सन्देशको दुरुपयोग

बिहिबार, २७ चैत २०७६, ०१ : २८ पुष्पा थपलिया
सन्देशको दुरुपयोग

करिब दुई महिनाअघि ३१००७ को नम्बरबाट मोबाइलमा नेपाल चलचित्र पत्रकार महासंघले म्यासेज पठायो। लेखिएको थियो, अबको आठ दिनभित्र तपाईंको सदस्यता नवीकरण गर्नुहोला। त्यसको तीन मिनेटपछि पुनः अर्को म्यासेज आयो, यसअघि आएको रिन्युको एसएमएसलाई आधार नमान्नुहोला, झुक्किएर आएको हो। म्यासेज पढेर खिस्स हाँस्न मात्रै पाइएको थियो, लगत्तै अर्को म्यासेजले घण्टी बजायो। उही नम्बरबाट आएको म्यासेजमा लेखिएको थियो, यहाँलाई प्राप्त यो एसएमएस सही हो, यसअघि नवीकरण भइसकेका सदस्यलाई पनि भुलवश गएकाले सच्याइएको हो।

यो त भयो म आफैँ सदस्य बनेको संस्थाले पठाएको म्यासेज ! यहाँ त कामै नभएका संघसंस्थाले पनि थरीथरीका म्यासेज पठाएर हैरान ! यस्ता हैरान बनाउनेमा नेपाल टेलिकमको कोरोनाभाइरस रोगबाट बच्न नियमित रुपमा साबुन पानीले हात धोऔं, मानव मेचविखनको अन्त्य गरौँ वा मर्यादित समाजको गन्तव्यजस्ता म्यासेजलाई भन्न खोजेको हैन। मानिसको दिमाग भुट्नकै लागि दिनदिनै पठाइने अन्य म्यासेजको कुरा गर्दैछु।

इन्टरनेटको पैसा तिर्न सजिलो होला, मोबाइलमा रिचार्जका लागि कार्ड घोट्न नपर्ला भन्ने सोचेर मैले इसेवा भन्ने एप डाउनलोड गरेकी थिएँ। त्यसले केही दिनदेखि स्कुलको शुल्क बुझाउनुभयो भनेर सोध्यो ! यो म्यासेज एक महिनाभित्र २० पटकभन्दा बढी पठाएर तनाव !

दुई हजार बढी स्कुलहरु इसेवामा आबद्ध भइसकेको भन्दै यो एपले अन्य अभिभावकलाई त सताएकै छ, मजस्ता सन्तान जन्माउनै बाँकी मान्छेको पनि गिदी खाइरहेको छ।

त्यति मात्रै कहाँ हो र ? हुन्डाई कम्पनीको कार बेच्ने एउटा डिलरले त झनै पन्ध्र दिनमा तपाईंले कारको सर्भिसिङ गर्नुभयो ? तपाईंलाई नयाँ अफर छ भन्दै म्यासेज पठाउँदोरहेछ ! कार किनेका मानिसलाई त यस्तो म्यासेजले सम्झाउन मद्दत गर्ला तर साथीसंगी सबैको कार भएको र आफ्नो भने थोत्रो मोटरसाइकलमा हुँइकिरहेको मानिसको दिमाग कति तात्दो हो !

यी म्यासेजहरु त प्रतिनिधि मात्रै हुन्। दैनिक जीवनमा हामीलाई बिल्कुलै काम नलाग्ने, असान्दर्भिक म्यासेजको थुप्रो लाग्ने गरेको छ। कहिले फलानो एक्पोको यति दिन, उति दिन बाँकी त कहिले फलानो ठाउँमा गएर फलानो सभामा सहभागी बनौं भन्ने म्यासेजले पनि मोबाइल बजारिदिऊँ लाग्ने बनाउँछ।

कतिपय समयमा भने राम्रै तवरले पठाएका म्यासेज पनि हानिकारक बनिदिन सक्छन्। उदाहरणका लागि, करिब एक वर्षअघि म एक महिनाका लागि पूर्वी नेपालको भ्रमणमा गएकी थिएँ। त्यस बेला हरेक शनिबार मलाई वाग्मती सफा गर्न जाऔँ भनेर म्यासेज आउँथ्यो। पाँचथरको मिक्लाजुँङमा आफू काममा व्यस्त भएको बेला वाग्मती सफा गर्न काठमाडौं बोलाइँदा ताज्जुब लाग्दैन त ?

यी र यस्ता कुराहरु हाम्रो मोबाइलमा कसरी आउँदा हुन् ? नम्बरै नदिँदा पनि कसरी विज्ञापन गर्न भ्याउँदा हुन् भन्ने विषयमा साइवर कानुनका विशेषज्ञ बाबुराम अर्यालसँग मैले जिज्ञासा राखेँ। यस्तो हुनुमा हामी आफ्नै कमजोरी रहेको बल्ल चाल पाएँ। हामीले दैनिक जीवनमा विचारै नगरी जता फोन नम्बर माग्यो, उतै दिँदाको परिणाम स्वरुप यस्ता वाहियात् कुरा पढ्नु परिरहेको उनको भनाइ छ।

सपिङ सेन्टरमा विभिन्न अफरको बहाना गरेर हाम्रो फोन नम्बर मागिन्छ। हामी पनि केही आउने आशामा दायाँबायाँ नसोची नम्बर दिन्छौं। अर्यालले भने, ‘कतिपय समयमा भने हामीलाई इन्ट्री भन्दै लेखिएको फाइलबाट पनि नम्बर विभिन्न बजार व्यवस्थापकसम्म पुग्ने गर्दोरहेछ, जुन हामीले कहिल्यै ख्याल गर्दैनौँ।’

यस्तो बिना सरोकारका म्यासेजले हामीलाई नचाहेको डिस्टर्ब मात्रै गर्दैन, विभिन्न धाकधम्कीको डर पनि हुने अर्याल बताउँछन्। उनले भने, ‘यसरी हामीले एउटा प्रायोजनका लागि दिएको नम्बर थाहै नभई अर्कोले प्रयोग गर्नु भनेको त हाम्रो व्यक्तिगत जीवन सकिएको लक्षण हो नि !’

यसलाई हाम्रा व्यक्तिगत डाटा चोरी भएको रुपमा अर्याल लिन्छन् किनभने आफैँले फोन नम्बर दिएकोबाहेक अन्य कसैले यस्ता म्यासेज पठाउँछन् भने त्यो गैरकानुनी हो।

भर्खरै कार्यन्वयनमा आएको विज्ञापन ऐन २०७६ को दफा १० मा मञ्जुरी नलिई इमेल वा एसएमएसबाट विज्ञापन गर्न नहुने उल्लेख गरिएको छ।

यसैको उपदफा १ मा विस्तृत रुपमा लेखिएको छ, जसमा भनिएको छ– ‘सम्बन्धित व्यक्तिको मञ्जुरी बिना कसैको इमेल वा मोबाइलमा इमेल वा एस.एम.एस.बाट विज्ञापनमूलक सन्देश वा इमेल पठाउन पाइने छैन।’

उपदफा २ मा भने यदि जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले सार्वजनिक हितका लागि जानकारीमूलक सूचना प्रवाह गर्न वा विपद्को अवस्थामा पूर्वसूचना वा जानकारी पठाउन सम्बन्धित व्यक्तिको मञ्जुरी नभए पनि बाधा नपर्ने लेखिएको छ।

साथै यदि यस किसिमको अपराध गरेको खण्डमा कसूर गर्ने गराउने व्यक्तिलाई एक लाख रुपैयाँसम्मको जरिवाना हुने पनि उक्त ऐनमा समावेश गरिएको छ।

कानुन भर्खरै बनेकाले कार्यान्वयनमा आउन अझै केही समय लाग्नसक्ने पनि साइबर कानुनका विशेषज्ञ बाबुराम अर्याल बताउँछन्। त्यसका लागि जहाँ पायो त्यहीँ नम्बर नछाड्ने सबैभन्दा उत्तम उपाय रहेको अर्यालले सुझाए।

त्यस्तै, हामीलाई सेवा प्रदान गरिरहेका एनसेल, एनटिसी लगायतका दूरसञ्चार कम्पनीहरुले सिमका लागि फर्म भर्ने बेलामा नै मास लेभलमा म्यासेज पठाउन मिल्ने या नमिल्ने भन्ने खालको छनोट ग्राहकलाई दिनुपर्ने उनको भनाइ छ। यसबाट जोगिने उपाय भनेकै फोन नम्बर दिने बेलामा सचेत हुने हो।

नत्र अर्को आइडिया पनि बाबुरामले फुराए। जब तपाईंले बाध्यतापूर्वक कसैलाई आफ्नो नम्बर इन्ट्री गर्नुपर्दा आफूभन्दा ठीक अगाडि जसले नम्बर इन्ट्री गरेको छ, उसैको नम्बर हेर्नुस् र त्यसैलाई दोहो-याइदिनुस्। यस्ता झण्झटबाट आराम !

Leave A Comment