बेवारिसे देहका सेवक

बुधबार, ०५ असोज २०७३, ११ : ३५ अम्मर जिसी , Kathmandu
बेवारिसे देहका सेवक

पशुपति आर्यघाटका नियमित दृश्यहरू हुन्– चितामा जलिरहेका लाश र शोकमा डुबेका आफन्त । घाटमा केही लाश आफन्तले घेरिएका हुन्छन् भने केहीका वरिपरि मलामीको ‘म’ पनि देखिन्न ।
आफन्त वा सहारा कोही नभएका, बेवारिसे भएरै जिन्दगी गुजारेका र बेवारिसे लाश भएर शवगृहमा सडिरहेकाको पशुपति आर्यघाटमा धार्मिक विधिसहित अन्येष्टि गर्छन्, विनय बस्नेत । ३७ वर्षीय विनय आफूलाई बेवारिसे लाशका आफन्त, मलामी र सेवक ठान्छन् । उनको आफ्नै ‘फिलोसोफी’ छ– ‘हरेक जीवले आफू खरानी हुने बेलासम्म सेवा चाहन्छ । बाँचुञ्जेल त छँदै छ,’ उनी भन्छन् । अहिलेसम्म उनले ३३ वटा बेवारिसे मानव देहको अन्त्येष्टि गरिसकेका छन् । कयौँ बालबालिकाको सद्गत गरेका छन् । उनी किन बेवारिसे लाशका एक्ला मलामी बन्छन् त ? कथा दुःखद छ ।
०००
विनयका बुबा श्यामले महालेखा परीक्षकको कार्यालयको सहसचिव पदबाट भर्खरै अवकाश पाएका थिए । एक दिन बिहानको खाना खाएर साथीलाई भेट्न भन्दै घरबाट निस्केका श्याम घर फर्केनन् । ‘खोजतलाश गर्दै जाँदा थाहा भयो सडक दुर्घटनामा परेर उहाँको मृत्यु भयो र शव टिचिङ हस्पिटल, महाराजगञ्जमा रैछ,’ विनयले भने । हस्पिटलमा बुबाको शव खोज्न विनयलाई हम्मेहम्मे प¥यो । हस्पिटलकै एक कर्मचारीले विनयलाई बेवारिसे शवगृहतिर डो¥यायो । ‘मैले पत्याउनै सकिनँ । धेरैसँग परिचित मेरा बुबाको मृत शरीर बेवारिसे शवगृहमा राखिएको होला,’ उनले भने, ‘महिनौँदेखि सडिरहेका, जमिरहेका, हेर्नै नसकिने लाशका थुप्रोमा बुबालाई देख्दा आफूलाई सम्हाल्नै गाह्रो भयो मलाई । जसोतसो गरी बुबाको अन्त्येष्टि गरेँ ।’
प्रहरीले घटना छानबिन गरेको र ‘पावर’ लगाएर दोषी उम्केको विनयको भनाइ छ । ‘बुबा भन्सारमा भएका बेलाको रिसइबीमा गाडीले हानेको भन्ने पनि सुनियो । तर, शक्ति हुनेहरूले जे गरे पनि हुने यो देशमा हामीले शव थप सडाएर के गर्नु ?’ विनयले भने ।
बुबाको किरिया बसेका बेला उनको मनले धेरै कुरा सोच्यो । सहारा नहुनेहरू मात्र होइन, जो पनि बेवारिसे भएर बित्नुपर्दो रहेछ भन्ने उनलाई लाग्यो । अन्त्येष्टि गरिदिने कोही नभएर शवगृहमा सडेकाहरूको स्थितिले उनको मानसपटललाई घोचिरह्यो । धर्मकर्ममा विश्वास राख्ने विनयलाई लाग्न थाल्यो, ‘कसैगरी उनीहरूलाई अन्त्येष्टि गरिदिन पाए उनीहरूको आत्माले शान्ति त पाउँथ्यो ।’
आफूले सकेका जति बेवारिसे शवको अन्त्येष्टि गर्छु भन्ने उनले ठाने । काजकिरिया सकेलगत्तै उनी यही काममा लागे । त्यसैबेला कान्ति बालअस्पतालमा उपचारका क्रममा उनको छोराको निधन भयो । यसबेला उनले कान्तिमा भएका बेवारिसे घोषित बच्चाहरूको शवलाई अन्त्येष्टिको आवश्यकता देखे । छोराको सद्गत गरेको पशुपतिपारिको जंगल मृगस्थलीमै अन्य बालबच्चाको सद्गत गरे । विनयले आमालाई पनि सानै उमेरमा गुमाएका थिए ।
आमाबुबा र छोरा गुमाएका उनी बेवारिसे लाशको अन्त्येष्टि गर्ने काममा लागेर खुशी छन् । ‘मेरा आमाबा र छोराको आत्माले शान्ति पाउनेछ । यहाँबाट अन्त्येष्टि भएकाहरू आमाबा र छोरासँग भेटिएलान् । यो कामदेखि सबै खुशी होलान्,’ उनले भने ।
०००
उनको भनाइमा हरेक मान्छेलाई मरेपछि अन्त्येष्टिको अधिकार हुन्छ । यो अधिकार राज्यले हनन गरिरहेको छ । महानगरभित्र बेवारिसे लाशको व्यवस्थापन ठूलो चुनौती हो । यहाँका अस्पतालहरूमा शवगृहको हालत पनि बेवारिसेझैँ नै छ । वार्षिक लाखौँ रुपैयाँ बेवारिसे शव व्यवस्थापनका लागि भनेर छुट्याउने काठमाडौँ महानगरपालिका पनि यस विषयमा संवेदनशील बन्न सकेको छैन ।
‘यस पटक भने ३२ हजार रुपैयाँ महानगरले दियो,’ उनले भने, ‘यो भनेको मेरो कामको आवश्यकता बुझ्नेहरू बढ्दै छन् । महानगरलाई घच्घच्याउँदा थाकिसकेको मैले अब साथ पाउने विश्वास लिएको छु ।’
उनलाई प्रक्रिया मिलाउन हम्मेहम्मे पर्छ । प्रहरी, महानगर, अस्पताल सबैतिर असहयोग गर्ने धेरै छन् । पछिल्लो समय पशुपतिभित्रको इलेक्ट्रिक शवदाहगृहभित्र उनलाई लगभग ‘प्रवेश निषेध’ गरिएको छ । ‘लाग्ने जति पैसा तिरेर गर्छु भन्दा पनि दिएनन्,’ उनले दुःख व्यक्त गरे, ‘त्यो इलेक्ट्रिकमा फ्रेस लास चाहियो रे ! धनी र पावर हुनेकै लाश मात्र जलाउन बनेको रे !’
पशुपति आर्यघाटमा एउटा लाश जलाएबापत १० हजारजति खर्च लाग्छ । यो खर्च उनले आफन्तहरूलाई हारगुहार गरेर जुटाइरहेका छन् । बृहस्पति विद्या सदनका संस्थापक पुरुषोत्तमराज जोशी लगायतले पनि व्यक्तिगत रूपमा सघाउने गरेका छन् ।
विनय धुलिखेलको एक रेडियोमा ‘आरजे’का रूपमा कार्यरत छन् । दुव्र्यसनी पुनस्र्थापना केन्द्रमा पनि काम गर्छन् उनले । कमाएको पैसा अन्त्येष्टिमै खर्च हुने विनय बताउँछन् । साथीहरूसँग मिलेर ‘एक्सन फर सोसल चेन्ज’ नामको संस्था पनि खोल्ने प्रक्रियामा छन् उनी ।
विगतमा आफू दुव्र्यसनी पनि भएको उनी बताउँछन् । ती दिन सम्झेर पनि आफूलाई समाजका लागि केही गर्नुपर्छ भन्ने बल मिलेको उनको भनाइ छ । ‘पछुताउनुभन्दा समाजका लागि केही गरेर देखाउन खोज्दै छु,’ उनले भने, ‘केहीले यो काम देखेर साइको पनि भन्छन् । तर, धेरैले राम्रो गरेको छस् भन्दा सन्तुष्टि मिल्छ ।’
उनी अहिले आफूले बुझ्ने जीवनको परिभाषा बदलिएको बताउँछन् । ‘पहिले जीवन भनेको दुई दिनको रमाइलो भन्ठान्थेँ । तर, अहिले कसैको राम्रो हुने काम नगरेर खेर जाने शरीर जीवन होइन जस्तो लाग्छ,’ उनले भने, ‘यी लाश मलाई लाशजस्तै लाग्दैनन् । बिरामीलाई चाँडो अस्पताल पु¥यायो भने बाँच्ला सोचिन्छ । त्यस्तै लाशको चाँडो अन्त्येष्टि गर्न सक्यो भने उसले फेरि अर्को जन्म लिन सक्छ भन्ने लाग्छ ।’ मान्छेको मात्र होइन, अब उनी कुकुरको पनि बेवारिसे शवलाई व्यवस्थापन गर्ने सोचमा छन् ।
विनय वृद्धाश्रमतिर पनि गइरहन्छन् । वृद्धवृद्धाको सेवा गर्छन् । भन्छन्, ‘दुःखीगरिब, बुढाबुढीलाई सकेजतिको माया बाँड्छु । यो जाबो जिन्दगीमा मरेर लानु के पो छ र ? अरूको सेवा गर्ने हो ।’

 

Leave A Comment