‘काम साधना हो’

सोमबार, २४ जेठ २०७३, ०१ : ५७
‘काम साधना हो’

उम्दा अभिनयले दर्शको मन जित्न सफल अभिनेता इरफान खान  अहिले फिल्म ‘मदारी’ का कारण चर्चामा छन् । उनी यस फिल्मका निर्माता पनि हुन् । एक भारतीय मिडियासँग इरफानले फिल्म ‘मदारी’, आफ्नो परिवार र सिनेमाबारे गरेको कुराकानीः

 

फिल्म ‘मदारी’मा अभिनय गर्नुका साथै यसको निर्माता बन्न कसरी प्रेरित हुनुभयो ?
एउटा निर्माताका रूपमा मेरो सुरुवात फिल्म ‘लन्च बक्स’ बाट भएको हो । त्यस फिल्ममा धेरै निर्माता थिए र ‘मदारी’ मा पनि म एक्लो निर्माता होइन । भन्ने हो भने अहिले हाम्रो इन्डस्ट्रीमा धेरै परिवर्तन आएको छ । आजभोलि दर्शक धेरै ‘डिमान्डिङ’ भइसके तर इन्डस्ट्री त्यति दिन सकिरहेको छैन । त्यसैले हाम्रो व्यवसायलाई हलिउडले खाइरहेको छ । हलिउड जुन रफ्तारले हाम्रा दर्शकबीच छिरिरहेको छ त्यो क्रम रोकिने छैन, बरु बढ्दै जानेछ । कहिलेकाहीँ कुनै विषय यस्तो हुन्छ जसलाई देख्दा यस्तो लाग्छ कि यो पर्दामा आयो भने बढी प्रभावशाली हुनेछ । यही कुराले मलाई ‘मदारी’को निर्माता बन्न प्रेरित ग¥यो ।

‘मदारी’ कस्तो किसिमको फिल्म हो ?
यो एक शक्तिशाली थ्रिलर हो । अहिले नै फिल्मबारे धेरै भन्न सक्दिनँ तर यति भन्न सक्छु फिल्म सत्य घटनामा आधारित छ । हाम्रो जीवनमा पनि मदारी र जमुराको खेल चलिरहन्छ । कतिपय ठाउँमा हामी मदारी हुन्छौँ, कतिपय ठाउँमा जमुरा ।

तपाईंकी श्रीमती सुतपा सिकदर सिरियल ‘बनेगी अपनी बात’ को जमानादेखि उम्दा लेखिका हुन् । यस फिल्मको लेखनमा उहाँको योगदान कस्तो रह्यो ?
यस फिल्मको आधारभूत आइडिया शैलजाको हो । हामीले उसको कथाको संरचनामा बदलाव ल्याएका छौँ । कथा अतीत र वर्तमानमा छ । सुतपाले शैलजासँग मिलेर कथामा काम गरेकी छिन् । अब सुतपा लेखनमा सक्रिय भएकी छिन् । एकताका उनलाई लेखमा कत्ति पनि रुचि थिएन । ‘मदारी’ पछि उनी धेरै सक्रिय भएकी छिन् । दुइटा अरू प्रोजेक्ट पनि गरिरहेकी छिन् ।

तपाईं जब कुनै फिल्मसँग जोडिनुहुन्छ, दर्शकले त्यसबाट धेरै आशा गर्छन् । यस कुराको दबाब कहिले महसुस गर्नुभएको छ ?
मलाई लाग्छ यो एक किसिमको वरदान हो र अभिशाप पनि । तर, म यसलाई वरदान भन्छु । म आफ्नो कामलाई साधनाका रूपमा लिन्छु । रमाइलो पनि गर्छु । म राम्रोभन्दा राम्रो काम गर्ने कोसिस गर्छु । हिरोइजमलाई नयाँ रूपमा प्रस्तुत गर्ने प्रयास गर्छु ।

तपाईंले कतिपय हलिउड फिल्ममा पनि काम गर्नुभएको छ । आफ्नो व्यक्तित्वमा तपाईं वल्र्ड सिनेमाको योगदानलाई मान्नुहुन्छ ?
विदेशी निर्देशकसँग काम गर्दा हाम्रो सोच पनि परिष्कृत हुँदै जान्छ । मलाई हलिउडका एक ठूला निर्देशकले भने, ‘डेविड लिन्चसँग काम गर्ने अवसर पाइयो ।’ उनले मलाई भने कि डेविड लिन्चसँग काम गर्दा धेरै कुरा सिक्न पाएँ । म छक्क परेँ । यति अनुभव बटुलिसक्दा पनि सिक्न सकिन्छ भनेर । हलिउड सिनेमाको सबैभन्दा राम्रो पक्ष यही हो, संसारका सबै व्यक्तिले यसलाई हेर्न सक्छन् । तर, हाम्रो नाचगानवाला सिनेमालाई हामी मात्रै हेर्न सक्छौँ । अब हामीले हाम्रो सिनेमा संसारले नै हेर्ने उपाय खोज्नुपर्छ ।

के तपाईंलाई लाग्छ, भारतीय सिनेमा बदलिरहेको छ । किनकि, यहाँ पनि केही फरक धारका फिल्म बन्दै छन् ?
बदलिरहेको त छ तर कहिलेकाहीँ हामी नक्कलको शिकार बन्छौँ । ‘पान सिंह तोमर’ बनेपछि कतिपय बायोपिक बन्न थाले । हालै आएको मराठी फिल्म ‘सैराट’ एउटा अलग उदाहरण हो । म मराठी फिल्मको प्रगतिबाट खुशी छु । म पनि दमदार मराठी वा प्रादेशिक सिनेमामा काम गर्न चाहन्छु ।

तपाईंका प्रशंसकले तपाईंलाई फेरि कहिले ‘पीकू’ जस्तो लाइट रोमान्टिक भूमिकामा देख्न पाउनेछन् ?
मैले आफ्ना लागि एउटा स्क्रिप्ट रोजेको छु । जसलाई म कंगना रनोटसँग गर्न चाहन्थेँ । फिल्मको नाम थियो ‘डिभाइन लभर्स’ । तर, अब कंगना ठूली भइसकिन् । उनले मसँग काम गर्न अस्वीकार गरेकी छिन् । हाम्रो कुराकानी पनि भएको थियो । यो एउटा पूरै रोमान्टिक फिल्म हो । रोमान्टिक फिल्ममा काम गर्ने मेरो पनि इच्छा छ ।

 

 

 

Leave A Comment