यान्डममा ‘जुनेली’

शुक्रबार, ०७ जेठ २०७३, ०३ : १२
यान्डममा ‘जुनेली’

यान्डम रिडर्स सोसाइटी अफ नेपालको मासिक पुस्तक परिचर्चा कार्यक्रमको ६२ औँ शृंखलामा ब्रजेशको उपन्यास ‘जुनेली’को परिचर्चा गरिएको छ । शनिवार भएको परिचर्चा कार्यक्रममा साहित्यकार अमृत सुवेदीले ‘यायावर’की पात्र जुनेलीलाई न्याय दिलाउन भन्दै लेखेको उपन्यासले नेपाली नारीको पीडालाई प्रस्तुत गर्न सफल भएको सुनाए । यौन मनोविज्ञानलाई मूल रूपमा उठाइए पनि समाजका अन्य मनोविज्ञानलाई समेत उपन्यासले समेटेको सुवेदीले बताए । उपन्यासकार ब्रजेशले कुनै कुरालाई हेर्ने व्यक्तिपिच्छे फरक दृष्टिकोण हुने भएकाले आफ्नो उपन्यासमा केही कमजोरी भए पनि तिनलाई पन्छाएर पढिदिए कृतिमाथि न्याय हुने धारणा राखे । अश्लील शब्दको प्रयोग गरेको भन्ने आरोपको खण्डन गर्दै उनले केही पात्रले बोल्ने भाषालाई यथार्थ रूपमा उतारेको दाबी गरे ।

प्रकाशक बुक हिल पब्लिकेसनका सञ्चालक तथा साहित्यकार भूपेन्द्र खड्काले जुलेनीले मन खाएकाले छापेको बताए । सोसाइटीका उपाध्यक्ष केशवशरण लामिछानेले वैशाख महिनाको अन्तिम शनिवार अनिल पौडेलको संस्मरणात्मक कृति ‘अतीतका बिस्कुन’माथि डा. भीम खतिवडाले चर्चा गर्ने जानकारी दिए । बहसमा अजय अनमोल, मोती भुजेल, राजकुमार ढकाल, उदिपराज ढुंगाना, सुरज उपाध्याय, सौगात पोखरेल, खिम लामिछाने लगायतले टिप्पणी गरेका थिए ।

 

Leave A Comment