फेरिँदै 'फगुवा'

बुधबार, १५ बैशाख २०७३, ०७ : २८
फेरिँदै 'फगुवा'

धीरे से रंगवा डाल हे राजा
भितरी लागेला पाला हो

अर्थात्, बिस्तारै रङ हाल है, भित्र चिसो भयो। होलीअगावै यस्ता गीत गुञ्जिन थालेका छन् चोक र गल्लीहरूमा। होलीको परम्परागत संगीत 'होरी'को रूपमा गाउँटोलमा साँझ जम्मा भएर सामूहिक रूपमा गाइने गीत सुनिदैन। 'रिल'वाला क्यासेटमा टेप रेकर्डरमा होरीको भनेर गीत बज्न थालेपछि त्यसको रङ उत्रिन सुरु भयो। अहिले एफएम रेडियोले खोजीखोजी बजाई दिने नयाँ गीतहरूमा पुरानो होरीको लेसमात्र पनि अंश बाँकी नरहेको जानकार बताउँछन्।

'होली पर्वका दुईवटा विशेषता छन्। पहिलो, यसका विशिष्ट गीतसंगीत र दोस्रो, परिवार तथा गाउँसमाजभित्र एकआपससँग मिलेर मनाउने क्रममा वर्षभरिको रिसराग बिर्सेर रङ अबिर साट्ने, मीठोमसिनो खाने र रमाइलो गर्ने,' लोकसंस्कृतिका जानकार उमाशंकर द्विवेदी भन्छन्, 'अब यसको परम्परागत स्वरूप सकिनै लागेको जस्तो छ।'

प्रेम र सद्भावको पर्वका रूपमा चिनिएको 'फगुवा', 'होली' अर्थात् फागुको पारम्परिक स्वरूप फेरिएपछि रङको यस पर्वको नै रङ फेरिएको द्विवेदीको भनाइ छ। यसका गीतसंगीतको रस हराएको छ। प्रत्येक वर्षको होलीमा नयाँ शैली र यसलाई मनाउने तरिका थपिएको पाइन्छ। कुनै वार्षिक पत्रिकाको नयाँ संस्करणजस्तै।

महाशिवरात्रिपछि होली आउन १५ दिन बाँकी रहे पनि त्यसको भोलिपल्टदेखि हरेक साँझ गाउँ–गाउँमा फागुका लोकगीत 'होरी' जम्न सुरु हुन्थ्यो। यसबीचमा पाहुना आए रंगाएर पठाउने चलन थियो। त्यसैले त पैदल र साइकलमा रङ पोतिएका यात्रु एक गाउँबाट अर्को गाउँतिर जाँदै गरेका देखिन्थे। होलिका दहनका लागि शिवरात्रिको अर्को दिनदेखि 'समद' जम्मा गर्ने चलन पनि थियो। समदमा पराल, दाउरा र काम नलाग्ने वस्तु जलाउनका निम्ति राखिन्थ्यो। फागुन चर्तुदशीको साँझ समद (होलिका) जलाइनु अघि दिन गिन्ती गरेर मानिस होली आउन लागेको आभासमै आनन्द मान्थे। समदको आगोमा पोलेको अनाज गोठमा झुन्डाएपछि गाईवस्तुको कुप्रभाबाट रक्षा हुन्छ भन्ने मान्यता छ। होलीमा सामेल हुन परदेश गएकाहरू केही दिनअगावै आइपुगेका हुन्थे। तराई क्षेत्रमा बाहिर काम गर्न परदेश जाने भनेर अधिकांश मानिस भारतका ठुला शहर जाने भएपछि फर्किने मुख्य समय भनेकै होली र छठ हो। १५ दिनको सिलसिलेवार उत्सव होली अब दुई दिनको भएको छ।

होलीको नयाँ संस्करणमा यीमध्ये अधिकांश कुरा हराएका छन्। देखापर्न थालेका छन्– 'होली मिलन समारोह', 'होली शुभकामना आदानप्रदान' र 'होलीको पार्टी' जस्ता आयोजन। जसमा न त्यो पुरानो उमंग छ, न आनन्द। शहर वा बजारको एउटा ठाउँमा भेला भयो, बोतलबन्द पेय बाँडियो, अलिअलि अबिर पनि टीका लगाइदियो, सकियो होली मिलन समारोह। त्यस्तै कार्यक्रममा भाषणै ठोक्ने कुरा पनि सामेल भए त्यसलाई 'होली शुभकामना आदानप्रदान' भन्न पाइयो। त्यो कार्यक्रम साँझ राखेर रक्सी मासुको व्यवस्था थपियो भने होली पार्टी। रक्सी र अरू थरीका नशालु पदार्थको सेवन गर्न त्यसतो पार्टी नै हुनुपर्छ भन्ने छैन। होलीको निहुँमा रक्सी सेवन गर्नेहरूको संख्या भने अत्यधिक पाइन्छ। होलीको दिन सडकमा भद्रभलाद्मीहरू निस्किन चाहदैनन्। एउटा मोटरसाइकलमा तीनचारजना हुँइकाउँदा हेर्नेको आङै सिरिङ हुन्छ। रङ–अबिर साट्ने र मीठो परिकार खाने–खुवाउने पर्व होलीको प्रमुख पाटो हो। थरीथरीका परिकार खाइखुवाई गरेपछि पचाउनका लागि भाँग खाने पालो आउँथ्यो। ठंडई, लस्सी, भाँगपेडा र भाँगोला। थोरै खाँदा यसले हल्का नशा पनि दिन्छ। भाँगमा पाइने नशालु गुणमात्र धेरैले मन पराउन थालेपछि होलीमा रक्सी मिसियो।

बदलिएको होली अब सद्भावको पर्वमात्र रहेन। यस पर्वमा सुरक्षाकर्मी विशेष सतर्कतासाथ खटाउनुपर्ने बाध्यता आइलागेको छ। परिकारहरूमा मासु अनिवार्य भएकाले हरेक वर्ष होरीका दिन सामान्य दिनभन्दा १० गुणा बढी त्यसको खपत हुन थालेको छ।

फेरिँदै छ 'होरी' संगीत
'होरी' अर्थात् होली, लोकभाकाको गीतसंगीत। लोकभाकाको होरीको धुनमा दुईवटा ढोलक (मधेशको ठूलो मादल), एउटा डम्फा र एक जोर झाल एक जोर मन्जिरी चाहिन्थ्यो। गाउने बजाउने इलमीहरू समूहको बीचमा बस्थे वृत्ताकारमा। अनि जम्थ्यो होरी।

'लइका राम धनुष कइसे तुरिहे,
हँसेला जनकपुर के लोग'

अर्थात् 'राम अहिले बालकै छन्, धनुषमा डोरी कसरी चढाउँलान्? हाँस्दै छन् जनकपुरका मानिसहरू'। यस्ता भाकामा सज्जिएको पौराणिक कथा रामायणको प्रसंगबाट सुरु हुन्थ्यो होरी। 'यसलाई रामा रसको होरी भनिन्छ,' होरीका तीन रसबारे बताउँदै द्विवेदी भन्छन्, 'रामा रसमा सबभन्दा बढी होरीका भाका छन्।' अर्को कृष्ण रसको होरी हुन्छ।

रामा र कृष्ण रसका होरी पनि एक दशकअघिसम्म खूबै गाइन्थ्यो। लोकरसको 'जोगिरा सर रर' मा नाच नै हुन्थ्यो। होलीको नयाँ संस्करणमा यी गीत फेला पर्दैनन्। 'गाउँमा अझै पनि केही अंश बाँकी छ, त्यसलाई अडियो र भिडियोमा रेकर्ड गरेर राख्ने बेला भएको जस्तो छ,' द्विवेदीले भने, 'शहरमा त होली भनेर अनेक गर्छन्।' ग्रामीण क्षेत्रमा पनि चोकचोकमा शहरी होलीको झझल्को पाइने गरेको उनले बताए। जहाँ साउनड बक्समा घन्किन्छन् हिन्दीका फिल्मी र भोजपुरीको नाममा छाडा गीत। अहिले बज्ने गीतलाई 'होरी' मान्न भोजपुरीका साहित्यकार द्विवेदी तयार छैनन्। 'विशिष्ट र ओजपूर्ण त्यो होरी गाउने–सुन्ने मान्छे नै छैनन्,' उनी भन्छन। द्विवेदीका अनुसार हिन्दीको 'रंग बरसे भिजे चुनरवाली' र भोजपुरीको नाममा बनाइएका 'धिरेसे रंगवा डाल हो राजा' टाइपका गीत भनेको 'होरी' हुँदै होइनन्।

भारतको महाराष्ट्रको 'मट्का फोड्ने' चलन हिन्दी सिनेमामा खूबै देखिन्छ। चाँदी रङको पर्दाबाट निस्केर नेपालका शहरसम्म मज्जाले ठाउँ लिँदै गर्दा ध्यानमा आएन। तर, अचेल वीरगञ्जमै दर्जनभर ठाउँमा यसको आयोजन हुन्छ।

Leave A Comment