त साँच्चै ठूलो प्लेटफर्म रहेछ। यहाँबाट निस्कँदा पनि उसले यही कुरा भनेकी थिइन्। कहिल्यै १० हजार नसमाएको उसको बाउ, लाखौं समाउँदाको क्षण कस्तो भयो होला ! त्यसैले रियालिटी सोहरुले पब्लिकको आँखामा प्रतिभा पारिदिने हो, बाँकी पब्लिक र अडियन्सको क्षमताले खाने हो।

नेपाल आइडल सम्हालिरहेको मान्छे, एकाएक भ्वाइस ल्याउनुको कारण ?
मेरो पहिलेदेखिकै सोच केही नयाँ गरौँ भन्ने थियो। धेरै ठाउँमा लगानी गरे पनि स्टुडियो बनाउने रहर मनबाट कहिल्यै गएन। मनमा रहर पनि भएको अनि लगानीका लागि पार्टनर पनि पाएको बेलामा सात करोड मेरो तर्फबाट र पार्टनरको तर्फबाट त्यत्ति नै हालेर हामीले स्टुडियो तयार पा-यौँ। पहिलो सिजनका लागि मात्रै साढे सात करोड खर्च भएकोमा तीन करोड त घाटा नै लाग्यो। ह्याँ मान्छेहरु तीन लाख ऋण हुँदा आत्महत्या गर्छन्, मेरो त त्यत्रो ऋण छ र पनि हाँसेर बाँचेको छु। अहिले यो महामारी नभएको भए, रेन्टहरुले पनि केही राहत दिन्थ्यो होला तर कोरोनाले काउन्टर हानिदियो। के गर्नु ? अरु नै व्यवसाय गरेर डुबेको भए पैसा पनि जान्थ्यो, नाम पनि हुन्थेन, यहाँ त नाम भए पनि छ भनेर चित्त बुझाउनुप-यो। अब नयाँ सो डान्सिङ विथ स्टार नेपाल नामको रियालिटी सोको तयारी पनि हुँदैछ। हेरौं, के हुन्छ !

तपाईंले त मिडियामा मात्रै काम गरेको पनि दुई दशक बढी भयो है ?
अनि त। १८ वर्षमा बिहे गरेपछि, अब श्रीमती पाल्नुपर्छ भन्ने सोचेर मिडियामा काम गर्न सुरु गरेको मान्छे हो म। नेपाली टेलिभिजनको इतिहासमा सबैभन्दा पहिले फोनमा कार्यक्रम चलाउने मान्छे पनि मै हुँ। होस्ट बनिनँ कि रेडियोको स्टेसन म्यानेजर बनिनँ कि, टेलिभिजनमा रियालिटी सो होस्ट गरिनँ कि के मात्र गरिनँ ! फिल्म चैं खेलिन है तर दुई ओटाजति म्युजिक भिडियोमा भने म जे हो त्यही देखिएर आएको छु किनभने मलाई अभिनय गर्न आउँदैन।

सानै उमेरमा बिहे गर्नेको त सम्बन्ध विच्छेदका घटना बढी हुन्छन् नि ? 
स्कुलका साथीहरुले धमाधम केटी भगाउने ट्रेन्ड चलेका बेला मैले पनि भगाएँ। त्यो बेलाका ८० प्रतिशत साथीहरुको घरबार राम्रोसँग चलिरहेको छ। सुरुसुरुमा त हामी बूढाबूढीको पनि फाइट पथ्र्यो। डिभोर्स भन्ने शब्द त त्यो बेलामा कति निस्क्यो कति ! रातरातभर पार्टी गरेपछि विचरा उसले पनि शंका गर्न त पाउनुप-यो नि ! मैले पनि जसको शंकाका कारण घरमा झगडा भइरहेको हुन्छ नि, उसैलाई घर बोलाइदिने गरेँ। अहिले मेरा केटा  साथी भन्दा केटी साथी धेरै छन्। सबैलाई घरमै बोलाएर पार्टी दिन्छु। केटीसँग बसिरहेका बेला अकस्मात बूढी आउँदा मेरो अनुहार रातोपिरो हुने या डराउने भए पो शंका गर्नु ? हुँदा पनि उस्तै व्यवहार, नहुँदा पनि उस्तै व्यवहार भएपछि केको शंका गर्नु। नबिराउनु, नडराउनु हैन र ?

Leave A Comment