भद्रकालीमा समता कला कार्यशाला

शुक्रबार, ०७ जेठ २०७३, ०३ : ०६
भद्रकालीमा समता कला कार्यशाला

कलाकारलाई प्रवद्र्धन गर्न पोखरेली युवा सांस्कृतिक परिवारले प्रत्येक तीन÷तीन महिनाको तेस्रो शनिवार समता कला कार्यशाला आयोजना गर्छ । जुन कार्यशालामा कलाकारले तत्स्थानमै पोखरा चिनाउने विभिन्न चित्र बनाउँछन् । पोखराको प्रसिद्ध मन्दिर भद्रकाली परिसरमा शनिवार आयोजना गरिएको समता कला कार्यशालाको ५१ औँ शृंखलामा पनि कलाकारले थुप्रै चित्र बनाए । कलाकारले चित्र बनाउँदै गरेको अवलोकन गर्न पुगेका कार्यशालाका प्रमुख अतिथि वरिष्ठ कलाकार दुर्गा बरालले हतारमा काम गर्दा कला बिग्रन सक्ने भएकाले यसका लागि धैर्य रहनुपर्ने सुनाए ।

कलाकार गोपाल श्रेष्ठले कलाको विकास गर्न आफ्नै हातलाई क्रियाशील र सिर्जनशील बनाउनुपर्ने बताए । कला कार्यशालामा मिलन शेरचन, पदम घले, विश्वराज पराजुली, मनोज तामाङ, थमनसिंह सुनार, सुजन गुरुङ, देवेन्द्र गुरुङ, गोपाल दरै, एलिता गुरुङ, हलबहादुर गुरुङलगायत कलाकारले पानी रङ, होनानो ओसिआना र एक्रेलिक माध्यमको प्रयोग गरी प्रकृति र जीवन जगतलाई  कलामा उतारेको परिवारका अध्यक्ष सुरेश रानाभाटले जानकारी दिए ।

 

Leave A Comment