पछिल्लो समय कलाकार तथा फिल्म निर्देशक दीपाश्री निरौला एउटा विवादको हुण्डरीमा परिन्। उनले राजेश हमाललाई दिइएको पदवि ‘महानायक’माथि प्रश्न गरिन्। त्यसको जवाफमा तथाकथित महानायकका प्रशंसकहरु एउटी स्त्रीमाथि यसरी जाइलागे कि कहिल्यै नसुनिएका गालीका शब्दहरु उनको फेसबुक वालमा टाँसिए।
साराका सारा मानिसहरु उर्लेर दीपाश्रीमाथि खनिनु र रुकुममा कसैकी छोरी भगाउन आएका केटाहरुलाई लखेटी–लखेटी मार्नुमा कुनै फरक छैन। यो हो हाम्रा मनुवाको असली चरित्र !
आखिर किन यस्तो हुन्छ ? हाम्रा वैज्ञानिक खोज र अनुसन्धानले यसबारे केही बोलेका छन् ? नेदरल्यान्डका लेखक रुटगर बर्गम्यानको ‘ह्युमन काइन्डः अ होपफुल हिस्ट्री’ले मानव चरित्रका बारेमा भएका वैज्ञानिक अनुसन्धान खुलस्त पारेको छ। यहाँ सोही पुस्तकमा उल्लेख गरिएको ‘कन्ट्याक्ट थ्योरी’बारे चर्चा गर्दै नेपालको सन्दर्भमा त्यस्ता घटना र प्रवृत्ति यहाँ केलाउने प्रयास गरिएको छ।
वैज्ञानिकहरु भन्छन्, हाम्रो शरीर संरचनामा यस्ता जिनहरु छन् तिनले मानिसलाई वक्र हुन सघाउँछन्। भनाइको अर्थ, ती जिनका कारण मानिसले आफूमाथि हमला भए, आक्रमण भए, चित्त नबुझ्ने घटना भए, त्यसविरुद्ध तीव्र प्रतिक्रिया जनाउन भूमिका खेल्छन्।
वैज्ञानिकहरुले अफ्रिकाका दूरदराज जङ्गलमा बस्ने बोनोबो (एक प्रजातिका बाँदर)को अध्ययन निष्कर्षअनुसार, जब कुनै पोथी बोनोबो भालेसँग आउँछे, उसलाई भालेको परिवारले निकै छुद्र व्यवहार गर्छ। कहिलेकाहीँ त कुटपिट नै गर्छ। उस्तै परे उसमाथि यति हिंसा हुन्छ कि ज्यानै जाने खतरासमेत हुन्छ। एक्ली र निर्धामाथिको प्रहारको शृंखला हाम्रो जिनमा जङ्गली युगबाट नै आएको हो।
सन् १९५० को दशकमा मानव चरित्र र प्रवृत्तिमाथि निकै धेरै अनुसन्धान भए। त्यसमध्ये एउटा चर्चित अध्ययन गोर्डन अल्पोर्टको ‘कन्ट्याक्ट थ्योरी’ पनि पर्छ। यसले भन्छ– नचिनेको–नजानेको मानिसप्रति हामी नराम्रो धारणा राख्ने गर्छौं।
मनोवैज्ञानिक अल्पोर्टले अमेरिकाका भित्री गाउँ वा सहरमा गरेको अध्ययनमा के पाए भने श्वेत बहुल क्षेत्रमा कालाजातिप्रति अलि बढी नै द्वेष राखिन्छ। अनि काला बहुल क्षेत्रमा श्वेत जातिहरु प्रति उति राम्रो धारणा राखेको पाइन्न। कालाका लागि हरेक श्वेत व्यक्ति अन्यायी हुन्छ। उता कहिल्यै काला जातिको संगत नगरेका श्वेतहरुका लागि कालाजाति अपराधी, क्रूर र संगत गर्न लायक नरहेका प्राणीका रुपमा लिइन्छ।
नेपालमै पनि तपाईंले कहिल्यै पनि मिश्रित जातजाति नबसेको ठाउँमा कुनै नयाँ ठाउँबाट मानिस बस्न गएको खण्डमा उसप्रति बढी नै हेपाहा प्रवृत्ति देखिन्छ। कहिल्यै मधेश नझरेको पहाडी समुदायको मानिसले अचानक कालो अनुहारको मधेसी देख्यो भने उसप्रति बढी नै पेलाहा प्रवृत्ति देखाउँछ। ठीक यही कुरा तराईको भित्री ठाउँमा कुनै ‘पहडिया’ पुग्यो भने उसप्रति हेर्ने दृष्टिकोणमा त्यस्तै वक्रता देखिन्छ। मानिस आफू, आफ्नो समुदाय या आफ्नोजस्तै भाषाभन्दा फरक कुरा शुरुमा स्वीकार गर्न अप्ठेरो मान्छ।
तर जुन समुदाय घुलमिल गरेर बसेको छ, त्यो समुदायमा कोही नयाँ आयो भने नयाँ सदस्यप्रति त्यति नराम्रो व्यवहार हुँदैन। नयाँ सदस्यले एक्लो महसुस गर्दैन।
यसैलाई अल्पोर्टले ‘कन्ट्याक्ट थ्योरी’मा समावेश गरेका हुन्। उनी भन्छन्, ‘कुनै पनि अपरिचित समुदायमा एकअर्काप्रति हिंसा हुने सम्भावना हुन्छ तर त्यो समुदाय चिनजानको छ भने केही वादविवादका बाबजुद पनि उनीहरु चाँडै घुलमिल भइहाल्छन्।’
यस सिद्धान्तलाई पुष्टि गर्नका लागि लेखक बर्गम्यानले अनेकन् उदाहरण दिएका छन्।
जब घुलमिल गरेर बसेको समुदायमा कुनै दुर्घटना घट्यो र कुनै एउटा जातमाथि अर्को जातिको प्रहारका रुपमा त्यसलाई अथ्र्याउन थालियो भने समाजमा भएको विश्वास क्षय हुन्छ र मानिसहरु पुनः एकअर्कालाई शंकाको नजरले हेर्न थालिहाल्छन्। कतिपय अवस्थामा हिंसा नै मच्चिने सम्भावना बढेर जान्छ।
राजेश हमाल र दीपाश्री निरौलाको काण्डमा ‘मण्डेला मेथड’ प्रयोग गर्ने कोही छैन। मण्डेला मेथड भन्नाले दुई जातिबीचको विद्वेष घटाउन अपनाइने दक्षिण अफ्रिकी राजनेता नेल्सन मण्डेलाको सुझबुझपूर्ण कदम। सो कदमका बारेमा ‘एभिक्टस’ फिल्ममा बडो सुन्दर तरिकाले पेस गरिएको छ। हमाल–निरौला घटनामा एक प्रकारका मानिसहरु आफैँ को महान् भनेर आफ्ना कुरा पुष्टि गर्नतर्फ लागे। तिनको लहलहैमा लागेका सर्वसाधारणले पनि मनलाग्दो टिप्पणी गरे। यही मौकामा फिल्म उद्योगलाई नजिकबाट चिन्नेहरुले भने छद्म नामले आफ्ना तुष प्रहार गर्न थाले। यो देखेपछि अरु केही तटस्थ व्यक्तिहरु पनि त्यो हिलोमा प्रवेश गरे।
दीपाश्रीका विरोधी उनी अघिल्तिर उभिएर ‘वन–टु–वन’ वार्ता गर्न सक्तैनन्। उनीहरुले केही असन्तुष्टि व्यक्त त गर्लान् तर जसरी अप्रत्यक्ष रुपमा जति घातक प्रहार गर्न मान्छे उद्यत हुन्छ, आफू देखापरेरै चुनौती दिन सक्तैनन्। यो मानवीय प्रवृत्ति हो। देख्नु, चिन्नु र जान्नु फरक अवस्था हुन्छ।
राजेश हमाल वा दीपाश्रीलाई ठूलो समुदायले देखेका छन्, त्यसैले मानक बनाएका छन्। तिनका आग्रह–पूर्वाग्रह हुन्छन्। केहीले चिनेका छन् तर औँलामा गन्नेहरुले मात्र दुवैलाई जानेका छन्। देखेको मात्र मानिसप्रति उनीहरुको आग्रह–पूर्वाग्रह हुन्छ किनभने पहिलो झलकमा देख्दा बन्ने धारणाका कारण तिनीहरु बढी नै वक्र हुन्छन्। यस्तो बेलामा उनीहरु कि त समर्थक हुन्छन् या विरोधी। यतिबेला यो झगडामा सामेल भएकामध्ये अधिकांश देखेका तर नजान्नेहरु नै हुन्। यी दुवैलाई नजिकबाट जान्नेहरुको बोली फरक भइहाल्छ।
तपाईं विदेशमा हुनुहुन्छ, कुनै देशबासी फेला पार्नुभयो भने तपाईंलाई कति हर्ष लाग्छ ! तर जब तपाईंले देशबासी होइन, जिल्लाबासी फेला पार्नुभयो भने तपाईं उसप्रति अझ बढी नजिक महसुस गर्नुहुन्छ। अझ तपाईंले गाउँको मान्छे फेला पार्नुभयो भने वर्षौं चिनिरहेको देशबासीभन्दा गाउँको नचिनेको त्यो नयाँ व्यक्तिप्रति तपाईंको अपनत्व बढी हुन्छ। ठीक यही कुरा राजनीतिमा पनि लागू हुन्छ।
दुर्भावना भन्ने कुरा जति सुकै पढेलेखेको मानिसमा पनि हुन्छ। यो कुरा गएका दशकमा विकसित भनिएका मुलुकहरुमा पर्याप्त देखिएका छन्। जब मध्यपूर्वमा शरणार्थी सङ्कट भयो, कयौँ विकसित मुलुकले आफ्नो देशमा मुस्लिम शरणार्थीलाई ठाउँ दिने नीति लिए। त्यसमा जर्मनी सबैभन्दा अगाडि आउँछ। तर जब जर्मनीमा हुलका हुल शरणार्थी छिरे, त्यहाँ के भयो ? जर्मन चान्सलर एञ्जेला मर्केलको चर्को विरोध भयो। उनको पार्टीले समर्थन क्रमशः गुमाउन थाल्यो।
यस पछाडिको कारण के थियो भने मुस्लिमहरु आतंकवादी हुन् वा हुन्छन्, त्यसैले तिनीहरु छिरेपछि आतंकका घटनाहरु बढ्छन् भन्ने डर व्याप्त भयो। यही कारण मर्केलले समर्थन गुमाउन थालिन्। ठीक यही डर देखाउँदै २०१६ मा डोनाल्ड ट्रम्प सत्तामा आए, बेलायती राजनीतिमा ‘ब्रेक्जिट’ले ठूलो ठाउँ मात्र पाएन, युरोपेली संघबाट आफूलाई अलग्ग बनायो।
त्यसैले मानवीय स्वभावमा ‘म’ र ‘ऊ’ अनि ‘हामी’ र ‘तिनीहरु’ एउटा ‘एनिमल इन्स्टिङ्क्ट’का रुपमा रहिरहन्छ। त्यसलाई हामीले चिन्ने हो। समाजमा रहेको त्यस्तो प्रवृत्तिलाई चिन्ने हो।
अहिले पनि त प्रधानमन्त्रीको विरोध गर्नुलाई राष्ट्रवादको विरोध हो र उनको समर्थन गर्नु राष्ट्रवादलाई समर्थन हो। त्यसैले ओलीको विरोध नक्साको विरोध र समर्थन नक्साको समर्थन भन्ने मान्यता स्थापित गर्न खोजिदैछ।
अब यही कुरा रुकुम घटनामा पनि लागू हुन्छ। रुकुमका नवराज बिक र उनका साथीहरु पराया हुन्, तिनलाई हेयका दृष्टिले हेर्ने मात्र होइन, मार्दा पनि फरक पर्दैन भन्ने ‘एनिमल इन्स्टिङ्क्ट’ले काम ग-यो। यदि नवराज बिक त्यही गाउँका भए, यो हदको घटना नघट्न सक्थ्यो। सानोतिनो कुटपिट भए पनि ज्यानै जाने सम्भावना कम हुन्थ्यो।
त्यसैले हामीले हामीभित्रको पशुतत्त्व बुझ्नुपर्छ। यत्ति बुझेपछि हामीले सबैलाई बराबर देख्छौँ। न हाम्रालागि कोही महान् हुन्छन् न त कोही तुच्छ।
अरुलाई नचिन्नु, चिन्न नखोज्नु, गलत नियत पाल्नु र नियतवश कसैप्रति प्रहार गर्नु कसरी अपराध बन्न सक्छ भन्ने उदाहरण अहिले दीपाश्रीको मामिलामा देखिएको छ। कयौँले नजानीकन दीपाश्रीलाई गाली गर्दा र मनको भँडास पोख्दा त्यहाँ अपराध भइरहेको छ र त्यो दण्डनीय छ।
Leave A Comment