‘भुवन अंकलले चिमोटीचिमोटी रुवाउनुहुन्थ्यो’

शनिबार, ०४ असार २०७३, ०१ : २६ शुक्रवार
‘भुवन अंकलले चिमोटीचिमोटी रुवाउनुहुन्थ्यो’

भुवन केसीको फिल्म ‘नेपालीबाबु’मा अभिनेत्री जल शाहको सल समातेर रुने बच्चालाई चिन्नुभएको छ ? उनी हुन्, युवापुस्ताका लोकप्रिय अभिनेता सलोन बस्नेत । यी बालकलाकार फिल्म ‘होस्टेल’बाट अभिनेताका रूपमा उदाएका हुन् । प्रदर्शन भइरहेको फिल्म ‘गाजलु’मा गरेको उनको भूमिकालाई दर्शकले रुचाइरहेका छन् । उनीसँग डिबी खड्काअनिल यादवले अन्तरंग कुराकानी गरेका छन्ः

यसपालि हलमा जाँदा अघिल्ला फिल्ममा भन्दा के फरक पाउनुभयो ?
पहिले पनि दर्शकले राम्रै भन्नुहुन्थ्यो । यस पटक मलाई अझ बढी ‘इन्जोय’ गर्नुभएछ । धेरैले मेरो कामको प्रशंसा गर्नुभयो । मैले ‘गाजलु’मा जसरी आफ्नो ‘लुक्स’ र ‘क्यारेक्टर’मा नयाँ ‘एक्सपेरिमेन्ट’ गरेको थिए त्यसलाई दर्शकले रुचाइदिनुभयो । खुशी छु ।

‘गाजलु’मा तपार्इंले निर्वाह गरेको भूमिका सशक्त छ । तर, फिल्मको ट्रेलर र पोस्टर हेर्दा त्यस्तो लाग्दैनथ्यो । तपार्इं हिरोभन्दा पनि अभिनेता बन्ने लाइनतिर लाग्नुभएको हो ?
यो फिल्ममा मैले फिल्म ‘होस्टेल’कै टिमसँग काम गरेको छु । निर्देशक र तीनजना मेल एक्टर ‘होस्टेल’कै हौँ । ‘क्यारेक्टर’ पनि मैले होस्टेलकै जस्तो रमाइलो पाराकै गरेछु । तर, दर्शकले मलाई यति धेरै रुचाइदिनुहुन्छ भनेर सोचेको थिइनँ । मेरो अपेक्षाभन्दा बढी दर्शकले रुचाइदिनुभयो । जहाँसम्म अभिनेताको कुरा गर्नुभयो मलाई नयाँनयाँ भूमिकामा काम गर्न मन लाग्छ । म त्यसरी नै अघि बढ्ने सोचमा छु ।

तपार्इं हिरो भएर खेलेका केही फिल्म असफल भए । दर्शकले तपार्इंका यस्तै रमाइला र सहायक पात्र भएर खेलेका फिल्म मन पराइरहेका छन् । यस्तै भूमिकामा खोजेका हुन् त दर्शकले तपाईंलाई ?
खास यस्तो हुनुमा मेरा आफ्नै कमजोरी पनि छन् । मैले त्यतिबेला धेरै फिल्ममा मेरो ‘क्यारेक्टर’लाई चाहिँ हेरे तर सिंगो मुभीलाई चाहिँ कहिल्यै हेरिनँ । मैले त्यतिबेला सोचेर, बुझेर फिल्म गरेको भए राम्रो हुन्थ्यो । मैले आफ्नो तर्फबाट जति काम गर्नसक्नुपथ्र्यो, त्यो गर्न नसकेर पनि ती फिल्म असफल भए सायद । बिस्तारै आफूले गरेका गल्तीलाई सच्याउँदै अघि बढ्न खोजिरहेको छु । र, फिल्ममा भनिने ‘लिड एक्टर’का रूपमा पनि म देखिने छु ।  

पर्दामा अनमोल केसी र गौरव पहाडीसँग तपार्इंको ‘टिमअप’ जमिरहेको छ । ‘होस्टेल’ र ‘गाजलु’लाई उदाहरण मानेर भन्दा दर्शकले अनमोललाई ‘चकलेटी हिरो’, गौरवलाई ‘सिरियस’ र तपाईंलाई ‘रमाइलो र हँसाउने’ क्यारेक्टरका रूपमा देख्न चाहेका हुन् ?
खोइ, हो भन्नुपर्ला । दर्शकले त्यसरी नै रुचाइरहेका छन् । ‘गाजलु’ हेरेर हलबाट बाहिर निस्किँदा जसरी मैले निर्वाह गरेको जेसन क्यारेक्टरलाई दर्शकले सम्झिनुहुन्छ, त्यो देख्दा मलाई खुशी लाग्छ । दर्शकले मलाई जसरी रुचाइरहेका छन्, त्यसलाई पनि मैले स्विकार्नैपर्छ । आउने दिनमा पनि यस्तै भूमिका पाए भने ‘टिमअप’मै काम गर्नेछु ।

फिल्म ‘होस्टेल’ रिलिजताका तपाईं, अनमोल र गौरव तीनजनाकै भूमिका बराबर देखिन्थ्यो । ‘गाजलु’सम्म आइपुग्दा दृश्य बेग्लै भयो । फिल्मभित्र तपाईंको त्यति सशक्त भूमिका हुँदाहुँदै पनि अनमोललाई नै किन हाइलाइट गर्नुप¥यो निर्माता/निर्देशकले ?
हो । मैले बीचमा धेरै नराम्रा फिल्म पनि गरेँ । मैले फ्यानलाई चित्त दुखाएछु भन्ने लाग्यो । सँगसँगै अनमोलले चाहिँ यो कुरालाई ध्यान दियो । उसले ‘होस्टेल’मा आफूलाई रुचाउने फ्यानको चित्त दुखाएन । राम्रो मुभी दियो । अर्को कुरा, निर्माताहरू यहाँ कसैलाई प्रमोसन गर्न भन्दा पनि बिजनेस गर्न आउनुभएको हो । अनमोल र पूर्व मिस नेपाल सृष्टि श्रेष्ठलाई अगाडि ल्याउँदा दर्शक बढी हलमा आउँछन् भने त्यसो गर्नु पनि गलत हो जस्तो मलाई लाग्दैन । फिल्मको विषयवस्तु के छ भन्ने कुरा त फिल्म हेरेपछि थाहा भइहाल्छ । प्रमोसनमा लुकाए पनि फिल्मबाट त लुकाउन सकिँदैन नि । कसले के काम गरेको छ ? भन्ने कुरा त फिल्मले बोलिहाल्छ नि ।

तपार्इंसँग अभिनयका विविध क्षमतामध्ये कमेडी क्षमता बढी छ जस्तो लाग्छ ?

मलाई त्यस्तो लाग्दैन । मलाई सुरुमा पनि यो क्षेत्रमा यति गर्न सक्छु भन्ने लाग्दैनथ्यो । ‘होस्टेल’मा पनि मलाई त्यसरी रुचाइदिनुहुन्छ भन्ने सोचेको थिइनँ । त्यसपछि त मलाई लगालग निर्माता÷निर्देशकले कमेडी खाले भूमिकामा उतार्नुभयो । ‘फस्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन’भनेजस्तै भयो । निर्माताहरूले मलाई अरू भूमिकाका लागि सोच्नै छाडे । तर, वास्तवमा चाहिँ म त्यस्तो कमेडियन होइनँ । त्यति साह्रो हँसाउन सक्ने छु जस्तो पनि लाग्दैन । मलाई त भिन्नभिन्न भूमिकामा देखिन मन छ । इच्छा त मलाई ‘नेगेटिभ क्यारेक्टर’ गर्ने पनि छ । त्यसका लागि चाहिँ मेरो अनुहारले नै दिँदैन । कमेडी तरिकाले भए पनि दर्शकको मन जित्न सकेकोमा म सन्तुष्ट नै छु ।   

तपार्इंको नेपाली फिल्ममा सुरुवात त रुवाएर भएको जस्तो लाग्यो ?
हो नि । बच्चा बेलामा दर्शकलाई खूब रुवाएँ । ठूलो भएपछि हँसाउँदै छु । सायद बच्चा बेलाको ऋण तिर्दै छु अहिले हँसाएर ।

तपार्इंलाई बच्चाको रूपमा नोटिस्ड गरिएको फिल्म भनेको ‘नेपालीबाबु’ हो । तपाईलाई चाहिँ कत्तिको याद छ ?
सबै चिज त याद छैन । तर, केहीकेही घटना राम्रोसँग याद छ । मलाई अझै याद छ ‘नेपालबाबु’मा जल आन्टीको सल समात्दै घिस्रिएको क्षण । त्यो म कहिल्यै बिर्सन सक्दिनँ । त्यतिखेर माघ महिना थियो । मौसम एकदम चिसो थियो । त्यसमाथि नाइटसुट लगाएको थिएँ । पहिलो पटक म फिल्ममा काम गर्दै थिएँ ।  दोस्रो दिनको सुट थियो । भर्खर सात वर्षको थिएँ त्यतिबेला । पहिला त जोशमा के हुन्छ र ? फिल्म खेल्ने त हो नि भन्ने लागेको थियो । म नाटक र स्टेजमा सोहरू पनि गर्थें हल्का । त्यही भएर पनि भुवन अंकलले फिल्ममा लिनुभएको हो मलाई । दोस्रो दिन सल तानेको दृश्य खिच्ने बेलामा जब पानी पर्न सुरु भयो त्यतिबेला मलाई दर्शकले रोएको देख्नुहुन्छ । ग्लिसरिन हालेर रोएको भन्दा पनि साँच्चिकै रोएको थिएँ म । पानीमा भिज्दा चिसो भएर म साँच्चिकै रोएको थिएँ । म रोएको देखेर मेरो ड्याडले त्यहाँ सुटिङ हेर्न सक्नुभएन । रमाइलो चाहिँ के लाग्छ भने त्यतिबेला जब दुई ट्यांकर पानी मेरो ज्यानमा खसाइसकिएको थियो मलाई निकै गाह्रो हुन थालिसकेको थियो । निर्देशकले ‘कट’ भन्नासाथ नै भुवन अंकलहरूले त्यहाँ आगो बाल्नुभएको थियो मेरो लागि । एकातिर आगो, अर्कोतिर सोलार लाइट बलिरहेको थियो । मलाई त्यसको बीचमा लगेर राखिदिनुभएको थियो न्यानो बनाउनका लागि । न्यानोबाट फेरि भिज्न जान गाह्रो हुने भएपछि फिल्म खेल्दिनँ भन्दै म कराएको थिएँ । अनि, मलाई जबर्जस्ती बोकेर लगेर सुताइदिनुहुन्थ्यो । ‘एक्सन’ भनेपछि म उठेर ‘आमा, आमा’ भनेर एक्टिङ गर्थें । खोइ कसरी गर्थें, मै छक्क पर्थें । म यो क्षण कहिल्यै बिर्सन सक्दिनँ ।

पहिलो पटक डबिङ गर्दा पनि निकै गाह्रो भयो होला ?
भयो नि । त्यतिबेला त अहिलेजस्तो डबिङ गर्न सजिलो पनि थिएन । लिपसिंक ठ्याक्क गर्नुपथ्र्यो । त्यो पनि सही टाइममा । ‘नेपालीबाबु’मा पहिलो पटक डबिङ गर्दाको कहानी पनि रमाइलो छ । सुटिङमा त पानी पारेको थियो, त्यसैले रोएको थिएँ । तर, डबिङको बेलामा त एक्टिङ गरेर, अँध्यारो कोठाभित्र फिल्मका दृश्य हेर्दै रुनलाई त गाह्रो हुन्थ्यो । मलाई भुवन अंकलले त्यतिखेर साँच्चीकै चिमोटिदिनुहुन्थ्यो । डबिङमा उहाँले मलाई चिमोटीचिमोटी रुवाइदिनुभयो । अनि, बाहिर निस्किएपछि खुशी बनाउनलाई चकलेट दिनुहुन्थ्यो । मेरो जीवनको पहिलो डबिङ चाहिँ यसरी भएको थियो । मलाई त्यतिबेला भुवन अंकलले चिमोटेर कति रुवाउनुभयो त्यसको त लेखाजोखा नै छैन ।

पारिवारिक पृष्ठभूमि फिल्म भएकाले अभिनय त तपार्इंले सानैदेखि गर्नुुहुन्थ्यो । त्यसबाहेक अरू केही गर्नुभयो ?
एसएलसी सकिएपछि म अभिनयभन्दा पनि संगीततिर लागेँ । मैले गिटार बजाउन सुरु गरँे । साथीहरू मिलेर रक ब्यान्ड बनाएका थियौँ । अझै पनि मेरो गाउने इच्छा पूरा भएको छैन । तर, म फुर्सदको समयमा गीत कम्पोज गरिरहन्छु । गरेर राखेको पनि छु । समय आएपछि गाउँछु ।

तपार्इंको खास रुचि त गायनमा रहेछ । अभिनय चाहिँ पारिवारिक बिँडो थाम्नलाई गर्नुभएको त होइन कतै ?
एक त बच्चैदेखि अभिनय नै गरियो । मेरो परिवार (ड्याड, अंकल) सबै यही क्षेत्रमा हुनुहुन्छ । त्यसैले मैले सानैदेखि अरू क्षेत्र त्यति बुझेको पनि छैन, देखेको पनि छैन राम्रोसँग । जे चिज देखियो, बुझियो त्यसमै इच्छा लाग्ने त हो नि । अर्को कुरा चाहिँ बिस्तारै अलि ठूलो हुँदै गएपछि ‘सायद’ फिल्म हलमा रिलिज भयो । बच्चामा मसँगै काम गरेको साथी संयम पुरीले त्यो फिल्मबाट डेब्यू ग¥यो । त्यसपछि त ‘म पनि फिल्म खेल्नुपर्छ कि क्या हो’ भन्ने खालको सोख पलाउन थाल्यो । यत्तिकैमा ‘सायद’ प्रदर्शन भइरहेकै बेला निर्माता सुनील रावल, संयम पोखरा आउनुभएको थियो । म पनि त्यही थिएँ । त्यतिखेर म फिल्म नखेले पनि ड्याडीको फिल्महरूमा ‘असिस्ट’ गर्र्थें । पोखरामा सुनील दाइसँग भेट भएको थियो । उहाँ ‘होस्टेल’ फिल्मको तयारीमा हुनुहुँदो रै’छ । त्यसको दुईतीनमहिनापछि मलाई ‘कल’ गरेर अफर गर्नुभयो । मैले गरँे । ‘लक्कीली’ मलाई सबैले रुचाइदिनुभयो । यत्तिकैमा अभिनय यात्रा नै सुरु भयो ।

जतिबेला तपाईंले ‘होस्टेल’ खेल्नुभयो, त्यतिबेला तपार्इंका बुबा सोभित बस्नेत चल्तीका निर्देशक हुनुहुन्थ्यो । आफ्नै बुबाको फिल्म चाहिँ किन खेल्नुभएन ?
साँच्चै भन्ने हो भने त्यो समयमा ड्याडका मुभीहरू मेरो ‘क्याटगरी’का थिएनन् । उहाँको फिल्म चाहिँ रेखा दिदी, जीवन दाइहरूले गर्नुहुन्थ्यो । उहाँलाई चाहिने भूमिकामा म फिट पनि हुन्न थिएँ । अर्को कुरा, त्यतिबेला मेरो अलि बेला पनि भएको थिएन । अचकल्टो उमेर जस्तो । न बाल कलाकार, न हिरो । अब चाहिँ  ड्याडको निर्देशनमा पनि काम गर्छु होला । कुरा भइरहेको छ ।

तपार्इंले अभिनय गरेका केही फिल्ममा तपार्इंको ड्याडीलाई ‘प्ले ब्वाय’को रूपमा देखाइएको छ । ‘गाजलु’मा पनि त्यस्तै छ । एकातिर फिल्म क्षेत्रमा पनि त्यस्तै हल्ला, अर्कोतिर फिल्ममा पनि त्यस्तै रोल हुँदा तपाईंलाई चित्त दुख्दैन ?
मलाई खासै चित्त दुख्दैन । मलाई अघि तपार्इंले सधैँ रमाइलो ‘क्यारेक्टर’मा नै किन लिनुहुन्छ भने जस्तै हो । किनकि, मेरो छवि नै ‘कमेडियन’को रूपमा भइदियो । त्यस्तै गरी ड्याडले पनि यो क्षेत्रमा एकदमै लामो समय बिताइसक्नुभयो । मेरो ड्याड भुवन अंकलको काखमा हुर्किनुभएको मान्छे । उहाँको छवि पनि इन्डस्ट्रीमा त्यस्तैत्यस्तै खालको छ ।

फिल्मजस्तै वास्तविक जीवनमा पनि ड्याडको ‘इमेज’ त्यस्तैत्यस्तै छ । कहिलेकाहीँ त यो इमेज तपार्इंको जीवनसँग पनि आएर जोडिदो हो ?
कहिलेकाहीँ मेरा साथीहरूले ‘ओए, तेरो बाउ त त्यस्तो रे !’ भन्छन् । त्यतिखेर म ‘जे छ, छ त नि । तेरो बाउको छ ?’ भन्दै जवाफ फर्काइदिन्छु । मेरो जीवनसँग ड्याडको ‘इमेज’ जोडिएको भनेको यसरी नै हो । तर, मलाई दुःख लाग्दैन । मेरो बुबा त्यस्तो निर्देशक हुनुहुन्छ जसलाई नेपाली दर्शकले चिन्छन् । नेपालमा यसरी कलाकारलाई चिनिन्छ, निर्देशकको हकमा कमै लागू हुन्छ ।
अर्को कुरा, मेरो परिवारमा बच्चालाई सबैभन्दा बढी माया गर्ने मेरो ड्याड हुनुहुन्छ । त्यस्तो ‘इमेज’ छ उहाँको । उहाँले सबै कुरालाई मिलाउनुभएको छ । उहाँ घरमा राम्रो श्रीमान्, राम्रो बुबा र राम्रो छोरा हुनुहुन्छ । त्यति भएपछि के चाहियो ?

हलमा युवतीहरू तपाईंसँग सेल्फी खिच्न झुम्मिएको दृश्य पनि देखियो । कस्ताकस्ता फ्यान छन् तपाईंका ?
युवा, युवती, अंकल, आन्टी सबै खाले प्रशंसक भेटेको छु । बच्चाहरूले पनि ‘जंगे’ भनेर चिन्नुहुन्छ । फेसबुक र इन्स्टाग्राममार्फत त थुप्रैले भेट्न मन लागेको छ भन्नुहुन्छ । कतिपयले त प्रपोज नै गर्नुहुन्छ ।

तपार्इं अभिनेत्री करिश्मा श्रेष्ठसँग अफेयरमा हुनुहुन्छ भन्ने चर्चा पनि व्यापक छ नि ?
हो । मैले घोषणा नै त गरेको छैन । जे होस् हाम्रो सम्बन्ध राम्रो छ । उसको र मेरो परिवार पनि नजिक छ । अहिलेलाई यति नै भनौ ।

बिहे गर्ने तयारीमा त होइन नि ?
बिहे त म गर्दिनँ । अस्ति भर्खर कान्तिपुर टेलिभिजनमा ज्योतिष हरिहर अधिकारीले कार्यक्रममा बोलाउनुभएको थियो । उहाँले त्यतिबेला २८ वर्षभन्दा अघि बिहे गर्दा राम्रो योग छैन भन्नुभएको छ । नत्र दुईतीनटा श्रीमती हुन्छन् रे ! यो मलाई बिहे नगर्ने बहाना भएको छ ।

गलफ्रेन्डको दबाब आउला नि त फेरि !
म कसैको दबाबमा बस्दिनँ । मेरो जिन्दगी हो, आफ्नो तरिकाले बाँच्छु । अहिले म करिअर बनाउनतिर लागेको छु ।

 

Leave A Comment