फाइलमा फुली ठोक्दै जुग बित्यो

शनिबार, ११ भदौ २०७३, ११ : ४९ अम्मर जिसी , Kathmandu
फाइलमा फुली ठोक्दै जुग बित्यो

काठमाडौँ, ओमबहालस्थित एउटा पुरानो घरको भुइँतलामा रामलाल श्रेष्ठ (६६) डीएभी कलेज अंकित पहेँलो रङका फाइलहरूमा पहेँलै फुली ठोक्दैछन् । कुर्तासुरुवाल र ढाका टोपी पहिरिएका उनले गोजीमा नीलो रङको कलम सिउँरिएका छन् । ठेलीका ठेली फाइल तयार पारेर केही दिनभित्रै दिनुछ उनलाई । बिहानदेखि बेलुकैसम्म उनी फाइलमा फुली ठोकिरहेका हुन्छन् । उनको यो व्यस्तता सधँै हुँदैन । ‘सधँै यति काम आउने भए के दुःख थियो र ?’ फाट्टफुट्ट मात्र आउने कामले सटरको भाडा तिर्न र आफ्नै खर्च चलाउन ठिक्क हुने उनले सुनाए । मकवानपुर, पालुङको आलु व्यापार चटक्क छाडेर २०२९ सालमा राजधानी छिरेका रामलाल २०३३ देखि फाइलमा फुली ठोक्ने काम गरेर थाकेकै छैनन् ।
यहाँ आउनुअघि उनी आफ्नै बारीको आलु मात्र बेच्थेनन् । गाउँलेहरूले फलाएको आलु खरिद गरेर हेटौडातिर लगेर बेच्थे । भाउ धार्नीको पाँच÷सात मोरसम्म थियो । ‘धन्दाबाट फाइदा नभएपछि अरू काम खोज्न थालियो,’ उनले भने । त्यसपछि राजधानी छिरेका उनी सुरुमा घर निर्माणको काममा जोडिए । यो काममा पनि बेसी सास्ती झेल्नु परेपछि विकल्प खोज्न थाले । विभिन्न आकारप्रकारका खाम बनाउने, कलर गर्ने र फाइलमा फुली ठोक्ने कामसँग पहिल्यै परिचित उनी यही काम गरेर जीविका चलाउन थाले । नेपाली कागजबाट बन्ने खाम र फाइलको माग उतिबेला असाध्यै थियो ।
यो कामबाट दिनमा पाँचदेखि सात रुपैयाँ कमाउन थाले । काम बढ्दै गयो । सरकारी, गैरसरकारी र निजी कार्यालयहरूसँग सम्बन्ध बन्यो । यसै मौकामा राजधानीको बाफलमा जग्गा किन्न सके उनले । २८ हजारमा तीन आना । बाफलमा घर बनाएर बस्ने योजनाले फेल खायो । कारण, जताततै जंगल र सुनसान वातावरणका कारण दिउँसै लुटिने डर । ‘एउटा घडी लाएकै भरमा ज्यान जाने जमाना थियो । त्यो जग्गा बेचेर सुन्धाराको पछाडि भीमसेनथानमा किनेँ,’ उनले सुनाए, ‘ससानो घर पनि बनाएँ ।’
धेरैखाले जमाना अनुभूत गर्न पाएको अनुभव उनीसँग छ । ‘उतिबेलाको चारैतिर जंगल र सुनसान राजधानी खुट्टा टेक्ने ठाउँ नमिल्ने यो अवस्थामा पुगिसक्यो,’ रामलालले अनुभव साटे, ‘जमाना एकदम चाँडो फेरियो । जमानाअनुसार आफू फेरिन सकिएन ।’ ३३ सालतिर एक हजार खाम २ रुपैयाँ ५० पैसामा बनाउँथे । अहिले त्यही गुणस्तरको त्यति नै खाम छ सय रुपैयाँ पुगिसक्यो । फाइदा भने छैन भन्छन् उनी । किन ? ‘उतिबेला कामको च्यापाच्याप हुन्थ्यो,’ उनले कारण खुलाए, ‘अहिले भाउ बढेर के गर्नु ? कामै आउँदैन ।’ उतिबेला देशभरिबाट हाते कागज खरिद गर्थे उनी । अचेल हाते कागजको चलन सुकेको बताउँदै उनले हाते कागजलाई फोहोर ठान्ने अचेलको पुस्ता देखेर छक्क पर्ने गरेको बताए ।
भित्तामा ऐतिहासिक भन्न मिल्ने खालको रेडियो झुन्डाएका छन् । एरियल तानिएको सुईवाला त्यो रेडियोमा लेखिएको थियो, १० ब्यान्ड, टीभी रिसिभर । ‘२० वर्ष जति भयो यो रेडियो किनेको,’ रेडियोमा टीभी सुन्ने जमानाका रामलाल आफू जमानाअनुसार चल्न नसक्नुका कारण पनि बताउँछन्, ‘पढाइलेखाइ । यही पढाइलेखाइकै कारण मान्छेले समयको गतिलाई पछ्याउन सक्दो रहेछ ।’ दुई कक्षासम्म पढेको बताउने उनी क, ख मात्र कोर्न सक्ने बताउँछन् । उनले गरिरहेको कामले पनि समयलाई पछ्याउन सकेन भन्ने उनको बुझाइ छ । ‘अचेल त यो काम अरूले मेसिनले गर्छन्,’ उनले भने, ‘आफूले त कसरी चलाउन सक्नु मेसिन ? सब काम हातैले गर्छु ।’ अचेल मोबाइलमा फोन आउँदा उठाउन सक्ने भएकोमा खुशी छन् उनी । जमाना ‘डिजिटल’ भइसकेको केही चाल पाउनुभा’छ ? ‘खै केके डिजिटल हो कि डिगिटल भन्छन्,’ उनले भने, ‘अचेल त रेडियो पनि त्यस्तै आ’छ रे !’ 

Leave A Comment