बदलिँदो दर

शुक्रबार, १७ भदौ २०७३, ०२ : १२ मनोज घर्तीमगर , Kathmandu
बदलिँदो दर

रातो सारी, हातमा रातो चुरा र निधारमा रातो टीका । गहनाले झकिझकाउ भएका महिला आजभोलि बाटोमा ओहोरदोहोर गर्दै देखिन्छन् । तीज आउन केही समयअघिदेखि नै दर खान हिँडेका महिला यस्तै रूपमा भेटिन्छन् आजभोेलि । पोखराका धेरैजसो पार्टी प्यालेसमा अहिले तीजकै कार्यक्रम हुन्छन् । तीज मनाउने तरिकाले मात्र होइन अहिले दरको स्वरूप पनि फेरिएको छ ।
तीजमा दिदीबहिनीहरू जम्मा भएर वर्ष दिनका दुःखपीडा बिर्सेर रमाइलो गर्ने परम्परा पुरानै हो । तर, आजभोलि त्यो अवस्था रहेन । तीजको अवसर भन्दै दिनहुँ होटल तथा पार्टी प्यालेसमा भोज खाने, नाचगान गर्ने र तीज प्रतियोगिता आयोजना गर्ने चलन बढ्दै गएको छ । तीजका नाममा कार्यक्रम गर्ने होडबाजीजस्तै देखिन्छ पोखरामा । तीजमा पसेको आधुनिकताले चौतारीमा रमाउने महिलालाई पार्टी प्यालेसतिर धकेलेको छ । हुने खानेलाई पाँचतारे होटलमा छिराएको छ । पोखराका तारे होटल, सामान्य होटलदेखि पार्टी प्यालेस अनि सभाहल भदौ सुरुदेखि ऋषि पञ्चमीसम्मलाई तीजका कार्यक्रमले बुक भइसकेका छन् । चाउथेस्थित होटल रोयल पामका म्यानेजर शोभित ठकुरीले पहिलाको तुलनामा यो वर्ष होटल बुकिङ बढेको बताए । ‘हाम्रोमा अघिल्लो वर्षभन्दा यस पटक बुकिङ बढी छन्,’ उनले भने, ‘भदौ ७ देखि १८ गतेसम्मै बुक छ होटल ।’
दर खाने नाममा विभिन्न संस्था, समूह र व्यक्ति मिलेर एक हजार रुपैयाँदेखि दुई हजारसम्मका टिकट बिक्री गरिरहेका छन् । तीज केहीका लागि कमाउने अवसर बनेको छ । दर खाने नाममा विभिन्न संस्था र समूहले टिकट बेच्ने गरेका छन् । किन्नेहरू पनि प्रशस्तै भेटिन्छन् यहाँ । ‘अहिलेसम्म तीज कार्यक्रमका लागि सातवटा टिकट किनिसकेँ,’ ग्यालरी फेसन हाउसकी सञ्चालक शान्ति श्रीषले भनिन्, ‘साथीहरूले पार्टी प्यालेसमा तीज पार्टी गर्छन् । टिकट नलिउँ भने गाह्रो हुने । सहभागी नभए पनि टिकट लिएको छु ।’
तीज मनाउने तरिकामा विकृति आएको बताउँछिन् समाजशास्त्री शान्ति भुसाल । ‘तीज संस्कृतिमा विकृति आएको छ । आजभोलि तीज मनाउने तरिका भड्किलो भएको छ,’ उनले भनिन् ।
‘छोरीचेलीलाई माइतीमा बोलाएर तीजको अघिल्लो दिन दर खुवाउने नेपाली परम्परा हो,’ भुसालले थपिन्, ‘तर, आजभोलि त तीजमा जे खान्छन् त्यसलाई दर बनाएका छन् ।’ तीज अगावै हुने विभिन्न खालका कार्यक्रमले दरलाई व्यावसायिक बनाएको भुसालको भनाइ छ ।
प्राज्ञ हरिदेवी कोइरालाले तीजमा दर खुवाउने संस्कार राम्रो भए पनि महिनादिन अघिदेखि नै दर खुवाउनु गलत भएको बताइन् । ‘तीजको अघिल्लो रात व्रत बसेर दही, केरा, गेडागुडीलगायत खानेकुरा खानु दर हो । तर, अहिले त दरका नाममा ठूलठूला होटलमा पुगेर दिदीबहिनी मासुभात खान्छन् र त्यसलाई नै दर भन्छन्,’ उनले भनिन् ।
पार्टी प्यालेस र होटेलमा दर ख्वाउँदा खाना पकाउने झन्झट र थकानबाट मुक्ति पाइने भएकाले पार्टी प्यालेस वा होटलमा दर खानु÷खुवाउनु रोजाइमा पर्न थालेको तीज कार्यक्रमका आयोजकहरूको भनाइ छ ।

प्रशासनले ५० जनाभन्दा बढी जम्मा भएर तीज मनाउने संस्था र व्यक्तिलाई कारबाही गर्ने सूचना निकाले पनि पोखरामा त्यसको उल्लंघन भइरहेको छ । तर, प्रशासनले अहिलेसम्म कुनै समूहलाई कारबाही गरेको छैन ।

Leave A Comment