‘सिरियल’ आक्रमणकारी पक्राउ

शनिबार, २५ भदौ २०७३, ११ : ०९ मनोज घर्तीमगर , Kathmandu
‘सिरियल’ आक्रमणकारी पक्राउ

बलिउड निर्देशक अनुराग कश्यपले एउटा फिल्म बनाए– ‘रमण राघव’ । जसमा अभिनेता नवाजुद्दीन सिद्दीकीले अभिनय गरेका छन् । फिल्ममा नवाज एउटा साइकोप्याथ सिरियल किलरको भूमिकामा देखिएका छन् । निर्देशकले फिल्म सत्य घटनामा आधारित भएको बताएका छन् । तर, फिल्म हेर्दा यो घटना सत्य भएकोमा धेरैलाई पत्यार नलाग्ला ।
सन् १९६० को मध्यतिर मुम्बईमा रमण नामका एक सिरियल किलर थिए । उनले ४१ जनाको हत्या गरेका थिए । त्यही रमणको कथामा आधारित भएर बनाइएको फिल्म फिल्म हो, ‘रमण राघव’ । फिल्ममा रमणलाई यस्तो मनोरोगीको रूपमा देखाइएको छ, जसले विनाकारण मान्छे मार्छ । यस्तै चरित्रको व्यक्तिलाई वडा प्रहरी कार्यालय बैदामको टोलीले केही दिनअघि पक्राउ गरेको छ । जसको नाम हो, अखिलेश झा । अखिलेशको महिलामाथि आक्रमण गर्ने सिलसिला झन्डै आठ महिनाअघिबाट सुरु भएको थियो ।
गत वर्ष पुस ७ गते राति नागढुंगाकी १८ वर्षीया एक युवतीमाथि एक्लै हिँडिरहेको बेला पछाडिबाट प्रहार भएको थियो । पोखरा–८ इन्द्रपुरी सडकछेउमा बेहोश भेटिएकी ती युवतीलाई प्रहरीको पृथ्वीचोकस्थित सीआरभी टोलीले उद्धार ग¥यो । इन्द्रपुरीको घटना नसेलाउँदै माघ १६ गते त्यस्तै प्रकृतिको घटना दोहोरियो । मोरङ घर भएकी सरस्वती लिम्बूको शव मालेपाटनस्थित एक घरको कम्पाउन्डभित्र फेला प¥यो । घटनाले वडा प्रहरी कार्यालयलाई मात्र होइन कास्की प्रहरीलाई समेत झस्कायो । घटनाको परिणाम फरक भए पनि प्रकृति उस्तै भएकाले प्रहरीलाई अनुसन्धानमा अझ धेरै खटिनुपर्ने भयो । अनुसन्धानमै रहेको प्रहरीलाई एकपछि अर्को घटनाले चुनौती थपिँदै गयो । फागुनमा मात्र चार महिलामाथि रातिको समयमा पछाडिबाट धारिलो हतियारले प्रहार गरेको विवरण कास्की प्रहरीमा आयो । रातिमा भएका यस्ता घटना बैदाम प्रहरीको टाउको दुखाइको विषय बन्यो । यस्ता घटना क्रम रोकिएनन् ।
वडा प्रहरी कार्यालय बैदाममा इन्स्पेक्टर वीरेन्द्र गोदारको ठाउँमा मोहनमणि अधिकारी आए । पुराना घटनाको अनुसन्धान पनि पूरा गर्ने जिम्मा इन्स्पेक्टर अधिकारीको काँधमा थियो । वैशाख १७ गते पोखरा–१७ बिरौटा शिशु निकेतन गल्लीमा २८ वर्षीया महिलामाथि त्यही प्रकृतिको आक्रमण भयो । उनले प्रहरीमा उजुरी दिइन् । यसअघिका घटनामा शंका गर्ने कुनै आधार नभए पनि । यसपालि चाहिँ पीडित महिलाले प्रहरीलाई अनुसन्धान गर्न सजिलो हुने केही आधार दिइन् । ‘ती महिलाले आफूमाथि आक्रमण गर्नेले कालो रङको बाइक चढेको र एउटा अंक ५ भएको हामीलाई जानकारी दिइन्,’ इन्सपेक्टर मोहनमणि अधिकारीले भने, ‘यस्तो आक्रमण गर्ने व्यक्ति एउटै हुनुपर्छ भन्ने लाग्यो ।’
भारत मध्यप्रदेश शिवपुरी जिल्ला घर भएका, ३१ वर्षीय अखिलेशले गौरीघाटमा हस्तकलाको पसल गर्थे । उनको अपाचे बाइक ग६प ५२१० नम्बरको थियो । सबै घटना बैदाम प्रहरीको क्षेत्रमा अनि झा पनि सोही ठाउँमा बाइकमा राति एक्लै डुल्ने भएकाले उनलाई प्रहरीले शंकाको घेरामा लियो । प्रहरीले अनुसन्धान गरिरहँदा थप नौजना महिलामाथि आक्रमणको घटना प्रहरीकहाँ आयो ।
चौबीस दिनको रेकीपछि अखिलेशलाई प्रहरीले हिरासतमा लियो । प्रहरीले घटनाबारे जेजे सोधे उनले एकपछि अर्को घटनाको बेलीविस्तार लगाइदिए । ‘एउटै प्रकृतिका घटना महिलामाथि विनाकारण भइरहेका थिए । गहना लुट्ने, पैसा माग्ने त्यस्तो केही पनि थिएन । यस्तो घटना एउटै व्यक्ति वा समूहले गरेको हुनुपर्छ भन्ने हाम्रो अनुमान थियो,’ इन्सपेक्टर अधिकारीले भने, ‘गहिरो अनुसन्धानपछि अखिलेशलाई पक्राउ गरेका हौँ ।’
रातमा महिलाले एक्लै हिँडेको आफूलाई मन नपर्ने भएकाले आक्रमण गरेको अखिलेशले बयानमा भने । ‘रातिराति केटीहरू एक्लै हिँडेको मलाई मन पर्दैन । सबैलाई मर्ने गरी हानेको हुँ तर मरेनन्,’ अखिलेशले प्रहरी बयानमा भनेका थिए ।  
‘राति महिलाहरू एक्लै हिँडेपछि कहाँ जान लागेको म पु¥याइदिन्छु भन्ने । महिलाले मानेनन् भने आक्रमण गर्ने । कसैलाई अलि अगाडि गएर ढुकेर आक्रमण गर्दो रहेछ,’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी गजु सिद्धी वज्राचार्यले भने, ‘यसरी महिलाहरूलाई आक्रमण गरेपछि उसलाई तनाव नहुने र आनन्द आउने बयानमा अखिलेशले भनेको छ ।’
आक्रमण गर्नुको कुनै ठोस कारण नखुलेकाले अनुसन्धान जारी रहेको डीएसपी वज्राचार्यले बताए । प्रारम्भिक बयान लिएर वडा प्रहरी कार्यालय बैदामले अखिलेशलाई जिल्ला प्रहरी कार्यालय कास्कीलाई जिम्मा लगाइदियो । कास्की प्रहरीले भदौ १६ गते जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य अघि बढाएको छ ।

Leave A Comment