‘आँट्यो भने नहुने केही छैन’

बुधबार, २२ भदौ २०७३, १० : ५५ शुक्रवार , Kathmandu
‘आँट्यो भने नहुने केही छैन’

गुरुजीहरूका तीज
‘यसपालि दुःखमा छु’
तुलसा थापा
बा. १ ह ४८७२

गुरुजीको घर र माइती कता प¥यो ?
घर पनि झापा । माइतीघर पनि झापा ।
गुरुजी बनेको कति भयो ?
पाँच वर्षजति ।
ठूलो गाडी पनि चलाउन सक्नुहुन्छ ?
सक्छु । अब ठूलो गाडीको ड्राइभर बन्ने सपना छ । तालिम लिइरहेकी छु ।
गाडी आफ्नै हो ?
आफ्नै हो । किस्ताबन्दीमा छ ।
कति कमाइ हुन्छ ?
एक ट्रिपमा ४ सय १० रुपैयाँ उठ्छ ।
यो लाइनमा ज्यादा दुःख केमा छ ?
ट्राफिकले दुःख दिन्छन् । अरू, त सुखदुःख चलिरहेकै छ ।
तीजमा रमाइलो गर्ने योजना होला ?
दसैँभन्दा रमाइलो लाग्छ तीज । तर, के गर्नु ! यसपालि दुःखमा छु । श्रीमान् बितेको छ महिना भयो । तैपनि, दिदीको घरमा गएर हल्काफुल्का तीज मनाउने हो ।
यो आम्दानीले घरखर्च टरेको छ त ?
पुगेकै छ । छोराछोरीलाई पढाएकै छु । जिन्दगी भनेकै यही रहेछ, गाह्रोसाह्रो सहदै, हास्दैरुँदै कटाउनुपर्ने रहेछ ।
गीत सुन्न रुचाउनुहुन्छ ?
मन भुलाउन गीत असाध्यै सुन्छु । नाच्न पनि रमाइलो लाग्छ ।
कसले गाएका गीत बढी मन पर्छ ?
अञ्जु पन्तका गीत मन पर्छन् । कोमल वली मन पर्ने गायिका हुन् ।
तपाईंजस्तै परिश्रम गर्न चाहेका । तर, आँट्न नसकेको दिदीबहिनीलाई केही भन्नुहुन्छ ?
अब महिलाहरू अर्काको भर नपरौँ । आफ्नै परिश्रमले बाँच्न सक्नु ठूलो कुरा रहेछ । काम गरेर खानलाई कसैले रोक्न सक्दैन ।  

‘रमाइलो गर्ने फुर्सदै छैन’
तारा श्रेष्ठ
बा. १ ह ४१२८
गाडी चलाउन थालेको कति भयो ?
छ वर्षजति  ।
यसअघि के गर्नुहुन्थ्यो ?
होटल चलाएकी थिएँ । घाटा भएर यता लागेँ ।
यता फाइदा छ त ?
ठीकै छ । खर्च कटाएर दिनमा दुई हजार–२५ सय बचाउँछु ।
गाडी आफ्नै भएर धेरै बचेको होला ?
हो । आफूले कमाएको पैसा र ऋण गरेर गाडी आफ्नै बनाइयो ।
महिला गुरुजीलाई अरूले हेर्ने नजर कस्तो पाउनुभयो ?
धेरैले राम्रो नजरले हेर्नुहुन्छ । हौसला दिनुहुन्छ । खुशी लाग्छ ।
श्रीमान् के गर्नुहुन्छ ?
उहाँको सरकारी जागिर छ । उहाँले नै हौस्याएर म गुरुजी बनेकी हुँ ।
तीज पर्व कस्तो लाग्छ ?
हामी नेवारहरू खासै तीज मनाउँदैनौँ । तर, अरू दिदीबहिनीले रमाइलो गरेको देख्दा मन रमाउँछ । मलाई त रमाइलो गर्ने फुर्सद पनि छैन ।
फुर्सदमा के गरिन्छ ?
यसै खाली बस्न मन पर्दैन । केही नकेही काम गरिराख्छु ।
 

‘आँट्यो भने नहुने केही छैन’
सविता मगर
बा. १ ह ४८७३

गाडी चलाउन थालेको कति भयो ?
डेढ वर्ष भयो ।
कसरी यता लागियो ?
चिनजान र आफ्नो इच्छाले लागियो ।
बिहे गर्नुभयो ?
गरिसकेँ । उहाँ पनि टेम्पो नै चलाउनुहुन्छ ।
तीजमा व्रत बस्नुहुन्छ ?
बस्छु ।
अबको सपना के छ ?
ठूलो गाडी चलाउने सपना छ ।
तपाईंले टेम्पो चलाउँदा कुरा काट्नेहरू पनि होलान् नि ?
धेरै छन् । जोजो जेजे भनुन्, आफ्नो काम गर्ने हो । आफू गलत नभएपछि जसले जे भने पनि के मतलब !
गाडी आफ्नै हो ?
भर्खर लिएकी हँु । साढे १२ लाख तिरियो । बाँकी किस्ता तिर्ने हो । पास गर्दै छु ।
कमाइ कति हुन्छ ?
साहुको गाडी चलाउँदा दिनमा तीनचार सय कमाउँथेँ । आफ्नो गाडी भर्खर लिएको हुनाले यति नै भन्न सक्दिनँ ।
तीजको दिन व्रत बस्दा पनि गाडी चलाउनुहुन्छ ?
चलाउँछु । एक दिन राख्यो भने भोलिपल्टको टिप घट्छ । ब्याट्री पनि बिग्रिन्छ । त्यही भएर हरेक दिन चलाइन्छ ।
नाचगान मन पर्छ ?
आफू त जान्दिनँ । अरूको हेर्न रमाइलो लाग्छ ।
राष्ट्रपति को हुनुहुन्छ ? थाहा छ ?  
थाहै छैन ।
विद्यादेवी भण्डारी राष्ट्रपति भएको थाहा पाउनुभएन ?
यय, महिलाहरू पनि धेरै माथिमाथि गए भन्ने त सुनेकी हुँ ।
अरू दिदीबहिनीलाई केही भन्न चाहनुहुन्छ ?
महिलाले आँट्यो भने नहुने केही छैन भन्न चाहन्छु ।

 

‘विदेशमा भन्दा यहीँ कमाइ राम्रो’    
कान्ति तामाङ
बा. १ ह ३६८८

गुरुजीको घर कहाँ हो ?
सिन्धुपाल्चोक, ठूलोपाखर ।
भूकम्प पीडितलाई सरकारले दिइरहेको घर बनाउने पैसा लिनुभयो ?
लिएका छैनौँ । दिने त भन्छन् । दिए भने नयाँ घर बनाउनुपर्ला ।
कहिलेदेखि गाडी चलाउँदै हुनुहुन्छ ?
२०६३ सालदेखि चलाउँदै छु । बीचमा तीन वर्ष जति विदेशमा बसियो ।  
कुन देशमा ?
जोर्डन ।
के काम गर्नुहुन्थ्यो ?
गार्मेन्ट उद्योगमा काम गर्थें । दिनभरि उभिएरै काम गर्नुपथ्र्यो । गाह्रो थियो ।
कति कमाउनुहुन्थ्यो ?
महिनामा १६–१७ हजार तलब थियो । दुःख धेरै गर्नुपथ्र्यो ।
यहाँ कति कमाउनुहुन्छ ?
विदेशमा भन्दा धेरै यतै कमाउँछु । दिनमा कम्तिमा हजार जोगिन्छ ।
विदेशदेखि चेत्नुभयो जस्तो छ ?
हो । अरूले यतिउति कमाए भनेको सुनेर लहलहैमा विदेशको सपना देखियो । भोगेपछि थाहा पाइयो ।
गाडी आफ्नै हो ?
साहुको हो । दसैँसम्म आफ्नै लिने सोच छ ।
साहुहरूले महिला गुरुजीहरूलाई हेर्ने नजर कस्तो हुन्छ ?
पुरुषहरू फट्याईं गर्छन् भन्ने सोच्छन् । महिलालाई बढी विश्वास गर्छन् ।
पुरुष गुरुजीहरूले चाहिँ ?
केही त खत्तम हुन्छन् । बेस्सरी कुदाएर पेल्न खोज्छन् ।
तीजमा नाचगान गर्नुहुन्छ ?
नाच्न त के भन्नु उफ्रन आउँछ । अरूको नाचगान रमाइलो लाग्छ । नाचगानभन्दा त फिल्म हेर्न रमाइलो लाग्छ ।
कस्ता फिल्म ?
हलमा गएर नेपाली फिल्म हेर्न खूब मन लाग्छ ।
सबभन्दा मन परेको फिल्म कुन हो ?
‘अजम्बरी नाता’ धेरै मन प¥यो । तीनचार पटक हेरियो । अचेलका नयाँ पनि राम्रै हुन्छन् ।

प्रस्तुतिः अम्मर

 

Leave A Comment